गोरखा कारागार
२०५९/३/१७
बजारलाई जल र शितल दिने माथि रानीवन नामको जङ्गल अँधेरिएर आयो । यो मध्य असारमा पानी पर्नु स्वभाबिकै हो । यो प्रकृतिको नियमित चर्खा हो । पानी बर्सिएकोले खोलाहरु सल्बलाएका छन । गाउँका टारी टुक्रामा रोपाइ सजिलो होला तर खोइ ? मुलुकमा देखिएको यो अनिष्टको बादलले कतिखेर कहाँ चट्याङ पर्छ ठेगान छैन ।
मन अधिर छ । कहिले यो मन खेतका गह्रातिर पुग्छ कहिले यो मन तार्केको वनतिर उक्लन्छ तर तन भने यहि खोरभित्र जकडिएको छ । आज रातभर पानी पर्यो । कति खोलामा बाढी आयो । भिराला पाखोमा पहिरा गए हुनन । घर छोडेर हिडेका छापामारहरुलाइ यो बर्सातले झन दुख दिन्छ । गाउँभरी सुरक्षा फौजको राज छ । यत हामी अध्यादेशका बन्दिहरु आफ्नो सुर आफ्नो चित्त आफ्नै पिरमा व्यग्र छौ । चेतनाले हामी भौतिकबादी भन्छौँ । बिचारले साम्यबादको वकालत पनि गर्छौँ तर यो जेल जिवनमा ती सब बिर्सिएर म मा केन्द्रीत छौँ ।
रुपमा हामी माओबादिको अभियोगी त हौँ तर सारमा यसता छैनौ । साथिहरुमा देखिएको यो अनेकताले हामिभित्रै अनावस्यक बिबाद निस्कन्छ ।अनौठो छ हाम्रो स्वाभाव ! शिक्षक सङ्गठनमा सङ्गठित छौँ तर एक्लै छौँ पार्टिसित सम्बन्धित छौँ तर म र मेरो भित्र केन्द्रीत छौ । घर परिवार आफन्तदेखी पर छौँ हामी बन्दिबिचमै अपनत्वको अभाबमा छौँ ।
जिल्लाको सदरमुकाममा पत्रकार मानव अधिकारकर्मी छन तर जेल हिरासतमा अनुगमन हुदैन । घ श्रेणिको यो जेलमा कैदी बन्दी र थुनुवा गरेर १९४ जना छौँ । राज्यले उपलब्ध गराएको सिदाको गुण सुध्दता पिउने पानी सुत्ने ओछ्यायन आदि कतै कसैको अनुगमनमा पर्दैन । आस्थाका माओबादिहरु आतँककारी अध्यादेश सिरानी हालेर जेल भित्रीएका हौं ” न्याय हराए गोरखा जानू ” भन्ने शासकिय उखान यो जेलमा राम्रै प्रयोग भएको छ ।
२०५९/३/२४
कारागार सुरक्षाको जिम्मा प्रहरीको स इ हर्क बहादुर थापा कान तताएर भित्र पसे । उनको सान भनेको हामी आस्थाका बन्दिहरुलाइ होच्याउने थर्काउने र रवाफ देखाउने हो । सामान्य अवस्थामा उनी तर्क गर्न सक्दैनन र भन्छन ” तिमिहरु पढे लेखेका म जैरे पुलिस के जान्दछु र किताब कापी पातिको झ्याङमा फालेर पुलिसमा आ हुँ” तर जब उनी झोलपानी पिउछन अनि गाली र हेपाइका शब्द बर्षाउछन ।
तर आज उनले नया समाचार ल्याए । आज सुरक्षाको बैठक बसे छ साउनदेखी हप्ताको एक दिन बन्दिहरुका परिवारलाई आफन्त शीत भेट्न दिइने छ । उनको यो समाचारले हामी बन्दिको मुख उज्यालो भयो तर त्यो कुन दिन हो निर्णय भएको छैन रे । अहिले घाम पश्चिमको पहाड नजिकै पुगेको छ । कारागारको पश्चिमी बुर्जामुनी म झोक्राउदै छु । यस्तो मानसिकतामा म कापी कलमको साथ लिन्छु । जेलभित्र लेख पढको खासै वातावरण बन्दैन । चौकिदारी रवाफ देखाउदै लिला बाजे हाम्रो निगरानी गर्दै छ । अनौठो छ जेल प्रशासनको आन्तरिक परिचालन । चौकिदार दाइ नाइके वा भाइ नाइकेलाई शङ्का लाग्ने बित्तिकै जेलरको टेबुलमा उजुरी पुग्छ र अनुसन्धानको कर्मचारी हुँदै सि डि ओ र डि एस पि कहाँ दरिन्छ ।
म कापिका पन्नामा अक्षरसित खेल्ने जमर्कोमै छु । अब खानाको सिठ्ठी लाग्ने बेला भयो । खानाको लाइनमा बस्न लागेपछी मुल गेटको च्यानल बन्द हुन्छ । रात सुस्तरी साउतिमा बोल्नु वा आँखा चिम्लिएर एकदेखी सयसम्म सयौँचिटी गनेर निद्रा बोलाउनु हाम्रो नियती हुन्छ । बन्दी जीवन साँच्चै खोरमा थुनिएका बाख्रा सरहको हुने रहेछ । तागो उघ्रीएपछी हुरुरु बाहिर निस्कनु र साँघुरो चौरमा टहलिनु कुँजिएका खुट्टा तन्काउनु कारागारको घेरा तोडेर आएका कुनै अनिष्टका खबर सुन्नु र सम्बेदित हुनु ।
बाहिरको एक नाङ्ग्लो आकासमुनी उभिएर उत्तरतिरको जि प्र का को विशाल भवन नियाल्नु । कारागार शाखाका कुनै दयालु कर्मचारिले लुकाइ छिपाइ ल्याइ पुर्याएका चिठ्ठिपत्र वा पुराना पत्रीकाका अक्षर हेर्नू साझा नियती हो ।सुरक्षामा खटिएका मनकारी प्रहरी भन्छन अहिले एकीकृत सुरक्षा प्रणालिमा गै सकेपछी हामी प्रहरी निरीह छौँ ।
एक जुवा घाम बाँकि छदै खानाको सिट्ठी बज्यो ।
(कारागारका ३९९ दिन अप्रकाशित संस्मरण निबन्धबाट)































