
काठमाडौं । महान् दार्शनिक तथा विश्व सर्वहारा वर्गका महान् गुरु कार्ल माक्र्सले एक सन्दर्भमा भन्नुभएको छ, ‘आफ्नो वर्ग (सर्वहारा वर्ग)को मुक्तिका लागि आवश्यकताअनुसार इतिहासका चिहानहरू पनि खोतल्नुपर्छ ।’ मानव इतिहासको चालक शक्तिको सबैभन्दा अग्रमोर्चामा सँधै सहिदहरु रहेन गर्दछन् । मान्छेले मान्छेमाथि थोपरेको अन्याय, अत्याचार र विभेदकारी राज्यव्यवस्थाका विरुद्ध इतिहासमा निकै ठूल्ठूला संघर्षहरु भएका छन् । न्याय र समानताका लागि भएका ती संघर्षहरुमा आमाका महानतम सन्ततीहरुले आफ्नो अमूल्य जीवनको बलिदान गरेका छन् । त्यही बलिदानको जगमा ठूल्ठूला ऐतिहासिक परिवर्तनहरु सम्भव भएका छन् ।
आधुनिक नेपालको राजनीतिक इतिहासमा पनि आमाका तीनै सन्तानहरुले गरेको संघर्ष र बलिदानकै कारण विभिन्न कालखण्डमा राजनीतिक व्यवस्थाहरुमा परिवर्तन भएका छन् । संघर्ष र बलिदानबिना कुनै पनि व्यवस्था परिवर्तन भएको इतिहास दुनियाँमा कहिँ पनि छैन । संघर्ष र बलिदान वर्गीय विषमताका आधारित समाजको अनिवार्य र अपरिहार्य नियम हो । अन्यायपूर्ण सत्ता र व्यवस्थाका विरुद्ध भएका संघर्षमा आफ्नो जीवनको बलिदान गर्ने मान्छेहरु साँच्चै नै महान हुन्छन् । तिनै मान्छेहरुकै बलिदानका कारण बाँचेका मान्छेहरुले विभिन्न खाले अधिकारको उपभोग गर्न पाइरहेका हुन्छन्, छन् । तर बिडम्बना त्यही संघर्ष र बलिदानको आधारभूमिका टेकेर परिवर्तित सत्ता र व्यवस्थाका नेतृत्व गर्न पुगेकाहरुले संघर्ष र बलिदानमाथि नै घोर अपमान गर्ने काम गरिरहन्छन् । र, एउटा कालखण्डपछि फेरि समाजमा नयाँ संघर्ष र बलिदानको चक्र सुरु हुने गर्दछ । आज नेपालको राजनीति पनि यही चक्रबाट गुज्रिरहेको छ ।




नेपालमा राणाशासनका विरुद्ध, पञ्चायती व्यवस्थाका विरुद्ध र कथित संवैधानिक संसदीय राजतन्त्रात्मक व्यवस्थाका विरुद्ध निकै ठूल्ठूला संघर्ष र महान बलिदानहरु भए । नेपालको सिंगो इतिहासमै भएका संघर्षहरु मध्ये सबैभन्दा तीव्र, भीषण र उच्च संघर्ष भनेको दशवर्षे जनयुद्ध नै हो । यही जनयुद्धले निर्माण गरेको अधारभूमिका टेकेर भएको १९ दिने जनआन्दोलनको बलमा नेपालमा अढाईसय बर्षदेखिको राजतन्त्रात्मक व्यवस्थाको अन्त्य भयो । जनयुद्धले त राजतन्त्रसँगै सिंगो संसदीय व्यवस्थालाई नै बदलेर नेपालमा नयाँ जनवादी व्यवस्था स्थापना गर्ने लक्ष्य उद्देश्य राखेको थियो । तर जनयुद्धकै नेतृत्व गरिरहेको तत्कालीन नेकपा (माओवादी)को मूल नेतृत्वले शान्तिसम्झौता गर्दै जनयुद्धको अन्त्य गरिदिएपछि र जनयुद्धले उठाएका मुद्दाहरु क्रमश: विसर्जित गरिदिएपछि क्रान्तिको प्रक्रियाले सेटब्याक खान पुग्यो । क्रान्ति प्रतिक्रान्तिमा बदलियो ।
तथापि देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरियो । संघीयता, धर्मनिरेपक्षता, समावेदशी, समानुपातिकता यी सबै नाम मात्रका भए पनि जनयुद्धकै उपलब्धि हुन् । तर राजतन्त्र फालेर गणतन्त्र ल्याउन त्याग, तपस्या र बलिदान गर्ने ती महान सहिदहरुलाई पनि यो संघीय लोकतान्त्रिक गणतन्त्रले आजसम्म पनि सम्मान दिन सकेको छैन । जनयुद्धमा बलिदान गर्ने ती महान सहिदहरुलाई आजसम्म ‘राष्ट्रिय सहिद’ भनेर घोषणा गरिएको छैन । जनयुद्धकै नेतृत्व गरेका, जनयुद्धमा सहभागी भएका नेताहरु पटक पटक यो गणतन्त्रमा सत्तामा पुगे । प्रधानमन्त्री, मन्त्री भए । तर न त सहिदहरुलाई ‘सहिद’को दर्जा दिन सके, न त राज्यद्वारा