माओवादी जनयुद्ध वस्तुगत विकासको उपज

माओवादी जनयुद्ध वस्तुगत विकासको उपज

माओवादी जनयुद्ध अहिले सबै पत्रपत्रिकाको मसला बनेको छ, नेपाली जनतामा पनि यो चर्चाको विषय बनेको छ । त्यसैले यहाँ जनयुद्ध के हो, यसका पछाडि केकस्तो दर्शन, सिद्धान्त रहेको छ र यो कसरी विस्तुस्थितिको उपज भएको छ भन्ने कुराको जानकारी दिने जमर्को गरिएको छ ।
ने.क.पा. (माओवादी) ले ०५२ फागुन १ गतेदेखि जनयुद्ध सुरु गरेको घोषणा गरेर आफ्नो क्रियाकलाप अघि बढाउँदै लगेको छ । नेपालको अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्था खतम पारी नयाँ जनवादी व्यवस्थाद्वारा नयाँ नेपालको निर्माण गर्नु यसको उद्देश्य रहेको छ । जनयुद्ध सुरु भएपछि तलाउको पानीमा ढुङ्गा हान्दा छालहरू उठेझैँ नेपाली समाजमा अहिले एउटा नयाँ हलचल पैदा भएको छ । यसको समर्थन र विरोधमा स्वरहरू गुञ्जिन थालेका छन् । यसले नेपालको सिमाना नाघेर सात समुन्द्र पारि पनि हलचल पैदा गरेको छ । यसले शोषक वर्गको रङ्गमहलमा भूकम्प नै ल्याइदिएको छ । त्यसैले सामान्य नियमकानुन, नैतिकता र मानवीय मूल्यमान्यता कुनैको पर्वाह नगरेर शासकवर्गले जथाभावी दमनयन्त्र चलाएको छ । माओवादीहरूले कार्यनीतिक रूपमा प्रतिक्रियावादी वर्ग बलियो देखिए पनि रणनीतिक रूपले तिनीहरू कमजोर हुन्छन् भनेर गरेको व्याख्या दमनपूर्ण क्रियाकलापले गर्दा सही सिद्ध भएको छ । माओवादीहरूले देश र जताको उत्थान र विकासका साथै शासक वर्गको राष्ट्रघाती र जनघाती कदमहरूको विरोध गरेका छन् । नेपालका शोषित वर्ग र आमूल परिवर्तनकारी जनतामा एउटा नयाँ शक्ति र गतिको संचारको अनुभूति जनयुद्धले पैदा गराएका सङ्केतहरू देखापर्न थालेका छन् ।
यति थोरै अवधिमा यसले किन यसरी प्रचार पायो र यो किन यसरी घनीभूत भएर आयो ? सरकारले यस्तो निरङ्कुश भएर नाङ्गो रूपमा दमन गर्दा पनि किन यो झन्झन् मुस्लो बनेर आइरहेको छ ? यसलाई “मुट्ठीभर व्यक्तिको आतङ्कककारी क्रियाकलाप” भनेर पनि सरकार आत्तिएर यत्रो दमन गर्न किन उद्दत हुन्छ ? जनताले यसको उत्तर खोजिरहेका छन् । त्यसैले माओवादी जनयुद्धलाई गम्भीरका हेर्नु आवश्यक छ ।
जनयुद्धलाई मान्छेले गहिराइपूर्वक नहेरी आआफ्नै मनोगतवादी कोणबाट हेर्नेगरेका छन् । कसैले यसलाई “यो उग्रवामपन्थी गतिविधि हो र अन्ततः दक्षिणपन्थी अवसरवादमा पतन हुन्छ” भनेका छन् । कसैले “मध्यमार्गी महत्वाकाङ्क्षा”, कसैले “जनताबिनाको जनयुद्ध”, कसैले “आतङ्कककारी क्रियाकलाप”, कसैले “बाहृय नक्कल” र कसैले “जडसूत्रवादी चिन्तनको उपज” भनेका छन् । यसप्रति सकारात्मक धारणा राख्र्नेहरूले “बाटो त त्यही हो, तर समय भन्दा अगावै भयो” भनेका छन् । सर्वप्रथम यस जनयुद्धलाई निम्नपुँजीवादी स्वार्थबाट मुक्त भएर, पूर्वाग्रही धारणा नराखेर, देश र जनताको भयावह अवस्थालाई दृष्टि दिएर र शासक वर्गहरूको राजनीतिक भ्रष्टाचार, अपराधीकरण सबै कुरालाई