१) विषय सन्दर्भ
२०२८ सालको झापा ऐतिहासिक विद्रोहका बीचबाट जन्मिएको नेकपा (माले) ले नेपालमा दीर्घकालीन जनयुद्घद्वारा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने उद्घोष गरेको थियो । परन्तु त्यो अर्को कालखण्डमा बहुदलीय जनवादमा आधारित दक्षिणपन्थी संशोधनवाद र संसदवादी राजनीतिक कार्यदिशा अवलम्बन गरी नेकपा (एमाले) मा बदलिन पुग्यो । अनि नेपालमा नयाँ जनवादी क्रन्ति सम्पन्न गर्नका लागि २०५२ सालमा महान् जनयुद्घको उद्घोष गर्दै तथा नेकपा (एमाले) लाई प्रतिक्रियावादको रक्षाकवच बताउँदै नेकपा (माओवादी) अगाडि बढ्यो । करिब एक दशक पश्चात् सोही माआवादी पार्टीमा आबद्घ प्रचण्ड नेतृत्वको एउटा हिस्सा नवसंशोधनवाद र संसदवादको बाटो पकड्दै नेकपा (माके) मा परिणत हुन पुग्यो ।
उक्त दुई संशोधनवादी समूह नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले ३ जेठ २०७५ मा एकता गरे र एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखे । त्यसलाई डबल नेकपा पनि भनियो । सरकारका प्रधानमन्त्री ओली नै थिए । प्रचण्ड र ओलीबीच आलोपालो गरी प्र.म. चलाउने सहमति भयो । पार्टीमा ओली र प्रचण्ड दुवैजना अध्यक्ष बने । एउटा पार्टीमा दुई ओटा अध्यक्ष किन ? सर्वसाधारणले प्रश्न गरे । सो प्रश्नको उत्तर दिंदै ओलीले भने– यो टेम्पो र ट्याक्सी चलाउने जस्तो कुरा होइन, जेट विमान चलाउने कुरा हो, त्यसैले दुई ओटा पाइलट अनिवार्य रुपमा चाहिन्छन्, पार्टीमा दुई अध्यक्षको कुरा यही हो । ओलीले गफ हाँक्दै गए– अब नेपालमा रेल चलाइन्छ, पानी जहाज ल्याइन्छ, देश समृद्धिको यात्रातिर अगाडि बढ्छ, कसैले भोकै मर्नु पर्दैन । कुरा सुनेर मान्छे जिल्ल पर्न थाले ।
दिन बित्दै गए । एउटा अध्यक्षले सरकार चलाउने र अर्को अध्यक्षले पार्टी चलाउने, अनि प्र.म.को पनि आलो पालो गर्ने भनेर बहस चल्न थाले । ओली पटक्कै गलेनन्, बरु प्रतिनिधि सभा नै विघटन गरे । ओलीले एकलौटी गर्न थाले भनेर विवाद झन् झन् बढ्दै गयो । पद, प्रतिष्ठा र व्यक्तिगत अहंका कारण अन्तर्कलह तीब्र बन्दै गयो । त्यसै क्रममा डबल नेकपाबारे सर्वोच्चमा दिइएको रिटमा ओली र प्रचण्ड दुबै पक्षले हारे । एमाले र माके दुबै ब्युँझिए । देउवाको नेतृत्वमा प्रचण्ड सहितको गठबन्धन सरकार बन्यो ।
ओली त हारेर पनि डुक्रिन छोडेनन् नै । तर, त्यो भन्दा पनि अझ बढेर प्रचण्ड डुक्रिन थाले । उनले आफूुलाई खाँटी माओवादी बताउँदै पुन: अनेकौ विभ्रमहरु खडा गर्दै गए । आखिर उनीहरु एकीकृत हुनु पूर्व र भएपछि पनि नव–प्रतिक्रियावादको बाटोमा हिडेका थिए । अहिले पनि त्यही प्रतिगामी बाटोमा हिडिरहेका छन् ।
डवल नेकपा र त्यसका मूल नेताहरुको राजनीतिक विश्लेषण गर्दै त्यो बेला भनिएको थियो– “नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास माक्र्सवाद र संशोधनवादका बीचको भीषण दुर्ई लाइन सङ्घर्षको इतिहास हो । यस सङ्घर्षमा कहिले माक्र्सवाद र कहिले संशोधनवाद बलियो हुने गरेका छन् । आज रुप तथा सङ्ख्यामा बलियो देखिने दक्षिणपन्थी संशोधनवाद मात्र संशोधनवाद नभएर वस्तुत: नव प्रतिक्रियावाद नै हो । यद्यपि त्यसले माक्र्सवादी पोशाक र आभूषणमा सजिएर दुनियाँदारलाई झिलिमिलि देखाई दिग्भ्रमित पार्ने कोशिस गरिरहेको छ, परन्तु त्यो अस्थायी कुरा हो । संशोधनवादले जनताका नजरमा नवप्रतिक्रियावादका रुपमा छर्लङ्गै देखिनु वा नाङ्गिनु अनिवार्य छ । यसै क्रममा भीषण चुनौती र अनेकौ जटिलताहरुको सामना गर्दै माक्र्सवाद महान् संभावनाका बीचबाट देश र श्रमिक जनसमुदायको मुक्तिका लागि क्रान्तिको दौरानमा पुन: सशक्त रुपमा प्रस्तुत हुनु पनि अनिवार्य नै छ । विश्व तथा नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासको द्वन्द्ववादले हामीलाई यही कुरा बताउँछ ।” (मोहन वैद्य ‘किरण’: संशोधनवाद र पश्चगमन, पृ. १७,विवेक सिर्जनशील प्रा.लि.काठमाण्डौं) । उक्त भनाइ वर्तमान सन्दर्भमा पनि सही नै रहेका छन् । ा
प्रस्तुत आलेखमा हाम्रो ध्यान नेकपा (माके) र त्यसको मूल नेतृत्वमाथि केन्द्रित हुनेछ । यहाँ उनीहरुले अवलंबन गरेको विश्वदृष्टिकोण, राजनीति र गतिविधिसित संबन्धित पछिल्लो अवस्थाबारे संक्षिप्तमा चर्चा गर्ने प्रयास गरिएको छ ।
२) मूल राजनीतिक प्रवृत्ति र विश्वदृष्टिकोण
नेकपा (माओवादी) बाट नेकपा (माओवादी केन्द्र) सम्म पुग्दा त्यो पार्टी तथा त्यसका प्रमुख नेता प्रचण्डले दक्षिणपन्थी नवसंशोधनवाद र संसदवादको एउटा यात्रा प्रक्रिया पुरा गरे । त्यसै प्रक्रिया अन्तर्गत चुनबाङ् केन्द्रीय समितिको बैठकदेखि बाह्र बुंदे सहमति तथा विस्तृत शान्ति संझौता हँुदै यता आउँदासम्म नयाँ जनवादको परित्याग तथा संसदीय गणतन्त्र अवलम्बन, शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धाको राजनीति स्वीकार, जनयुद्घको अवधिमा स्थापित जनसरकारहरूको विघटन, दशवर्षीय जनयुद्घको अन्त्यको घोषणा, जनमुक्ति सेनाको विघटन तथा नेपाली सेनामा विलयन लगायतका कामहरू गरिसकिएका थिए । त्यस प्रक्रियामा क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन (रिम) र कैयौं भाइचारा पार्टीहरूद्वारा पटक पटक दिइएका सकारात्मक सुझावहरू तथा गरिएका मैत्रीपूर्ण आलोचनालाई पुरै उपेक्षा तथा अवज्ञा गर्ने काम भएका थिए । यी सबै गतिविधि एकातिर दक्षिणपन्थी विसर्जनवाद, वर्गीय आत्मसमर्पणवाद एवम् राष्ट्रिय आत्मसमर्पणवादमा आधारित नवसंशोधनवादी प्रवृत्तिका मूल विशेषता र अर्कोतिर नेपाली क्रान्ति तथा सर्वहारा अन्तर्राष्ट्रियतावादप्रति गरिएका गम्भीर विश्वासघातका कुरूप अभिव्यक्ति थिए । ं
