
फागुन २५ इटहरी ।
नेकपा(क्रान्तिकारी माओवादी) समर्थक अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले ८ मार्च अर्थात २४ फागुनका दिन सुनसरीको इटहरीमा ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ ।
उत्पीडनमा परेका विश्वका श्रमिक महिलाहरुलाई न्याय दिलाउनका लागि कम्युनिस्ट समाजवादी अभियान्ता क्लारा जेटकिन तथा रोजा लक्जेम्वर्गहरुले पुर्याएको योगदानको चर्चा गर्दै अनेमसंघ(क्रान्तिकारी)ले महिला दिवस मनाएका हुन् ।
स्वाधिनता,समानता र जनगणतन्त्र प्राप्तिको निम्ति संघर्ष गरौँ भन्ने मुल नारा सहित मनाएको कार्यक्रमको प्रमुख अतिथी अखिल नेपाल महिला संघ(क्रान्तिकारी)की केन्द्रिय उपाध्यक्ष तथा प्रदेश नम्बर १ की संयोजक अम्बिका रेग्मी रहनु भएको थियो । उहाँले आर्थिक स्वतन्त्रता महिलामा लागु नभएसम्म महिलाहरु पुरुषका दास मात्र हुने भनाई राख्नु भयो । उपाध्यक्ष रेग्मीले महिलाले समानता र स्वतन्त्रता प्राप्त गर्नका लागि क्रान्तिकारी माओवादीले अङ्गीकार गरेको नीतिमा लामबद्ध हुन अनुरोध गर्नु भयो । उहाँले समान कामको समान ज्याला , महिलालाई मताधिकारको अधिकार लगायत माग राखेर ११३ वर्ष अगाडि क्लारा जेटकिन सहित लाखौँ महिलाको योगदानबाट आजको दिन आएको भनाई राख्नु भयो ।
कार्यक्रमको विषेश अतिथी रहनु भएका नेकपा(क्रान्तिकारी माओवादी) का पोलिटब्यूरो सदस्य तथा १ नम्बर प्रदेश इन्चार्ज दिनेश शर्माले हरेक ठाउँमा महिलामा असमानता रहेको र त्यो हटाउनका लागि अझै पनि संघर्षकै आवश्यता रहेको स्पष्ट पार्नु भयो । उहाँले विश्वका महान महिलाहरुको ठुलो संघर्षबाट आजको दिन आएको भन्दै महिलाले चाहे ठूलो जिम्मेवारी उठाउन सक्ने भनाई राख्नु भयो । १० वर्षे जनयुद्धमा महिलाहरुले गरेको शाहसको प्रशंसा गर्दै अब पनि महिलाहरु लाई संर्घषमा उत्रिन आह्वान गर्नु भयो ।
कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज डिल्लीराम बोहोरा , पार्टीका प्रदेश कमिटि सदस्य तथा क्रान्तिकारी घाइते योद्धा संघका प्रदेश संयोजक सुजता वन , पार्टी प्रदेश सदस्य तथा पार्टी प्रचार विभाग प्रमुख अप्सरा बानियाँ , पार्टीकै प्रदेश सदस्य तथा धरान संयोजक पारस लिम्बु , पार्टी प्रदेश कमिटि सदस्य तथा देजमो प्रदेश सचिव टिका राई , अखिल(क्रान्तिकारी)का सुनसरी संयोजक विष्णु थापा लगायतले श्रमिक महिला दिवसको चर्चा गर्दै शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको अध्यक्षता अनेमसंघ (क्रान्तिकारी)की सुनसरी जिल्ला संयोजक निरु पोख्रेलले गर्नु भएको थियो भने अनेमसंघकै प्रतिज्ञा याक्खाले कार्यक्रको संचालन गर्नु भएको थियो ।