समष्टिगत रूपमा हेर्दै, समाजलाई गतिशील र परिवर्तनशील रूपमा बुझ्ने कोसिस ग¥यो भने यसलाई सहजैसित बुझ्न सकिन्छ । यसलाई आदर्शवादी दृष्टिकोणबाट होइन, द्वन्द्वात्मक भौतिकवादका मूलभूत सिद्धान्तका आधारमा हे¥यौँ भने ऐना जत्तिकै छर्लङ्क हुनेछ र माथि लगाइएका आरोपहरू सबै अनर्गल साबित हुनेछन् । आदर्शवादीहरूले यस्ता कुरा बुझ्न सक्तैनन् । सबै प्रतिक्रियावादी वर्गहरूको दृष्टिकोण आदर्शवादी हुनछ किनभने उनीहरू हरेक चीजलाई स्थिर रूपमा र अपरिवर्तनीय रूपमा हेर्दछन् । उनीहरू शोषक वर्गीय व्यवस्था कायम राख्न आफ्नो भएभरको शक्ति प्रयोग गरेर इतिहासको गतिलाई रोक्ने दुस्साहस गर्छन् । तर समाज उनीहरूको इच्छाअनुसार चल्दैन । इतिहासका शक्तिशाली बादशाहहरू इतिकासकै पानामा थन्किनु परेको कारण यही हो ।
कुनै पनि वस्तुलाई हेर्ने र बुझ्ने वैज्ञानिक पद्धति भनेको द्वन्द्ववादी पद्धति हो । द्वन्द्ववादी दृष्टिकोणअनुसार हेर्न नसक्नासाथ आदर्शवादी र यान्त्रिक भौतिकवादी गल्ति हुन्छ । आदर्शवादी र यान्त्रिक भौतिकवादीहरूको दृष्टिकोण अधिभूतवादी हुन्छ । यस्तो दृष्टिकोणले गर्दा मान्छेले वस्तुलाई समिष्ट रूपबाट नहेरी एकपक्षीय रूपले हेर्छन्, त्यस्ताले वस्तुको विकासक्रमलाई बुझ्न सक्तैनन् । माओवादी जनयुद्धलाई आरोप लगाउनेहरूले यही एकपक्षीय रूपले मात्र हेरेका छन् । अंशलाई मात्र हेर्ने सम्पूर्णलाई नहेर्ने, कि सम्पूर्ण मात्र हेर्ने अंशलाई नहेर्ने यस्तो एकपक्षीय दृष्टिकोणले माओवादी जनयुद्धलाई अन्धाहरूले हात्ती छामेको झैँ गरेका छन् ।
नेपालमा आफूलाई माक्र्सवादी भन्ने कतिपले द्वन्द्वात्मक भौतिकवादको मात्राबाट गुणमा विकास भन्ने सिद्धान्तलाई यान्त्रिक भौतिकवादी ढङेगबाट ग्रहण गरेका छन् । त्यस सिद्धान्तले वस्तुको विकासलाई स्वतःस्फूर्त रूपमा ग्रहण गर्छ र सचेतनपक्षको भूमिकाको महत्वलाई इन्कार गर्दछ । कसैले माओावदी जनयुद्ध त ठीक भए पनि “आत्मगत पक्ष कमजोर भएको” पनि भन्ने गरेको पाइन्छ । यिनीहरूले वस्तुगत पक्ष र आत्मगत पक्षलाई बेग्लाबेग्लै रूपमा ग्रहण गरेको पाइन्छ । वस्तुगत पक्षले आत्मगत पक्ष जन्माउँछ र आत्मगत पक्षले वस्तुगत पक्षको विकासलाई मद्दत पु¥याउँछ, जसरी सङ्गठनले आन्दोलनको र आन्दोलनले सङ्गठनको विकास गराउँछ । उनीहरू “भौतिक शक्तिहरूले मानिसको चेतनाको स्वरूपलाई निर्धारण गर्दछ” भन्ने कुरालाई मात्र लिन्छन् र “मानिसको चेतनाले पनि भौतिक परिवेशको विकासलाई निर्देशित गर्न सक्तछ” भन्ने कुरालाई बिर्सिन्छन् । बिर्सिनुको कारण निम्नपुँजीवादी अवसरवादको प्रभाव हो ।
