जनवादी–केन्द्रीयता भनेको सम्पूर्ण पार्टी जीवनको संचालनमा जनवादसित केन्द्रीकृत नेतृत्वको जीवन्त मेल हो । जनवाद र केन्द्रीयताको द्वन्द्वात्मक स्वरुप रहेको यस सिद्धान्तको ठीक ढंगबाट प्रयोग नभएको खण्डमा खराब परिणामहरु निस्कने गरेका छन् । वास्तवमा जनवाद र केन्द्रीयताबीच सन्तुलित सम्बन्ध नभएर एउटाको विरुद्ध अर्कोको आधिक्यता हुनु त्यसको गलत प्रयोग हो । यसलाई लेनिनले निम्नरुपमा स्पष्ट पारेका छन् ः “हामी जनवादी केन्द्रीयताको पक्षमा छौं । र, जनवादी केन्द्रीयता एकातिर नोकरशाही केन्द्रवादबाट र अर्कोतिर अराजकतावादबाट कति धेरै भिन्न छ भन्ने कुरालाई स्पष्टसित बुझ्नु पर्छ ।”११
माथि उद्वृत भनाइमा लेनिनले जनवादी केन्द्रीयतालाई ठीक ढंगबाट बुझ्न नसक्ने र गलत अर्थमा त्यसको प्रयोग हुनसक्ने कुराप्रति संकेत गरेका छन् । केन्द्रीयताको नाउँमा नोकरशाही व्यवहार हुँदा, जनवादको नाउँमा अराजकतावादी व्यवहार हुँदा त्यसबाट अनेकौं विसंगतिहरु पैदा हुने गर्छन् । हामीले कस्तो स्थिति देख्ने गरेका छौं भने पार्टी संगठन निर्माणको सम्बन्धमा अवसरवादी प्रवृत्ति राख्नेहरु केन्द्रीकृत नेतृत्वको विरोधमा जनवादलाई उभ्याउने गर्छन् भने नोकरशाही प्रवृत्तिका नेताहरु जनवादको विरुद्ध केन्द्रीतालाई तेस्र्याउने गर्छन् ।


जनवादी केन्द्रीयतामा मुख्यरुपमा दुईवटा कुरा छन् ः केन्द्रीयता जनवादको आधारमा रहन्छ भने जनवाद केन्द्रीकृत नेतृत्वअन्तर्गत रहन्छ । अर्थात् पार्टीका सबै कार्यकारीणी निकायहरु पार्टी सदस्यहरुद्वारा चुनिएका हुन्छन् । पार्टीका कार्यक्रम, नीति तथा मुख्य प्रस्तावहरु तिनका प्रतिनिधिहरुद्वारा पारित गरिएका हुन्छन् र तिनीहरुले नै नेतृत्वकारी निकायलाई पार्टी कामको संचालन गर्ने अधिकार दिएका हुन्छन् । अल्पमत बहुमतको, तल्ला कमिटि माथिल्ला कमिटिको, व्यक्ति संगठनको र सबै पार्टी संगठनहरु केन्द्रीय कमिटिको अधिनस्थ रहने सिद्धान्तका आधारमा व्यवस्थित रुपबाट पार्टी कार्यको सम्पादन गरिन्छ । त्यसको अर्थ पार्टी जनवादी ढंगबाट संगठित रहन्छ भन्ने हो । लेनिनले अन्तरपार्टी जनवादको सारतत्वलाई निम्नरुपमा व्यक्त गरेका छन् ः
“यसको अर्थ के हो भने पार्टीका सारा मामिलाहरुको सञ्चालन विनाअपवाद समान अधिकारहरु भएका पार्टीका सबै सदस्यहरुद्वारा या प्रत्यक्षरुपमा या तिनका प्रतिनिधिहरुद्वारा गरिन्छ । अर्को कुरो के भने, पार्टीका सबै अधिकृतहरु, सबै नेतृत्वकारी निकायहरु र सबै संगठनहरु निर्वाचनको अधिनस्थ रहन्छन्, तिनीहरु आफ्ना मतदाताहरुप्रति उत्तरदायी रहन्छन् र प्रत्यावहानको अधिनस्थ रहन्छन् ।’’१२
जनवादी केन्द्रीयता भनेको पार्टी संगठन र त्यसका कार्यहरुको संचालन गर्ने एउटा विधि हो, जसले त्यसको समग्र आन्तरिक जीवनलाई सुव्यवस्थित र सुसंयोजित गर्दछ र पार्टी नेतृत्वलाई आम पार्टी सदस्यतासित एकजुट पार्दछ । पार्टीभित्र देखापर्ने नोकरशाही केन्द्रीयता वा जनवादविरोधी निरंकुशता र त्यस्तै अराजकतावाद र स्वच्छन्दतावाद त्यसका एकदमै विपरीत छन्, र ती पार्टी एकताका लागि हानिकारक रहन्छन् ।
अन्तरपार्टी जनवादको एउटा अति महत्वपूर्ण र अभिन्न पक्ष के हो भने पार्टी सदस्यहरुले कुनै पनि विषयमा छलफल गर्ने स्वतन्त्रता पाएका हुन्छन् र आफ्नो धारणा, मत र सुझाव प्रस्तुत गर्ने तिनीहरुको अधिकार रहन्छ । पार्टीद्वारा आयोजना गरिने सभा सम्मेलनहरुमा र पार्टी कमिटि बैठकहरुमा पार्टीका नीति र निर्णयहरुबारे छलफल गर्ने र खुल्लारुपमा आफ्नो विचार प्रस्तुत गर्ने तिनीहरुको अधिकारभित्रको कुरा रहन्छ ।
तर, पार्टी कार्यकर्ताहरुको उपरोक्त अधिकार कुनै निरपेक्ष वा अपरिमित अधिकार होइन, त्यसका केही आफ्ना सीमाहरु छन् । विचार प्रकट गर्ने स्वतन्त्रता छ भन्दैमा पार्टीद्वारा निर्धारित कार्यक्रम र त्यसका सामान्य कार्यदिशाका विपरीत विचारहरु प्रचार गर्ने छुट रहँदैन । पार्टीको वैचारिक तथा सांगठनिक एकतामा खलल पार्ने, त्यसलाई कमजोर पार्ने र त्यसको सामान्य राजनीतिक कार्यदिशाको खण्डन गर्ने, विचारलाई पार्टीभित्र प्रचार गर्ने खुल्ला छुट÷अधिकार दिएमा त्यसले पार्टीको लागि ठूलो हानी पु¥याउँछ । यस सम्बन्धमा लेनिनले भनेका छन् ः
“हामी पार्टीभित्र मत व्यक्त गर्ने स्वतन्त्रता प्रदान गर्छौ” तर निश्चित सीमाहरुसम्म ….हामी पार्टीको बहुमतद्वारा अस्वीकृत गरिएका विचारका प्रचारकहरुसँग हातमा हात मिलाएर जान वाध्य छैनौं ।” १३
यसरी लेनिनले खास सीमाभित्र मात्र मत व्यक्त गर्ने अधिकार पार्टीमा रहने कुरा बताएका छन् । पार्टीद्वारा स्वीकृत विचारको विरोधमा प्रचार गर्ने पार्टीमा छुट दिन नहुने उनको विचार छ । यसलाई लेनिनको तल उदृत भनाइले अरु स्पष्ट पार्दछ । उनले भनेका छन् ः “पार्टी एउटा ऐच्छिक संगठन हो, र यदि त्यसले पार्टीविरोधी विचारहरुको वकालत गर्ने मानिसहरुलाई आफूबाट हटाएन भने, पार्टी अनिवार्य रुपबाट, पहिले सैद्धान्तिक रुपले र अनि भौतिक रुपले फुट्ने छ । पार्टी र पार्टीविरोधीलाई छुट्याउने सीमारेखा भनेको पार्टी कार्यक्रम, पार्टीका कार्यनीति, प्रस्ताव तथा त्यसका नियमहरु, अन्तर्राष्ट्रिय सामाजिक जनवादको सम्पूर्ण अनुभव, सर्वहारावर्गका ऐच्छिक, अन्तर्राष्ट्रिय संगठनहरु हुन् ।” १४