विश्वदृष्टिकोण र नीति, कार्यक्रम तथा कार्यदिशाका बीच घनिष्ठ सम्बन्ध हुन्छ । कम्युनिस्ट पार्टीको नीति, कार्यक्रम र कार्यदिशा निर्धारण गर्ने प्रश्नमा विश्वदृष्टिकोणले पथप्रदर्शनको काम गर्दछ । माक्र्सवादीहरुले अधिभूतवादका विरुद्ध भौतिकवादी द्वन्द्ववादलाई अवलंबन गर्दछन् । परन्तु संशोधनवादीहरु भने भौतिकवादी द्वन्द्ववादका विरुद्ध अधिभूतवादको आश्रय लिने गर्दछन् । माकेको मूल नेतृत्वले अधिभूतवादको आश्रय लिई संशोधनवादी कार्यदिशा अवलम्बन गर्दै आएको छ र प्रतिगमनको यात्रामा हिंडिरहेको छ ।
भौतिकवादी द्वन्द्ववादको आधारभूत नियम विपरीतहरुको एकता र संघर्षको नियम हो । लेनिनका अनुसार यो नियम एकको दुईमा विभाजनको मान्यतामा आधारित छ । यस प्रकारको नियम र मान्यताको माओले विस्तृत व्याख्या पनि गर्नु भएको छ । परन्तु संशोधनवादीहरुले एकको दुईमा विभाजनको मान्यताका विरुद्ध दुईको एकमा संयोजनको मान्यता अवलंवन गर्दै आएका छन् । एकको दुईमा विभाजनका अनुसार एकता–संघर्ष–मुख्यत:रुपान्तरणमा जोड दिइन्छ, परन्तु एकको दुईमा संयोजनका अनुसार एकता–संघर्ष–संझौतामा जोड दिइन्छ । संशोधनवादीहरुले यस प्रकारको मान्यता अनुसार– पुँजीपति वर्ग र मजदुर वर्ग, अवसरवादी कार्यदिशा र माक्र्सवादी कार्यदिशाका बीच संयोजन अर्थात् संझौता गराउने र संझौतावादमा पतन हुने काम गर्दछन् । लामो समयदेखि माकेले यही काम गर्दै आएको छ ।
त्यसैगरी संशोधनवादीहरुले भौतिकवादी द्वन्द्ववादका विरुद्ध द्वैतवाद, सारसंग्रहवाद र बहुलवाद अवलंबन गर्दै आएका छन् । तदनुसार विपरीतहरुका बीच स्थायी मेल गराउने, विभिन्न अनमेल विचारहरुलाई एकै ठाउँमा मिसाउने र एकीकृत विश्वदृष्टिकोणको निर्माणमा अवरोध खडा गर्ने काम गरिन्छ । माके तथा त्यसको मूल नेतृत्वद्वारा ठीक यिनै काम हुँदै आएका छन् ।
अधिभूतवादी र संशोधनवादीहरुले अवलंबन गर्दै आएको एउटा प्रमुख चिन्तन पद्धतिको नाम हो – कुतर्कनावाद । यसलाई वितण्डावाद पनि भन्ने गरिन्छ । विरोधीलाई अप्ठेरोमा पार्न र असत्यलाई सत्यको रुपमा प्रस्तुत गर्नका लागि कुतर्कनावादको सहारा लि इन्छ । कुतर्कनावादीहरु सेतोलाई कालो र कालोलाई सेतो, सहीलाई गलत र गलतलाई सही, अनि सत्यलाई झुट र झुटलाई सत्य साबित गर्नका लागि निकै कसरत गर्दछन् ।
दोस्रो अन्तर्राष्ट्रियका अवसरवादीहरुका बारेमा लेनिन भन्नुहुन्छ – “विज्ञानको विकासले बढी भन्दा बढी त्यस्ता सामग्री प्रस्तुत गरिरहेको छ जसले माक्र्सलाई सही सिद्ध गर्दछ । यसले उनका विरुद्ध पाखण्डपूर्ण ढङ्गले सङ्घर्ष गर्न आवश्यक बनाइदिन्छ — माक्र्सवादी सिद्धान्तहरुको खुला रुपले विरोध नगरियोस्, अपितु माक्र्सवादलाई स्वीकार गरेको स्वांग रचियोस् र त्यसको अन्तर्वस्तुलाई कुतर्कहरुद्वारा शक्तिहीन बनाउँदै त्यसलाई बुर्जुवा वर्गका निम्ति हानिरहित पवित्र “देवताको प्रतिमा” मा परिणत गरिदिइयोस् ।” (व्ला इ. लेनिन संकलित रचनाएँ, दश खण्डो मे खण्ड ५ पृ. ९५, प्रगति प्रकाशन मास्को १९८२) ।
कुतर्कनावादको प्रयोग गर्ने कार्यमा माकेको मूल नेतृत्व निकै माहिर रहिआएको छ । लेनिनका उक्त भनाइहरु माकेको मूल नेतृत्व अर्थात् प्रचण्डका सन्दर्भमा राम्रोसित लागु हुन्छन् । माकेका दस्तावेजहरुको अध्ययन गर्दा शुरुदेखि अन्त्यसम्म भौतिकवादी द्वन्द्ववादका विरुद्घ प्रचुर मात्रामा कुतर्कनावादको प्रयोग गरिएको पाइन्छ ।
३) पथप्रदर्शक सिद्धान्त
माकेको राजनीतिक प्रतिवेदनमा भनिएको छ – “पार्टीको मार्ग निर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवाद हो । आजको ऐतिहासिक परिस्थिति अनुसार यसको रक्षा, प्रयोग र विकास गर्ने कुरामा पार्टी प्रतिबद्ध छ ।” ( एक्काइसौं शताब्दीमा समाजवादको नेपाली बाटो–ऐतिहासिक आठौं राष्ट्रिय महाधिवेशनद्वारा पारित राजनीतिक प्रतिवेदन, पृ. ३५ मिति २०७८। ०९ । २०) । यहाँ मार्ग दर्शक सिद्धान्तका रुपमा माक्र्सवाद–लेनिनवाद–माओवादको जुन उल्लेख गरिएको छ त्यो वास्तविक होइन एउटा स्वांग मात्र हो । वास्तविक कुरा के हो त ? राजनीतिक प्रतिवेदनमा भनिएको छ –“आजको आवश्यकता भनेको समाजवादी क्रान्तिको रणनीति अन्तर्गत नयाँ विचार संश्लेषणको निमित्त अध्ययन, अनुसन्धान, चिन्तन, मनन, बहस र सङ्घर्षलाई अगाडि बढाउनु हो । माओवादी आन्दोलनले विकास गरेको प्रचण्डपथ र २१ औं शताव्दीको जनवाद त्यसका लागि महत्वपूर्ण अनुभव र सन्दर्भ सामग्री भने आवश्यक हुनेछन् ।” (उक्त, पृ. ३१) । यहाँ प्रचण्डपथ प्रतिको मोह अझै बाँकी रहेको छ । प्रचण्डपथ र एक्काइसौं शताब्दीको जनवादको सन्दर्भ सामग्री लिएर माकेको नेतृत्वले मालेमावादको विरोध र विकल्पमा कुनै नयाँ पथको आविष्कार र नयाँ विचार संश्लेषण गर्न खोजेको देखिन्छ । यसलाई इतिहासको एक अत्यन्तै भद्दा प्रहसनका रूपमा लिन सकिन्छ ।
