९ पौष काठमान्डौ ।
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी फागुन २८ गते तयारी गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले त्रिवि पदाधिकारी, विभाग, संस्थान, नौवटै सङ्कायका डीन र परीक्षा नियन्त्रकसँगको छलफलमा आगामी फागुन २८ गते नै तय गर्ने गरी त्रिवि अगाडि बढेको बताए ।
‘हामीले त्रिवि पदाधिकारी, नौवटै सङ्कायका डीन र परीक्षा नियन्त्रकसँग स्ववियु निर्वाचन गर्नका लागि उपयुक्त मितिका लागि छलफल गर्यौँ,’ उनले भने, ‘परीक्षा र भर्नालगायत सबै प्रक्रिया सकिने भएकाले नै स्ववियु निर्वाचन गर्ने फागुन २८ गते हामीलाई उपयुक्त समय लागेको छ । हामी सोही मितिको प्रस्ताव विद्यार्थी सङ्गठनसँग गर्छौँ ।’
स्ववियु निर्वाचनको मिति प्रस्ताव गर्नका लागि यही पुस ११ गते विद्यार्थी सङ्गठनका अध्यक्षको बैठक बोलाइएको छ । निर्देशनालयका निर्देशक अधिकारीले उक्त मितिका लागि त्रिवि पूर्ण तयार भइसकेकाले विद्यार्थी सङ्गठनसँग छलफल गरिने बताए ।
उनले भने, ‘विद्यार्थी सङ्गठनले उक्त मितिमा सहमति जनाए हामी निर्वाचनको मिति घोषणा गरेर निर्वाचन प्रक्रियामा जान्छौँ ।’ त्रिविले स्ववियु निर्वाचन गर्न पटकपटक पहल गरे पनि हुन सकेको छैन ।
विद्यार्थी सङ्गठनले फागुन २८ गते सहमति गरे भने विद्यार्थी कल्याण परिषद् बैठकले मिति तोक्नका लागि त्रिवि कार्यकारी परिषद्मा सिफारिस गर्नेछ । त्यसपछि त्रिविको कार्यकारी परिषद्को बैठकले स्ववियु निर्वाचनको मिति घोषणा र स्ववियु निर्वाचन केन्द्रीय अनुगमन समन्वय समिति बनाउने उनले जानकारी दिए ।
त्रिविका क्याम्पसमा विगत एक दशकदेखि स्ववियु निर्वाचन हुन सकेको छैन । प्रत्येक दुई/दुई वर्षमा हुने निर्वाचन २०६५ साल यता नियमित हुन सकेको छैन । विसं २०६५ चैत ६ गतेपछि एकै पटक आठ वर्षमा विसं २०७३ चैत १५ गते भएको थियो । त्यतिबेला देशभरि त्रिविका ६२ आङ्गिक क्याम्पसमध्ये रत्नराज्य क्याम्पस (आरआर), जनप्रशासन क्याम्पससहित उपत्यकामा नौ आङ्गिक र उपत्यका बाहिर १७ क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो ।
यस्तै उपत्यकाका १३ क्याम्पस र उपत्यका बाहिर २३ आङ्गिक क्याम्पसमा निर्वाचन हुन सकेको थिएन। त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन ्। स्ववियु निर्वाचनमा २८ वर्ष उमेरहदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू गरिएको छ । पछिल्लो पटक उमेरहदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू भएपछि पहिलो पटक २०७३ सालमा आंशिकरुपमा केही क्याम्पसमा मात्र निर्वाचन भएको थियो ।