काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०६५ साल जेठ १५ गते ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नेपाल’ को पहिलो संसद्ले राजतन्त्रको अन्त्य गरी पुस २७ गते पृथ्वीनारायण शाहलाई एकताका प्रतीक मान्दै पृथ्वीजयन्ती मनाउने निर्णय खारेज गरेको निर्णय उल्ट्याउने प्रतिगामी कदमको नेकपा (क्रान्तिकारी माओवादी)सहित तीन कम्युनिस्ट पार्टीले कडा विरोध गरेका छन् । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरण, नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला र नेकपा (मशाल)का महासचिव सन्तबहादुर नेपालीको संयुक्त हस्ताक्षरमा वक्तव्य जारी गर्दै कडा विरोध गरेका हुन् ।
वक्तव्यमा भनिएको छ, “यो प्रतिगामी कदमको घोर भत्र्सना गर्दै नेपाली शोषित–उत्पीडित जनतालाई ऐतिहासिक जनसङ्घर्षहरूका उपलब्धिको रक्षा गर्न र त्यसका लागि कडा सङ्घर्षको तयारी गर्न आह्वान गर्दछौँ ।”
वक्तव्यमा भनिएको छ, “२०६३ साल जेठ ४ गते पुनस्र्थापित संसद्द्वारा राजतन्त्रको अन्त्य गर्ने प्रक्रियामा ‘श्री ५ को सरकार’ नलेख्न र तत्कालीन राष्ट्रिय गान ‘श्रीमान्गम्भीर’ हटाउन गरिएको निर्णय र २०६५ साल जेठ १५ गते ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नेपाल’ को पहिलो संसद्ले राजतन्त्रको अन्त्य गरी पुस २७ गते पृथ्वीनारायण शाहलाई एकताका प्रतीक मान्दै पृथ्वीजयन्ती मनाउने निर्णय खारेज गरेको सन्दर्भमा वर्तमान सरकारले उक्त निर्णय उल्ट्याउने प्रतिगामी कदम चाल्न थालेकोमा हामी तीन पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । यो वास्तवमा राजतन्त्रलाई पुनस्र्थापना गर्ने प्रतिगामी कदम हो । यो नेपाली जनताले विभिन्न ऐतिहासिक जनआन्दोलनहरूमा गरेको बलिदान र रगत–पसिनामाथि खेलबाडबाहेक अरू केही होइन । त्यसकारण हामी यो प्रतिगामी कदमको घोर भत्र्सना गर्दै नेपाली शोषित–उत्पीडित जनतालाई ऐतिहासिक जनसङ्घर्षहरूका उपलब्धिको रक्षा गर्न र त्यसका लागि कडा सङ्घर्षको तयारी गर्न आह्वान गर्दछौँ ।”
सोमबार जारी गरिएको वक्तव्यमा यस्तो विरोध गरिएको हो ।