४) जनवादी क्रान्तिको कथित मौलिकता
राजनीतिक प्रतिवेदनमा भनिएको छ –“वर्ग संघर्ष र राजनीतिक सङ्घर्षको प्रक्रिया हामीले चाहे जस्तो नभएर आफ्नै मौलिक बाटो पक्डँदै आधारभूत रुपले पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भयो । सन् १९१७ मा जारशाहीको अन्त्य गर्ने रुसी फेब्रुअरी क्रान्तिका बारेमा लेनिन र बोल्सेभिकले भने जस्तो गरी मजदुर वर्गको नेतृत्वमा अन्तरिम क्रान्तिकारी सरकार गठन गर्ने रुपमा सम्पन्न हुन सकेन । कमरेड लेनिनले आफूहरुले भने जस्तो गरी सम्पन्न नभए पनि जारशाहीको अन्त्य हुनु र सत्ता बुर्जुवाहरुको हातमा आउनुलाई मौलिक रुपले सम्पन्न भएको पुँजीवादी जनवादी क्रान्ति नै भएको निष्कर्ष सहित अब पार्टी समाजवादी क्रान्तिको तयारीमा अगाडि बढनु पर्ने निष्कर्ष निकाल्नु भएको थियो ।” (उक्त, पृ.३१/३२) । यहाँ रुसी फरबरी क्रान्तिबारे लेनिनद्वारा अभिव्यक्त विचारसित तुलनागरी नेपाली जनवादी क्रान्तिको कथित मौलिकताको कुरा गरिएको छ । वास्तवमा यस ढङ्गको तुलना हुनै सक्तैन ।
प्हिलो, लेनिनको भनाइ अनुसार क्रान्तिको पहिलो, प्रमुख र आधारभूत लक्षण राज्यसत्ता एउटा वर्गको हातबाट अर्को वर्गको हातमा जानु हो । फरबरी क्रान्ति भन्दा पहिले रुसमा राज्यसत्ता मूलत: भूदास स्वामी अभिजात वर्गको हातमा थियो र त्यस वर्गको प्रतिनिधित्व राजतन्त्रले गर्दथ्यो । फरबरी क्रान्ति पश्चात् रुसको राज्यसत्ता पुँजीपति वर्गको हातमा आएको छ । नेपाली संसदीय गणतंत्रको स्थापना हुनु अघि राज्यसत्ता सामन्त, दलाल तथा नोकरशाही पुँजीपति वर्गको हातमा थियो । संसदीय गणतंत्रको स्थापना पछि पनि राज्यसत्ता त्यसै वर्गको हातमा छ । अनि नेपालमा कसरी पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भयो त ?
दोस्रो, क्रान्ति पूर्व रुसी क्रान्ति मूलत: भूदास स्वामी अभिजात जमिन्दार वर्ग तथा त्यस वर्गको प्रतिनिधि राजतंत्रका विरुद्ध परिलक्षित थियो । तर नेपाली समाज अर्धसामन्ती तथा अर्धऔपनिवेशिक अवस्थामा रहनुको कारण नेपाली क्रान्ति देशीय सामन्तवाद र वैदेशिक प्रतिक्रियावाद दुवैका विरुद्ध परिलक्षित थियो । अनि त देशमा राजतंत्र ढल्नु र गणतंत्रको स्थापना हुनु मात्रले पुँजीवादी जनवादी अर्थात नयाँ जनवादी क्रान्ति पुरा हुन सक्छ त ? कदापि सक्दैन ।
तेस्रो, रुसमा लेनिनले पुँजीवादी जनवादी क्रान्ति संपन्न गर्नका लागि– “सर्वहारा वर्ग र किसान जन समुदायको क्रान्तिकारी जनवादी अधिनायकत्व”को कुरा पनि गर्नु भएको थियो । यद्यपि समग्र रुसमा त्यस प्रकारको अधिनायकत्वको स्थापना हुन त सकेन, तर त्यहाँ दोहोरो सत्ता थियो र त्यस अर्थमा “सर्वहारा वर्ग तथा किसान समुदायको क्रान्तिकारी जनवादी अधिनायकत्व”कलाई साकार रुप दिइएको थियो । तर, नेपालका सन्दर्भमा भन्नु पर्दा महान् जनयुद्धको प्रक्रियामा देशका विशाल ग्रामीण क्षेत्रहरूमा निर्मित जन सरकारहरुलाई पुराना राज्यसत्ताका प्रतिनिधिहरुसित साँठगाँठ गरी विघटन गरिएको थियो ।
चौथो, फरबरी क्रान्तिको लगत्तै प्रस्तुत अप्रिल थिसिसमा लेनिनले भन्नु भएको थियो– “संसदीय गणतन्त्र होइन, मजदुर प्रतिनिधि सोभियतबाट संसदीय गणतन्त्र तर्फ फर्किनु पश्चगामी कदम हुनेछ, – अपितु पुरा देशमा तलदेखि माथिसम्म मजदुर, खेत मजदुर, किसान प्रतिनिधि सोभियतहरुको गणतंत्र ।” (ब्ला.इ.लेनिन संकलित रचनाएँ, दश खण्डों में खण्ड ६ पृ.३१६ प्रगति प्रकाशन मास्को १९८३) । परन्तु, यसको ठीक उल्टो नेपालमा राजतंत्रको अन्तको लगत्तै संसदीय गणतंत्रलाई स्वीकार गरियो र त्यसको रक्षा गर्न, त्यसलाई स्थापित तुल्याउन तथा सुदृढ गर्न पुरै शक्ति लगाइयो ।
यसरी उक्त सबै कुराहरुमाथि ध्यान दिदा रुसको फरबरी क्रान्ति तथा लेनिनका महान् विचारसित नेपालमा गरिएको प्रतिक्रियावादी वर्ग तथा राज्यसत्तासितको आत्मसमर्पण एवम् क्रान्ति प्रतिको विश्वासघातका बीच कुनै तुलना नै हुन सक्तैन । यसरी तुलना गर्न खोज्नु क्रान्ति र प्रतिक्रान्ति बीच समानता खोज्नु जस्तै हो ।
५) वर्तमान संविधानप्रतिको धारणा
आठौं महाधिवेशनमा पारित मा.के.को राजनीतिक प्रतिवेदनमा भनिएको छ – “नयाँ संविधानले जनताको प्रतिस्पर्धात्मक बहुदलीय शासन व्यवस्था र त्यसमा आधारित समाजवादप्रति प्रतिबद्ध रहने कुरा प्रस्ट गरेको छ । विश्वव्यापी रुपमा स्वीकृत लोकतन्त्रका आधारभूत विषयका साथै मानवाधिकार, स्वतन्त्र न्यायपालिका तथा शक्ति पृथकीकरणलाई संविधानले प्रत्याभूत गरेको छ । यसैगरी राज्यलाई प्रस्ट रुपमा समाजवाद उन्मुख समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भनेर परिभाषित गरिएको छ । यसले हाम्रो परिवर्तन, राज्य र समाजको चरित्रलाई निर्दिष्ट गरेको छ ।” (उक्त पृ ३४) ।
यहाँ निर्वर्गीय लोकतान्त्रिक गणतंत्रमा आधारित कथित नयाँ संविधानको प्रशंसा गरिएको छ । विशुद्घ लोकतांत्रिक गणतंत्रको समर्थन गरिएको छ । अनि यहाँ .. संविधान – “समाजवाद प्रति प्रतिबद्ध” रहने कुरा बताइएको, राज्यलाई “समाजवाद उन्मुख” भनेर परिभाषित गरिएकोमा निकै प्रसन्नता व्यक्त गरिएको छ । साथै, यसले परिवर्तन, राज्य र समाजको चरित्रलाई निर्दिष्ट गरेको कुरा पनि बताइएको छ ।
