१६ भदौ/काठमाडौं
नेपालकै जेठो र अन्तर्राष्ट्रिय जगतमा समेत विश्वसनीय रहेको त्रिभुवन विश्वविद्यालय यतिखेर द्वन्द्वको भुमरीमा फसेको छ । विश्वविद्यालय पदाधिकारीहरुले गरेको निर्णय र सत्तारुढ काङ्ग्रेसको भातृ सङ्गठन नेविसङ्घ बिचको भागबण्डाको झगडाको शिकार आफ्नो भविश्य निर्माण गर्न उच्च शिक्षा लिन आएका निर्दोष विद्यार्थीहरु परिरहेका छन् ।
विबादकै कारण त्रिवि रजिष्टारको कार्यालयमा विगत एक महिनादेखि नेविसङ्घका विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । तालाबन्दीकै कारण त्रिवि परिषद्को बैठक एलो प्यागोडा हेटेलमा बसेको थियो । बैठक स्थलबाटै नेविसङ्घका विद्यार्थीहरुले माइन्युट र कागजात सबै कब्जामा लिएर कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई कागजात बुझाउन जाँदा उनले बुझ्न नमानी उल्टै हप्काएर पठाएका थिए । त्यसपछि विद्यार्थीहरुले शिक्षमन्त्रीलाई माइन्युट लगायतका कागजात बुझाएका छन् । यसले त्रिविको पठनपाठन तथा सबै शैक्षिक गतिविधि रोकिएको छ ।
त्रिविमा भएको यसप्रकारको द्वन्द्वले आफ्नो सङ्गठनको ध्यानाकर्षण भएको र उक्त विवाद तुरुन्त समाधान गरी त्रिविको शैक्षिक व्यवस्थापन सुचारु गर्न आह्वान गर्दै नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनले आज एक बक्तव्य प्रकाशित गरेको छ । बक्तव्यमा विगत केही महिनादेखि त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी भइआएको र त्यसले त्रिविको पठनपाठन लगायत समग्र शैक्षिक गतिविधिमा अवरोध सिर्जना गरेको कुराप्रति आफ्नोे सङ्गठन चिन्तित रहेको जनाएको छ ।
बक्तव्यमा अगाडि भनेको छ ‘त्रिविमा घटेको पछिल्लो घटनाले त्रिविसम्बद्ध सरोकारवालालाई गम्भीर मात्र बनाएको छैन, त्यस किसिमका गतिविधिले विद्यार्थी बिच अन्योल, आशङ्का र विभ्रम उत्पन्न गरेको छ ।’ त्रिविमा सत्तापक्ष र विपक्षको हालीमुहाली गर्ने, मनमानी निर्णय गर्ने र गलत काम गर्नेलाई पुरस्कृत गर्ने तथा समग्र संस्थालाई पक्ष प्रतिपक्षको बिर्ताका रूपमा चिनिंदै आएको जनाउँदै प्राध्यापक सङ्गठनले अगाडि भनेको छ ‘त्रिविमा भएका अराजक क्रियाकलापबाट यसको शैक्षिक विश्वसनीयता बढ्नुको सट्टामा घट्ने सुनिश्चित छ । यस किसिमका क्रियाकलापकै कारणबाट उच्च शिक्षा चाहने विद्यार्थीहरू विदेशतर्फ पलायन हुने गरेका हुन् ।’
सङ्गठनका केन्द्रीय अध्यक्ष प्रा.डा. जगदीश चन्द्र भण्डारीद्वार हस्ताक्षरित वक्तव्यमा भनिएको छ ‘हाम्रो सङ्गठन तत्काल त्रिविको अवस्था सहज र सुचारू गराउन र अन्योल अवस्था हटाई त्रिविको गरिमा स्थापित गर्न सम्बन्धित सरोकार पक्षलाई आह्वान गर्दछ ।’
नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन
केन्द्रीय समिति
प्रेस विज्ञप्ति
विगत केही महिनादेखि त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी भइआएको र त्यसले त्रिविको पठनपाठन लगायत समग्र शैक्षिक गतिविधिमा अवरोध सिर्जना गरेको कुराप्रति हाम्रो सङ्गठन नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन चिन्तित छ । त्रिविमा घटेको पछिल्लो घटनाले त्रिविसम्बद्ध सरोकारवालालाई गम्भीर मात्र बनाएको छैन, त्यसकिसिमका गतिविधिले विद्यार्थी बिच अन्योल, आशङ्का र विभ्रम उत्पन्न गरेको छ । सत्तापक्ष र विपक्षको हालीमुहाली गर्ने, मनमानी निर्णय गर्ने र गलत काम गर्नेलाई पुरस्कृत गर्ने तथा समग्र संस्थालाई पक्ष प्रतिपक्षको बिर्ताका रूपमा चिनिंदै आएको त्रिविमा भएका अराजक क्रियाकलापबाट यसको शैक्षिक विश्वसनीयता बढ्नुको सट्टामा घट्ने सुनिश्चित छ । यस किसिमका क्रियाकलापकै कारणबाट उच्च शिक्षा चाहने विद्यार्थीहरू विदेशतर्फ पलायन हुने गरेका हुन् । हाम्रो सङ्गठन तत्काल त्रिविको अवस्था सहज र सुचारू गराउन र अन्योल अवस्था हटाई त्रिविको गरिमा स्थापित गर्न सम्बन्धित सरोकार पक्षलाई आह्वान गर्दछ ।
प्रा.डा. जगदीश चन्द्र भण्डारी
अध्यक्ष