साताको कविता
———————-
देश केवल माटो होइन,जनता हो ।
यो देशका लाखौं जनताको
अब्बल छनौट हामी
स्वयं गर्व गर्न लायक छौँ ।
हामीलाई राम्ररी थाहा छ
राष्ट्रियता र स्वाधीनता
आज मात्रै सङ्कटमा परेको हो र !
दक्षिणी दानवले यो देशलाई
तीनतिरबाट कोपरिरहेको
हाम्रै पालामा मात्रै हो र !
उत्तरी राक्षस र आकाशको दैत्यले
हाम्रो अस्मितामाथि
खेलेको वर्षौं भयो
तर किन अहिले मात्रै
आँखा परेको दुनियाँको !
देश सङ्कटमा छ !
आर्थिक सुधारको बाधक
हाम्रै आलस्य, अकर्मण्यता
भ्रष्ट अनि नालायकपन हो !
हजार पटक दोहोर्याए
झुट पनि सत्य हुन्छ
त्यसैले
सबैले एकसाथ भनौं
नेपाली अर्थतन्त्र सवल छ !
दिनहुँ रोजगारीका ढोकाहरु
हामी खोलिरहेका छौँ ,
बेरोजगार मूर्दावाद !
राष्ट्रिय सहमति जिन्दावाद !
यहाँ कोही प्रतिपक्ष छैन !
लोकतान्त्रिक व्यवस्थामा
बहुमतले गर्न नसकेको
संसारमा के छ र ?
हामी कालोलाई सेतो
चोरलाई सन्त मात्रै होइन
जङ्गललाई मरुभूमि र
अमीरलाई कंगाल
बनाउन जान्दैनौँ र !
ल आउनुहोस्
सबै सत्ताशीन पार्टी बनौं
खस्रो मसिनो
जे जस्तो उपलब्ध छ
बराबर बाँडफाँड गरौं
मान्छे खाएरै मोटाएका हुन् ।
डाक्टरी प्रेस्कृप्सन भन्छ –
“रोग तीब्र गतिमा बढिरहेछ”