वस्तुगत पक्षको व्याख्या पनि सही किसिमले हुनु आवश्यक छ । हाम्रो देशको शासक वर्ग साम्राज्यवाद विशेषतः भारतीय विस्तारवादको दलालीकरण, अपराधीकरणमा र भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । राष्ट्रियताको प्रशन गम्भीर बनेको छ र जनतामा असन्तुिष्ट चुलिएको छ । यस्तो स्थितिमा सचेतन राजनीतिक पक्षले योजनाबद्ध ढङ्गले लागिपरेमा आत्मगत पक्षको विकास गर्नसक्छ । हाम्रो जस्तो विशिष्टता भएको देशमा पहिला आत्मगत स्थिति बलियो पारेर मात्र क्रान्तिकारी दिशामा अघि बढ्ने भन्नुको अर्थ क्रान्ति नै नगर्नु हुन्छ । नेपालमा माक्र्सवादीहरूमा रहेको यस्तो चिन्तनको कारणले नै उनीहरूले जनयुद्धलाई ‘उग्रवामपन्थी’ देख्न पुगेका हुन् । यो जनयुद्ध विश्वकम्युनिस्ट आन्दोलनको अनुभव र नेपालको वर्गसङ्घर्षको इतिहासबाट प्राप्त ज्ञानको परिणाममा आधारित छ । नेपालमा कम्युनिस्ट पार्टी गठन भएदेखि बीज रूपमा रहेको क्रान्तिकारी धारले सङ्घर्षका अनेक आरोहअवरोह ब्यहोर्दै जनयुद्धको जन्म र विकास भएको छ । नेपालमा भएका वर्गसङ्घर्षका सामग्रीहरूलाई व्यवस्थित गरेर संश्लेषित र उच्च रूपमा यो जनयुद्ध भएको छ ।
जनयुद्ध प्रतिक्रियावादीहरूको राज्यशक्तिका अगाडि कमजोर रूपमा देखिन्छ । तर कुनै पनि नयाँ शक्ति, नयाँ विचार पहिला कमजोर र अल्पमतमा हुन्छ । तर त्यो गतिशील विकासको अवस्थामा हुन्छ । त्यसैगरी कुनै पनि पुरानो शक्ति र पुरानो विचार राज्यशक्तिको आडमा पहिला शक्तिशाली देखिन्छ, तर बहुसङ्ख्यक जनताको चाहना विपरीत चल्ने हुँदा त्यो विनाशको अवस्थामा हुन्छ । माओवादी जनयुद्धले नयाँ विचारको प्रतिनिधित्व गर्दै विकासको गतिलाई समातेर बहुसंख्यक शोषित वर्गको मुक्तिका लागि र राष्ट्रिय स्वाधीनताका लागि लडेको देखिन्छ । यसको उल्टो शासक वर्गले शोषकीय व्यवस्था कायम राख्न, सामन्त, दलाल पुँजीपति वर्गको अधिनायकत्व कायम राख्न राज्यशक्तिको दुरूपयोग गरिरहेको छ । त्यसैले यिनीहरूले आफ्नो वर्गस्वार्थको लागि साम्राज्यवाद तथा विस्तारवादलाई राष्ट्रिय अस्मिता लुटाउने काम गरिरहेका छन् ।
अहिलेको नयाँ र पुराना विचारको सङ्घर्षको मूर्त रूप नै माओवादी जनयुद्ध हो । ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट हेर्दा नयाँ र पुराना विचारका बीचको सङ्घर्षमा नयाँ विचारको विजयले इतिहासको गतिलाई अघि बढाउँछ भने पुराना प्रतिक्रियावादी विचारको विजयले इतिहासको गतिलाई, विकास र प्रगतिलाई अवरुद्ध पार्दछ । अनेक आरोह–अवरोह पार गरेर भए पनि अन्ततः नयाँ विचारको नै विजय हुन्छ । तर यस्तो विजयलाई सरल र सहज रूपमा लिनु हुँदैन । यसको विकासको प्रक्रिया भीषण वर्गसङ्घर्षबाट, विभिन्नर घुमाउरो बाटो हुँदै सतहबाट गहिराइतिर हुँदै अगाडि बढ्छ ।
त्याग र वलिदानले मात्र पनि क्रान्तिकारी परिवर्तन ल्याउन सकिँदैन । त्यसका लागि वस्तुगत अवस्थाको सही विश्लेषण, अन्तर्विरोधको विशिष्टताको सही पहिचार पनि आवश्यक छ । यसमा सचेतन पक्षको अथवा नेतृत्व पक्षको पनि महत्वपूर्ण भूमिका हुन्छ । द्वन्द्ववादलाई सिर्जनात्मक ढङ्गले व्यवहारमा लागू गर्न नेतृत्व खप्पीस बन्नुपर्दछ । सही व्यवहारका क्रममा नै जागृतिको लहर आउँछ र आत्मगत शक्तिमा पनि विकास हुन्छ । व्यवहारबाट