
२६ असार काठमाडौं ।
चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ काठमाडौं आइपुगेका छन् । आइतबार अपरान्ह एयर चाइनाको ४३७ नम्बरको उडानबाट लिउ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।
भ्रमण टोलीमा चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु फङ स्यौपिन, छाङ ज्यौछिन, छोइ च्याङ, चङ योया र वन चाङ्ता रहेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख भएपछि लिउको यो पहिलो विदेश भ्रमण हो ।
सीपीसीका विदेश विभाग प्रमुख लिउ नेतृत्वको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत नेतासँग भेट गर्ने कार्यक्रम रहेको छ । लिउले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट गर्ने कार्यसूची छ ।
पछिल्लो पटक नेपाल मामिलामा आफ्नो उपस्थिति कमजोर भएको निष्कर्ष निकालेको चीनले भूराजनीतिक शक्ति सन्तुलन गर्न र आगामी निर्वाचनमा सम्भावित वाम एकताको अवस्था बुझ्न चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ अधिकारीलाई भ्रमणमा पठाएको हो ।
नेपालस्थित चिनियाँ दूतावासले उनको भ्रमणको संयोजन गरेको छ। दूतावासले नै शीर्ष नेताहरूको सम्भावित भेट तय गरेको छ ।