वेपत्ता योद्धाहरुको स्थिति नै सार्वजनिक गर्न सके । उनीहरु संसदीय आहालमा नराम्ररी डुब्न पुगे । भ्रष्ट र निमम्मा बन्न पुगे । उनीहरुको वर्ग उत्थान भयो । नवधनाढ्य वर्गमा फेरिए । र, हेर्दा हेर्दै जनयुद्ध र जनवादी क्रान्तिको दृष्टिबाट हेर्दा उनीहरु ‘नवप्रतिक्रियावादी वर्ग’ कित्तमा पुगे । हेर्दा हेर्दै उनीहरु अहिले कम्युनिस्ट पार्टी, माओवादी र कम्युनिस्ट पार्टीको झण्डा नै फेर्ने र बुर्जुवा पार्टी बनाउने ठाउँमा पुगेका छन् ।
यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका शहीदहरुलाई राष्ट्रिय शहीद घोषणा गर्ने बताएका छन् । आइतबार बिहान शहीद तथा बेपत्ता योद्धाका परिवारहरूसँगको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । तर सहिद घोषणा गरेर मात्र सहिदको सम्मान हुँदैन । जनयुद्धका सहिदहरुको वास्तविक सम्मान संसदीय व्यवस्था फालेपछि मात्र हुन सक्छ ।
वास्तवमा सहिदहरुको सम्मान भनेको राजनीतिक व्यवस्थामा परिवर्तनका निम्ति संघर्ष गर्ने संकल्प गर्नु हो । नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादी समाजवादी व्यवस्था स्थापना गर्ने महान सपना बोकाएर जनयुद्ध लडेका नेताहरुले नै क्रान्तिका यी अभिभारा र कार्यभारबाट भाग्र्दै प्रतिक्रियावादी शिविरमा विलिन हुनु भनेको जनयुद्धमा बलिदान गर्ने ती महान सहिदहरुप्रतिको घोर अपमान र गद्दारी हो । यही गद्दारीको बाटोको नेतृत्वदायी भूमिकामा पुष्पकमल दाहाल प्रचण्डहरु देखिएका छन् ।
सिंगो जनयुद्ध र महान बलिदानको औचित्यमाथि नै प्रश्न चिन्ह खडा गर्ने हर्कतहरु प्रचण्डले नै गरिरहेका छन् । प्रचण्डले गरेको वर्गीय र राष्ट्रिय आत्मसमर्पणको मूल्य विभिन्न धारामा विभाजित माओवादीहरुले चुकाउनु परिरहेको छ । प्रचण्ड नवप्रतिक्रियावादीकरणका विरुद्ध सच्चा कम्युनिस्ट क्रान्तिकारीहरु एकताबद्ध भएर क्रान्तिको झण्डा उचाल्ने ऐतिहासिक पहल गरिरहेका छन् ।
दलाल नवप्रतिक्रियावादीहरुले आफ्नो तुच्छ जीवनरक्षाका लागि फोहोरमा फालेको क्रान्तिको रक्तरञ्जित झन्डा धुलोबाट उठाएर र तानाशाह शासकहरूले चपरीमुनि गाडेका सहिदहरूका बलिदानका गाथाहरूलाई निरन्तर हृदयङ्गम गरेर फेरि क्रान्तिमा होमिएका क्रान्तिकारीहरूका लागि इतिहासका विरासतहरू उत्तिकै शक्तिशाली र अझ ऊर्जावान् बनेर उभिएका छन् । र, ती महान सहिदहरुलाई उच्च सम्मानसहित सम्झिरहेका छना् ।
आइतबार ऐतिहासिक बलिदान दिवस नेकपा (क्रान्तिकारी माओवादी) लगायत छरिएर रहेका सबै क्रान्तिकारीहरुले मनाएका छन् । उनीहरुले फागुन १४ देखि २१ सम्म बलिदान दिवस (सहिद सप्ताह) मनाइरहेका छन् । र, सँगै जनयुद्धका अपूरा संघर्ष र सहिदहरुका अधुरा सपना पुरा गर्ने संकल्प गर्दै नयाँ ढंगले क्रान्तिको तयारीमा जुटिरहेका छन् ।
प्रतिक्रियावादी, नवप्रतिक्रियावादी, अवसरवादी, संशोधनवादी र साम्राज्यवादीहरुले क्रान्ति र क्रान्तिकारीका विरुद्ध फिँजाएका भ्रमहरुलाई चिर्दै, बुनेका अनेकौं षड्यन्त्रका प्रपञ्चहरु निष्प्रभावी तुल्याउँदै र हिंसा र दमनका विरुद्ध सशक्त प्रतिरोधको तयारी गर्दै क्रान्तिकारीहरु अगाडि बढ्न जरुरी छ । इतिहासका विभिन्न कालखण्डमा भएका बलिदानको सच्चा सम्मान अहिलेको दलाल संसदीय व्यवस्थाका विरुद्ध निर्णायक रुपमा संघर्ष(क्रान्ति)को तयारी गरेर मात्र गर्न सकिन्छ । यो नै सहिदहरुप्रतिको सच्चा श्रद्धाञ्जली र सच्चा सम्मान हुनेछ ।