फाल्गुन १२, २०७९

काठमाडौँपोखरा — सूर्य नेपाल गल्फ टुरअन्तर्गत वेस्टर्न ओपनमा बिहीबार साबिक विजेता एमेच्योर गल्फर सुवास तामाङ ४ अन्डर ६५ को कार्ड बनाएर शीर्षस्थानमा उक्लिएका छन् ।

६९ पारको हिमालयन गल्फ कोर्समा ३६ होल समाप्तिमा समग्रमा १ अन्डर १ सय ३७ स्कोरसहित सुवासले भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि पारे । पहिलो दिन अगाडि रहेका भुवनले बिहीबार २ ओभर ७१ स्कोर गरे । उनी समग्रमा इभन पार १ सय ३८ को कार्डसहित दोस्रो स्थानमा झरे ।

समग्रमा १ ओभर १ सय ३९ स्कोरसहित भेट्रान गल्फर रामे मगर र सञ्जय लामा संयुक्त तेस्रो स्थानमा छन् । रामेले १ अन्डर ६८ र सञ्जयले इभन पार ६९ को कार्ड बनाए । नेपाल नम्बर एक शुक्रबहादुर राईले दलबहादुर लामासँग समग्रमा ४ ओभर १ सय ४२ सहित संयुक्त पाँचौं स्थानमा रहे । शुक्रले इभन पार ६९ र दलले २ ओभर ७१ स्कोर गरे । समग्रमा ५ ओभर १ सय ४३ को नतिजामा जयराम श्रेष्ठ सातौं स्थानमा छन् । उनले १ अन्डर ६८ को स्कोर निकाले । सद्भाव आचार्यले ५ ओभर ७४ को खराब प्रदर्शन गर्दा समग्रमा ७ ओभर १ सय ४५ सहित आठौं स्थानमा तल झरे । एमेच्योरतर्फ भने उनी दोस्रो स्थानमा छन् ।

समग्रमा ८ ओभर १ सय ४६ को नतिजामा भुवनकुमार रोक्का, धनबहादुर थापा र एमेच्योर प्रज्वल थापा संयुक्त नवौं स्थानमा छन् ।

३६ होलको समाप्तिमा १६ ओभर १ सय ५४ सम्म स्कोर गरेका २१ प्रोफेसनल र ७ एमेच्योर खेलाडीले कट बनाएका छन् । प्रोफेसनल खेलाडी दीपक आचार्य, सुर्यप्रसाद शर्मा, दिनेश प्रजापति, रवि खड्का, शिवराम पौडेल, नीरज तामाङ, भूबहादुर गुरुङ, टंकबहादुर कार्की, कृष्णमान राजबाहक, कमल तामाङ, प्रदीपकुमार लामा, सबिन सापकोटा, बलभद्र राई तथा एमेच्योर गल्फर अजित बिके, सुरेश तामाङ, महेन्द्र फगामी र युवराज भुजेलले कट बनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर