देश उपनिवेशमा परिणत हुँदै

देश उपनिवेशमा परिणत हुँदै

कुटनीतिक वृतमा एउटा भनाइ निकै चर्चित छ– देशको दील हुँदैन, स्वार्थ मात्र हुन्छ । तर नेपालले आफ्नो राष्ट्रिय स्वार्थलाई निश्चित नगर्दा यहाँ विदेशी स्वार्थहरुको क्रिडास्थल बन्न पुग्यो । हेर्दा हेर्दै देश उपनिवेशमा परिणत हुँदै गएको छ । नेपालको स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डता केवल नाममा मात्र सिमित छ । यहाँको शासन प्रशासनमा विदेशी शक्तिकेन्द्रहरुकै डिजाइन हावी भएर गएको छ । विदेशी शक्तिकेन्द्रहरुको दलालीमा मात्रै यहाँको संसदीय व्यवस्था टिकेको छ । विदेशी शक्तिहरु खासगरी अमेरिका, भारत र चीनबीचको त्रिपक्षीय शक्ति संघर्षको अखडामा परिणत हुन पुगेको छ नेपाल । यहाँका दलाल संसदवादी शक्तिहरु उनीहरुबीचकै अन्तरविरोधहरुमा खेलेर अहिलेसम्म सत्तामा टिक्दै आएका छन् । तर अब यहाँका दलाल शक्तिहरु शक्तिराष्ट्रहरुको यसरी माखेसाङ्गालोमा परिसकेका छन् कि अब उनीहरु चाहेर पनि त्यहाँबाट उम्कन सक्ने स्थितिमा छैनन् । राष्ट्रघाती एमसीसी, एसपीपीदेखि नागरिकता विधेयकसम्म, लिम्पियाधुरा–लिपुलेक–कालापानीदेखि आन्तरिक मामिलाको माइक्रो मेनेजमेन्टसम्म विशेषत: भारतीय विस्तारवादी र अमेरिकी साम्राज्यवादी हस्तक्षेपले नेपाल देशबाट उपनिवेशमा परिणत भइसकेको अनुभूत हुन्छ ।
आजसम्म असंलग्न र पञ्चशीलको सिद्धान्तमा आधारित परराष्ट्र नीतिका कारण नेपालको स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा हुँदै आएको थियो । तर अमेरिकाको एमसीसी पासदेखि एसपीपी र नागरिकता विधेयकसम्म आइपुग्दा नेपाल इन्डो–अमेरिकन ब्लकमा ढल्केको जो कोहीले अनुभूत गर्न सक्छ । इन्डो–अमेरिकन सुरक्षा छाताभित्र पुगेको नेपालले अब चीनसँग सन्तुलनकारी कुटनीति सञ्चालन गर्न सक्दैन र चीनको सुरक्षा चासोको पनि नेपालले सम्बोधन गर्न सक्दैन । ढिलो चाँडो नेपाल एक चीन नीतिबाट पनि पछि हट्न पुग्छ र अमेरिकाको एउटा गुलाम राष्ट्रमा परिणत हुन पुग्ने देखिन्छ । तर चीनका विरुद्ध नेपालको भूमि प्रयोग हुने स्थितिमा चीन पनि चुप लागेर नबस्ने स्पष्ट संकेत र सन्देश हालै नेपालको चार दिने भ्रमणबाट फर्किएका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखले दिइसकेका छन् । विडम्बना के छ भने चिनियाँ नेतासँग वान टु वान वार्ता गरेको दुईदिनभित्र दिल्ली गएर सबै गोप्य कुरा भारतीय शासकहरुलाई सुनाउन थालेपछि देउवा प्रचण्डहरुलाई चीनले अब कसरी विश्वास गर्न सक्छ ? कम्युनिस्टको नाममा विस्तारवाद र साम्राज्यवादको नाङ्गो दलाली गर्ने पार्टीहरुले कम्युनिस्ट नामकै बद्नाम गरेका छन् ।
यस्तो अवस्थामा अब देशको स्वाधीनता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षा भनेको यो देशका सच्चा देशभक्त, कम्युनिस्ट, वामपन्थी तथा क्रान्तिकारी शक्तिहरुबाहेक अरुबाट सम्भव छैन । त्यसका लागि अब सच्चा देशभक्त, वामपन्थी तथा क्रान्तिकारी जनताको प्रतिनिधित्व गर्ने शक्तिहरुले वृहत रुपमा मोर्चाबन्दी गर्दै वृहत राष्ट्रिय प्रतिरोध आन्दोलनको उठान गर्नुपर्छ । यो ऐतिहासिक रुपले अपरिहार्य बन्न पुगेको छ । यसको गहिरो बोध नेपालको माया हुने विश्वभर छरिएर रहेका हरेक नेपालीमा हुन जरुरी छ । जनताको संघर्षले मात्रै देशको स्वाधीनताको रक्षा गर्न सक्छ । इतिहासका निर्माता जनता हुन् । जनताको तागत अजेय हुन्छ । बडे बडे शासकहरुलाई सडकमा पछार्ने तागत जनतासँग नै हुन्छ । राष्ट्रिय प्रतिरोध जनसंघर्ष निर्विकल्प बन्न पुगेको छ ।