काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले पार्टीका केन्द्रीय समिति सदस्य बाबुराम सुवेदी‘रवि’की जीवन संगिनी रञ्जिता सुवेदीको निधनमा श्रद्धाञ्जली वक्तव्य जारी गर्दै हार्दिक श्रद्धाञ्जली तथा समवेदना व्यक्त गरेको छ ।
पार्टीका महासचिव मोहन वैद्य किरणले जारी गर्नुभएको श्रद्धाञ्जली वक्तव्यमा भनिएको छ, “तनहुँ जिल्ला, शुक्ला गण्डकी नगरपालिका वार्ड नं. ८ ढोर फिर्दी निवासी क. रञ्जता सुवेदीको हिजो २०७९ माघ १६ गते दिनको तीन बजे चितवनमा उपचारको क्रममा असामयिक निधन भएको छ । २०२४ जेठ १४ गते जन्मनुभएकि उहाँ हाम्रो पार्टीको एकजना इमान्दार पार्टी सदस्य तथा केन्द्रीय समिति सदस्य बाबुराम सुवेदी (क. रवि)को जीवन संगिनी हुनुहुन्थ्यो । उहाँले लामो समयदेखि भरतपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै आउनु भएको थियो । उहाँका तीन छोरी, तीनज्वाइँ, तीन छोरा, एक बुहारी, तीन नाति र तीन नातिनीहरु हुनुहुन्छ । उहाँको निधनबाट हामी अत्यन्तै दु:खित भएका छौं । द:ुुखको यस घडीमा हाम्रो पार्टी कमरेड रञ्जता सुवेदीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र क. रवि लगायत उहाँका सम्पूर्ण शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।”
त्यसैगरी देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले पनि एक श्रद्धाञ्जली वक्तव्य जारी गरी मृतक रञ्जिता सुवेदीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । अध्यक्ष गजुरेलले जारी गरेको वक्तव्यमा भनिएको छ, “देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय सदस्य बाबुराम सुवेदीकी जीवनसंगिनी तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका, वडा नं. १ निवासी ५५ वर्षीया रञ्जिता सुवेदी (सीता)को भरतपुर क्यान्सर अस्पताल, चितवनमा क्यान्सर रोगको उपचारको क्रममा यही मिति २०७९ माघ १६ गते दिउँसो ३:३० बजे असामयिक निधन भएकोले हामी अत्यन्तै मर्माहत भएका छौं । रञ्जिता सुवेदीका श्रीमान्, तीन छोरा, तीन छोरी, एक नाति र एक नातिनी हुनुहुन्छ । उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बाबुराम सुवेदीलगायत शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं ।’