पार्टीका नीति तथा स्थितिलाई लिएर पार्टीभित्र छलफल र आलोचना गर्ने अधिकार सदस्यहरुलाई रहेको हुन्छ, अर्थात् पार्टीभित्र आलोचनाको स्वतन्त्रात्मक रहन्छ । तर, त्यस्तो छलफल र आलोचना सैद्धान्तिक र मैत्रीपूर्ण हुनु आवश्यक छ र त्यो पार्टीलाई सुधार्ने र त्यसमा रहेका कमीकमजोरहरुलाई हटाउने र यसरी पार्टीको सैद्धान्तिक र सांगठनिक एकतालाई अरु सुदृढ पार्ने उद्देश्यबाट प्रेरित हुनुपर्छ । पार्टीभित्र आलोचना कुने सीमाभित्र हुनुपर्ने र त्यसले कार्यगत एकतामा कुनै वाधा वा आच पार्न नहुने कुरामा उनको जोड रहेको छ । उनले भनेका छन् ः “पार्टी कार्यक्रमका सिद्धान्तहरुको सीमाभित्र पार्टी सभाहरुमा मात्र होइन, सार्वजनिक सभाहरुमा आलोचना विलकूल स्वतन्त्र हुनुपर्छ । यस्तो आलोचना वा यस्तो आन्दोलन(किनभने आलोचना आन्दोलनबाट अभिन्न छ,) लाई मनाही गर्न सकिदैन । पार्टीको राजनीतिक कार्य एकतावद्ध हुनुपर्छ । निश्चित कार्यहरुको एकताको उलंघन गर्ने कुनै पनि आह्वानहरु या त सार्वजनिक सभामा, या पार्टी बैठकमा या पार्टी प्रेसमा सह्य हुन सक्दैनन् ।”
अगाडि उनी भन्दछन्, जनवादी केन्द्रियताको सिद्धान्त र स्थानीय पार्टी संगठनका लागि स्वायत्तताले आलोचना गर्ने सर्वव्यापी र पूर्ण स्वतन्त्रतालाई इंगित गर्दछ, जबसम्म त्यसले कुनै निश्चित कार्यको एकतालाई बिथोल्दैन । त्यसले यस्ता सारा आलोचनालाई बहिष्कार गर्छ, जसले पार्टीबाट निर्णय गरिएको कार्यको एकतालाई बिगार्छ वा कठिन बनाउछ”१५
आलोचना गर्ने स्वतन्त्रता अन्तरपार्टी जनवादको एउटा महत्वपूर्ण पक्ष हो, तर त्यसको प्रयोग ठीक ढंगबाट र ठीक दिशामा र विषयगत हुनु एकदमै जरुरत रहन्छ । त्यसको प्रयोग गलत ढंगबाट हुने गरेका घटनाहरु छन्, जब आलोचकहरुले “आलोचनाको स्वतन्त्रता”को नाउँमा पार्टीका राजनीतिक दिशा र कार्यनीति र माक्र्सवादका आधारभूत प्रस्थापनाहरुसमेतको विरोध गर्दछन् । यो वास्तवमा उक्त “स्वतन्त्र” को गलत प्रयोग हो । लेनिनले त्यस्तो खालको आलोचनात्मक प्रवृत्तिलाई विरोध गरी त्यसलाई पार्टीमा छुट दिन नहुने बताएका छन् । उनले लेखेका छन् ।
“जो व्यक्ति जानाजान आफ्नो आँखा बन्द गर्दैन, उनले कुन कुरालाई नदेखिरहन सक्दैनन् भने समाजवादमा रहेको नयाँ “आलोचनात्मक” प्रवृत्ति एउटा नयाँ रुपले अवसरवादभन्दा बढी पनि होइन घटी पनि होइन । यदि हामी मानिसहरुले लगाएका चमकदार पोशाक वा आफूलाई दिने ओजस्वी नामको आधारमा होइन, बरु तिनीहरुले जाँच गर्छौ भने, कुन कुरा स्पष्ट हुन्छ कि ‘आलोचनाको स्वतन्त्रता’ को अर्थ सामाजिक जनवादमा एउटा अवसरवादी प्रवृत्तिका लागि स्वतन्त्रता, सामाजिक जनवादलाई जनवादी सुधारको पार्टीमा फेर्ने स्वतन्त्रता, समाजवादभित्र पुँजीवादी विचार तथा पुँजीवादी तत्वहरुलाई घुसाउने स्वतन्त्रता हुन जान्छ । १६
