राष्ट्रपति रनिङ सिल्डको उपाधि फुङलिङ नगरपालिकालाई

राष्ट्रपति रनिङ सिल्डको उपाधि फुङलिङ नगरपालिकालाई

फाल्गुन २६, २०७९

ताप्लेजुङ — राष्ट्रपति रनिङ सिल्ड अन्तरपालिका जिल्लास्तरीय प्रतियोगिताको उपाधि फुङलिङ नगरपालिकाले जितेको छ । प्रतियोगितामा नगरपालिकाले २० स्वर्ण ४ रजत र ४ कास्य पदक जितेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

सिरिजंगा गाउॅपालिकाको केन्द्र तेल्लोकमा फागुन २३ देखि सुरु भएको प्रतियोगितामा आठराई त्रिवेणी गाउँपालिका दोस्रो भएको छ । उसले १७ स्वर्ण, १५ रजत र ५ कास्य पदक जित्यो । यो वर्षको प्रतियोगितामा फक्ताङलुङ गाउँपालिका भने पदकविहीन बन्यो । एक नगरपालिका र आठ गाउँपालिकासहित नौ स्थानीय तहले प्रतियोगितामा सहभागिता जनाएका थिए ।
मेरिङदेनले ३ स्वर्ण २ रजत र २ कास्य, पाथीभरा याङवरकले २ स्वर्ण २ रजत र २ कास्य पदक जित्दा सिदिङवा र सिरिजंगा गाउॅपालिकाले १‐१ स्वर्ण पदकमा चित्त बुझाए । सिदिङवाले रजत र कास्य ७‐७ वटा जित्ता सिरिजंगाले ४ रजत र २ कांस्य जितेको खेलकुद विकास समितिले जनाएको छ । मैवाखोलाले ५ रजत र ६ कास्य तथा मिक्वाखोलाले ३ रजत र २ कास्य पदक जिते ।

खेलकुद विकास समितिका अधिकृत यज्ञनिधि पौडेलका अनुसार नगरपालिकाले मार्सल आर्टतर्फको सितेरियो करातेमा मात्रै ८ वटा स्वर्ण जित्यो भने तेक्वान्दोको ४ स्वर्ण पनि उसैले हात पार्‍यो । करातेमा ४८ केजी छात्रबाहेकका सबै उमेर समूहको पदक नगरपालिकाले हात परेको हो । प्रतियोगिताको सबैभन्दा आकर्षण र धेरै खेलाडी सहभागी हुने कबड्डी र भलिबलतर्फका छात्रछात्रा दुवैको स्वर्ण जितेको नगरपालिकाले एथ्लेटिक्समा भने एक सय मिटरको दौडमा मात्रै स्वर्ण जित्न सक्यो ।

यो वर्ष पहिलो पटक सदरमुकाम फुङलिङबाहिर सिरिजंगा गाउँपालिकामा जिल्लास्तरीय प्रतियोगिता सञ्चालन गरिएको थियो । जिल्लास्तरीय प्रतियोगितामा छनौट भएका खेलाडीले प्रदेश प्रतियोगितामा खेल्न पाउनेछन् ।