माकेले लोकतांत्रिक गणतन्त्रलाई त सहर्ष स्वीकार गरेकै छ । अनि समाजवाद कस्तो त ? स्पष्ट छ, दलाल, नोकरशाही पुँजीपति तथा सामन्त वर्गलाई पनि स्वीकार्य हुने सर्वहारा अधिनायकत्व विनाको समाजवाद बाहेक त्यो अरु केही होइन र हुन सक्तैन । के सच्चा माक्र्सवादीहरु संसदीय गणतन्त्रमा टाँसिएर बस्छन् ? रुसी क्रान्तिका अनुभव र लेनिनवादी मान्यताबारे उल्लेख गर्दै स्तालिन भन्नु हुन्छ – “दुई रसियाली क्रान्तिहरुको अनुभवको अध्ययनबाट र माक्र्सवादको सिद्धान्तको आधारमा लेनिन कुन निष्कर्षमा पुग्नुभयो भने सर्वहारा वर्गको अधिनायकतन्त्रको लागि सर्वोत्तम राजनैतिक रुप संसदीय जनवादी गणतन्त्र होइन, बरु सोभियतहरुको गणतन्त्र हो । यस आधारमा अघि बढेर अप्रिल १९१७ मा पुँजीवादी क्रान्तिबाट समाजवादी क्रान्तितर्फ सङ्क्रमणको अवधिमा लेनिनले कस्तो नारा दिनुभयो भने सोभियतहरुको गणतन्त्र सर्वहारा वर्गको अधिनायकतन्त्रका लागि सर्वोत्तम राजनैतिक रुप हो । सबै मुलुकहरुका अवसरवादीहरु संसदीय गणन्त्रमा टाँसिएर बसेका थिए र उनीहरुले लेनिनमाथि माक्र्सवादबाट विचलित भएको र जनवादलाई नष्ट पारेको आरोप लगाए । तर माक्र्सवादको सिद्धान्तमा पोख्त सच्चा माक्र्सवादी लेनिन नै हुनुहुन्थ्यो, अवसरवादीहरु थिएनन् ।” (सोभियत संघको कम्युनिस्ट पार्टी बोल्सेविकको इतिहास, पृ. २८१/२८२) ।
जनवादी क्रान्तिको कथित मौलिकता र वर्तमान संविधान प्रतिको धारणाबारे उल्लेख गर्दा माकेले एकातिर नेपालमा जनवादी क्रान्ति पुरा भइसकेको र अर्कोतिर वर्तमान संविधान समाजवादप्रति प्रतिबद्घ रहेको भनेर जुन ढाँटछलको कुरा गर्दै आएको छ त्यो स्तालिनको उक्त उद्घरण र त्यसमा अभिव्यक्त लेनिनका विचारमाथि दृष्टि दिंदा पुरै पर्दाफास हुन पुग्दछ । यसरी हेर्दा माकेले न त पुँजीवादी जनवादी क्रान्ति पुरा गरेको छ, न त्यो वैज्ञानिक समाजवादप्रति नै प्रतिबद्घ रहेको छ ।
६) नीति, कार्यक्रम र कार्यदिशा
पहिलो माओवादी केन्द्र काल, अनि डबल नेकपा काल र पछिल्लो माओवादी केन्द्र कालका माकेका नीति, कार्यक्रम र कार्यदिशा मूल रुपमा एकै प्रकारका रहेका छन् । माकेको राजनीतिक प्रतिवेदनमा भनिएको छ –“नेपाली जनताको विकासको आजको विशिष्ट पुँजीवादी चरणमा पार्टीको रणनीति वैज्ञानिक समाजवादको स्थापना गर्नु हो, तर राष्ट्रिय पुँजीको विकासको कमजोर स्थिति, अर्थतन्त्रमा दलाल नोकरशाही पुँजीवादको बलियो पकड तथा सामन्ती अवशेष र वैदेशिक हस्तक्षेपका विरुद्ध सङ्घर्षको आवश्यकताका कारण तत्काल समाजवादमा जान तथा समाजवादी कार्यक्रम कलागुगर्न संभव छैन । तत्कालीन दृष्टिले पार्टीको ध्यान शान्तिपूर्ण प्रतिस्पर्धा र वैधानिक बाटोबाट समाजवादको आधार तयार पार्ने कुरामा केन्द्रित हुनेछ । त्यसकारण आज पार्टीको मूल कार्यनीति ’‘समाजवाद उन्मुख समृद्धि’ भनिएको हो ।” (राजनीतिक प्रतिवेदन, पृ.३५)।
यहाँ नेपाली समाज विशिष्ट पुँजीवादी चरणमा रहेको बताइएको छ । पार्टीको रणनीतिका रुपमा समाजवादको स्थापनालाई लिइएको छ । तत्काल समाजवादमा जान तथा समाजवादी कार्यक्रम लागु गर्न संभव नभएको कुरा उल्लेख गरिएको छ । अनि शान्तिपूर्ण प्रतिस्पर्धा र वैधानिक बाटोबाट समाजवादको आधार तयार पार्ने कुरा गरिएको छ र समाजवाद उन्मुख समृद्धिलाई मूल कार्यनीति बताइएको छ । एकातिर नेपाल विशिष्ट पुँजीवादी चरणमा रहेको बताउने र अर्कातिर समाजवादको कार्यक्रम लागु गर्न संभव छैन भन्ने । यो के हो ? यो आफैमा एक अत्यन्तै अस्पष्ट र विरोधाभास पूर्ण राजनीतिक चिन्तनको अभिव्यक्ति हो ।
साथै, यहाँ शान्तिपूर्ण प्रतिस्पर्धा र वैधानिक बाटोबाट समाजवादको आधार तयार पार्ने कुरा बताइएको छ । दस्तावेजमा भनिएको छ –“के शान्तिपूर्ण प्रतिस्पर्धाको चुनावी बाटोबाट समाजवादको आधार निर्माण संभव छ ? कम्युनिस्ट आन्दोलनको बीसौं शताब्दींमा स्थापित मान्यता अनुसार यो संभव छैन । तर हामीले विगतका प्रतिक्रान्तिका अनुुभव, २१ औ शताव्दीका विशेषता र मुख्यत: नेपालको पुँजीवादी जनवादी क्रान्तिमा कम्युनिस्ट पार्टीको नेतृत्वमा जनताले खेलेको भूमिका समेतलाई विचार गरेर त्यो संभव भनेका छौं ।” (उक्त, पृ. ३६) कुरा जतिसुकै बटारेर गरेपनि शान्तिपूर्ण प्रतिस्पर्धा र वैधानिक प्रकारको चुनावी बाटोबाट समाजवादमा जान सकिने मान्यता अँगाल्नु स्पष्ट भाषामा गद्दार खुश्चेभ सहितका घोर दक्षिणपंथी संशोधनवादी तथा प्रतिक्रियावादका मतियारहरुको नाङ्गो पदानुसरण गर्नु हो ।
७) मिश्रित अर्थतन्त्रको विभ्रम
नेपालमा २०५० सालको आसपास देखि व्यवस्थित रुपमा उदारीकरणको प्रक्रिया सुरु भयो । २०५० देखि २०६७ सालसंम आउँदा ३० भन्दा बढी सार्वजनिक उद्योग व्यवसायहरुको खारेजी र विघटन प्रक्रिया अघि बढ्यो । नेपाली अर्थतंत्रमा नवउदारवादको हैकम बढ्दै गयो । मिश्रित अर्थतन्त्र समाप्त हुँदै गयो । परन्तु, माओवादी केन्द्र भन्दछ – “सार्वजनिक, निजी र सहकारी सहितको मिश्रित अर्थनीति स्वीकार गरी राजनीतिलाई मात्र होइन अर्थतन्त्रलाई पनि समावेशी र सहभागितामूलक बनाउने दृष्टिकोण अघि सारिएको छ ।” (उक्त, पृ.३४)
