(नेकपा (मसाल) समन्वय समितिले आफ्नो अनलाइन पत्रिका मार्गदर्शनअनलाइनमा प्रकाशित “क्रान्तिकारीहरुलाई मसालबाट विद्रोह गर्न अपील” गर्दै एउटा बक्तव्य जारी गरेको छ । उक्त वक्रव्यले नेकपा(मसाल)भित्रको अन्तरपार्टी संघर्षलाई बुझन अन्य पार्टीभित्रका र स्वतन्त्र क्रान्तिकारीहरुका लागि सहयोगी हुने भएकाले यहाँ जस्ताको तस्तै प्रकाशित गरिएको छ) सम्पादक
क्रान्तिकारीहरुलाई मसालबाट विद्रोह गर्न अपील
१५श्रावण काठमाडौं ।
देशको एक मात्र सच्चा कम्युनिस्ट क्रान्तिकारी पार्टी ठानिएको नेकपा(मसाल) ले आठौं महाधिवेशनबाट औपचारिक रुपमै दक्षिणपन्थी संशोधनवादी बाटो समाएपछि मसालबाट क्रान्तिकारीहरुले विद्रोह गर्ने सिलसिला तीब्रतर गतिमा अगाडि बढिरहेको छ ।
दक्षिणपन्थी नीति लिएको मसाल पार्टी नेतृत्वले पार्टी भित्रको क्रान्तिकारी विचारका पक्षधर नेता कार्यकर्ताहरुलाई विधि, विधान र पद्धति मिचेर झुठा आरोपहरु लगाउँदै निस्कासनको कार्वाही गर्न थालेपछि मसालभित्रको क्रान्तिकारी विचार पक्षले संगठित रुपमै त्यसको सशक्त प्रतिकार गर्दै आइरहेको छ । यसै सिलसिलामा मसाल भित्रको क्रान्तिकारी विचार पक्ष समूहले नेकपा (मसाल) समन्वय समितिको गठन गरेर वैचारिक संघर्ष तथा संगठनात्मक गतिविधि अगाडि बढाउँदै लगिरहेको छ ।
आठौं महाधिवेशनबाट पारित दक्षिणपन्थी नीतिलाई व्यवहारिक रुप दिंदै सत्तालिप्ताका लागि आफैले वर्गशत्रु घोषणा गरेको शक्तिसँग गठबन्धन गर्दै अघि बढेको मसाल नेतृत्वले आफ्ना कार्यकर्ताहरुका बीचमा भने अझै पनि क्रान्तिकारीपनको नाटक मञ्चन गरिरहेकै छ । मसालभित्रको क्रान्तिकारी विचारपक्षले विशेष महाधिवेशन आह्वान गरेर क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणको प्रक्रिया अगाडि बढाएपछि दक्षिणपन्थी नीति बोकेको मसाल नेतृत्व अत्तालिन पुगेको छ । पार्टीभित्रका क्रान्तिकारी विचार बोक्ने नेता कार्यकर्ताहरुलाई अल्मल्याउन मसाल नेतृत्वले अनेक प्रकारका षडयन्त्रहरु अगाडि बढाएपछि क्रान्तिकारी विचार पक्षको नेतृत्वदायी समूह नेकपा (मसाल) विशेष महाधिवेशन आयोजक समितिले एक अपील नै प्रकाशित गरी मसाल भित्रका क्रान्तिकारी विचार पक्षधर नेता/कार्यकर्ताहरुलाई विद्रोहको झण्डा उठाउन आह्वान गरेको छ ।
संयोजक सन्तबहादुर नेपालीको हस्ताक्षरमा २०७९ साउन १५ गते जारी उक्त अपिलमा मसाल भित्रका क्रान्तिकारी विचार पक्षधर कमरेडहरुलाई दक्षिणपन्थी नीति बोकेको नेतृत्वसँग सम्बन्धविच्छेद गरी विशेष महाधिवेशनमा सामेल हुन आह्वान गरिएको छ । जारी अपिलमा अगाडि भनिएको छ–“ कमरेडहरु, विश्व कम्युनिस्ट आन्दोलनलार्ई विश्वव्यापी रुपमा दक्षिणपन्थी संशोधनवादले विसर्जनको दिशातिर लगिरहेको वर्तमान अवस्थामा विश्व तथा नेपालको कम्युनिस्ट आन्दोलन पनि रक्षात्मक अवस्थामा रहेको कुरा त सर्वविदितै छ । कम्युनिस्टहरु सामन्तवाद, पुँजीवाद तथा साम्राज्यवादसँगको लडाईमा कहिल्यै हारेका छैनन् । किनकि कम्युनिस्ट सँग माक्र्सवाद लेनिनवाद तथा माओ त्सतेुङ विचारधाराको मजबुत वैचारिक हतियार छ । तर पार्टीभित्रको अवसरवादसँग सच्चा कम्युनिस्टहरु विश्वव्यापी रुपमा पराजित हुँदै आएका छन् । रुस, चीन, पूर्वी यूरोप सबैतिर कम्युनिस्टहरु पार्टी भित्रैका अवसरवादीहरुबाट पराजित हुँदै आएपछि आज कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको हो । आज पनि सबैभन्दा निर्मम वैचारिक लडाई बाहिर भन्दा कम्युनिस्ट आन्दोलन भित्रै गर्न परिरहेको छ ।
