काठमाडौं । संसदीय व्यवस्थाको ध्वंश गरी नेपालमा नयाँ जनवादी राज्यव्यवस्था निर्माण गर्ने घोषित लक्ष्यका साथ दशवर्षसम्म सञ्चालित जनयुद्धको उद्घोष गरेको दिनको स्मरण, सम्मान र क्रान्तिकारी संकल्पका साथ नेकपा (क्रान्तिकारी माओवादी)ले देशैभर जनयुद्ध दिवस भव्य रुपमा मनाउने तयारी गरेको छ । सातवटै प्रदेश र जिल्लाहरुमा जनयुद्ध दिवस मनाउने सो पार्टीको केन्द्रीय सर्कुलर अनुसार जिल्ला जिल्लामा जनयुद्ध दिवस मनाउने तयारी गरिएको सम्बद्ध स्रोतले जनाएको छ ।
काठमाडौंको जनयुद्ध दिवस समारोहलाई कमरेड गौरवले सम्बोधन गर्ने
नेकपा (क्रान्तिकारी माओवादी) प्रदेश ३ को आयोजनामा काठमाडौंको रत्नपार्क शान्तिबाटिकामा एक विशेष समारोहको आयोजना गरी जनयुद्ध दिवस मनाउने तयारी गरिएको छ । पार्टीका पोलिटब्यूरो सदस्य तथा प्रदेश ३ का सेक्रेटरी प्रवेशले दिएको जानकारी अनुसार र्यालीसहित शान्तिबाटिकामा आयोजित विशेष समारोहलाई पार्टीका स्थायी समिति सदस्य सिपी गजुरेल गौरव लगायतका नेताहरुले सम्बोधन गर्नु हुनेछ ।
रत्नपार्क शान्तिबाटिकाको कार्यक्रममा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ र रसुवाको पार्टीको समेत सहभागिता रहने छ ।
हेटौंडाको कार्यक्रमलाई पार्टी प्रवक्ताले सम्बोधन गर्ने
त्यसैगरी प्रदेश अन्तर्गतका जिल्लाहरुमा प्रदेशको राजधानी समेत रहेका मकवानपुरमा पनि विशेष कार्यक्रमको आयोजना गरिएको छ । हेटौंडामा गरिने कार्यक्रमलाई पार्टीका स्थायी समिति सदस्य हरिभक्त कँडेल प्रतीक र पार्टी पीवीएम तथा प्रदेश ३ का इन्चार्ज चन्द्रहरि सुवेदी अटलले सम्बोधन गर्नुहुनेछ ।
त्यसैगरी दोलखा, सिन्धुली, रामेछाप लगायतका जिल्लाहरुमा पनि जनयुद्ध दिवस मनाउने कार्यक्रम तय गरिएको छ ।
प्रदेश १ मा संयुक्त कार्यक्रम
प्रदेश १ मा उदयपुर र सुनसरीमा नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)ले संयुक्त रुपमा जनयुद्ध दिवस मनाउने तयारी गरेका छन् । नेकपा (क्रान्तिकारी माओवादी)का प्रदेश सेक्रेटरी सरलले दिएको जानकारी अनुसार उदयपुर र सुनसरीमा संयुक्त र अन्य जिल्लाहरुमा पार्टीको एकल आयोजनामा जनयुद्ध दिवस मनाउने तयारी गरिएको छ ।
उदयपुरको गाईघाट र सुनसरीको इटहरीमा भने जनयुद्ध दिवसको पूर्वसन्ध्यामा मशाल जुलुस समेत गर्ने तयारी गरिएको छ ।
मधेस प्रदेशका तीन जिल्लामा केन्द्रित कार्यक्रम
मधेस प्रदेशमा नेकपा (क्रान्तिकारी माओवादी)ले तीनवटा जिल्लामा केन्द्रित र अन्य जिल्लामा विकेन्द्रित रुपमा जनयुद्ध दिवस मनाउने तयारी गरेको छ । पार्टीका पीवीएम तथा प्रदेश इन्चार्ज कृष्णदेव सिंह दनुवारले दिएको जानकारी अनुसार सिरहाको गोलबजार, सर्लाहीको हरिवन र रौतहटको गौरमा केन्द्रित रुपमा जनयुद्ध दिवस मनाउने तयारी गरिएको छ ।
प्राप्त जानकारी अनुसार सर्लाहीको हरिवनमा गरिने कार्यक्रमलाई प्रदेश इन्चार्ज दनुवारले सम्बोधन गर्नुहुनेछ भने सिरहाको गोलबजारमा हुने कार्यक्रमलाई प्रदेश सेक्रेटरी रामनारायण सिंह र रौतहटको गौरमा हुने कार्यक्रममा केस प्रल्हाद साहले सम्बोधन गर्नुहुनेछ ।
गण्डकी प्रदेशमा विकेन्द्रित कार्यक्रम
गण्डकी प्रदेशमा क्रान्तिकारी माओवादीले जिल्लाहरुको सापेक्षतामा विकेन्द्रित रुपमा जनयुद्ध दिवस मनाउने तयारी गरेको छ । पार्टी पीवीएम तथा प्रदेश इन्चार्ज अशोक लम्साल अनुकूलले दिएको जानकारी अनुसार प्रदेश अन्तर्गतका सबै जिल्ला सदरमुकाममा जनयुद्ध दिवस मानउने निर्णय गरिएको छ । उहाँका अनुसार उहाँले नवलपुर जिल्ला सदरमुकाममा गरिने कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ भने सेक्रेटरी केशबहादुर परियारले कास्कीको पोखरामा हुने कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ ।
लुम्बिनी प्रदेशका जिल्ला जिल्लामा मनाइने, बाँकेमा पार्टीको जिल्ला भेला
पार्टीका पीवीएम तथा लुम्बिनी प्रदेश सेक्रेटरी भुपेन्द्र न्यौपाने संकुलले दिएको जानकारी अनुसार प्रदेशका सबै जिल्लाहरुमा जनयुद्ध दिवस मानउने तयारी गरिएको छ । बाँके जिल्लामा भने जनयुद्ध दिवसको अवसर पारेर पार्टीको जिल्ला भेलाको आयोजना गरिएको छ ।
उहाँका अनुसार पार्टीका प्रदेश इन्चार्ज केवि गुरुङले रुपन्देहीको बुटवलमा हुने कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ भने सेक्रेटरी संकुलले बाँकेको नेपालगञ्जमा हुने पार्टीको जिल्ला भेलासहितको कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ ।
सुदुरपश्चिम प्रदेशमा एकल र संयुक्त कार्यक्रमको तयारी
सुदुरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)ले संयुक्त रुपमा जनयुद्ध दिवस मनाउने पहल गरिरहेका छन् भने अन्य जिल्लाहरुमा क्रान्तिकारी माओवादीले एकल रुपमा जनयुद्ध दिवस मनाउने तयारी गरेको छ ।
कर्णाली प्रदेशमा पनि एकल र संयुक्त कार्यक्रम
त्यसैगरी कर्णाली प्रदेशको सदरमुकाम सुर्खेतमा पनि जनयुद्ध दिवस मनाउने तयारी गरिएको छ । पार्टीका केस तथा प्रदेश सेक्रेटरी दीपक शाहीका अनुसार प्रदेशको राजधानी सुर्खेतमा एक कार्यक्रमका बीच जनयुद्ध दिवस मनाउने तयारी गरिएको छ भने जाजरकोट र दैलेखमा पनि नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)ले संयुक्त रुपमा जनयुद्ध दिवस मनाउने तयारी गरेका छन् ।