वस्तुत: आज नेपाल अर्थतन्त्त निजीक्षेत्रको प्रभुत्व र नेतृत्व कायम छ । नेपाली अर्थतन्त्रमा दलाल तथा नोकरशाही पुँजी प्रभावी रहेको छ । नेपाली अर्थतन्त्रमा नवउदारवादी साम्राज्यवादको हैकम चलेको छ । शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा निजीकरण र व्यापारीकरण व्याप्त छ । परन्तु, माओवादी केन्द्रले एकातिर अझैपनि मिश्रित अर्थनीतिको विभम्रं खडा गरेको छ भने अर्कोतिर नवउदारवादी साम्राज्यवादको निर्देशनमा समाजवाद निर्माण गर्ने दु:स्वप्न देखिरहेको छ ।
८) द्वैतवाद र सारसंग्रहवाद
माओवादी केन्द्रको समग्र दस्तावेज विभिन्न प्रकारका विरोधाभास, द्वैतवाद र सारसंग्रहवादले भरिएको छ । परस्पर विरोधी कुरालाई यो पनि ठीक त्यो पनि ठीक भन्नु द्वैतवाद हो । विभिन्न अनमेल विचार र प्रवृत्तिलाई एकै ठाउँमा मिसाई खिचडी पकाउनु सारसंग्रहवाद हो । माओवादी केन्द्रको नेतृत्वले ठीक यही काम गर्दै आएको छ । माओवादी केन्द्र वर्तमान नेपाली समाजको विश्लेषण गर्दा एकातिर – “आजको विशिष्ट पुँजीवादी चरण” भन्दछ भने अर्कोतिर “वैदेशिक प्रतिक्रियावादद्वारा पालित पोषित दलाल नोकरशाही पुँजीवाद र सामन्ती अवशेषका विरुद्ध नेपाली जनताको अन्तर्विरोध प्रमुख बनेर प्रकट भइरहेको आजको अवस्था” (उक्त, पृ. ३५) बताउन पुग्दछ । यो अत्यन्तै विचित्रको विरोधाभास पूर्ण विश्लेषण हो ।
माकेको विश्लेषण अनुसार यदि नेपाली समाज “आज विशिष्ट पुँजीवादी चरण” मा छ भने त्यो स्थितिमा नेपाली समाजको प्रमुख अन्तर्विरोध – पुँजीपति वर्ग र सर्वहारा वर्गका बीच हुनु पर्ने हो । त्यो अवस्थामा त्यस प्रकारको प्रमुख अन्तर्विरोधको समाधानका लागि समाजवादको कार्यक्रम पेश गर्ने तर्क ठीकै हुन सक्तथ्यो । परन्तु, माओवादी केन्द्र त्यसै दस्तावेजमा नेपाली समाजको विश्लेषण “बैदेशिक प्रतिक्रियावादद्वारा पालित पोषित दलाल नोकरशाही पुँजीवाद र सामन्ती अवशेषका विरुद्ध नेपाली जनताको अन्तर्विरोध प्रमुख बनेर प्रकट भइरहेको आजको अवस्था” भनेर गर्न पुग्दछ त्यो बेला त्यस प्रकारको अन्तर्विरोधको समाधान गर्नका लागि समाजवादको कार्यक्रम उपयुक्त हुन सक्तैन । बरु त्यो स्थितिमा नयाँ जनवादी कार्यक्रम सही हुन आउँछ । तर माकेले त्यसरी पनि सोचेको देखिदैन । यहाँ समाजको विश्लेषण र अन्तर्विरोधका समाधान गर्ने कार्यक्रमका बीच गंभीर प्रकृतिको विसङ्गति र विरोधाभास देखिन्छ । त्यसैगरी अर्को ठाउँमा माओवादी केन्द्र भन्दछ – “वस्तुत: साम्राज्यवादी हस्तक्षेपका विरुद्ध राष्ट्रिय स्वाधीनताको प्रश्न पुँजीवादी जनवादी क्रान्तिकै एउटा आधारभूत प्रश्न हो । नेपालको विशिष्ट सन्दर्भमा पुँजीवादी जनवादी क्रान्ति आधारभूत रुपले सम्पन्न भए पनि वैदेशिक हस्तक्षेप र राष्ट्रिय स्वाधीनताको आधारभूत प्रश्नको समाधान भएको छैन ।” (उक्त, पृ. ३९) ।
यहाँ माओवादी केन्द्रको नेतृत्व एकातिर “साम्राज्यवादी हस्तक्षेपका विरुद्ध राष्ट्रिय स्वाधीनताको प्रश्न पुँजीवादी जनवादी क्रान्तिकै एउटा आधारभूत प्रश्न” भन्दछ । अनि अर्कोतिर लगत्तै “नेपालको विशिष्ट सन्दर्भमा पुँजीवादी जनवादी क्रान्ति आधारभूत रुपले संपन्न” भन्न पुग्दछ । अनि फेरि भन्दछ –“वैदेशिक हस्तक्षेप र राष्ट्रिय स्वाधीनताको आधारभूत प्रश्नको समाधान भएको छैन ।” कति विरोधाभास पूर्ण कुरा !
स्पष्ट छ, राष्ट्रिय स्वाधीनताको प्रश्न पुँजीवादी जनवादी क्रान्तिको आधारभूत प्रश्न हो । यदि पुँजीवादी जनवादी क्रान्ति संपन्न भएको छ भने राष्ट्रिय स्वाधीनताको आधारभूत प्रश्नको पनि समाधान भएको हुनु पर्दछ । नेपालमा पुँजीवादी जनवादी क्रान्ति संपन्न हुनु तर राष्ट्रिय स्वाधीनताको आधारभूत प्रश्नको समाधान न हुनु – यो कति विचित्रको कुरा हो ।
माओ भन्नु हुन्छ –“दुई आधारभूत कार्यहरु राष्ट्रिय क्रान्ति र जनवादी क्रान्ति एकैसाथ फरक र एकीकृत दुवै छन् । वस्तुत: दुई क्रान्तिकारी कार्यहरु परस्पर जोडिएका छन् । क्रान्तिका समग्र दुई भिन्न चरणका रुपमा राष्ट्रिय क्रान्ति र जनवादी क्रान्तिलाई बुझ्नु गलत हो ।” (कभभिअतभम धयचपक या mबय तकभ–तगलन, खयगिmभ द्द, उ।घज्ञड ….फरेन लङ्ग्वेजेज प्रेस पेकिङ् १९६५) । माओवादी केन्द्रको नेतृत्वले ठीक यही गलत काम गरेको छ । माओवादी मान्यता अनुसार राष्ट्रिय क्रान्ति र जनवादी क्रान्तिलाई दुई भिन्न चरण होइन एउटै चरणमा संपन्न हुने क्रान्तिका रुपमा बुझ्नु पर्दछ । ठीक त्यही कुरा माकेले बुझ्न सकेन । त्यही नै उसको गंभीर गल्ती हो । तर विचित्र कुरा के छ भने माओवादी केन्द्रको नेतृत्वले त्यस प्रकारको गल्ती स्वीकार गर्दैन । वरु उल्टै परस्पर बेमेल तर्क गरेर द्वैतवाद र सारसंग्रहवादको भासमा फस्न पुगेको छ ।
९) वैदेशिक प्रतिक्रियावादको दलाली
माओवादी केन्द्रको नेतृत्वले भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको निर्लज्ज दलाली गर्दै आएको छ । लेनिनले साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा साम्राज्यवाद र संशोधनवादका बीच अभेद्य संबन्ध रहि आएको कुरा बताउनु भएको थियो । यो कुरा नेपालका सबै दक्षिणपंथी संशोधनवादीहरुका साथै माओवादी केन्द्रका सन्दर्भमा पनि राम्रोसित चरितार्थ हुँदै आएको छ ।