सातौं महाधिवेशनसम्म हाम्रो पार्टी नेकपा (मसाल) एउटा जुझारु र क्रान्तिकारी विचार बोकेको पार्टी थियो । आठौं महाधिवेशनसम्म आई पुग्दा पार्टी संसदवादी रुझानबाट गलिसकेको रहेछ । त्यो कुरा आठौं महाधिवेशनको पूर्व सन्ध्यामा बहुमतबाट प्रस्तुत राजनीतिक दस्तावेजबाट छर्लङ हुन गयो । त्यसप्रकारको दक्षिणपन्थी प्रस्तावका विरुद्ध ६ जना कमरेडहरुले पनि क्रान्तिकारी विचारसहितको प्रस्तावसँगसँगै प्रस्तुत गर्नुभयो । तर बहुमत पक्षको दक्षिणपन्थी राजनीतिलाई सुधार्ने दिशामा अल्पमत पक्ष सफल हुन सकेन । सबैलाई थाहा भएको कुरा हो, मसाल नेतृत्वले फोरम संचालन कै बेलादेखि राजनीतिमा बहस नगरेर गाली गलौजमा उत्रियो । “रअ” का एजेण्ट, फुटपरस्त, सीआइडी, भारतपरस्त, राजापरस्त, छद्मभेषी, घुसपैठिया र पछिल्लोकालमा त एमालेपरस्त, प्रतिगामी लगायतका शब्दहरु अल्पमत पक्षमाथि प्रयोग गरिए र सयौं जिम्मेवार नेता कार्यकर्ताहरु पार्टी कार्वाहीमा परे । पाल्पा जिल्ला समितिले विद्यमान दुई लाइन संघर्षलाई टुंगो लगाउन वार्ताको माग राख्यो । केन्द्रले त्यो माग त स्वीकार गर्यो, तर ३ वटा शर्तहरु मान्नु पर्ने तगारो तेसार्यो । हामी वार्तामा प्रवेश गरेपछि शर्तहरु मान्न तयार भयौं । भिन्नमत राखेका निष्काशित ६ जना प्रस्तावक कामरेडहरुले समेत संयुक्त रुपमा वार्ताकोलागि वक्तव्य जारि गर्नु भएको थियो । तर शर्त नमानिकन वार्तामा प्रवेश नगर्ने कुरा नेतृत्वले ल्यायो । हामीले वार्ता भन्दा पहिले नै स्वीकार गर्नुपर्ने शर्तहरु (क) अनुशासन मान्छौं । (ख) आफ्ना विचार पार्टीभित्र राख्छौं, सार्वजनिक गर्ने छैनौं । (ग) पार्टीको निर्देशन मानेर बस्छौं । हामी पार्टीमा नै नभएका व्यक्तिहरुले वार्ताभन्दा पहिले नै शर्त मान्ने कुरा सही थिएन । पार्टीभित्र प्रवेश गरेपछि जो कसैले ती शर्त मान्नुपर्छ भन्ने कुरा निर्विवाद कुरा थियो ।
त्यही कुराबाट मसाल नेतृत्वले अब हामी वार्तामा बस्दैनौं भन्ने घोषणा गरÞ्यो । पार्टीको बुटवलमा राखिएको परिषद् बैठकबाट “निष्काशितहरु” सित अब कुनै वार्ता नगर्ने भनेर निर्णय गरियो । तर हाम्रो तर्फबाट वार्ताको ढोका सधै खुला रहँदै आएको छ । हामी पार्टीभित्र र सार्वजनिक रुपमा समेत आठौं महाधिवेशनमा पारित दक्षिणपन्थी नीति सच्चाउनका लागि विशेष महाधिवेशनको आयोजना गर्न आग्रह गर्दै आयौं । मसाल नेतृत्वले त्यसलाई पूर्णरुपले अस्वीकार गरेपछि २०७८ मंसिर ८ र ९ गते सम्पन्न राष्ट्रिय भेलाले पार्टीका दक्षिणपन्थी नीति सच्चाएर पार्टीलाई सातौं महाधिवेशनले पारित गरेका क्रान्तिकारी कार्यदिशाको रक्षा, निरन्तरता र विकासका लागि विशेष महाधिवेशन गर्नु पर्ने निर्णय गरेपछि हामी अहिले विशेष महाधिवेशन सम्पन्न गर्न जुटेका छौं ।
