अहिले ईरानमा महिलाहरुले हिजाव बिरोधी प्रदर्शन गरिरहेका छन् । हिजाब बिरोधी प्रदर्शन शुरुभएको करिब तीन महिना पुग्न थालिसकेको छ । प्रदर्शन निकै शसक्त बनेको छ । यो प्रदर्शन देशव्यापी बनेको छ । यस प्रदर्शनमा महिला, पुरुष, विद्यार्थी, प्राध्यापक सबैको सहभागिता रहेको छ । आन्दोलन विश्वविद्यालय, स्कूलदेखि लिएर प्रागिक तहसम्म फैलिएको छ । यो आन्दोलन खासगरी २२ वर्षीया कुर्दिस महिला मासाअमिनीको प्रहरी हिरासतमा निधन भएपछि शुरु भएको हो । मासा अमिनीले आफुुले लगाउनु पर्ने हिजाब कपालदेखि तल छाती सम्म छोप्ने कपडा राम्ररी नलगाएर देशको नैतिक नियमको उलङ्घन गरेकोले उनलाई प्रहरीले गत सेप्टेम्बर सत्रमा गिरफ्तार गरेको थियो ।
गिरफ्तार गरेको तीन दिनमा मासा अमीनीको हिरासतमा निधन भएको थियो । उनको परिवारले हिरासतमा प्रहरीको यातनाले उनको मृत्यु भएको बताएको थियो । उनको मृत्यु पश्चात करिब तीन महिनादेखि चलिरहेको आन्दोलनमा आन्दोलनकारीले सरकार विरोधी प्रदर्शनलाई चर्काएका छन् । प्रदर्शनमा मुश्लिम कानुन अनुसार लगाउनु पर्ने हिजाब बुर्का उतारेर आन्दोलनमा सहभागी भएका देखिन्छन् । महिलाहरुले आाफुले लगाईरहेको हिजाबलाई हातमा हल्लाउँदै प्रदर्शनमा सहभागी भएका छन् । महिलाहरुले हिजाबलाई हातमा हल्लाएका मात्र छैनन् हिजाबलाई आगोमा जलाएका पनि छन् । उनीहरुले हिजाब जलाउनुकासाथै आफ्नो कपाल पनि काटेका देखिन्छन् । उनीहरुले कपाल काटेर खुला मैदानमा आएका छन । उनीहरुको आन्दोलनको मुख्य नारा, महिला, जीवन र स्वतन्त्रता रहेको छ । नाराले महिलाको बारे जीवनको बारे र महिलाको स्वतन्त्रता बारे बोलेको छ ।
साँच्चिकै महिलाले जीवन र स्वतन्त्रता चाहन्छन् भन्ने बताएको छ । जीवनमा महिला विना स्वतन्त्रता जिएका छन् भन्ने देखाएको छ । यसरी खान्दोलन चलिरहदा आन्दोलनकारीमाथि व्यापक दमन गरिएको छ । धेरैको मृत्यु भएको छ । धेरैलाई यातना दिईएको छ । धेरैलाई हिरासतमा राखिएको छ । यस आन्दोलनमा बच्चा सहित करिब पाँच सय आन्दोलनकारीको मृत्यु भएको छ । दमन यति कडा छ कि त्यहाँ सहभागी भएको आन्दोलनकारीलाई गिरफ्तार गरिएको छ । गिरफतारहरुलाई चरम यातना दिईएको छ । यातनाका साथसाथै गिरफ्तारहरुलाई मत्युुदण्ड दिईएको छ । कैंयौ आन्दोलनकारीलाई मृत्युदण्ड दिने लाईनमा छन् । त्यहाँको सरकारले आन्दोलनकारीमाथि भगवानको विरुद्ध शत्रुता साँधेको आरोप लगाएको छ । प्रदर्शन भगवानको आदेश विरुद्ध रहेकाले त्यस्तो गतिविधि नियन्त्रण गरिने बताएको छ । आन्दोलन देश व्यापीरुपले सबै तह र तप्कामा पुगेको छ । आन्दोलनकारी माथि जहाँ जुनसुकै अवस्थामा रहे पनि गिरफ्तार गरिएको छ । त्यहाँका विद्यार्थीहरुले यदि हामी संगठित र एकीकृत हुँदैनौं भने तिनीहरुले हामीलाई एक एक गरेर मार्ने छन् भनेका छन् ।
प्रदर्शनमा अधिकांश किशोरावस्थाका केटीहरु विद्यार्थीहरुको सहभागिता रहेको छ । आन्दोलनको समय तीन महिनासम्म जाँदा पछिल्लो अवधिमा प्रदर्शनमा गिरफ्तार गरिएकाहरुलाई टाउकोमा पिटिएको छ । हिरासतमा राखिएकाहरुमाथि यातनालाई मानसिक शारीरिक यातनालाई कहीं कतै नबताउन भन्दै धम्की दिइएका कुराहरु पनि छन् । त्यति मात्र हैन जस जसलाई मृत्युदण्ड दिइएका छन्, उनीहरुका वकिललाई प्रतिरक्षा गर्नसम्म मौका दिइएको छैन । पहिलो अवधिमा धेरैलाई झुण्डयाइएको, मृत्युदण्ड दिइएको छ भने कैयौं पक्रिएकाहरुको मृत्यु भएको तिनीहरुको मृत्युको कारण पहिचान नभएको मृत्यु भनेर पोष्टमार्टम रिपोर्टहरु बनाइएका छन् ।
आन्दोलनकारीहरुमाथि चलाईएको दमनलाई देखेर त्यहाँको मानव अधिकारवादी संस्थाले यदि विश्वले कडा चेतावनी र प्रतिक्रया नजनाएमा ठूलो संख्यामा आन्दोनकारीले हत्याको शिकार हुने सम्भावना रहेको बताएको छ ।
ईरानमा दमनका बाबजुद आन्दोलन चलिरहदा विश्वव्यापी रुपमा भने एउटा सन्देश गएको छ । त्यो के भने अब महिलाहरुले कुनै पनि बहानामा थोपरिएका नियमहरुलाई मान्न तयार छैनन् । ईरान मुश्लिम देश हो । त्यहाँ महिलाहरुकालागि हिजाब अनिवार्य छ । त्यहाँको नैतिक प्रहरीले महिलालाई हिजाब अनिवार्य मात्र हैन राम्ररी नलगाएको आरोपमा मासा अमीनीलाई गिरफ्तार गरेको थियो । गिरफ्तार उनको जब हिरासतमा यातनाले निधन हुन पुग्यो त्यस पछि आन्दोलन देशव्यापी बन्न पुगेको हो ।
यो आन्दोलन माथि दमन चलेको छ । तरपनि महिलाहरु यसरी आन्दोलनमा सहभागी हुनु संसार भरिका महिलाहरुका लागि निकै प्रेरणाको कुरा हो । महिलाहरु अब कुनैपनि बहानाबाट थोपरिएका गलत संस्कार, प्रथा र परम्पराले थोपरेका चालचलनलाई मान्न तयार छैनन् भन्ने सन्देश पनि हो ।
महिलाहरुलाई हाम्रो विश्वले आज पनि अत्यन्त तल्लो स्तरमा व्यवहार गर्छ । महिलाकालागि हरेक कुरामा बन्देज र बार कायमै छ । चाहे त्यो धर्मका नाममा होस्,चाहे प्रथा परम्पराका नाममा होस् चाहे त्यो दास प्रथामा होस्,सामन्तवादमा होस, चाहे त्यो वर्तमानको पूँजीवादमा होस्, चाहे त्यो असभ्य समाजमा होस चाहे त्यो सभ्य भनिएको समाजमा होस् जहाँ पनि महिलाप्रतिको हेराई अलि फरक नै छ । महिलाले यो गर्न हुन, यो गर्न नहुने । महिलाले यो बोल्न हुने ,यो बोल्न नहुने भन्ने जस्ता कुराहरु समाजमा पुरा व्यवस्थित छ । त्यसैका आधारमा समाजले महिलामाथि व्यवहार गर्दै आएको छ । धार्मिक अन्धविश्वासका आडमा महिलामाथि तमाम विभेद हुने गरेका छन् । धर्मकै आडमा महिलामाथि तमाम हिंसा थोपरिएका छन । महिलाले महिला भएकै कारणले व्यक्ति,समाज देशबाट कैयौं कुरामा विभेद र बञ्चित हुन परेको छ। श्रीमानको बोलीकै भरमा आफ्नो श्रीमान् छोड्नु पर्ने स्थिति छ । आज विश्व यति द्रुत गतिमा अगाडि बढेको छ ।संसारले सबै कुरा एकैछिनमा थाहा पाउने अवस्था छ । विज्ञानले अभूतपूर्व प्रगति गरेको छ ।तर महिला माथिका तुच्छ प्रकारका सोचाईमा भने परिवर्तन आउन गाह्रो मानिरहेको छ ।
विश्वमा ठूलाठूला क्रान्ति परिवर्तन भएका छन् । परिवर्तनले मैहु भन्ने तानाशाह पनि ढलेका छन् । तर महिलालाई हेर्ने सोचाईमा परिवर्तन आउन सकेको छैन । महिलामाथि कानुन नियम नै बनाएर दमन गरिदै आईएको छ । इतिहासमा महिलाले समान कामको समान ज्याला पाउन सकेनन् । त्यसको लागि ठूलो संघर्ष गर्नुपर्यो । लामो समयसम्म पनि महिलाहरुलाई दाससरह व्यवहार गरियो । महिलालाई राजनैतिक अधिकारबाट बञ्चित गरियो । त्यसको लागि महिलाले ठूलो ,लामो बलिदानीपूर्ण संघर्ष गर्नुपर्यो । अहिले पनि महिलालाई प्रतिनिधित्वको सवालमा विभेद कायमै छ । महिलालाई आर्थिक रुपमा पछाडि पारिएको छ । महिलालाई छोरा सरह सम्पतिमा अधिकार छैन । तमाम कुराहरुमा महिलाहरुलाई बार र बन्देज कायमै छ ।
यो सबै कुराहरुले महिलामाथिको दृष्टिकोणलाई बताउँछ । यस अवस्थामा इरानका महिलाहरुले जुन संघर्ष जारी राखेका छन्, त्यो विश्वभरिका महिलाहरुलाई प्रेरणाको श्रोत हो, खासगरी धार्मिक कट्टरता भएको देशका महिलाहरुका लागि त झनै खुशीको कुरा हो । यस आन्दोलनले संसारभरिमा एक उत्साह भरेको छ । महिलाको विषयलाई यसरी लिएर आन्दोलन भएको यो पहिलो नै होला । त्यो पनि धार्मिक नियमले थोपरेको जडताको विरोधमा । धर्मले महिलालाई महिलाको इच्छा विपरित हिजाब लगाउन बाध्य पारेर राखेको छ ।
महिलाहरुले संसार हेर्न पाइरहेका छैनन् । महिलाले आफ्नो जविन स्वतन्त्रतापूर्वक जिउन बन्देज गरिएको छ । गलत परम्पराका पहाडहरुले थिचिएर समाजमा निस्सासिंदै जीवन जीउन बाध्य पारिएका महिलाहरुका लागि यो आन्दोलनले साँच्चिकै गलत प्रथा परम्परालाई फाल्दा पनि केही फरक पर्दैन भन्ने सन्देश दिएको छ
संसारभरीका आन्दोलनहरु जति नै सुकै शान्तिपूर्ण भए पनि सत्ताधारीले दमन कुचक्र चलाउँछ । आफ्नो सत्ता स्वार्थमा धक्का लाग्ने डरले बन्दुकले, यातना र जेलमा सडाएर वा फाँसी र हत्या गरेर भए पनि सत्ता जोगाउन खोज्छ । संसारभरीका न्यायप्रेमी जनसमुदायले चलाएका हरेक संघर्षमा त्यही नै हुने गरेको छ । तीन महिनादेखि चलेको हिजाब विरोधी संघर्षमा त्यही कुरा भएका समाचारहरु बाहिर आएका छन् । विश्वभरीका मानव अधिकारवादीहरुले यस विषयमा चिन्ता र चासो व्यक्त गरेका छन् ।
