काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) काठमाडौंले एक शोक वक्तव्य जारी गर्दै पार्टीका जिल्ला सदस्य कुमारी थापाका जीवनसाथी खेमराज थापामगरको निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । क्रान्तिकारी माओवादीका काठमाडौं सेक्रेटरी प्रकाशले जारी गरेको शोक वक्तव्यमा खेमराज थापामगरको ४८ वर्षको अल्पायुमै भएको असामयिक निधनले पार्टीलाई स्तब्ध र मर्माहत तुल्याएको उल्लेख गर्दै पार्टी जिल्ला सदस्य कुमारी थापालगायत शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ ।
शोक वक्तव्यमा भनिएको छ, “हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) जिल्ला समिति काठमाडौंका सदस्य कमरेड कुमारी थापाका जीवनसाथी खेमराज थापामगरको ४८ वर्षको अल्पायुमै भएको असामयिक निधनले हाम्रो पार्टीलाई स्तब्ध र मर्माहत तुल्याएको छ । महोत्तरी गौशला नपा–१२ स्थायी घर भई हाल गोकर्णेश्वर नपा–८ जोरपाटी बस्दै आउनु भएका मगर केहीसमययता पक्षघातबाट पीडित भई उपचार गराउँदै आउनु भएको थियो । उहाँको स्वास्थ्यमा अचानक थप समस्या भएपछि उपचारका लागि मंगलबार राती जोरपाटी मेडिकल कलेजमा लैजादै गर्दा निधन हुन पुगेको थियो । उहाँको निधनेको यस दुःखद् घडीमा हाम्रो पार्टी मृतक खेमराज थापामगरप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । र, कमरेड कुमारी थापामगर लगायत शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।”