नै नयाँनयाँ प्रगतिका मार्गका ढोकाहरू खोलिँदै जान्छन् । एकाथरीहरू सर्वहारा संस्कृतिको विकास गरेर मात्र कम्युनिस्ट पार्टीको गठन गर्नुपर्छ र जनतामा पनि त्यस्तो संस्कृतिको विकास गरिसकेपछि मात्र क्रान्तिको सुरुवात गर्नुपर्छ भन्ने शिक्षा दिन्छन् । माओवादीहरूले चाहिँ वर्गसङ्घर्षद्वारा नै त्यस्तो सर्वहारा संस्कृतिको विकास हुँदैजान्छ भनेर व्यवहारलाई प्राथमिकता दिएको देखिन्छ । क्रान्तिकारी परिवर्तनका लागि क्रान्तिकारी चिन्तन र प्रयास नै पहिलो महत्वपूर्ण कदम हो भन्ने भनाइ माओवादीहरूको छ । पहिला व्यवहार अनि ज्ञान, फेरि व्यवहार, फेरि ज्ञान यसरी नै ज्ञानले उच्चस्तरमा विकास गर्दै जान्छ भन्ने कुरा भौतिकवादी द्वन्द्ववादको माओवादी ज्ञानसिद्धान्त हो । यही सिद्धान्तलाई माओवादी आत्मसात गरेको देखिन्छ । यसै हुनाले माओवादी जनयुद्धलाई नेपालको ऐतिहासिक विकासक्रमको अनिवार्य उपज भनिएको हो । यो कुनै कल्पनाको आधारमा भनिएको होइन । यसो भन्नुमा दार्शनिक र सैद्धान्तिक आधारहरू छन् ।

कुनै पनि चीज स्थिर रूपमा रहँदैन, त्यसैले समाज पनि गतिशील र परिवर्तनशील छ । यो गतिशील र परिवर्तनशील बनाउने तत्व अरू केही नभई त्यस भित्रकै अन्तर्विरोधहरू हुन् । कुनै पनि वस्तुभित्र एकता र सङ्घर्ष साथसाथै रहेको हुन्छ । एकता भनेको सापेक्षित स्थिति हो, एकता सर्तबद्ध र बाध्यात्मक हुन्छ । सङ्घर्षको पक्षले विकास र गति प्रदान गर्छ । यसैक्रमले समाज पनि रूपान्तरण हुँदै आएको छ । त्यसैले एकता भनेको सापेक्ष र सङ्घर्ष भनेको निरपेक्ष हुन्छ । क्रान्तिकारीहरूले यही सङ्घर्ष पक्षलाई ध्यान दिएर विकासशील पक्षलाई लिएर र त्यसभित्रका अन्तर्विरोधहरू ठम्याएर क्रान्तिकारी दिशा निर्धारण गर्दछन् । उत्पादक शक्ति र उत्पादनसम्बन्धको अन्तर्विराधले समाजमा वर्गसङ्घर्ष जन्माएको हो । यसलाई समाधान गर्ने प्रक्रियाका बीचबाट गति पैदा गराएको हो र इतिहासलाई अघि बढाएको हो ।
नेपाली समाजको विकासको चरण भर्खर सामन्ती अवस्थाबाट पुँजीवादी अवस्थातिर पाइला बढाउँदैछ । साम्राज्यवादको नेपालका सामन्तवर्गसँगको गठबन्धनका कारणले राष्ट्रिय पुँजीवादको विकासलाई अवरुद्ध पारेको छ । सामन्तवाद र साम्राज्यवादको मिलापबाट वर्तमान राज्यसत्ता बनेको हुनाले साम्राज्यवादको यसमा बलियो पकड रहेको छ । नेपाल अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा रहेको छ । खासगरी राजनीतिक, आर्थिक र सांस्कृतिक रूपले भारतीय विस्तारवादी शासकवर्गको अर्धउपनिवेश बनेको छ । सन् १८१६ को सुगौली सन्धिदेखि नेपालको सामन्ती शासक वर्गले आफ्नो राष्ट्रिय चरित्र गुमाई बृटिस–भारतको अर्धउपनिवेश बन्यो । त्यसबेलादेखि आजपर्यन्त भारतीय विस्तारवादी चङ्गुलबाट नेपाल मुक्त भइसकेको छैन । यही अवस्था नै नेपालको विकास र प्रगतिमा बाधक बनेको छ । स्वाभिमानी नेपाली जनताको मुख्य चिन्न्ताको विषय यही रहेको छ । त्यसैले नेपालका क्रान्तिकारी कम्युनिस्टहरूको उद्देश्य नेपालमा सामन्तवादी शोषण खतम पारी जनवादी व्यवस्था ल्याउनु रहेको छ । ने.क.पा. (माओवादी)ले पनि यसै रणनैतिक लक्ष्य राखेर जनयुद्ध सुुरु गरेको देखिन्छ ।