आलोचनाको स्वतन्त्रतालाई पार्टीद्वारा निर्धारित कार्यदिशा तथा कार्यनीतिको विरोध गर्ने, पार्टीको सिद्धान्तको विरुद्ध प्रचार गर्ने, राजनीतिक कार्यवाहीको एकतालाई बिथोल्ने स्वतन्त्रताको रुपमा कसै कसैले लिने गरेको र अवसरवादी उद्देश्यमा त्यसको प्रयोग गर्न खोजेको तथ्यलाई माथि उल्लेख गरिएको छ । उक्त अवसरवादी प्रवृत्तिलाई पार्टीमा छुट दिन नहुने विचार व्यक्त गर्दै, लेनिनले पार्टीमा विचार र कार्यमा एकता अर्थात् एकनिष्ठता हुनुपर्ने कुरामा जोड दिएका छन् । पुँजीवादी मनस्थितिको एउटा विशेषतास्वरुप पाइने विचारमा असंगति तथा खिचडीपन र दृष्टिकोणमा ढुलमुलपन पार्टीको लागि निकै हानिकारक हुनाले उनी त्यसका दृढ विरोधी थिए ।
आलोचना–आत्मालोचनाको सिद्धान्त जनवादी–केन्द्रीयताको एउटा प्रमुख तत्व हो । पार्टीभित्र आलचेना गर्ने र राय व्यक्त गर्ने सम्बन्धमा माथि चर्चा गरिसकिएको छ । पार्टी सदस्य र कार्यकर्ताहरुले सम्बन्धित विषयमा केन्द्रीत रही आफूलाई लागेको कुरा साहसका साथ बोल्ने, आलोचनात्मक ढंगबाट सोच्ने र पुरा जिम्मेवारीको भावका साथ पार्टी नीति तथा गतिविधि, सम्बन्धित विचार व्यक्त गर्नु आवश्यक छ, र त्यसमा पार्टीले उनीहरुलाई प्रोत्साहित गर्नुपर्छ । त्यसको लागि पार्टीद्वारा दिइने प्रोत्साहन अन्तरपार्टी जनवादको विकासको लागि एउटा महत्वपूर्ण तत्व हो । यसमा एउटा अति आवश्यक कुरा के छ भने नेतृत्वकारी नियकायहरुमा रहेका नेताहरुले सदस्यहरुको आलोचनाप्रति गम्भीर चासो र ध्यान दिनुपर्छ र तिनीहरुको आलोचना र सुझावलाई सकार्न मानसिकरुपले तयार रहनु पर्छ । अरुबाट हुने आलोचना र सुझावप्रति बेवास्ता गर्ने र आलोचनाप्रति नराम्रो भावना लिने गरेमा अन्तरपार्टी जनवादको सफल प्रयोग हुन सक्दैन ।
लेनिनले आत्मालोचनाको आवश्यकता र महत्वमा निकै जोड दिएको छ र कस्तो विचार व्यक्त गरेका छन् भने त्यसको प्रयोग कम्युनिष्ट अन्य पार्टीहरुबाट छुट्याउने एउटा महत्वपूर्ण चिन्ह हो । उनको भनाइ छ ः
“आफूले गरेको गल्तीप्रति कुनै राजनीतिक पार्टीले अपनाउने दृष्टिकोण त्यो पार्टी कतिसम्म इमान्दार छ र त्यसले कुन रुपमा आफ्नो वर्ग तथा श्रमिक जनताप्रतिको आफ्नो दायित्वलाई पुरा गर्छ भन्ने कुरालाई जाँच्ने एउटा अत्यधिक महत्वपूर्ण तथा गंभीर उपाय हो । गल्तीलाई खुलस्तरुपमा सकार्नु, गल्ति हुनाको कारणलाई निश्चित गर्नु, कुन स्थितिमा गल्ती हुन गएको हो, त्यसको विश्लेषण गर्नु, त्यसलाई सुधार्नका लािग उपाय पत्ता लाउनु, यो नै एउटा गंभीर पार्टीको चिन्ह हो । र, त्यसले आफ्नो वर्ग र जनसमुदायहरुलाई शिक्षित र प्रशिक्षित पार्नुपर्छ ।” १७
