प्राध्यापक डा. ओम गुरुङसँग मेरो पछिल्लो भेट ९ अगस्ट २०२२ का दिन विश्व आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रममा भएको थियो । उक्त कार्यक्रममा उनले सूचीकृत नभइसकेका आदिवासी जनजातिको पहिचानको अधिकार सुनिश्चित गर्न सूचीकृत गरिनुपर्ने आफ्नो अडानलाई कार्यपत्रमा जोडदार प्रस्तुत गरेका थिए । टिप्पणीकारको हैसियतमा विषयवस्तुबाहेक हामीले केही अनौपचारिक बातचित गरेका थियौँ । दुर्भाग्य भन्नुपर्छ त्यही भेट नै अन्तिम बन्न पुग्यो ।
प्राध्यापक ओम गुरुङको अक्टोबर १७ का दिन ६८ वर्षको उमेरमा निधन भयो । मिर्गौलाको प्रत्यारोपण पछि फेरि क्यान्सरसँग लड्नुपर्यो । उनी एक प्राज्ञिक व्यक्तित्व, अधिकारकर्मी, कुशल व्यवस्थापक र कर्मठ अगुवा थिए । उनको अवसान नेपाली समाजका लागि एउटा अपुरणीय क्षति हो ।
डा. गुरुङको जन्म बाग्लुङको ताराखोला भुसकाट गाउँमा ११ फेब्रुअरी १९५३ मा किसान परिवारमा भएको थियो । प्राथमिक शिक्षा गाउँमै पूरा गरी सदरमुकाम बाग्लुङको विद्यामन्दिर हाई स्कुलबाट उनले एसएलसी गरेका थिए । उनले सन् १९८० मा मानवशास्त्र विषयमा भारतको पुने विश्वविद्यालयबाट स्नातकोत्तर र १९९६ मा संयुक्त राज्य अमेरिकाको कोर्नेल विश्वविद्यालयबाट विद्यावारिधि गरेका थिए ।
पुनेबाट फर्केपछि उनले धवलागिरि क्याम्पस बाग्लुङमा सहायक लेक्चरर पदमा काम सुरु गरे । पछि त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा समाजशास्त्ररमानवशास्त्र विभाग स्थापना भएपछि सन् १९८१ मा काठमाडौं आएका थिए । ३६ वर्षको प्राज्ञिक सेवापछि प्राध्यापक गुरुङ २०१५ मा सेवा निवृत्त भए । तर, उनी प्राध्यापन र अनुसन्धानका काममा मात्र सीमित भएनन् । नेपालका आदिवासी जनजातिलगायतका उत्पीडित समुदायको अधिकारका पक्षमा वकालत र आन्दोलनमा निरन्तर सक्रिय रहनेदेखि प्रतिपक्षीय राजनीतिक आवाज उठाइरहने काम पनि उनले आफ्नो जीवनको एउटा अभिन्न अंग बनाए ।
मेरो पहिलो भेट उनीसँग सन् १९९० मा भएको थियो जतिखेर म समाजशास्त्ररमानवशास्त्र विभागमा स्नातकोत्तर तहमा अध्ययनरत थिए । उनी त्यसबखत कोर्नेल विश्वविद्यालयबाट विद्यावारिधिको अध्ययन गर्दै थिए । संयोग यस्तो बन्यो कि म पनि विद्यावारिधिका लागि कोर्नेल विश्वविद्यालयमा जाने उनीपछि अर्को नेपाली विद्यार्थी बने । सन् २००७ मा मैले मेरो पीएचडीको डिसरटेसन डिफेन्स गर्दा उनी पनि कोर्नेल आइपुगेका थिए । मेरो शोधमाथि उनले दिएको टिप्पणी र प्रोत्साहन मेरो लागि अविस्मरणीय छ । लगत्तै नेपाल फर्केपछि समाजशास्त्ररमानवशास्त्र विभागमा मैले उनीसँग काम गर्ने मौका पाएँ । सबै कमीकमजोरी र कठिनाइका बाबजुद विभागीय प्रमुखको हैसियतले प्राध्यापन, अनुसन्धान र संस्थागत विकासका निम्ति उनले निभाएको भूमिका अत्यन्तै सह्रानीय छ । उनको योगदान र जीवन बहुआयामिक थियो । त्यसमध्ये म यहाँ चर्चा गर्न चाहन्छु ।
उनी प्राध्यापन र अनुसन्धानका काममा मात्र सीमित भएनन् । नेपालका आदिवासी जनजातिलगायतका उत्पीडित समुदायको अधिकारका पक्षमा वकालत र आन्दोलनमा निरन्तर सक्रिय रहनेदेखि प्रतिपक्षीय राजनीतिक आवाज उठाइरहने काम पनि उनले आफ्नो जीवनको एउटा अभिन्न अंग बनाए ।