नेपालमा कम्युनिस्ट पार्टी गठन भएको पुगनपुग पाँच दशक भयो । तर पहिलो महाधिवेशन (जनवरी १९५४) देखि नै कम्युनिस्ट पार्टीभित्र संशोधनवादको प्रवेश भई क्रान्तिकारी आन्दोलनले भड्काउको रूप लियो । दोस्रो महाधिवेशन (सन् १९५७) पछि त पार्टीमा राजावादी कम्युनिस्ट हाबी भए । तेस्रो महाधिवेशन (१९६२) पनि संशोधनवादबाट मुक्त हुन सकेन, पार्टी झन् विशृङ्खलताको अवस्थामा पुग्यो । त्यसेगरी वि.सं. २०२८ मा झापाकान्ड भयो भने संशोधनवादीहरूबाट पार्टीलाई मुक्त पार्न क्रान्तिकारीहरूद्वारा वि.सं. २०३१ मा चौथो महाधिवेशन सम्पन्न भयो । त्यसपछि अनेक आरोहअवरोह घातप्रतिघात र विचारधारात्मक सङ्घर्षहरू चल्दैगए । लामो समयसम्मका प्राप्त अनुभव र ज्ञानलाई संश्लेषित र परिमार्जित गर्दै अन्ततः माक्र्सवाद–लेनिनवाद–माओवादको हतियारले ने.क.पा. (माओवादी) सुसज्जित भयो । त्यही वैचारिक हतियारका आधारमा माओवादीहरूले यस जनयुद्धको तीर चलाएका छन् ।

पाँच दशकसम्म कम्युनिस्ट पार्टीले क्रान्तिकारी ढङ्गले विकास गर्न नसक्नुको कारण माक्र्सवादी द्वन्द्ववादलाई व्यवहारमा लागू गर्न नसक्नु थियो । निम्नपुँजीवादी चिन्तनप्रवृत्ति व्यक्तिगत स्वाथमा जोड र उत्सर्र्गको भावनामा कमी आदि कारणले गर्दा क्रान्तिकारी क्रियाकलापले अलिकति पनि फड्को मार्न सकेन । मात्राबाट गुणमा निश्चित रूपमा परिवर्तन हुन्छ, तर सचेतन पक्षको सक्रिय भूमिकाले केही दशकमै पनि परिवर्तन ल्याउन सक्छ भन्ने कुरा कतिपयहरू व्यवहारमा लागू गर्न चाहँदैनन् । यसरी अध्ययन गर्दा माओवादीले नेपालको ऐतिहासिक विशिष्टता, वर्तमान वस्तुगत पक्ष, विकासको चरण, वर्गविश्लेषण गरेर, ‘बलप्रयोग’ को सिद्धान्त अँगालेर जनयुद्धमा आत्मविश्वासका साथ होमिएको देखिन्छ । मुख्य कुरा दिशा सही भयो भने गुणात्मक रूपमा विकास हुँदै शक्तिशाली बन्छ र सत्ता कब्जा गर्छ, दिशाा गलत भयो अन्ततः खतम भएर जान्छ ।
नेपालको वर्तमान अवस्थालाई कायम राखी इतिहासको गतिलाई रोक्न खोज्ने वर्गहरू भनेका सामन्त, दलाल र नोकरसाही पुँजीपति वर्गहरू हुन् । यिनीहरू साम्राज्यवादको आडभरोसामा नेपालका शासकवर्ग बनेका छन् । यो वर्गलाई पराजित नगरेसम्म देश अगाडि बढ्न सक्तैन । किसान, मजदुर, श्रमिक, प्रगतिशील बुद्धिजीवी तथा अन्य सबै उत्पीडित वर्गहरूको मुक्ति प्रतित्रियावादी वर्गहरूसँगको हितसँग टकराएको छ । आजको तात्कालिक अन्तर्विरोध नै यही हो । यसको समाधान राष्ट्रिय र जनतान्त्रिक क्रान्ति नै हो । यसको संश्लेषित रूप नै नयाँ जनवादी व्यवस्था हो । गुणात्मक रूपको अन्तर्विरोधलाई गुणात्मक रूपकै क्रान्तिकारी सङ्घर्षहरूको माध्यमबाट मात्र हल गर्न सकिन्छ भन्ने माओको द्वन्द्ववादी सिद्धान्तलाई ग्रहण गर्न नसकेकाले विगतका कम्युनिस्ट आन्दोलनको दिशा अघि बढ्न सकेन । परिणामतः नेपाली कम्युनिस्ट आन्दोलन लामो समयसम्म वैधानिक र सुधारवादी दिशाको वृत्तमा घुमिरहृयो । मित्रतापूर्ण अन्तर्विरोधलाई ‘बलप्रयोग’ को सिद्धान्तअनुसार हल गर्नुपर्छ भन्ने द्वन्द्वात्मक कडीलाई पक्रेर माओवादीहरूले जनयुद्धको थालनी गरेका हुन् ।