अमेरिकी साम्राज्यवादद्वारा थोपरिएको एमसीसी सम्झौता राष्ट्रघाती तथा हिन्द प्रशान्त रणनीतिको अभिन्न अङ्ग रहेको स्पष्ट नै थियो । त्यस प्रकारका संझौताका विरुद्ध विभिन्न वामपन्थी तथा देशभक्त शक्तिहरुद्वारा लामो समयदेखि आन्दोलन सञ्चालित हुँदै आएको थियो । यी सबै कुराको पूर्णत: बेवास्ता तथा अवज्ञा गरी माकेका अध्यक्ष प्रचण्डले आफ्नै पहलमा अमेरिकी साम्राज्यवादलाई रिझाउनका लागि कथित व्याख्यात्मक घोषणाको भ्रमजाल बुनेर संसदमा अनुमोदन गराउने अत्यन्तै निकृष्ट भूमिका खेले ।
कथित व्याख्यात्मक घोषणाको पहिलो बुँदामा भनिएको छ – “कम्प्याक्टको पक्ष भएका कारण नेपाल अमेरिकाको इण्डो प्यासिफिक स्ट्राटेजी लगायत कुनै पनि सामरिक सैन्य वा सुरक्षा गठबन्धनमा आबद्ध भएको मानिने छैन भनी घोषणा गर्दछ ।” (नयाँ पत्रिका राष्ट्रिय दैनिक १६ फागुन २०७८) । कुनै पनि सन्धि, संझौता वा सहमति दुृई पक्षीय हृुने कुरा सर्व विदितै छ । यस स्थ्तििमा नेपालका तर्फबाट गरिएको यो एकतर्फी घोषणाको कुनै कानूनी अर्थ र मूल्य रहन सक्तैन । आखिर यो घोषणा एकातिर कागजी खोस्टो र अर्कोतिर भ्रमजाल सिवाय अरु केही होइन भन्ने कुरा स्पष्ट छ ।
सो एमसीसी सम्झौता अनुमोदन गरिए लगत्तै प्रचण्डले पत्रकारहरुसित भनेका थिए – “व्याख्यात्मक घोषणा सहित एमसीसी अनुमोदन भएपछि म निकै खुशी छु, देश दुर्घटनाबाट बचेको छ ।” (कान्तिपुर दैनिक १७ फागुन २०७८) । देशको सार्वभौमिकता र राष्ट्रिय स्वाधीनता माथि यति ठुलो गंभीर खतरा पैदा गर्ने दुर्घटना घटाएर उल्टै देश दुर्घटनाबाट बचेको सम्म भनेर निकृष्ट कुतर्क गर्न सक्ने कति निर्लज्जता ! यो अमेरिकी साम्राज्यवादप्रति गरिएको दलालीको एक अत्यन्तै भद्दा र कुरुप नमुना हो ।
माकेका नेता प्रचण्डले भारतीय विस्तारवादको दलाली गर्दै आएका अनेकौं प्रसङ्गहरु छन् र ती विषयमा हामीले विभिन्न ठाउँमा उल्लेख गर्दै आएका छौं । हालै उनले संसदबाट राष्ट्रघाती नागरिकता विधेयक(२०७९) पारित गराउनका लागि पनि अत्यन्तै निकृष्ट भूमिका खेलेका छन् । भर्खरै भारतमा गएको बेला स्वयं उनले त्यो विधेयक आफ्नै पहलमा पारित गराएको भन्ने कुरा पनि निर्लज्ज रुपमा ओकलेका छन् । यो पनि भारतीय विस्तारवाद प्रति गरिएको दलालीको एक निकृष्ट नमुना हो ।
१०) नौटङ्की र भ्रमजाल:
माओवादी केन्द्र र त्यसको मूल नेतृत्वद्वारा कैयौं सैद्धान्तिक तथा राजनीतिक विषयमा विभिन्न ढङ्गका नौटङ्की तथा भ्रमजालहरुको सृष्टि गर्दै आउने काम गरिएका छन् । यस सन्दर्भमा थोरै चर्चा गर्नु आवश्यक छ:
पहिलो, सिर्जनशीलताको प्रश्न । क्रान्तिकारी कम्युनिस्टहरुले माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकासको प्रश्नलाई गंभीरतापूर्वक लिन्छन् । परन्तु, संशोधनवादीहरुले माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकासका नाममा माक्र्सवादकै तोडमोड र भ्रष्टीकरण गर्दछन् । माकेको मूल नेतृत्वले ठिक यही काम गर्दै आएको छ । नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका लागि दश वर्षीय जनयुद्धमा संलग्न नेकपा (माओवादी)लाई संसदवादको आहालमा डुबाउने कसरत गर्नु नै प्रचण्डका लागि माक्र्सवादको सिर्जनात्मक प्रयोग हुन गएको छ ।
दोस्रो, मौलिकताको प्रश्न । माक्र्सवादीहरुले क्रान्तिलाई मौलिक ढङ्गले अगाडि बढाउने प्रयत्न गर्दछन् । परन्तु, अवसरवादीहरुका लागि त्यो मौलिकता प्रतिक्रियावादको भद्दा अनुकरण गर्ने काम हुन्छ । माकेले नेका सित मिली राजतंत्रको अन्त्य र संसदीय गणतन्त्रको स्थापना गरिनुलाई बुर्जुवा वर्गलाई नेतृत्वको हिस्सा दिएर गरिएको नेपाली पुँजीवादी जनवादी क्रान्तिको मौलिक विशेषता बताएको छ । अर्धसामन्ती तथा अर्धऔपनिवेशिक अवस्थामा रहेको नेपाली समाजमा दलाल तथा नोकरशाही पुँजीपति एवम् सामन्त वर्गको अन्त्य र नयाँ जनवादी राज्य सत्ताको स्थापना नगरी राजतंत्रको अन्त्य र संसदीय गणतन्त्रको स्थापना गरिनुलाई नेपाली पुुँजीवादी जनवादी क्रान्तिको मौलिक विशेषता बताउनु निकै हास्यास्पद र पश्चगामी चिन्तनको अभिव्यक्ति बाहेक अरु केही होइन । यहाँ मौलिकता संबन्धी मान्यताको निर्लज्ज विद्रूपीकरण गरिएको छ ।
तेस्रो, छलछाम र चालबाजी । सैद्धान्तिक र राजनीतिक लगायतका अहं महत्वका प्रश्नहरुमा कम्युनिस्ट पार्टी भित्र छलछाम र चालबाजी गर्नु हुँदैन । माओले भन्नु भएको थियो – स्पष्ट र खुला होऊ, छलछाम र षडयन्त्र नगर । परन्तु, संशोधनवादीहरुले त्यसो गर्दैनन् ।