पार्टीमा आत्मालोचनाको विवेकपूर्ण व्यवहारिक प्रयोग त्यसको एउटा प्रमुख पहिचान हो । यस सम्वन्धमा नेतृत्वकारी कमिटिका सदस्यहरुले सर्वप्रथम आफूबाट भएका कमजोरी तथा गल्तीहरुलाई लिएर आत्मालोचक बन्नुपर्छ र त्यसमा तिनीहरुले दृष्टान्त प्रस्तुत गर्नुपर्छ । यसले तलका सदस्यहरुमा आत्मालोचनाको प्रवृत्तिको किवास गर्नमा ठूलो प्रेरणा र सहयोग प्रदान गर्नेछ । त्यसको अर्थ के हो भने पार्टीभित्र जनवाद र आत्मालोचनाको प्रयोगलाई व्यापक बनाउन नेतृत्वमा रहेका कार्यकर्ताहरुको ठूलो जिम्मेवारी र भूमिका रहन्छ ।
अर्को कुरा लेनिनले सत्यलाई आम श्रमिक जनताबाट लुकाउन नहुने बरु सत्यलाई तिनीहरुका सामु खुलस्त राख्नुपर्ने कुरामा जोड दिएका छन् । सर्वहारावर्गको लागि सत्य मात्र हितकार हुने कुरालाई औल्याउँदै उनले आफूले जस्तोसुकै कटु भए पनि सत्य कुरो जनतालाई बताएर आएको उल्लेख गरेका छन् । उनले कुन कुरो बडो जोडका साथ बताएका छन् भने जनतालाई सत्य बताउनु सर्वहारा नेताको एउटा महत्वपूर्ण पहिचान हो । जनतालाई सत्य कुरा बताउन नचाहने वा डराउने नेताहरुलाई इंगित गर्दै उनले भनेका छन् ः
“तपाईं पूँजीवादी तरिकाबाट सर्वहारा नीतिको अनुसरण गर्न चाहनुहुन्छ । जो नेताहरु आफ्नो मण्डलभित्र आफ्नो बीचमा सत्यलाई जानका हुन्छन् र आम जनतालाई अज्ञानी र मन्दबुद्धिका ठानेर सो सत्य उनीहरुलाई बताउँदैनन् । तिनीहरु सर्वहारा नेता होइनन् । साँचो कुरा बोल्नोस्…..शत्रुलाई धोका दिनका लागि जनताप्रति वेइमानी हुनु भनेको एउटा बेवकुफी तथा कुबुद्धियुक्त नीति हो । सर्वहारावर्गलाई सत्य चाहिएको छ, र त्यसको लक्ष्यका लागि सौजन्ययुक्त निम्न पुँजीवादी झुटभन्दा बढी हानिकारक अर्को कुनै कुरो छैन ।” १८
उपरोक्त सम्बन्धमा लेनिनको शिक्षाको सार के छ भने सर्वहारा नेताहरुले जनतासित खेलवाड वा छलछाम गर्नुहुन्न र लोकाचारी व्यवहार गर्नु कदापी हुन्न । पार्टीले सामना गर्नुपरेका अपठ्याराहरु र त्यसका कमीकमजोरीहरु नलुकाइकन वा शब्दजाल बनाएर झुटो सन्देश दिने नगरिकन जनतालाई सत्य कुरा बताउनु पर्छ ।
पार्टी नेताहरुले कटु सत्य जनतालाई बताउने नीति अनुसरण गर्नपर्ने उनको उपदेश छ । उनी भन्छन् ः
“सत्यागासो(क्उभअष्यगक) वाक्यांशको मद्दतले कुनै नरमाइलो सत्यलाई छोप्नु सर्वहारावर्गको लक्ष्यको लागि र श्रमिक जनताको लक्ष्यको लागि अत्यधिक हानिकारक र अत्यधिक खतरनाक छ । जतिसुकै कटु भए पनि सत्यको विनाछल सामना गर्नैपर्छ । यस आवश्यकतालाई पुरा नगर्ने नीति विनाशकारी नीति हो ।”१९
सत्यमा टिक्नु र जनतालाई सत्य कुरा बताउनु र आफ्ना गल्तीप्रति आत्मालोचक भएर त्यसलाई सच्याउनु सर्वहारावर्गको अगुवाको रुपमा पार्टीले पुरा गर्नुपर्ने महत्वपूर्ण दायित्व हो । यो समग्र पार्टी र पार्टी सदस्यहरुले श्रमिक जनताप्रति अपनाउनुपर्ने सही दृष्टिकोणको अंग पनि हो ।
