काठमाडौँ । नेपालमा एक चीन नीतिको प्रतिबद्धताका लागि चार दिने भ्रमण सकेर चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ स्वदेश फर्केकै दिन नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत डिन थम्प्सनले अमेरिकी सेनेटको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सुनुवाइका क्रममा बुधबार आफ्नो धारणा राख्दै नेपालमा रहँदा तिब्बती शरणार्थीहरुको अधिकारको क्षेत्रमा काम गर्ने बताएका छन् ।

उनले सुनुवाइको क्रममा चीनको दुस्प्रचारका बाबजुद नेपालको संसदबाट एमसीसी पास गराउन अमेरिका सफल भएको समेत बताएका थिए । नेपालले २०७८ फागुन १५ मा प्रतिनिधि सभाबाट ऊर्जा र सडक पूर्वाधारका लागि ५०० मिलियन डलर अमेरिकी सहयोग स्वीकार गर्ने सम्झौतालाई १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गरेको थियो । त्यस अवधिमा बेइजिङले एमसीसी अनुमोदन हुनु अघि र पछि असन्तुष्टिपूर्ण टिप्पणी गरेको थियो ।

नेपालमा एमसीसीलाई चीनले अमेरिकाले सन् २०१९ मा सार्वजनिक गरेको इन्डो प्यासिफिक रणनीतिमा जोडेर हेर्दै आइरहेको छ । चिनियाँ अधिकारीहरुले एमसीसी पारित भएपछि नेपाली अधिकारीहरुलाई पटक–पटक गुसानो गरिरहेका छन् । गत चैतमा नेपाल भ्रमणमा आउदा चिनियाँ विदेश मन्त्री वाङ यी र बुधबार मात्रै आफ्नो चार दिने भ्रमण सकेर वेइजिङ फर्केका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुखले पनि एमसीसीलगागत विषयमा नेपाली नेताहरूसामू चासो प्रकट गरेका थिए ।

सुनुवाइका क्रममा राजदूत थम्पसनले एमसीसी आयोजनाले नेपालको स्वच्छ, प्रचुर मात्रामा जलविद्युत्लाई दक्षिण एसियाको ऊर्जा ग्रिडसँग जोड्न विद्युत् प्रसारण लाइन निर्माण गर्ने बताए । उनले एमसीसीले नेपालमा उच्च गुणस्तरका सडकहरू पनि निर्माण गर्ने र यी आयोजनाहरूले दुवै देशको समृद्धिमा सहयोग पुग्ने बताएका छन् ।

‘नेपालको आर्थिक वृद्धिलाई सहज बनाउनु र हाम्रा देशहरूबीचको व्यापार सम्बन्धलाई सुदृढ पार्नु मुख्य प्राथमिकता हुनेछ,’ उनले भने । उनले अमेरिका र नेपालबीचको ७५ वर्षको साझेदारीलाई जोड दिने पनि बताए ।

उनले अमेरिका नेपालसँगको सम्बन्धको महत्त्वपूर्ण मोडमा रहेको पनि बताएका छन् । नेपालले असार ६ मा अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम ९एसपीपी० लाई अघि नबढाउने निर्णय गरेको थियो । ‘हामी नेपालसँगको सम्बन्धमा महत्त्वपूर्ण मोडमा छौं । नेपाललाई ‘दुई ढुङ्गाबीचको तरुल’ भनेर चिनिन्छ, ती ढुङ्गालाई चीन र भारत भनिन्छ,’ उनले भने, ‘नेपालसँगको महत्त्वपूर्ण सम्बन्ध, हामी नेपालको सार्वभौमसत्ता र अमेरिकासँगको साझेदारीलाई सुदृढ गर्नमा नेपालको हित साझा रूपमा काम गर्छौं ।’

त्यस्तै थम्प्सनले तिब्बती शरणार्थीको अधिकारका लागि पनि काम गर्ने बताएका छन् । सुनुवाइका क्रममा उनले भने, ‘दलित, सीमान्कृत समुदाय र तिब्बतीसहित शरणार्थीहरूको अधिकारका क्षेत्रमा पनि काम गर्नेछु ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार