सरकारको फासिवादी कदमको आदिवासी जनजाति महासंघद्वारा घोर भत्र्सना, गिरफ्तार नेता कार्यकर्ताहरुलाई अविलम्ब रिहाइ गर्न जोडदार माग

सरकारको फासिवादी कदमको आदिवासी जनजाति महासंघद्वारा घोर भत्र्सना, गिरफ्तार नेता कार्यकर्ताहरुलाई अविलम्ब रिहाइ गर्न जोडदार माग

काठमार्डौं । अखिल नेपाल आदिवासी जनजाति महासंघले शान्तिपूर्ण रुपमा गरिएको विरोध कार्यक्रममाथि हस्तक्षेप गरी नेता कार्यकर्ताहरुलाई गरेको गिरफ्तारीको घोर निन्दा र भत्र्सना गरेको छ । गिरफ्तार नेता तथा कार्यकर्ताहरुलाई अविलम्ब रिहा गर्न जोडदार माग गरेको छ । पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिने सरकारको प्रतिगामी निर्णयको विरोधमा अखिल नेपाल आदिवासी जनजाति महासंघले आयोजना गरेको विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको अखिल नेपाल जनजाति महासंघका केन्द्रीय सदस्य गोर्की श्रेष्ठले वक्तव्य मार्फत् जानकारी दिनुभएको छ ।

नेता गोर्कीले जारी गरेको वक्तव्यमा माइतीघर मण्डलामा भएको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य रामसिंह श्रीस, स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता हरिभक्त कँडेल, अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष पवनमान श्रेष्ठ, महासचिव फुर्नाम्गेल मोक्तान, सचिव शिव श्रेष्ठलगायत गंगा राई, सुरेश तामाङ, मंगल तामाङ, मिनकुमार राना मगरलाई गिरफ्तार गरेको उल्लेख गरिएको छ ।

वक्तव्यमा त्यसैगरी क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्यहरु अमिर महर्जन, शारदा महत, इन्दिरा अधिकारी, पत्रकार अनु निरौला, प्रगतिवादी कवि बलराम तिमल्सिना, बुद्धिजीवी संगठनका नेता श्याम केसी, विद्यार्थी नेतृ शोभा सेन्चुरी, नेपाल दलित मुक्ति मोर्चाका नेता टेकबहादुर विक लगायत १८ जनालाई गिरफ्तार गरेर प्रहरी वृत सिंहदरबार अनामनगरमा राखिएको उल्लेख गर्नुभएको छ ।

महासंघले पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिने र गोरखामा शालिक अनावरण गर्ने सरकारको कदम प्रतिगमनकारी भएको भन्दै कडा विरोध जनाएको छ ।