नेपालमा पछिल्ला दिनहरुमा सत्ता संकट दिन प्रतिदिन गहिरिँदै गएको छ । यो संकट बिचारको नभएर संभावनाको खेल खेल्ने सत्ता केन्द्रित दलहरुले सिर्जना गरेका हुन् । जसका लागि बिचार/सिद्धान्त, राजनीतिक मूल्य, मान्यता र आदर्शको कुनै मतलव रहँदैन । जसरी हुन्छ सत्ता/शक्तिमा पुग्ने र ब्यक्तिगत लाभ हाँशिलगर्ने उनीहरुको धेय रहन्छ । फेरी सत्तामा पुग्न र टिकिरहन खेल खेल्ने काम थालिहाल्छन् । नेपालको सत्ता देश र जनताको उन्नति र प्रगतिका लागि नभएर केही पार्टी र शक्तिकेन्द्रहरुका बीचमा खोसाखोसमै बितेको छ । राजनीतिमा अबसरवादलाई सबैभन्दा ठूलो महारोगनै मानिन्छ । तर नेपालको सत्ता र शक्तिमा रहेकाहरुले त्यही महारोगलाई धारण गरेर हिंडेका छन् । जसलेगर्दा राजनीतिलाई संभावनाको खेल ठान्नेहरुले कहिल्यै पनि देश र जनताको सेवा गर्दैनन् । बरु देशलाईनै संकटमा धकेल्ने काम गर्दछन् । मंसिर चारको निर्वाचनपछि सत्ता र शक्तिका लागि त्यस्तै उदेकलाग्दा खेलहरु भएका छन् । मंसिर चारको निर्वाचनले कसैलाई पनि स्पष्ट बहुमत नदिएपछि फेरी नयाँ निर्वाचनमा जानु पथ्र्यो । त्यो संभव नभएको अवस्थामा त्यतिबेलानै संसदमा रहेका र नरहेका सबै राजनीतिक पार्टी र शक्तिहरुको सर्बदलीय र सर्बपक्षीय भेलाको आयोजनागरी ‘राष्ट्रिय सहमतिको सरकार’ गठन गरेर नयाँ ढंगले अगाडि बढ्ने प्रयास हुनुपर्दथ्यो । त्यतिबेला सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको ध्यान राष्ट्रिय सहमतिको त के कुरा आफू निकटका बिभिन्न दलहरुको संयुक्त सरकार गठन गर्ने/गराउने तिर पनि गएन । उसको ध्यान संसदमा ८९ सिट ल्याएर सबैभन्दा ठूलो दल हुनासाथ अल्पमतको एकल सरकार गठन गर्तेतिर गयो ।
संसदमा पुगेका सबै पार्टीहरुले संभावनाको खेल खेल्न थाले । नेपाली कांग्रेसले आफ्नै गठबन्धनमा रहेका घटकहरुका बीचमा सहमति जुटाउन सकेनभने माओवादी केन्द्रलगायतका दलहरुले नयाँ गठबन्धनको खेल खेलेर घण्टाभरमा सरकार बनाए । जसलेगर्दा संसदको तेश्रो दल माओवादी केन्द्र सरकारको नेतृत्वमा र सबैभन्दा ठूलो दल भनिएको नेपाली कांग्रेस प्रमुख प्रतिपक्षमा पुग्यो । तर सत्ताबाहेक अन्यत्र नदेख्ने नेपाली कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्रि पुष्पकमल दाहालको फेर समातेर बीचैबाट सत्तामै घुस्ने प्रयास गर्‍यो । राष्ट्रिय र अन्तराष्ट्रिय शक्तिलाई गुहार्‍यो । सरकारलाई बिश्वासको मत दियो । सत्तामा टाँसिनका लागि राष्ट्रिय सहमतिको नयाँ मन्त्रको आबिष्कार पनि गर्‍यो । तर ति कुनैपनि प्रयासहरु काम लागेनन्/लाग्नेवाला छैनन् । हुने कुरा पनि होइन ।
