चर्चितको प्रतिस्पर्धामा डुवाना

चर्चितको प्रतिस्पर्धामा डुवाना

फाल्गुन १२, २०७९

काठमाडौँ — बृहत राष्ट्रिय खेलकुदको एकै प्रतियोगितामा एउटै खेलाडीले सबैभन्दा धेरै १२ स्वर्ण जितेका छन् । करिश्मा कार्की (पाँचौं संस्करण, काठमाडौं) र गौरिका सिंह (आठौं संस्करण, नेपालगन्ज) पछि धेरै स्वर्ण जित्ने कीर्तिमान डुवाना लामाको नाममा आएको छ ।

डुवानाले गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा त्यो सफलता पाएकी हुन् । फिस्टेल एकेडेमीको पौडीपोखरी (सर्ट कोर्स) मा डुवानाले पाँच राष्ट्रिय कीर्तिमानसहित ९ स्वर्ण र १ रजन पदक जितेकी थिइन् । पौडीमा एकै खेलाडी दर्जनभन्दा बढी स्पर्धामा सहभागी हुन पाउँछन् । ३५ स्वर्णका लागि भएको प्रतियोगितामा डुवानाले सर्वाधिक स्वर्ण जितेकी हुन् । तीन वर्षअघि नेपालगन्जमा उनले ५ स्वर्ण र ६ रजत जितेकी थिइन् ।

त्यसो त २०७६ मंसिरमा नेपालमै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा गौरिका सिंहले ४ स्वर्ण जित्दा १३ वर्षीया डुवानाले जितेको २ रजतको चर्चा ओझेलमा पर्‍यो । दक्षिण एसियाली स्तरमा पौडीको दुई रजत पनि ठूलो उपलब्धि हुन्थ्यो । व्यक्तिगतमा दुई र रिलेमा तीन कांस्य जितेर डुवानाले त्यतिबेलै आफूलाई भावी स्टारका रूपमा संकेत गरिसकेकी थिइन् ।
यतिबेला उनको चर्चा फरक ढंगले भइरहेको छ । १६ वर्षीया यी किशोरी एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा पिपल्स च्वाइस विधाको मनोनयनमा परेकी छन् । समर्थक, प्रशिक्षक र खेलपत्रकारको मतका आधारमा विजेता घोषणा हुने यो अवार्डमा उनीसँगै क्रिकेटका आसिफ शेख, टेनिसकी अभिलाषा विष्ट, फुटबलका अञ्जन विष्ट र भलिबलकी उषा भण्डारी छन् ।
पिपल्स च्वाइस विजेता हुन ईसेवा भोटिङबाट ५० प्रतिशत, फेसबुक लाइकबाट २५ प्रतिशत तथा मञ्च सदस्य खेल पत्रकार र राष्ट्रिय खेलका प्रशिक्षकको १२–१२ प्रतिशतको मतभार निर्धारण गरिएको छ । ९ विधामा प्रदान गरिने स्पोर्ट्स अवार्ड फागुन २३ प्रज्ञा प्रतिष्ठानमा हुने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च ९एनएसजेएफ० ले जनाएको छ । १३ औं सागपछि थाइल्यान्डमा स्थायी बसोबास सुरु गरेयता डुवानाको प्रदर्शनमा उल्लेख्य सुधार भएको छ । त्यसअघि पनि उनले नेपालमा स्कुल बिदा हुँदा थाइल्यान्डमा प्रशिक्षण गर्ने गरेकी थिइन् । नेपालमा सुविधासम्पन्न पूर्वाधार नहुँदा आफ्नो करिअरका लागि परिवारबाट टाढा रहनु नेपाली पौडी खेलाडीको बाध्यता हो ।
मनाङकी डुवानाले साढे ५ वर्षको उमेरदेखि पौडी खेल्न थालेकी हुन् । ‘ए’ डिभिजन क्लब मनाङ मर्स्याङ्दीको पदाधिकारी रहिसकेका बुवा मुखिया लामाले छोरीको चाहना पूरा गर्न कुनै कसर बाँकी राखेका छैनन् । ६ वर्षमै लिटिल एन्जल्स अन्तरस्कुल पौडी प्रतियोगितामा कान्छी खेलाडीको पुरस्कार पाएयता डुवानाले आफू सहभागी कुनै पनि घरेलु प्रतियोगितामा खाली हात हुनु परेको छैन ।
प्रशिक्षक शुभ श्रेष्ठले डुवानालाई स्विमिङको पहिलो र आधारभूत ज्ञान दिएका थिए । ‘सानोमा पानीलाई असाध्यै माया गर्ने र तैरिने प्रयास गरेको देखेपछि प्रशिक्षणमा राखेका हौं । ८ वर्षको हुँदा यू–१० विधामा स्वर्ण जित्न थालिसकेकी थिइन्,’ बुवा मुखिया स्मरण गर्छन् । घरेलु प्रतियोगितामा डुवानाले त्रिभुवन आर्मी क्लबको प्रतिनिधित्व गर्छिन् । नवौं राष्ट्रिय खेलकुदमा पनि उनले आर्मीकै लागि पदक जितेकी हुन् ।

उनको बटरफ्लाइ र ब्रेस्टस्ट्रोक डुवानाको मनपर्ने विधा हो । त्यसैले उनले आफूलाई सोही विधामा परिस्कृत गर्दै लगेकी छिन् । डुवानाले गत असारमा हंगेरीमा आयोजित १९ औं फिना विश्व च्याम्पियनसिप र त्यसको दुई महिनापछि पेरुमा आयोजित आठौं फिना विश्व जुनियर च्याम्पियनसिपमा भाग लिएकी थिइन् । दुवैमा ५० र १०० मिटर ब्रेस्टस्ट्रोकमा प्रतिस्पर्धा गरेकी थिइन् ।

उम्दा करिअरको सपना साकार पार्न तीन वर्षदेखि डुवानाले थाइल्यान्डमा प्रशिक्षण गरिरहेकी छन् ।