माकेको दस्तावेजमा भनिएको छ –“केन्द्रीय समितिको चुनवाङ बैठकबाट सामान्य सैद्धान्तिक र राजनैतिक दिशाबोध गरिएको भए पनि शान्ति संझौतामा हस्ताक्षर गर्ने तथा जनमुक्ति सेना र हतियारलाई क्यान्टोनमेन्टमा राख्ने जस्तो अत्यन्त गंभीर र संवेदनशील निर्णय न्यूनतम रुपमा केन्द्रीय समितिको बैठकमा खुलस्त बहस छलफल गरेर तथा शान्ति संझौता पछि पार्टीको नीति, योजना र कार्यक्रम बारे समेत साझा धारणा बनाएर मात्र गर्नु पर्दथ्यो । वस्तुुगत रुपले सही नै भए पनि नेतृत्वको उपर्युक्त निर्णय लिने प्रक्रियाले पार्टीभित्र कहीं न कहीं अविश्वास र आशंकाको जन्म भयो । यसमा अध्यक्ष कमरेड प्रचण्डको मनोगत तथा पार्टीको जनवादी केन्द्रीयतालाई अतिक्रमण गर्ने ९इखभच अयलाष्मभलअभ० अति आत्मविश्वास झल्कने कमजोरी देखिएको छ ।” (राजनीतिक प्रतिवेदन, उक्त, पृ.२९) । यहाँ शान्ति सम्झौतामा हस्ताक्षर गर्ने तथा जनमुक्ति सेना र हतियारलाई क्यान्टोन्मेन्ट राख्ने जस्ता गंभीर विषयबारे केन्द्रीय समितिमा नराखिएको र व्यक्तिवादी तरिकाले निर्णय गरिएको कुरा खुृलस्त गरिएको छ । तर पनि प्रचण्डको मनोगत तथा पार्टीको जनवादी केन्द्रीयतालाई अतिक्रमण गर्ने गल्तीलाई चोख्याउने हिसावले “अति आत्मविश्वास झल्कने कमजोरीको” रुपमा न्यूनीकरण गरिएको छ । यो गंभीर प्रकृतिको छलछाम र चालबाजीको एउटा भद्दा उदाहरण हो ।
त्यस्तै दस्तावेजमा अगाडि भनिएको छ –“अझ कतिपय सन्दर्भमा मुखले संविधान निर्माणका कुरा गर्ने र मनले विद्रोको कुरा गर्ने भन्ने अत्यन्त अवस्तुवादी र अपारदर्शी कुराले शान्ति संझौता गरेर सेना र हतियारलाई क्यान्टोनमेन्टमा राखिसके पछि विद्रोह त कुरै थिएन बरु संविधान सभाबाट अधिकतम प्रगतिशील संविधान निर्माणको काममा पनि ठुलो क्षति पुग्न गयो ।” (उक्त, पृ.२९) । यहाँ एकातिर संसदवादी संविधान निर्माणको काममा लाग्ने र अर्कोतिर विद्रोहको कुरा गरी क्रान्तिकारी कमरेडहरुसित ढाँट छल गर्ने नेतृत्वको द्वैतवाद पुरै नाङ्गिएको छ ।
कुनै कमी, कमजोरी तथा गल्तीका विषयमा आत्माआलोचना गरिनु सकारात्मक कुरा हो । तर यहाँ त यस ढङ्गका गंभीर प्रकृतिका गल्ती, छलछाम र चालबाजीलाई कथित आत्मालोचनाको नाममा चोख्याउने कसरत गरिएको छ । यो एक गंभीर विडम्बना हो ।
चौथो, भनाइमा समाजवाद र गराइमा प्रतिक्रियावाद । माक्र्सवादीहरुले नीति, कार्यक्रम र कार्यदिशा लगायतका विषयमा भनाइ र गराइका बीच एकरुपता कायम गर्दछन् । परन्तु, यसको ठीक उल्टो संशोधनवादीहरुले भनाइमा एउटा र गराइमा अर्को काम गर्दछन् । लेनिनले काउट्स्की लगायत दोस्रो अन्तर्राष्ट्रियका दक्षिणपंथी संशोधनवादी नेताहरुको उल्लेख गर्दै उनीहरुमा विद्यमान भनाइमा समाजवाद र गराइमा साम्राज्यवादको पक्षपोषण गर्ने चिन्तन प्रवृत्तिलाई “सामाजिक साम्राज्यवाद” को संज्ञा दिनु भएको थियो । प्रचण्डले भन्ने गरेको समाजवादमा एकातिर सर्वहारा वर्गको अधिनायकत्व छैन भने अर्कोतिर त्यो शान्तिपूर्ण संसदीय चुनावी प्रतिस्पर्धाबाट प्राप्त हुने मान्यतामा आधारित छ । माक्र्स–एङ्गेल्सले कम्युनिस्ट घोषणा पत्रमा बताउनु भए अनुसार समाजवादका विभिन्न रुपहरु छन् र ती मध्ये प्रतिक्रियावादी समाजवाद पनि एउटा हो । यसरी स्पष्ट छ, प्रचण्डले चाहेको समाजवाद प्रतिक्रियावादी समाजवाद बाहेक अरु केही होइन ।
पाँचौ, कुतर्कनावादको अभ्यास । कुतर्कनावादबारे हामीले लेनिनको भनाइ माथि उद्धृत गरि रहेका छौं । त्यसको सार हो – माक्र्सवाद मानेको स्वाँग गर्नु र त्यसको अन्तर्वस्तुलाई शक्तिहीन बनाउँदै त्यसलाई बुर्जुवा वर्गका लागि हानि रहित देवताको मूर्तिमा परिणत गर्नु । प्रचण्डले र उनको नेतृत्वमा माकेले ठीक त्यही काम गरिरहेको छ । प्रस्तुत प्रतिवेदनमा पनि सुरुदेखि अन्तसंम यसै कुतर्कनावादको अभ्यास गरिएको छ । जस्तो कि यस राजनीतिक प्रतिवेदनमा पार्टीको मार्ग दर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवाद मानेको स्वांग रचिएको छ । अर्को ठाउँमा त्यस अन्तर्वस्तुलाई शक्तिहीन बनाउँदै प्रचण्डपथ र एक्काइसौं शताब्दीको जनवादलाई सन्दर्भ सामग्री बनाउँदै “नयाँ विचार संश्लेषण”को मान्यता अगाडि सारिएको छ । त्यसै गरी प्रचण्डद्वारा प्रस्तुत त्यस प्रतिवेदनमा – एकातिर अधिनायकत्व र हिंसाबारे “माक्र्सवादका आधारभूत सिद्धान्तलाई आत्मसात्” गर्ने स्वाँग गरिएको छ भने अर्कोतिर त्यसको अन्तरवस्तुलाई शक्तिहीन तुल्याँउदै “आजको ठिक परिस्थितिमा समाजवाद उन्मुख सङ्क्रमणकालीन राज्यमा शान्तिपूर्ण संघर्ष र प्रतिस्पर्धाका माध्यमबाट समाजवादको आधार तयार पार्ने संभावना रहेको” कुरा बताउँदै त्यसका लागि अधिकतम जोड दिने कुरा गरिएको छ । वस्तुत: माकेका नेता प्रचण्ड कुतर्कनावादको अभ्यासमा अत्यन्तै माहिर रहेका छन् । र हामीले त्यस प्रकारको कुतर्कनावादलाई नाङ्गेझार पार्न जरुरी छ ।
छैटौं, पूर्व माओवादी एकताको भ्रमजाल । डबल नेकपाको विघटन र माओवादी केन्द्रको पुन:स्थापना पश्चात् प्रचण्डले विभिन्न अवसरमा भन्ने गरेका छन्– अब सबै पूर्व माओवादीहरू एकताबद्घ हुनु पर्दछ । यसै प्रसङ्गमा प्रचण्डका कट्टर अनुयायी भन्ने गर्दछन्– प्रचण्डजी सच्चिइ सक्नु भो । पार्टीको नाम पनि माओवादी राखिएको छ । त्यस्तै माक्र्सवाद–लेनिनवाद–माओवादलाई पनि मार्ग दर्शक सिद्धान्त भनिएको छ । जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्दै समाजवादी क्रान्ति गर्ने पनि भनिएको छ । त्यसैले अब पूर्व माओवादी एकतावद्ध भई एउटै माओवादी पार्टी बनाउनु पर्दछ ।