विश्वमा सर्वहारा वर्गले गरेको क्रान्ति सारमा २ किसिमको मात्र देखिएको छ । एउटा सशस्त्र विद्रोह हो र अर्को दीर्घकालीन जनयुद्ध हो । सशस्त्र विद्रोहको लाइनले शक्तिसञ्चय गरेर एकैचोटि केन्द्रीय सत्ता कब्जा गर्ने रणनीति बनाउँछ । यसले शक्तिसञ्चय नहुँदासम्म जनसङ्घर्षलाई संचालन गरेर गएको हुन्छ । दीर्घकालीन जनयुद्धको लाइनले ग्रामीण वर्गसङ्घर्षको आाधारमा छापामार युद्धद्वारा कमजोर ठाउँमा प्रहार गर्दै स्थानीय सत्ता प्राप्त गर्दै अन्तमा केन्द्रीय सत्ता प्राप्त गर्ने रणनीति बनाउँछ । त्यसैले उनीहरूको नारा हुन्छ ‘गाउँबाट सहर घेर’ । सशस्त्र विद्रोहले सहरलाई आफ्नो प्रधान क्षेत्र बनाउँछ भने दीर्घकालीन जनयुद्धले गाउँलाई । सशस्त्र विद्रोहले जनसङ्घर्षलाई र वैधानिक आन्दोलनलाई प्रधान बनाई भन्डाफोरको नीति लिन्छ र अवैधानिक आन्दोलनलाई दोस्रो स्थानमा राखेर काम गर्दछ भने दीर्घकालीन जनयुद्धले गाउँलाई मुख्य क्षेत्र बनाउँछ र अवैधानिक आन्दोलनलाई प्राथमिकता दिन्छ र वैधानिक आन्दोलन तथा जनसङ्घर्षलाई सहयोगीको रूपमा लिन्छ । यी २ लाइनमध्ये कुन लाइन ग्रहण गर्ने भन्ने कुरामा नेपाली कम्युनिस्ट आन्दोलनभित्र गम्भीर विवाद छ । जहाँ उद्योगधन्दाको विकास भएको छ र मजदुरवर्गबाट क्रान्ति सम्पन्न हुन सक्छ, त्यस्ता देशमा मात्र सशस्त्र विद्रोहको लाइन ठीक हुन्छ । यसमा जहजारौँ–लाखौँ मजदुरहरू सामूहिक रूपमा काम गर्छन् र उनीहरू एकै नाराले समेटिन सक्छन् । यो लाइनको आधारका रूपमा लेनिनले अक्टोबर समाजवादी क्रान्ति सम्पन्न गरेका थिए । यो क्रान्तिको विशिष्टताले हाम्रो देशको विशिष्टतासँग मेल खाँदैन । यही लाइनलाई चीनमा वाङ्मिङ र लिलिसानले प्रयोग गर्न खोजेका थिए । त्यो असफल हुनुका साथै पार्टीले पनि ठूलो ब्यहोर्नु परेको थियो । नेपाल विकसित देश होइन, कृषिप्रधान देश हो । यहाँको आधारभूत शक्ति किसान हो । त्यसैले यहाँ नयाँ जनवादी क्रान्ति गरेर मात्र समाजवादमा पुग्न सकिन्छ । क्रान्तिका आधारभूत शक्ति गाउँमा नै छरिएर बसेका छन् । अर्कोतिर राज्यसत्ता एउटै केन्द्रीकृत अवस्थामा छ र आधुनिक हातहतियारले सुसज्जित छ । यस्ता देशहरूमा एकैचोटि केन्द्रीय सत्ता प्राप्त गर्ने सशस्त्रविद्रोहको लाइन हास्यास्पदसिवाय केही होइन, यो क्रान्तिबाट पछि हट्नु नै हुनजान्छ । त्यसैले माओवादीहरूले स्पष्ट भनेका छन्— यस्ता देशहरूमा चिनियाँ क्रान्तिको ‘दीर्घकालीन जनयुद्ध’ को लाइनलाई नेपालको विशिष्टताअनुसार सिर्जनात्मक ढङ्गले लागू गर्नु नै सही र वैज्ञानिक हुन्छ ।