पहिलो, प्राज्ञिक उन्नयनमा उनको योगदान । देशका विभिन्न जिल्लाबाट समाजशास्त्ररमानवशास्त्र विषयमा उच्च शिक्षा हासिल गर्न आएका सयौँ विद्यार्थीलाई पठनपाठन र मेन्टरिङदेखि नयाँ पिँढीका बौद्धिक युवालाई पथ प्रदर्शन गर्ने उनको काम सबैले सम्झिन्छन् । यो विभागमा आबद्ध भएर काम गर्न मलाई उनले पनि उत्तिकै उत्प्रेरित गरेका थिए । एमए तहका मक्किइसकेका पुराना पाठ्यक्रमलाई परिमार्जन गर्ने र समाजशास्त्र र मानवशास्त्र विषयमा एमफिलको नयाँ कोर्सको सुरुवात उनकै अगुवाइमा भएको थियो । सन् १९६० र ७० को दशकका पाठ्य सामग्रीहरू समावेश भएका पुराना पाठ्यक्रमलाई नयाँ स्वरुपमा ल्याउन यस विधामा भएका नयाँ अनुसन्धान, विश्वको समसामयिक परिवेशमा अन्वेषण भएका नवीन ज्ञान, विश्लेषणात्मक दृष्टिकोण र सैद्धान्तिक ज्ञान हामीकहाँ भित्र्याउन जरुरी थियो ।
त्यति मात्र होइन, पुराना पाठ्यक्रममा नेपाल, दक्षिण एसिया र हिमालय क्षेत्र र यहाँको जातीय सांस्कृतिक भाषिक विविधता, जटिल राजनीतिक परिवेश, शक्ति सम्बन्ध, विभेद र वञ्चितिकरण, पछौटे विकास आदिको अध्ययनमा पनि कमी थियो । न त पठनपाठनको हाम्रो पुरानो रटान विधि नै समयसापेक्ष थियो । पठनपाठनको कामलाई नयाँ रूप दिन समाजशास्त्र र मानवशास्त्र विधाका हामी सबै सिनियर(जुनियर फ्याकल्टीहरू उत्साहित भएर लाग्यौँ । तत्कालीन विभागीय प्रमुख डा। ओम गुरुङको प्रभावकारी संयोजकत्व यो कामको मुटु थियो । प्राज्ञिक उन्नयनका लागि उनले यति मात्र होइन, त्रिभुवन विश्वविद्यालयलाई नर्वेको बर्गेन विश्वविद्यालय र कोर्नेल विश्वविद्यालयसँग जोडेर विद्यार्थीका लागि एकअर्काको देशमा गएर अध्ययन गर्ने चाँजो मिलाउने काममा पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए । नेपालमा समाजशास्त्र र मानवशास्त्र नयाँ पुस्ताका धेरै विद्यार्थीहरू आकर्षण गर्ने लोकप्रिय विधा बनिरहनुमा उनका यी काम पृष्ठभूमिमा छन् ।
प्राज्ञिक अनुसन्धान र लेखनका हिसाबले डा. ओम गुरुङको रुचि र योगदान पनि विविध देखिन्छ । उनले आफ्नो पीएचडीको शोध ुप्राकृतिक स्रोतसाधनको व्यवस्थापनमा स्थानीय प्रणालीु विषयमा गरेका थिए । तर, विस्तारै उनले आदिवासी जनजाति समुदायको समस्या र मुक्तिका सवाल, गुरुङ समाज, संस्कृति आदि विषयहरूमा कलम चलाए । पछिल्लो चरणमा समावेशीकरणको मुद्दामा उनले विशेष काम गरेका थिए । नेपालमा सामाजिक समावेशीकरणका विषयमा विभागले ४० जना विज्ञ विशेषज्ञहरू सम्मिलित भएर गरेको विस्तृत अध्ययनमा मैले अनुसन्धान निर्देशकको रूपमा डा। ओम गुरुङसँग काम गर्ने मौका पाएको थिएँ । विभागीय प्रमुख र संयोजकको हैसियतमा यो काम सफल पार्न उनको नेतृत्व र भूमिका अमूल्य थियो । यो अध्ययनले नेपालका ९८ जातजातिको शिक्षा, स्वास्थ्य, आर्थिक अवस्था, प्रतिनिधित्वलगायतका विविध पक्ष समेटेर सामाजिक समावेशिताको स्थिति प्रस्ट पार्दछ ।