कम्युनिष्ट पार्टीमा कडा अनुशासनको आवश्यकतामा कम्युनिष्टहरुमाझ दुईमत रहेको पाइँदैन । सर्वहारावर्गको पार्टीको हैसियतले त्यसले आफ्नो जिम्मेवारीलाई पुरा गर्नसक्नुका लागि अनुशासन एउटा अपरिहार्य सर्त रहन्छ । लेनिनले त्यसको अपरिहार्यतामा निकै जोड दिएका छन् । उनको भनाइ छ ः चारैतिरबाट सर्वहारावर्गलाई घेरिराखेको निम्न पूँजीवादी वातावरणले “सर्वहारावर्गलाई छिचोल्छ र भ्रष्ट पार्छ र निरन्तर रुपबाट सर्वहारावर्ग निम्नपूँजीवादी लुलोपन, बेमेल, व्यक्तिवाद र पालैपालो गरी आत्मविभोरता र नैराश्यका भावहरु पैदा गर्छ । त्यसलाई पराजित गर्नका लागि र सही ढंगले सफलतापूर्वक र विजयी ढंगबाट सर्वहारावर्गको राजनीतिक पार्टीभित्र कठोरतम केन्द्रीयकरण र अनुशासन आवश्यक छ ।” २०
अनुशासन कायम गर्न पुरा गर्नुपर्ने जुन सर्तहरुको लेनिनले उल्लेख गरेका छन्, ती निकै महत्वपूर्ण छन् । सर्वहारावर्गको पार्टीमा मानिने अनुशासन अन्धभक्त भएर मानिने वा दासको आज्ञाकारीताको आधारमा मानिने अनुशासन होइन, बरु त्यो सचेत रुपबाट स्वेच्छाले र नेतृत्व र कार्यदिशाको औचित्यप्रति गहिरो विश्वासबाट मानिने शासन हो । साँच्चै भन्ने हो भने सर्वहारावर्गको पार्टीको तागतको एउटा प्रमुख स्रोत भनेको त्यसका सदस्यहरुद्वारा पालन गरिने सचेत तथा ऐच्छिक अनुशासन हो । पार्टी सदस्यहरु जति बढी मात्रामा संगठित, सचेत र असुशासित रहन्छन्, त्यस्तै नै पार्टीको तागत, त्यसको लडाकु क्षमता, त्यसको भूमिकाको प्रभावकारिता पनि रहन्छ ।
सर्वहारावर्गको पार्टीमा विभिन्न सैद्धान्तिक सवालहरुमा, त्यसका रणनीतिक तथा कार्यनीतिक दिशासित सम्बन्धित सवालहरुसँग विभिन्न नीतिहरुको कार्यान्वयनका सवालहरुमा मतभेदहरु उत्पन्न हुन्छन् । विचलनहरु त्यसबेला देखापर्छन्, जब पार्टी सदस्यहरुको कुनै अंग माक्र्सवादका सिद्धान्तहरु र पार्टीद्वारा निर्धारित कार्यदिशा र नीतिहरुबाट विचलित हुन्छन् । यसबारे लेनिनको यस्तो भनाई छ ः “विचलन भनेको पूर्ण विकसित भइसकेको धारा होइन । विचलन भनेको त्यस्तो कुनै चिज हो, जसलाई सच्याउन सकिन्छ । मानिसहरु बाटोबाट बहकिएका छन् वा बहकिन थालिरहेका छन् ।” २१
पार्टीभित्र देखापर्ने विचलनहरु खासरुपले दुईओटा छन् ः दक्षिणपन्थी विचलन र वामपन्थी विचलन । यी पार्टीभित्र गैरसर्वहारा विचारधाराहरुका प्रतिविम्ब हुन् । यसरी विचलन देखापरेपछि सैद्धान्तिक आधारमा त्यसका विरुद्ध संघर्ष चलाएर त्यसलाई सच्याउनु पर्छ । सिद्धान्तका आधारमा छलफल तथा संघर्षद्वारा विचलित भएका कामरेडहरुलाई सही बाटोमा ल्याउन प्रयत्न गरिनु आवश्यक छ । यदि त्यस्तो संघर्ष नचलाइकन र समयमा त्यसलाई नहटाइकन