गिरफ्तार नेताहरुलाई शिघ्र रिहाइ गर्न महासचिव किरणको माग, सरकारको प्रतिगमनकारी कदमको विरोध गर्न आम गणतन्त्रवादीहरुमा हार्दिक अपिल

गिरफ्तार नेताहरुलाई शिघ्र रिहाइ गर्न महासचिव किरणको माग, सरकारको प्रतिगमनकारी कदमको विरोध गर्न आम गणतन्त्रवादीहरुमा हार्दिक अपिल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले एक वक्तव्य जारी गरी शान्तिपूर्ण रुपमा गरिएको कार्यक्रममा गरिएको प्रहरी हस्तक्षेप र नेता कार्यकर्ताहरुको गिरफ्तारीको घोर विरोध गर्नुभएको छ । वक्तव्यमा गिरफ्तार नेता कार्यकर्ताहरुको शिघ्र रिहाइको जोडदार माग गर्दै सरकारको प्रतिगमनकारी कदमको विरोध गर्न आम गणतन्त्रवादी पार्टी तथा व्यक्तित्वहरुमा हार्दिक अपिल गर्नुभएको छ ।

वक्तव्यमा भनिएको छ, “आज पौष २७ गते संघीय गणतन्त्र नेपालको सरकारले पृथ्वी जयन्ती मनाउने र देशभर सार्वजनिक विदा दिने निर्णयको विरोधमा अखिल नेपाल आदिवासी जनजाति महासंघले माइतीघर मण्डलामा आयोजना गरेको कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरी हाम्रो पार्टीका नेता तथा कार्यकर्तासहित १८ जना प्रदर्शनकारीलाई गिरफ्तार गरेको छ । गिरफ्तार हुनुहुनेहरुमा हाम्रो पार्टीका स्थायी समिति सदस्य क. रामसिंह श्रीस, प्रवक्ता क. हरिभक्त कँडेल, पिविएम क.पवनमान श्रेष्ठ, सिसिएमहरु क.शारदा महत, क.आकाश महर्जन, क. फुर्नाम्गेल मोक्तान, क.शिव श्रेष्ठ, क.इन्दिरा अधिकारीसहित बलराम तिमिल्सिना, अनु निरौला, श्याम केसी, सुरेश तामाङ, मंगल तामाङ, शोभा सेन्चुरी, मिनकुमार राना, टेकबहादुर विक, गंगा राई, मधु श्रेष्ठ हुनुहुन्छ ।

गणतन्त्र नेपालमा राजा पृथ्वीनारायण शाहको जन्म जयन्ती मनाउने र आजै गोरखामा पृथ्वीनारायण साहको शालिक अनावरण गर्ने कार्यक्रममा प्रधानमन्त्री स्वयम् उपस्थित हुने कुराले देश प्रतिगामनतिर गएको संकेत गर्छ । हाम्रो पार्टी गिरफ्तार सम्पूर्ण नेता तथा कार्यकर्ता कमरेडहरुको शिघ्र रिहाइको माग गर्दै नेपाल सरकारको यो प्रतिगमनकारी कदमको विरोध गर्न आम गणतन्त्रवादी पार्टी तथा व्यक्तित्वहरुमा हार्दिक अपिल गर्दछ ।”

thumbnail of press statement ff