प्राज्ञिक बौद्धिक कामलाई सामाजिक–राजनीतिक आन्दोलनसँग जोड्ने व्यक्तित्वको उदाहरण पनि हुन् डा। ओम गुरुङ । नेपालको आदिवासी जनजाति आन्दोलनमा उनको प्रत्यक्ष सहभागिता रह्यो । यो उनको कामको दोस्रो पक्ष हो । सन् २००३ मा उनी नेपाल आदिवासी जनजाति महासंघको महासचिव भए । नेपालका आदिवासी जनजाति समुदायको आत्मनिर्णयको अधिकार, स्वायत्तता, समावेशिता, भाषिक अधिकार, धार्मिक स्वतन्त्रता, सांस्कतिक अधिकार र उनीहरूमाथि भइरहेको विभेदको अन्त्य यो आन्दोलनको मुख्य लक्ष्य थियो । विशेषगरी २०६२(६३ को जनआन्दोलनमा आदिवासी जनजातिको सडक र वैचारिक आन्दोलनको प्रभावकारी परिचालन गर्ने काममा उनको ठूलो योगदान छ ।
प्राज्ञिक बौद्धिक कामलाई सामाजिक–राजनीतिक आन्दोलनसँग जोड्ने व्यक्तित्वको उदाहरण पनि हुन् डा. ओम गुरुङ । नेपालको आदिवासी जनजाति आन्दोलनमा उनको प्रत्यक्ष सहभागिता रह्यो । यो उनको कामको दोस्रो पक्ष हो ।
सन् २००७ मा सरकारबाट आदिवासी जनजाति अधिकारसम्बन्धी आइएलओ महासन्धि १६९ मा हस्ताक्षर गर्न र संयुक्त राष्ट्र संघीय घोषणापत्रको अनुमोदन गर्ने काममा उनको सहयोग महत्त्वपूर्ण रह्यो । त्यही वर्ष सरकार र आदिवासी जनजाति आन्दोलनबीच भएको सम्झौतामा उनी आदिवासी जनजातिका तर्फबाट प्रतिनिधिको टोलीमा रहेका थिए । महासंघको आफ्नो पदावधि सकेपछि पनि उनी निरन्तर यो आन्दोलनमा सक्रिय रहे । आदिवासी जनजाति राष्ट्रिय आन्दोलन पनि त्यसको एउटा उदाहरण हो । २०७२ सालमा जारी भएको नयाँ संविधान विभेदकारी र नश्लवादी भएकाले यसको पुनर्लेखन गर्नुपर्ने मागमा उनी निरन्तर संघर्षरत रहे । आफ्नो प्रतिकूल स्वास्थ्यका बाबजुद पनि आन्दोलनमा अनवरत उपस्थिति र उनको भूमिकाका कारण उनलाई आदिवासी जनजाति मुक्तिका एक योद्धाका रूपमा चिनिन्छ ।
डा. ओम गुरुङको कामको तेस्रो पक्ष( वामपन्थी राजनीति थियो । स्कुले जीवनमा नै उनमा वामपन्थी राजनीतिको प्रभाव परेको थियो । यो उनको एक प्रकारले स्थायी प्रतिपक्षीको राजनीति थियो । आफू सम्बद्ध दल नेकपा ९क्रान्तिकारी माओवादी० को उनी केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष थिए । आफू सम्बद्ध दलको भ्रातृ संगठन अखिल नेपाल जनजाति महासंघको उनी एक नेता पनि थिए । नेपालमा वर्गीय मुक्तिसँगै जातीय मुक्ति अपरिहार्य छ भन्ने उनको ठम्याइ थियो । आफ्नो काम र आदर्शमा निरन्तर लागि पर्ने धैर्यता र सक्रियता उनको जीवनले दिने पाठ हो ।
डा.ओम गुरुङको कामको तेस्रो पक्ष- वामपन्थी राजनीति थियो । स्कुले जीवनमा नै उनमा वामपन्थी राजनीतिको प्रभाव परेको थियो । यो उनको एक प्रकारले स्थायी प्रतिपक्षीको राजनीति थियो ।
आफ्नो अडानमा सम्झौता नगर्ने स्वभावका डा. गुरुङ रसिलो र मिलनसार व्यक्तित्वका मालिक पनि थिए । मेरो पुस्ताका संगीहरूका लागि डा. ओम एक अग्रज, प्राज्ञिक अन्वेषण र उत्पीडनविरुद्धको अभियानमा सहकर्मी, व्यक्तिगत तवरमा अभिभावक र एक स्नेही मित्र थिए । उनको जीवन र कामले देखाएको उदाहरण स्मरणीय छ । श्रद्धाञ्जलि ओम सर । (शिलापत्रबाट)