रहन दिने हो भने त्यसले आफूलाई खतरनाक रुपमा विकसित गर्न सक्छ । सुरुमा त्यस्तो विचलन सानो र नगण्यजस्तो भए पनि कुनै खास अवस्थाहरुमा त्यसले वैचारिक रुपमा मात्र होइन, सांगठनिक रुपमा पनि आफूलाई एउटा गुटको रुपमा अर्थात् आफ्नै छुटै मञ्च र व्यवस्था भएको समूहको रुपमा स्थापित गर्न सक्छ । गुटको रुप लिएपछि, त्यसका सदस्यहरुले पार्टी अनुशासनको उलंघन गर्दछन् । बहुमतको निर्णय मान्न इन्कार गर्छन् र पार्टीभित्रबाट पार्टी विरोधी गतिविधि चलाउँछन् र यसरी पार्टीमा फाटो ल्याउनु खोज्छन् । वास्तवमा गुटबन्दीले क्रान्तिविरोधी शक्तिहरुको सेवा गर्छ र त्यो पार्टीको सैदान्तिक तथा सांगठनिक एकताको लागि बडो हानिकारक छ ।
तसर्थ, लेनिनले पार्टीमा गुटबन्दीलाई स्थान दिन नहुने र त्यसको दृढरुपमा विरोध गर्नुपर्ने बताउँछन् । उनी लेख्छन् ः “सबै वर्गसमेत मजदूरहरुले कुन कुरालाई स्पष्टसित बुझ्नु पर्छ भने सबै खालको गुटबन्दी हानिकारक र आग्रहय छ, किनभने वैयक्तिक समूहहरुको सदस्यहरुले पार्टी एकतालाई सुरक्षित पार्न जतिसुकै चाहे पनि गुटबन्दीले व्यवहारमा अनिवार्यरुपबाट एकतालाई कमजोर पार्छ र शत्रुहरुको तर्फबाट फाटोलाई फराकिलो पनि र त्यसलाई क्रान्तिविरोधी उद्देश्यमा प्रयोग गरिने तीव्रता र निरन्तर प्रयत्नलाई पैदा गर्छ ।” २२
उपरोक्त सम्बन्धमा, कम्युनिष्ट पार्टी क्रान्तिकारीहरुको संगठित दस्ता हो, र यसमा गुटबन्दीलाई कुनै स्थान दिइनुहुन्न । पार्टीले आफ्नोभित्र देखापर्ने अवसरवादी विचलन तथा गुटबन्दीहरुको दृढरुपमा संघर्ष चलाई पार्टी एकतालाई जब्बर पार्नुपर्छ । पार्टीको आन्तरिक जीवनमा पार्टी सदस्यहरुको वैचारिक तथा सांगठनिक एकता, तिनीहरुको विचार र कारबाहीमा एकबद्धता र उच्च सचेतनायुक्त अनुशासन हुनुपर्ने र त्यसलाई सुदृढ पार्नुपर्ने कुरामा पार्टी संगठनसम्बन्धी लेनिनवादी सिद्धान्तको सार रहेको छ ।

हार्दिक शुभकामना !

सन्दर्भ सामाग्री
११. लेनिन, “संकलित रचनाहरु ”, भाग ११, पृष्ठ २०७ ।
१२. लेनिन, “संकलित रचनाहरु ”, भाग ११, पृष्ठ ४३७ ।
१३. लेनिन, “संकलित रचनाहरु ”, भाग १५, पृष्ठ ४०९ ।
१४. लेनिन, “संकलित रचनाहरु ”, भाग १०, पृष्ठ ४७ ।
१५. लेनिन, “संकलित रचनाहरु ”, भाग ५, पृष्ठ ३५५ ।
१६. लेनिन, “संकलित रचनाहरु ”, भाग ५, ३५५ ।
१७. लेनिन, “संकलित रचनाहरु ”, भाग ३१, पृष्ठ ५७ ।
१८. कृष्णदास,“पार्टी संगठनका समस्याहरु”, पृष्ठ ५०बाट उद्धृत ।
१९. लेनिन, “संकलित रचना”, भाग १४, पृष्ठ ३४ ।
२०. लेनिन, “संकलित रचना”, भाग ३१, पृष्ठ ४४ ।
२१. लेनिन, “संकलित रचना”, भाग ३२, पृष्ठ २५१ ।
२२. लेनिन, “संकलित रचना”, भाग ३२, पृष्ठ २४१ ।

प्रतिक्रिया

सम्बन्धित खवर