नेपालको सन्दर्भमा यही दीर्घकालीन जनयुद्धको नीतिलाई माओवादीले आत्मविश्वासका साथ आगालेको देखिन्छ । यसलाई केटाकेटीपन भन्नु, आतङ्कककारी देख्नु र मध्यम वर्गीय उग्रवाद भन्नु पलायनवादी लाल बुझक्कड हुनु मात्र हो । यो कमजोर मानसिकताको द्योतक मात्र हो । क्रान्तिकारी शंक्तिलाई बढीभन्दा बढी उपयोग र परिचालित गर्दै दुस्मनशक्तिलाई विकेन्द्रित गर्नु, उसको शक्ति कमजोर पार्दै लैजानु र आफ्नो शक्तिमा बृद्धि गर्दै जानु दीर्घकालीन जनयुद्धको सार हो । यस्तो युद्ध बिनायोजना र बिनातयारी गरिंँदैन । दृढ इच्छाशक्ति, आत्मबल र आत्मोत्सर्गको भावना जस्ता मानवीय क्षमताहरू पनि दीर्घकालीन जनयुद्धका महत्वपूर्ण पक्ष हुन् । माओवादीहरूका छोटो अवधिका क्रियाकलापहरू हेर्दा उनीहरूले यी सबै पक्षहरूलाई गहनतापूर्वक लिएको देखिन्छ ।
माओका अनुसार छापामार युद्ध एउटा यस्तो हतियार हो, जसबाट सशस्त्र र सैनिक दृष्टिले कमजोर भएको राष्ट्रले अपेक्षाकृत बढी शक्तिशाली राष्ट्रका विरुद्ध सङ्घर्ष गर्नसक्छ । प्रतिक्रियावादीका विरुद्ध जनताले गर्ने क्रान्तिकारी सङ्घर्षहरूमा पनि यो त्यतिकै सही हो । यस्तो प्रकारको जनयुद्ध गर्नेहरूले यसलाई ३ चरणमा विभाजित गरेका छन् । प्रथम, सत्रुको रणनीतिक आक्रमणबाट आफ्नो रणनीतिक सुरक्षा र कार्यनीतिक आक्रमण । यसमा मुख्य गरेर आफ्नो शक्ति बचाउने र छापामार युद्धद्वारा सत्रुको कमजोर स्थलमा प्रहार गर्ने गर्दछन् । दोस्रो, रणनीतिक सन्तुलनको अवस्था, यसमा दुसमनले भयङ्कर आक्रमणका लागि आफूलाई सुदृढ बनाउँछ र क्रान्तिकारीहरूले पनि हमलाका लागि राम्रो तयारी गर्छन् । अर्थात् यो दुवै बराबर भएको अवस्था हो । तेस्रो, रणनीतिक आक्रमणको अवस्था हो । यसमा क्रान्तिकारीहरूले योजनाबद्ध रूपमा दुस्मनमाथि रणनीतिक हमला गर्दछन् । यसरी जनयुद्ध अघि बढाउने सिद्धान्त नै दीर्घकालीन जनयुद्धको सिद्धान्त हो । माओवादीले यही सिद्धान्तलाई अङ्गीकार गरेको पाइन्छ । माओवादीको जनयुद्ध अहिले प्रथम चरणमा रहेको उनीहरूका क्रियाकलापले देखाउँछ ।
यस्ता तमाम कुराहरूको अध्ययन गर्दा माओवादी जनयुद्ध क्रान्तिकारी दर्शनका आधारमा देश र जताको मुक्तिको लागि राजनीतिक उद्देश्य बोकेर योजनाबद्ध रूपमा आएको देखिन्छ । देश र जनताको मुक्तिको लागि गरिएको जनयुद्धको सारलाई नबुझी, त्यसलाई गम्भीरतापूर्वक नलिई राज्यशक्तिको आडमा दमन गर्न उत्रनुले सरकार देश र जताको हितविपरीत उभिएको छ भनेर सहजै बुझ्न सकिन्छ । सरकारले राज्यशक्तिको आडमा माओवादी जनयुद्ध लाई सखाप पार्ने उद्देश्य लिन्छ भने त्यो एकलकाँटे दृष्टिकोण मात्र हुन जान्छ । राज्यशक्ति जनताको आडमा मात्र बलियो हुन्छ । हतियार मुख्य होइन, मुख्य जनता हुन्, जनता नै इतिहासका निर्माता हुन् । जसले जनताको आधारभूत समस्यामा ध्यान दिन्छ र राष्ट्रिय अस्मिताका लागि मरिमेट्छ अन्ततः विजय उसकै हुन्छ । पुरानोको पतन र नयाँको विकास यो सार्वभौम सत्य हो, यो नै प्रगति र विकासको मूल कडी हो । नयाँ विचारलाई आत्मसात नगर्ने, पुरानै विचारलाई अँठ्याइराख्ने, इतिहासको गतिसँग हिँड्न नचाहने शासकवर्ग लामो अवधिसम्म टिक्न सकेको इतिहास छैन ।
