नागरिकता

नागरिकता

आजभोलि म

नागरिकतादेखि त्रसित छु

भयभीत छु

आतंकित छु

कहाँ छ र अब नागरिकतामा शुद्धता

प्रदुषित भइसकेको छ नागरिकता

कलुषित भइसकेक‍ो छ नागरिकता

दुर्गन्धित भइसकेको छ नागरिकता

बदनाम भइसकेको छ नागरिकता

नागरिकतामा ग्रहण लागिसकेका छन्

नागरिकतामा छिमेकीका आँखा लागिसकेका छन्

नागरिकतामा डाइनी बोक्सी लागिसकेका छन्

नागरिकतामा भूत पिचासले बास गरिसकेका छन्

नागरिकतामा सतिको श्राप परिसकेका छन्

नागरिकता अब भीम मल्लको हातमा होइन छैन

लेन्डुप दोर्जेहरूका हातमा पुगिसकेको छ

लेन्डुप दोर्जेहरू मालिक बनेका छन् नेपाली नागरिकताका

बितरक बनेका छन् नेपाली नगरिकताका

होलसेलर बनेका छन् नेपाली नागरिकताका

ठेकदार बनेका छन् नेपाली नागरिकताका

प्रभूहरूको आशीर्वाद थाप्न होडबाजी गर्ने च्युतहरूले

आखिर के पो बाँकी राख्लान्

आमालाई बेच्न तँछाड मछाड गर्ने कुपुतहरूले

आखिर के पो बाँकी राख्लान्

यतिबेला यी लेन्डुप दोर्जेहरूले

आफ्नो कालो बजारी

नागरिकताको खेलोबाट

श्रीगणेश गरेका छन्

लिलाम गरिरहेकाछन् नागरिकता

खुला बजारमा

आजभोलि म

नागरिकतादेखि त्रसित छु

भयभीत छु

आतंकित छु।

१० -४-२०७९