बर्दिवास मेयर गोल्डकप : उद्घाटन खेलमा वाग्मती युथ विजयी

बर्दिवास मेयर गोल्डकप : उद्घाटन खेलमा वाग्मती युथ विजयी

माघ २७, २०७९

महोत्तरी — महोत्तरीको बर्दिवासमा बिहीबारबाट सुरु भएको दोस्रो मेयर गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा वाग्मती युथ क्लब विजयी भएको छ । विरगन्ज युनाइटेड पर्सासँग प्रतिस्पर्धा गरेको वाग्मती युथ क्लब सर्लाहीले ०-१ गोल अन्तरले खेल जितेको हो ।

निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि ट्राइबेकरमा खेलको नतिजा निकालिएको खेल आयोजक नगर खेलकुद विकास समिति बर्दिवासका सचिव अर्जुन बस्नेतले जानकारी दिए । ट्राइबेकरमा वाग्मती युथ क्लबले ५ गोल गरेपछि ०-१ गोलले विरगन्ज युनाइटेड पछि परेको थियो । विरगन्ज युनाइटेडले ०-४ गोलमात्रै गरेकाले वाग्मतीले जित हात पारेको हो ।

खेलको अन्त्यमा वाग्मती युथ क्लबका गोलरक्षक अनिष चौधरी म्यान अफ द म्याच घोषित भए । चौधरीलाई बर्दिवासको लक्की रेडिमेटले ५ हजार पुरस्कार प्रदान गरेको छ । फागुन ४ गरेसम्म चल्ने खेलमा २७ गते बर्दिवास युथ क्लब बर्दिवास र पेमा युवा क्लब बिराटनगर, २८ गते क्यामरुन एफसी काठमाडौं र झापा-११ झापा, २९ गते ब्वाईज युनियन क्लब काठमाडौं र धरान फुटबल क्लबबीच प्रतिस्पर्धा हुने खेलकुद समिति अध्यक्ष दिपेन्द्रकुमार शिवभक्तिले जानकारी दिए ।

१ र २ गते सेमिफाइनल र ४ गते फाइनल खेल हुने आयोजकले जनाएको छ ।