पुस १० गते यता मात्र नेपाली कांग्रेसले ‘तीन बल्ड्याङ’ खाइसकेको छ । तर पनि उसले चेतेको छैन । उ अझैपनि सत्तामा कसरी पुग्न सकिन्छ भन्ने खेलमा लागेको लागेकै छ । यसले पनि देखाउँछकि नेपाली कांग्रेसको सम्पूर्ण राजनीति सत्ता र शक्तिका लागि मात्र हो, देश र जनताका लागि होइन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्रि दाहालको फेर समातेको समातेकै हुनुहुन्छ । एकीकृत समाजवादीले नेपाली कांग्रेसको फेर समातेको छ । जनता समाजवादीले एकीकृत समाजवादीको फेर समातेको छ । राष्ट्रिय जनमोर्चाले पनि नेपाली कांग्रेसलाई छाड्न सकेको छैन । पुरानो माया पिरति कायमै छ । नेपाली कांग्रेसले प्रधानमन्त्रि दाहाललाई बिश्वासको मत दिएपछि संसद प्रमुख प्रतिपक्ष बिहीन हुने अवस्था सिर्जना भयो । नेपाली कांग्रेसका नेतासमेत रहेका कानूनबिदहरुले नै अब नेकां प्रमुख प्रतिपक्षमा रहन नसक्ने बताउनु भयो । त्यसपछि नेकां निकटको अर्को पार्टी राजमोका अध्यक्ष चित्रबहादुर केसीले सो पद आफूले पाउनु पर्ने दाबि गरिसक्नु भएको छ । संसदमा प्रतिपक्षमा राजमो र नेमकिपा जम्मा दुई पार्टी र तिन्का दुई सांसद रहेका छन् । तर संसदीय राजनीतिमा अबसरवादी प्रबृत्ति यति बढेछ कि ति दुईका बीचमा पनि फाटो सिर्जना भएको छ ।
प्रमुख प्रतिपक्षी दलको नेता हुनका लागि राजमोका केसी र नेमकिपाका प्रेम सुवालका बीचमा तानातान शुरु भैसकेको छ । दुबैले सभामुख समक्ष आफूलाई प्रमुख प्रतिपक्षी दलको नेता घोषणा गरिदिन निवेदन हालेको अवस्था छ । अब एमालेकातर्फबाट प्रतिनिधिसभाको सभामुख हुनुभएका देवराज घिमिरेले त्यसको छिनोफानो गरिदिनु पर्ने अवस्था छ । आफूलाई संसदीय राजनीतिको मसिहा ठान्ने र ०४६ को राजनीतिक परिवर्तनपछि करिव ३३ बर्ष निरन्तर सत्ता र शक्तिमा रहँदैआएको नेपाली कांग्रेसले प्रधानमन्त्रि दाहालको फेर समातेर सत्ता पनि नछाड्ने र प्रमुख प्रतिपक्षी दलको हैसियत पनि नछाड्ने चरम अवसरवादी नीति अख्तियार गरेको छ । उसले त्यसैलाई राष्ट्रिय सहमतिको संज्ञा दिएको देखिन्छ । हुन त ०४६ पछिका अनेक घटना साक्षी रहेका छन्, जसले नेपाली कांग्रेसले संसदीय राजनीतिको प्रयोग गरेर ब्यक्तिगत लाभ हाँशिल गरेको तर त्यसको स्थायित्वका लागि सिन्को पनि नभाँचेको देखाएका छन् । नेपाली कांग्रेस पक्षका घोषित नेता राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसिलेनै भन्नुभएको छकि ‘अब सबै दलको लडाइँ राष्ट्रपतिमा पर्छ, सबैलाई कम्फर्टेबल राष्ट्रपति चाहिएको छ ।’ गत शनिवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद केसीले उपरोक्त खुलाशा गर्नुभएको थियो । उहाँले छातिमा मुडकिले हानेर भएपनि सभामुख र उपसभामुख पदको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई मत दिनु भयो, तर त्यो मतको कुनै अर्थ रहेन । उहाँलेनै आफूहरु ‘संसदीय प्रणालीको बखानगर्न नथाक्ने अनि त्यसको नियम र प्रणालीलाई नमान्ने भएपछि वास्तवमा हामीले यो संसदलाई राम्रोसँग चलाउन सक्दैनौँ’ भन्ने खुलाशा पनि गर्नुभएको थियो । उता माओवादी केन्द्रका सांसद जनार्दन शर्माले फेरी पनि सत्ता गठबन्धनबाटै राष्ट्रपतिको उम्मेदवार बन्ने बताउनुभएको छ ।