ने.क.पा. (माओवादी) ले लिएको विचार एकाएक देखापरेको होइन, यो व्यवहारबाट खारिंँदै आएको दार्शनिक चिन्तनको आधारमा चलेको वर्गसङ्घर्षको लामो अनुभवबाट विकसित विज्ञान हो । माओवादी जनयुद्ध नेपालको परम्परादेखि चल्दै आएको वर्गसङ्घर्षको ऐतिहासिक विकास, अझ खासगरी नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएदेखि बीजरूपमा रहेको वर्गसङ्घर्ष र अन्तरसङ्घर्षबाट क्रमिक रूपमा विकास हुँदै आएको विचारको परिमार्जित र संश्लेषित रूप हो । त्यसैले यसलाई यसै रूपमा हेर्नु र बुझ्नुपर्छ । त्यसरी हेर्दा माओवादी जनयुद्ध नेपाली इतिहासको विकासको अनिवार्य उपज हो भनेर देख्न सकिन्छ ।
०४६ सालमा निरङ्कुश व्यवस्थाको विरुद्ध जनताले आफ्नो मुक्ति र सही प्रजातन्त्रका लागि प्राणको बाजी लगाउ । प्रतिक्रियावादी वर्गहरूका बीचमा कुर्सी साटासाट गर्ने नाटकसिवाय जनताका लागि अरू कुनै उपलब्धि भएन । प्रजातन्त्र प्राप्तिको ठूलो ढ्वाङ् फुके पनि त्यो प्रजातन्त्र, भ्रष्टाचारी, तस्कर, काला बजारिया र कमिसनखोरका लागि मात्र आयो, साधारण जनताले उपभोग गर्न पाएनन् । निरङ्कुश व्यवस्था र संसदीय व्यवस्थामा कुनै दृष्टिले पनि भिन्नताको बोध भएन । शोषण र दमनका लागि नयाँ र पुराना शोषकवर्गबीच एक किसिमको मेलमिलापजस्तो मात्र भयो । यसबाट मुक्तिका लागि जनताले शान्तिपूर्ण ढङ्गले आन्दोलन गरे । तर सरकार बुट, लाठी, गोली, जेल, नेल, हत्या र दमनमा उत्रियो । जनताले संसदीय प्रजातन्त्रको कुरूप अनुहार स्पष्टै देखे । पशुहरू त आफ्नो सुरक्षाका लागि आफ्नो भएको हतियार प्रयोग गर्छन् भने मान्छेहरू हमेसा दास बनेर बस्न सक्तैनन्, त्यसको विकल्प खोज्छन् । माओवादी जनयुद्ध त्यही विकल्पका रूपमा देखाप¥यो । शोषक वर्ग आफ्नो शोषकीय व्यवस्था कायम गर्न जनहत्या र राज्यआतङ्कक मच्चाउँछ भने त्यसबाट मुक्त हुन जनताले पनि हतियार उठाउनु अपराध होइन ।
यी सबै घटनाक्रमहरू ऐतिहासिक विकासक्रमको वस्तुगत अवस्थाले जन्माएका परिणामहरू हुन् । नेपालको इतिहास अघि बढ्न खोजेको छ, अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थाबाट मुक्त हुन खोजेको छ र प्रतिक्रियावादीहरू यसमा तगारो बनेका छन् । त्यसलाई नहठाई मुक्ति सम्भव छैन । सर्वहारावर्गीय पार्टीबिना अरूबाट यो सम्भव हुँदैन । त्यसैले यी सबैको संश्लेषित रूप अहिलेकोे माओवादी जनयुद्ध हो । माओवादी जनयुद्ध नेपालको ऐतिहासिक विकासक्रमको अनिवार्य उपज हो भन्ने कुरा सही माक्र्सवादी चस्मा लगाएर हेरेमा छर्लङ्क देखिन्छ । (‘भक्तबहादुर श्रेष्ठका संकलित रचनाहरु’)