फागुन १ गते भारतीय विदेश सचिव क्वात्रा नेपालको २ दिने भ्रमणमा आउँदै

फागुन १ गते भारतीय विदेश सचिव क्वात्रा नेपालको २ दिने भ्रमणमा आउँदै

२७ माघ काठमाडौं ।
भारतीय विदेश सचिव विनयमोहन क्वात्रा दुई दिने भ्रमणका लागि यही फागुन १ गते सोमबार नेपाल आउँदै छन् । दुबै देशका परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै क्वात्राको भ्रमणबारे जानकारी दिएका छन् ।
परराष्ट्र मन्त्रालयले परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा क्वात्रा नेपाल आउन लागेको जानकारी दिएको छ ।
भ्रमणका क्रममा क्वात्राले समकक्षी पौड्यालसँग औपचारिक छलफल गर्ने छन् । उक्त छलफलमा दुई पक्षीय सहकार्यका विभिन्न पक्ष जस्तै कनेक्टिभिटी, उर्जा व्यापार, कृषि, स्वास्थ्यबारे छलफल हुनेछ ।
यसअघि गत भदौमा परराष्ट्र सचिव पौड्यालले भारत भ्रमण गरेका थिए ।
क्वात्राको भ्रमण नेपाल–भारतबीच भइरहेको उच्चस्तरिय भ्रमणको निरन्तरता भएको उल्लेख गर्दै परराष्ट्र मन्त्रालयले उनको भ्रमण दुई देशको सम्बन्धलाई अझ गहिरो बनाउने मौका हुने बताएको छ ।
विदेश सचिवको रूपमा क्वात्राको यो पहिलो नेपाल भ्रमण हो भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नयाँ सरकार बनेपछि पहिलो पटक उच्च भारतीय कूटनीतिज्ञ काठमाडौं आउन लागेका हुन् ।
क्वात्राले भारतीय राजदूतका रूपमा नेपालमा दुई वर्ष बिताएका थिए । गत चैतमा उनी भारतीय विदेश सचिव नियुक्त भएका हुन । उनी सन् १९८८ देखि भारतको कूटनीतिक सेवामा प्रवेश गरेका थिए ।
नेपाल आउनुअघि उनले विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालय, अमेरिकास्थित भारतीय दूतावासमा काम गरेका थिए ।