गत शनिबार प्रतिनिधिसभाको बैठकपछि उहाँले सबैका माझ सो कुरा बताउनु भएपनि नेपाली कांग्रेसले राष्ट्रपति पदमा ‘र्‍याल काड्न’ छाडेको छैन । एमालेका अध्यक्ष केपी ओलीले ‘अब एमालेले राष्ट्रपति पदमा जसलाई उम्मेदवार उठाउँछ, त्यही राष्ट्रिय सहमतिको हुन्छ’ भनिसक्नु भएको छ । प्रधानमन्त्रि दाहालको ध्यान सके पाँच बर्ष नभए त्यो अढाई बर्ष टिक्नुपर्छ भन्नेमा केन्द्रित छ । त्यसैगरी एमालेका अध्यक्ष ओलीको ध्यान पनि त्यही अढाई बर्षमा केन्द्रित देखिएको छ । गत शुक्रबार राष्ट्रपति बिद्यादेवी भण्डारी नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंको निवास भक्तपुर पुग्नुहुँदा पनि बिजुक्छेंलाई राष्ट्रपतिमा प्रस्तावगर्न खोजिएको होकि भन्ने चर्चा चल्यो । अभिनेता हरिवंश आचार्यले बरिष्ठ आँखारोग विशेषज्ञ डा. सन्दुक रुइतलाई राष्ट्रपति बनाउन प्रस्ताव गर्नुभएको भन्ने एउटा हल्लाले सामाजिक सञ्जालमा केही दिन बजार लियो । त्यसलगत्तै रुइत र प्रधानमन्त्रि दाहालको भेटघाटको साइत पनि जुर्‍यो ।
नेपाली कांग्रेसको पक्षबाट गत मंसिर चारको निर्वाचनमासमेत पारजित भएकाहरुलाई राष्ट्रपति बनाउन लागेको हल्ला चलेको छ । नेपाली कांग्रेसको फेर समेतेर राजनीति गरिरहेका केही कथित कम्युनिष्ट पार्टीका नेताहरुको नजर पनि राष्ट्रपति पदबाट हट्न सकेको छैन । कतिपयले पार्टी बाहिरबाट राष्ट्रपति बनाउने हल्ला चलाएर मज्जा लिने काम पनि गरिरहेका छन् । भागबण्डामा राष्ट्रपतिको भाग परेको एमालेले पनि अनेक नेताहरुको नाम अगाडि सार्दै जोख्दै/तौलँदै गर्ने काम जारीराखेको छ । कतिपय माओवादी केन्द्रसँग पार्टी एकतागर्न खुट्टा उचालेका नेताले पनि एमालेका अध्यक्ष ओलीलाई निवासमै पुगेर भेटिसकेका छन् । यसरी नेपालमा राष्ट्रपति पद संसदवादीहरुका लागि एउटा खेलौनाजस्तो भएको छ । संसदवादी राजनीतिमा अभ्यस्त भएका, अभ्यस्त हुने प्रयास गरिरहेका र संसदवादी राजनीतिमा प्रबेश गरेर पनि आफूहरुलाई पानीमाथि ओभानो देखाउन प्रयास गरिरहेकाहरु आफूले आफ्नै आङ कन्याएर छारो उडाउने काम गरिरहेका छन् । किनारामा रहेर रमिता हेर्नेहरुका लागिभने नेपालको राष्ट्रिय राजनीतिको पहिचानगर्ने अपूर्ब अबसर मिलेको छ । सबै बिचार र राजनीतिका आआफ्ना मूल्य, मान्यता र आदर्श तथा सीमाहरु हुन्छन् । समाजमा चोरी डकैतिलगायतका कुकर्म गर्नेहरुका पनि आआफ्ना सीमा हुन्छन् । जब उनीहरुले त्यो सीमालाई नाघ्ने प्रयास गर्दछन्, त्यसपछि उनीहरु गंभिर दुर्घटनामा पर्दछन् । सो दुर्घटनापछि आफ्नो पूर्ब पेशा छाड्न बाध्य हुन्छन् । त्यस्तै अवस्था पर्‍योभने ज्यानै त्याग्नुपर्ने पनि हुनसक्तछ । नेपालको हालको सत्ता राजनीतिको अवस्था पनि त्यस्तै छ । संसदीय राजनीतिमा मसिहा र उनीहरुको पछाडि लागेका सबैले आआफ्नो बिचार, मूल्य मान्यता र आदर्शका सबै सीमाहरु नाघिसकेका छन् । अब उनीहरु फेरी सम्मानित राजनीतिमा स्थापित हुने कुनै संभावना छैन । संभावना दुर्घटना तिरै सोझिएको छ । तसर्थ सबैले समयमानै आआफूलाई सम्हालुन ।

 

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर