काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले विश्व सर्वहारावर्गका महान नेता माओ त्सेतुङको १३० औं जन्मदिनमा एक विशेष प्रेस वक्तव्य जारी गरेको छ । पार्टी महासचिव मोहन वैद्य किरणले जारी गर्नुभएको वक्तव्यमा वैज्ञानिक समाजवाद तथा साम्यवाद तर्फको यात्रा तय गर्नका लागि विभिन्न रुपका संशोधनवादी पार्टीहरुको निर्मम भण्डाफोर गर्दै माक्र्सवाद–लेनिनवाद–माओवादको आलोकमा दलाल तथा नोकरशाही पुँजीवाद एवम् सामन्तवाद र साम्राज्यवाद तथा विस्तावादका विरुद्ध नयाँ जनवादी क्रान्तिको तयारीमा लाग्नु नै माओ दिवस मनाउनुको विशेष अर्थ र महत्व रहने उल्लेख गरिएको छ ।

वक्तव्यमा अतः माओले देखाएको बाटोमा निरन्तर लागिरहन र विशेष उत्सवका रुपमा देशभरि माओदिवस मनाउन केन्द्रीय समितिको तर्फबाट महासचिव किरणले सबै पार्टी कमरेडहरुसित हार्दिक अनुरोध गर्नुभएको छ ।

हार्दिक शुभकामना !

वक्तव्यमा भनिएको छ, “ आज विश्वभरि दक्षिणपन्थी संशोधनवादीहरु प्रतिक्रियावादमा पतन भएर नवउदारवादका पक्षपोषक बन्न गएका छन् । यो बेला सच्चा माक्र्सवादी–लेनिनवादी–माओवादीहरुले संशोधनवादलाई नाङ्गेझार नपारी र क्रान्तिकारी कम्युनिस्टहरुलाई एकताबद्ध नगरी कुनै पनि देशमा सर्वहारा क्रान्ति संभव छैन । यो नेपालका लागि पनि त्यत्तिकै सत्य हो । यस स्थितिमा वैज्ञानिक समाजवाद तथा साम्यवाद तर्फको यात्रा तय गर्नका लागि विभिन्न रुपका संशोधनवादी पार्टीहरुको निर्मम भण्डाफोर गर्दै माक्र्सवाद–लेनिनवाद–माओवादको आलोकमा दलाल तथा नोकरशाही पुँजीवाद एवम् सामन्तवाद र साम्राज्यवाद तथा विस्तावादका विरुद्ध नयाँ जनवादी क्रान्तिको तयारीमा लाग्नु नै माओ दिवस मनाउनुको विशेष अर्थ र महत्व रहन्छ । अतः माओले देखाएको बाटोमा निरन्तर लागिरहन र विशेष उत्सवका रुपमा देशभरि माओदिवस मनाउन केन्द्रीय समितिको तर्फबाट म सबै पार्टी कमरेडहरुसित हार्दिक अनुरोध गर्दछु ।”

यस्तो छ वक्तव्यको पूर्णपाठ :

“आज डिसेम्बर २६, २०२२, तदनुसार पुष ११, २०७९, माओ त्सेतुङको १३०औं जन्मदिन हो । उहाँ चिनिया जनताका मुक्तिदाता तथा विश्वभरिका श्रमजीवी वर्ग एवम् आम उत्पीडित जनताको मुक्तिको मार्गदर्शक हुनुहुन्थ्यो । आज नेपालमा र संसारभरि पनि सर्वहारा वर्ग तथा आम उत्पीडित जनताले भव्यताका साथ माओ दिवस मनाउन गइरहेका छन् । आजको यस ऐतिहासिक अवसरमा हाम्रो पार्टी नेपाल लगायत संसारभरिका कम्युनिस्ट क्रान्तिकारीहरु, आम सर्र्वहारावर्ग, उत्पीडित जनसमुदाय एवम् समर्थक तथा शुभचिन्तकहरु प्रति लालसलाम अर्पण गर्दछ ।
सर्वहारा वर्गको मुक्तिको सिद्धान्त माक्र्सवादका तीनओटै सङ्घटक अङ्गहरु दर्शन, राजनीतिक अर्थशास्त्र तथा वैज्ञानिक समाजवादको विकासमा कमरेड माओले महत्वपूर्ण योगदान दिनुु भएको छ । चीनको प्रतिक्रियावादी सत्ता तथा साम्राज्यवादका विरुद्धको भीषण सङ्घर्ष, नयाँ जनवादी क्रान्ति, देशी तथा विदेशी संशोधनवादीहरुका विरुद्धको निर्मम दुई–लाईन सङ्घर्ष, महान् बहस, महान् सर्वहारा सांस्कृतिक क्रान्ति र चीनमा समाजवाद निर्माणको प्रक्रियाका बीचबाट कमरेड माओले उक्त योगदान गर्नु भएको हो । यी योगदानहरु सार्वभौम महत्वका रहेका छन् र यो समग्र प्रक्रियामा माक्र्सवाद–लेनिनवाद माक्र्सवादको तेस्रो उच्च चरण माक्र्सवाद–लेनिनवाद–माओवादमा विकास भएको छ । यसरी, साम्राज्यवाद तथा सर्वहारा क्रान्तिको आजको युगमा माक्र्सवाद–लेनिनवाद–माओवाद क्रान्तिको मार्गदर्शक सिद्धान्त बन्न गएको छ । आजको विश्वमा कुनै पनि कम्युनिस्ट पार्टी माओवादी नबनी सच्चा माक्र्सवादी–लेनिनवादी मात्र होइन सच्चा माक्र्सवादी पनि बन्न सक्दैन ।
यतिबेला नेपालमा साम्राज्यवादी तथा विस्तारवादी हस्तक्षेप एकाएक बढेर गएको छ । त्यसलाई प्रतिक्रियावादमा पतन हुन पुगेका कम्युनिस्ट नामधारी संशोधनवादी पार्टीहरुले साथ दिइरहेका छन् । अमेरिकाको हिन्द प्रशान्त रणनीतिको अभिन्न अङ्ग रहेको एमसीसी कम्युनिस्ट नामधारी एमाले सरकारको बेला भित्रिएको छ र माओवादी केन्द्रको बलमा संसदबाट अनुमोदित भएको छ । लिम्पियाधुरा, कालापानी तथा लिपुलेक क्षेत्रलाई भारतीय विस्तारवादले कब्जा गरेर नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डतामाथि सिधा हस्तक्षेप गर्दै आएको सन्दर्भमा नेपाली काङ्ग्रेस लगायत प्रतिक्रियावादमा पतन भएका कम्युनिस्ट नामधारी संशोधनवादी पार्टीहरु कालापानी क्षेत्रबाट भारतीय सेना हटाउन र लिम्पियाधुरा तथा सुस्ता लगायतका अतिक्रमित भूभाग फिर्ता गराउन राजनीतिक पहल बढाउनुको साटो सत्तारोहणका लागि भारतीय विस्तारवादको चाकडी गर्न व्यस्त रहेका छन् । देशको राष्ट्रिय स्वाधीनता माथिको खतरा दिन प्रतिदिन गम्भीर बन्दै गएको छ । जनताका जनतान्त्रिक अधिकारहरु खोसिंदै गएका छन् र जनजीविकाको समस्या झन–झन जटिल बनेको छ । यस प्रकारको गम्भीर स्थितिमा हाम्रो देशका संसदवादी राजनीतिक पार्टीहरु देश र जनतालाई अरु लुट्नका लागि नयाँ गठबन्धन तथा सत्ता समीकरण मिलाउने काममा व्यस्त छन् । उपरोक्त प्रकारको समस्याबाट देश र जनतालाई मुक्त गर्ने एकमात्र विधि सर्वहारा वर्गको नेतृत्व र आम उत्पीडित जनताको अधिनायकत्वमा अभिव्यक्त हुने नयाँ जनवादी क्रान्ति हो ।
आज विश्वभरि दक्षिणपन्थी संशोधनवादीहरु प्रतिक्रियावादमा पतन भएर नवउदारवादका पक्षपोषक बन्न गएका छन् । यो बेला सच्चा माक्र्सवादी–लेनिनवादी–माओवादीहरुले संशोधनवादलाई नाङ्गेझार नपारी र क्रान्तिकारी कम्युनिस्टहरुलाई एकताबद्ध नगरी कुनै पनि देशमा सर्वहारा क्रान्ति संभव छैन । यो नेपालका लागि पनि त्यत्तिकै सत्य हो । यस स्थितिमा वैज्ञानिक समाजवाद तथा साम्यवाद तर्फको यात्रा तय गर्नका लागि विभिन्न रुपका संशोधनवादी पार्टीहरुको निर्मम भण्डाफोर गर्दै माक्र्सवाद–लेनिनवाद–माओवादको आलोकमा दलाल तथा नोकरशाही पुँजीवाद एवम् सामन्तवाद र साम्राज्यवाद तथा विस्तावादका विरुद्ध नयाँ जनवादी क्रान्तिको तयारीमा लाग्नु नै माओ दिवस मनाउनुको विशेष अर्थ र महत्व रहन्छ । अतः माओले देखाएको बाटोमा निरन्तर लागिरहन र विशेष उत्सवका रुपमा देशभरि माओदिवस मनाउन केन्द्रीय समितिको तर्फबाट म सबै पार्टी कमरेडहरुसित हार्दिक अनुरोध गर्दछु ।”

प्रतिक्रिया

सम्बन्धित खवर