यो विशेष महाधिवेशन कुनै एउटा समूहको होइन, समग्र मसालका कार्यकर्ता, जसले संसदवादको विरोध गर्छ र पार्टीलाई वामपन्थी क्रान्तिकारी नीतिका आधारमा जुझारु, मिलिटेन्ट र शक्तिशाली बनाउन चाहन्छ, ती सबैको विशेष महाधिवेशन हो । लेनिनले भन्नुभएको छ : “क्रान्तिकारी नीति विना क्रान्ति सम्पन्न हुन सक्दैन ।” मसालको नेतृत्व संसदवादमा उठ्नै नसक्ने गरी पूरै डुब्न थालेको छ । अब पार्टी संस्थागतरुपमा संसदवादबाट फर्कने अवस्था कमै देखिन्छ । तर क्रान्तिकारी कार्यकर्ताहरुलार्ई त्यहाँबाट निस्कन दुनियाँको कुनै शक्तिले रोक्दैन । एउटै चीजले रोक्न सक्छ, त्यो हो मनभित्रको डर । मानिसहरु भूतसित डराउँछन्, झाँक्री देउता, कुल देउतासित डराउँछन् । गाउँको सामन्तसित डराउँछन् । तर भूतले, झाँक्री देउताले, कुल देउताले डराउन दिएको पाइदैन । किनकि त्यो भावना मात्र हो । हामी सम्पूर्ण क्रान्तिकारी कमरेडहरुलाई अनिश्चितताको भुमरीमा अल्मलमा नपरेर निर्णय गर्न अनुरोध गर्दछौं ।
चिनियाँ कम्युनिस्ट पार्टीलाई जब दक्षिणपन्थीहरुले कब्जा गरे । क. माओले जनतालाई विद्रोह गर्न अपील गर्नुभयो । त्यो अपीलका अधारमा जनता दक्षिणपन्थीहरुका विरुद्ध खडा भए । दक्षिणपन्थीहरु माथि विजय हासिल भयो । सर्वहारा सांस्कृतिक क्रान्तिले उच्चस्तरमा विकास गरÞ्यो । हामी चिनियाँ कम्युनिस्ट पार्टीबाट त्यो पाठ सिक्नुपर्छ ।
कतिपय कमरेडहरु अल्मलिनु भएको छ । कतिपय कमरेडहरु मसाल नेतृत्वको शैलीको विरोध गर्ने तर दक्षिणपन्थी नीतिलाई सही ठान्दै यही दलाल पुँजीवादी व्यवस्थाभित्र बसेर सानातिना काम गरेर जीवन विताउने सोंचमा हुनुहुन्छ । कतिपय कमरेडहरु समन्वय समितिले के गर्छ हेर्दै जाउँ भनेर “पर्ख र हेर” को नीति लिनु भएको छ । यसप्रकारका सबै नीतिहरु सही छैनन् । ती नीतिबाट आफ्नो लक्ष्य त पूरा होला । तर क्रान्तिको लक्ष्य पूरा हुँदैन । इतिहासमा थुपै्र इमान्दार कमरेडहरु अलमलका कारण आफू त ओझेलमा परे नै, त्यो भन्दा पनि जनतालाई नै अलमलमा पारेर संशोधनवादीहरु हावी हुने वातावरण तयार पारे । हामीले पनि पुँजीवाद कि समाजवाद रोज्ने ? कुरो स्पष्ट छ, पुँजीवाद रोज्ने कमरेडहरु दक्षिणपन्थी मसाल मै बस्नु उचित हुनेछ । समाजवाद रोज्नेहरु दक्षिणपन्थी मसालमा बस्नुको कुनै औचित्य छैन । त्यसकारण यो दुईलाइनको संघर्षमा बीचको कुनै बाटो छैन । यो वा त्यो पक्षमा उभिनु अनिवार्य छ । त्यसैले अहिलेसम्म दोहोरो सम्बन्धमा रहेका कमरेडहरुलाई एकातर्फ आबद्ध हुन अनुरोध गरेका छौं । धेरै कमरेडहरु खुलेर दक्षिणपन्थी मसाल परित्याग गरिरहनु भएको छ । हामी उहाँहरु सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छौं र उहाँहरुको विचारलाई उच्च सम्मान गर्छौं ।
दक्षिणपन्थी मसालमा यो वा त्यो कारणले संगठनात्मक रुपले बस्नु भएका केन्द्रदेखि सेल समितिका सम्पूर्ण कमरेडहरुलाई छिटै आफ्नो स्थिति स्पष्ट गर्दै विशेष महाधिवेशनमा सामेल हुन र क्रान्तिकारी भूमिकालाई अगाडि बढाउन अपील गर्दछौं ।”
हस्ताक्षेरित वक्तव्यको पूर्णपाठ तल दिइएको छ :