ठीक यसै प्रसङ्गमा पञ्चतन्त्रमा उल्लेख गरिएको एउटा बुढो बाघको कथा विशेष स्मरणीय छ । कुनै एउटा जङ्गलको माझमा अवस्थित जलाशयको तिरमा आसन जमाई हातमा बााधिएको कुशको बालो देखाउँदै बाघले भन्यो–प्यारा जङ्गलवासी हो, म बुढो भएँ, मैले अहिंसाव्रत लिइसकेको छु ,अब यस जलाशयमा आएर निर्भीक भई पानी खाए हुन्छ । जंगलका सारा प्राणी दङ्ग परे, होला नि त भनेर ती जलाशयमा आई पानी खान थाले । तर, के हुन्थ्यो र ? बाघले आफ्नो जातीय स्वभाव देखाइ हाल्यो । कैयांै जंगलवासी प्राणीहरुको जीवन स्वाहा हुन पुग्योे ।
पूर्व माओवादी एकता भ्रमजालको असली सार पनि यही नै हो । माओवाद परित्याग गरिसकेका प्रचण्ड र उनको पार्टीलाई माओवादको प्रयोग गर्न बाध्य बनाइ दिएको त सर्वोच्च अदालतको फैसलाले हो । वास्तविक अर्थमा उनीहरुको माओवादसित कुनै साइनो नै छैन । क्रान्तिकारी कम्युनिस्टहरुलाई संंशोधनवादको महाजालमा फसाउनका लागि रचिएका र रचिने यस प्रकारका एकताका भ्रमजालप्रति सतर्क रहन र त्यस प्रकारका भ्रमजाललाई च्यातचुत पार्न जरुरी छ ।
माओवादी केन्द्रबारे हाम्रो पार्टीको केन्द्रीय समितिद्वारा पारित राजनीतिक प्रतिवेदनमा भनिएको छ– “एमालेमा विलीन भई डबल नेकपा बनिरहने मनसुवा भए पनि अदालतद्वारा पुुनर्बहाली भई पुुरानै भेषमा प्रकट हुन बाध्य भएको माओवादी केन्द्र सम्मेलन गर्ने भन्दै आएकोमा अचानक महाधिवेशनमा छलाङ् हान्न पुुग्यो । त्यसले रुपमा आत्मालोचनाको स्वांग रची नयाँ विचार र नयाँ पार्टीको कुरा गरे पनि सारमा संसदवाद, बहुलवाद, पुुरानो राज्यसत्ता तथा संविधानको पक्षमा उभिई तिनको संरक्षण गर्ने थप प्रतिबद्धता जाहेर गर्न र शान्तिपूर्ण तरिकाले समाजवादमा जाने घोषित दक्षिणपन्थी संशोधनवादी विचारलाई निर्लज्ज ढङ्गले स्वीकार्न पुुगेको छ । हिजोको एक्काइसौं शताव्दीको जनवादले नेपाली क्रान्तिलाई संसदवादको भासमा डुवायो भने अहिलेको एक्काइसौं शताव्दीको समाजवादले त्यसभन्दा पनि अझ पर सामाजिक फासीवादमा पुुर्याउने निश्चितै देखिन्छ । यस समूहको नेतृत्वले पनि साम्राज्यवाद तथा विस्तारवादको चरम दलाली गर्दै आएको छ ।” (वर्तमान राजनीतिक परिस्थिति र हाम्रो कार्यभार, २०७८ फागुन) । हाम्रो पार्टीको केन्द्रीय समितिका उक्त भनाइ विशेष मननीय रहेका छन् ।
उपसंहार
नेकपा(माके) र त्यसको नेतृत्वका सम्बन्धमा मोटामोटी रूपमा चर्चा गरियो । अब त्यसै सन्दर्भमा आधारित रहेर वर्तमान युगका विशिष्टतामाथि आवश्यक दृष्टि दिदै कम्युनिस्ट आन्दोलनमा संशोधनवादको उत्पत्ति तथा विकास र त्यसका विरुद्घ क्रन्तिकारी कम्युनिस्टहरूको दायित्वबारे केही उल्लेख गरौं ।
पहिलो, नेपालमा निम्न पुँजीपति वर्गको बाहुल्य छ । कम्यनिस्ट पार्टी सर्वहारा वर्गको राजनीतिक पार्टी भएपनि त्यसमा निम्नपुँजीपति वर्गको धेरै प्रभाव परेको छ । कम्युनिस्ट पार्टीमा अपेक्षा गरे अनुरुप सुदृढीकरण, शुद्घीकरण र सर्वहाराकरण भएको स्थिति रहेन । निम्न पुँजीपथि वर्ग वर्गीय, विचारधारात्मक र राजनीतिक रूपमा ढुलमुल रहने गर्दछ । संशोधनवादको एउटा मूल आधार र स्रोत यही वर्ग हो ।
दोस्रो, साम्राज्यवाद र सर्वहारा क्रान्तिको वर्तमान युगमा साम्राज्यवाद र संशोधनवादका बीच घनिष्ठ सम्बन्ध हुन्छ । साम्राज्वशयवादको जुठो पुरो खान पल्केका कम्युनिस्ट पार्टीभित्रका अवसरवादीहरू साम्राज्यवाद र प्रतिक्रियावादको सेवामा समर्पित हुने गर्दछन् । त्यस स्थितिमा संशोधनवादको जन्म तथा विकास हुन्छ र क्रानितकारी कम्युनिस्ट पार्टीमा विभाजन अनिवार्य बन्न जान्छ ।
तेस्रो, क्रान्तिले विशिष्ट मोड लिएको वा इतिहासको विकासले विशिष्ट मोडमा प्रवेश गरेको अवस्थामा दुश्मन वर्गले आफ्नो कार्यनीतिमा परिवर्तन गर्दछ । त्यसले एकातिर सुधारको महाजाल हान्ने र अर्कोतिर प्रगतिशील वा कम्युनिस्ट पार्टी भित्रका अवसरवादीहरूलाई आफूतिर तान्ने कार्यनीति अवलम्बन गरेर आफ्नो आयु लम्ब्याउने प्रयत्न गर्दछ । चौथो, नेपाल पनि उक्त अवस्थाबाट पृथक रहन सक्दैन र सकेको पनि छैन । नेपालको विशिष्ट सन्दर्भमा भन्नुपर्दा राजतन्त्रले पुरानै तरिकाद्वारा आफूलाई ब्युँताई पुरानो राज्यसत्ताको बिंडो थाम्न सक्दैन । त्यसैगरी बुढो हुँदै गएको नेपाली काङ्ग्रेससित पनि बीपीको नाउँ भजाई फुर्ति लगाउने सिवाय नयाँ ढङ्गले सोंच्ने शैली तथा सामथ्र्य छैन । त्यस स्थितिमा नेपाली प्रतिक्रियावादले साम्राज्यवाद/विस्तारवादको आशिर्वाद प्राप्त गर्दै तथा कार्यनीतिको महाजाल हान्दै कम्युनिस्ट पार्टी भित्रका अवसरवादीहरूलाई आफूतिर तानेर आयु लम्ब्याउने प्रयत्न गर्दै आएको छ र अहिले पनि गरिरहेकै छ । नेपाली कम्युनिस्ट आन्दोलन भित्रका अवसरवादी तथा संशोधनवादीहरू पनि यसै नाटकका पात्र र गोटी बन्दै आएका छन् । यस प्रकारको नकारात्मक भूमिका खेल्ने कार्यमा माकेको मूल नेतृत्वमा रहिआएका प्रचण्ड अग्रपङ्क्तिमा रहिआएका छन् ।
तसर्थ, यो बेला हामीले नेपाली क्रान्ति र कम्युनिस्ट आन्दोलनको इतिहासबाट आवश्यक शिक्षा लिदै माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शनमा एकातिर प्रतिक्रियावादका विरुद्घ नयाँ जनवादी सम्पन्न गर्नका लागि आवश्यक तयारी गर्ने र अर्कोतिर सामान्यत: सबै खाले संशोधनवाद र विशेषत: प्रतिगामी यात्रामा हिडिरहेको दक्षिणपन्थी नवसंशोधनवादका विरुद्घको विचारधारात्मक सङ्घर्षलाई सशक्त ढङ्गले अगाडि बढाउन जरुरी छ ।
माओवादी पूर्णाड्ढ १८ २०७९ असोज