इरानमा पनि शान्तिपूर्ण तरिकाले संघर्ष चलेको थियो र छ । तर आन्दोलनकारीमाथि सत्ताले जस्तो सुकै हर्कत गरेको छ भन्ने कुरा माथि नै उल्लेख भैसकेको छ ।
त्यहाँ चलेको शान्तिपूर्ण आन्दोलन आफैमा अत्यन्त महत्वपूर्ण छ किन कि यो आन्दोलन जडताका विरुद्ध, महिला उत्पीडनका विरुद्ध, हिजाब अर्थात् बुर्का विरुद्ध त हो नै त्यसको साथसाथै नयाँ पुस्ता, नयाँ आमा दिदी बहिनीहरु, नयाँ समाजका लागि नयाँपनको विजारोपण पनि हो । यस आन्दोलनले नयाँ पुस्ताका आमा, दिदी बहिनी छोरीहरु बुर्काभित्रबाट हैन खुल्ला आँखाले संसार हेर्न चाहन्छन् । आफ्नो टाउको जिउ पूरै गुम्स्याएर हैन, प्रकृतिले दिएको स्वच्छ हावाको स्पर्स गर्दै खुल्न चाहन्छन् । मान्छेलाई अमानव बनाएर राख्ने गलत प्रथा हैन सभ्य मानव समाज निर्माण गर्न चाहन्छन् भन्ने सन्देश विश्वमा फिँजाएको छ ।
इतिहासमा चाहे सामन्तवादका विरुद्धको संघर्ष होस् चाहे पुँजीवादी विरुद्धको संघर्ष होस्, चाहे देशहरुका स्वतन्त्रताको संघर्ष होस्, सबै संघर्षहरु निकै कठोर र निर्मम हुने गरेका छन् । निकै रक्तपातपूर्ण हुने गरेका छन् । इरानको अहिलेको हिजाब विरोधी संघर्ष पनि त्यसकै निरन्तरता मात्र हो अझै यस आन्दोलनमाथि अझै दमन हुनेछ, किनकि सत्ताले युगौंदेखि “तँ महिला, हामीले भनेको मानेर बस” भनेर पाठ, शिक्षा दिक्षा गर्दै आएको छ । तँ महिला भएर पनि हामी विरुद्ध लाग्छेस् भने जस्तो ठानेको छ ।
जति नै दमन भएपनि यो गलत प्रथाको विरुद्धको महिलाहरुको ऐतिहासिक संघर्ष हो । यस संघर्षले विद्यमान रहेको “चाहे भगवानको नाममा रहेका होस् चाहे देशका नाममा रहेका होस” त्यसको पर्दा उघारिदिने छ । पर्दा मात्रै उघार्ने छैन, जसरी महिलाहरुले स्वत:स्र्फूत रुपमा हिजाबहरु खुला सडकमा जलाउन तयार भएका छन् । जसरी हिजाब जलिरहेको छ त्यसरी नै काला नियमहरु जल्ने छन् । महिलाहरुले साँच्चिकै स्वतन्त्र भएको महशुस गर्नेछन् ।
यति महत्वपूर्ण संघर्षमाथि जुन बर्बर दमन भइरहेको छ , त्यसको विरुद्धमा संसारभरीका न्यायप्रेमीहरुले आन्दोलनकारीहरुको मानव अधिकारको पक्षमा बोल्नु पर्ने भएको छ । उनीहरुको शान्तिपूर्ण आन्दोलनको पक्षमा आवाज उठाउन ढिला भैरहेको छ । हैन भने सबै आमा, दिदी बहिनीहरु फेरि पनि काला कानुनले थिचिएर बस्नु पर्ने छ ।
साभार हाँक टुडे (पुस ८, २०७९¬)

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर