काठमाडौं । लप्सीफेदीको बोजिनी गाउँमा नौं दिनदेखि जारी स्थानीय जनताको एमसीसी विरोधी आन्दोलनप्रति नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत) र नेकपा (मशाल)का नेताहरुले ऐक्यबद्धता जनाएका छन् । तीनवटै पार्टीका जिल्ला नेताहरुले लप्सीफेदीमै पुगेर स्थानीय जनताको आन्दोलनलाई सम्बोधन गर्दै ऐक्यबद्धता जनाएका हुन् ।


सोमबार नेकपा (क्रान्तिकारी माओवादी)की केन्द्रीय सदस्य तथा काठमाडौं जिल्लाकी इन्चार्ज शारदा महतले तीनवटै पार्टीको तर्फबाट जारी आन्दोलनलाई सम्बोधन गर्दै ऐक्यबद्धता जनाउनु भएको हो । नेतृ महतले स्थानीय जनताको सहमतिबिना आफ्नो थातथालोबाट जबर्जस्त विस्थापित गर्न खोजे आफूहरुलाई मान्य नहुने र आदिवासी जनताको थातथलोको रक्षाका लागि जारी जस्तोसुकै कदम चाल्न पनि तयार हुने चेतावनी दिनुभयो ।

हार्दिक शुभकामना !


उहाँले शान्तिपूर्ण रुपमा स्थानीय जनताले गरेको विरोध प्रदर्शनमाथि राज्यको प्रहरी प्रशासनले गरेको क्रूर, निर्मम र अमानवीय दमनको घोर विरोध गर्नुभयो । प्रहरी प्रशासनको दुरुपयोग गरेर अमेरिकी साम्राज्यवादका दलालहरुले स्थानीय जनता उठिबास लगाए जनताले त्यसको सशक्त प्रतिरोध गर्ने र त्यो प्रतिरोध आन्दोलनमा तीनवटै क्रान्तिकारी पार्टीहरुको पूर्णरुपमा सहयोग रहने बताउनु भयो ।


नेतृ महतको हरेक भनाइलाई स्थानीय आन्दोलनकर्मीहरुले ताली बजाएर स्वागत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्नुपूर्व स्थानीय अगुवाहरुसँग नेतृ महत, नेकपा (बहुमत)का केस अविरलसहित तीनवटै पार्टी, र पार्टी प्रकाशनका प्रतिनिधिहरुले  जारी आन्दोलनको पृष्ठभूमि, प्रहरी प्रशासनको ज्यादति र स्थानीयहरुको मागको विषयमा जानकारी लिनुभएको थियो ।

स्थानीय युवाहरु नविन लामा, संघर्ष समितिका सचिव फुर्वा लामा, पवन वाइवा, रोहण वाइवा लगायतका युवाहरुले जालझेल, षड्यन्त्र, प्रलोभन र विभिन्न खाले भ्रममा पारेर, बुढाबुढीहरुलाई एक्लाएक्लै जंगलमा लगेर ल्याप्चे लगाएर मुआब्जा लिन बाध्य पारेको तर पछि बुझ्दै जाँदा एमसीसीको सबस्टेशन बनाउन लागिएको र त्यहाँबाट तीनतिर प्रशारण लाइन लैजाँदा त्यस क्षेत्रका करिब चार सय घर आफ्नो थातथलोबाट विस्थापित हुने देखेपछि आफूहरु आन्दोलित हुनुपरेको बताएका थिए । उनीहरुले एक स्वरमा भनेका छन्, “हामी मुआब्जा फिर्ता गर्न तयार छौं । हाम्रो हातमा हाम्रो जग्गाको लालपुर्जा दिनुप¥यो । हामी कुनैपनि हालतमा यहाँ सबस्टेशन बनाउन दिंदैनौं ।”

प्रतिक्रिया

सम्बन्धित खवर