सन् २०१८ मा दक्षिण अफ्रिकामा सम्पन्न ब्रिक्सको १०औं सम्मेलनमा ब्रिक्स नेताहरू।
१३ असार काठमाडौं ।
रूस–युक्रेन युद्धका कारण सिंगो संसार प्रभावित भइरहेको यस घडीमा रूस समेत संलग्न रहेको ब्रिक्स देशहरूको १४ औं वार्षिक सम्मेलन शुरू हुँदैछ ।
ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित ब्रिक्सको सम्मेलन यस वर्षका लागि अध्यक्ष चुनिएको चीनको आयोजनमा आज र भोली भर्चुअल माध्यमबाट हुन लागेको हो। पछिल्ला दुई वर्षको सम्मेलन पनि भर्चुअल माध्यमबाट सम्पन्न भएको थियो। कोभिडका कारण ती सम्मेलन भर्चुअल माध्यमबाट भएको थियो। यसपटक पनि किन भर्चुअल माध्यम नै रोजियो भन्ने खुलाइएको छैन ।
एक सदस्य देश रूस आफैँ युद्धमा संलग्न भएको र अर्को सदस्य देश भारत अष्ट्रेलिया, जापान र अमेरिकासमेत रहेको क्वाडमा सक्रिय रहेको परिस्थितिमा हुन गइरहेको ब्रिक्स सम्मेलनलाई महत्त्वका साथ हेरिएको छ ।
सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो र दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले सम्बोधन गर्नेछन् ।
सम्मेलनले विभिन्न विषय समेटे पनि विश्वव्यापी आर्थिक पुनरूत्थानका लागि बहुपक्षीय प्रयत्नको पुनर्नविकरण, जलवायु परिवर्तनमा सहकार्यमा वृद्धि र महामारी तथा आम स्वास्थ्यमा सहकार्यलाई बलियो बनाउने विषयमा जोड दिइनेछ ।
चीनलाई अवसर
युरोप युद्धमा फसिरहेको र चीन र अमेरिकाबीच आर्थिक मतभेद बढ्दै गइरहेको परिस्थितिमा हुन गइरहेको यो सम्मेलन चीनका लागि आफ्नो दृष्टिकोण प्रचार गर्नका लागि उपयुक्त मञ्च हुने विश्लेषकहरूको ठम्याई छ ।
“नाटोको पुनर्उदय र इन्डो–प्यासिफिक क्षेत्रमा अमेरिका नेतृत्वको बढ्दो गतिविधिका लागि ब्रिक्स चीनको प्रतिउत्तर बन्न सक्नेछ”, ‘काउन्सिल अन फरेन रिलेसन्स’का वरिष्ठ अनुसन्धाता ह्वांग यांझोङको टिप्पणी छ ।
ब्रिक्स सम्मेलनलाई बेइजिङले ‘संसारैभरी लाखौं मानिसहरूमाथि थोपरिएको अमेरिकी प्रतिबन्धको आलोचना गर्ने’ मञ्चको रूपमा उपयोग गर्ने ठम्याई छ ‘पोलिटिकल–सेक्युरिटी कम्युनिटी एट आसियान्स सेत्रेटरियट’का पूर्व निर्देशक फार किम बेंगको ।
“ब्रिक्सका माध्यमबाट तङ स्याओ पिङले भन्ने गरेको चीनले जहिल्यै तेस्रो विश्वको पक्ष लिन्छ भन्ने भनाइलाई दोहोर्‍याउनेछ”, बेंग भन्छन्, “त्यसैले मेरो विचारमा बेइजिङले यसलाई अमेरिकी नाकाबन्दीको आलोचना गर्ने र त्यो बन्द गर भन्ने अर्को अवसरका रूपमा लिनेछ ।”
अमेरिकाको आलोचना गर्दागर्दै चीनले विश्व अर्थतन्त्रमा आफ्नो महत्त्व दर्शाउने अवसरका रूपमा पनि यो सम्मेलनलाई लिइएको छ ।
मध्यम सफल
सन् २००९ मा स्थापित ब्रिक्स समूहले विश्व अर्थतन्त्रलाई नयाँ आकार दिने र विकासशील देशहरूलाई सहयोग गर्न नयाँ वित्तीय प्रणाली स्थापन गर्ने आशा गरिएको थियो ।
विश्लेषकहरूले यसको सफलतालाई मध्यम भन्ने गरेका छन् तर यसको महत्त्वलाई न्यूनीकरण गर्न भने मिल्दैन ।
ब्रिक्स देशहरूले तीन अर्ब २३ करोड जनसंख्या समेट्छन् । त्यस्तै सबै देशहरूको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) २३ ट्रिलियन अमेरिकी डलर बराबर छ ।
“अमेरिकी नेतृत्वमा रहेको विश्व व्यवस्थाको विकल्पको रूपमा उदाउने प्रयत्नमा ठोस पहल नगरेकाले यसको सन्दर्भ सकिएजस्तो देखिन सक्छ”, वासिंगटनस्थित थिंक ट्यांक ‘विल्सन सेन्टर’ कार्यकारी निर्देशक माइकल कुगेलम्यान भन्छन्, “तर ब्रिक्सको औचित्य सकियो भन्नु गलत हुन्छ किनभने यसको सामुहिक आर्थिक उद्देश्य छ ।”
पेचिलो बन्नेछ युक्रेन मुद्दा
सम्मेलनको केन्द्रमा अर्थतन्त्र रहे पनि युक्रेन युद्धले कुनै न कुनै रूपमा स्थान पाउने विश्वास विश्लेषकहरूको छ ।
सम्मेलनमा खुलेआम युक्रेन युद्धको चर्चा नगरिए पनि ब्रिक्स देशका नेताहरूबीचको कुराकानीमा यो विषय प्रवेश गर्ने अनुमान गरिएको छ ।
‘साउथ एशिया एट द कन्ट्रोल रिस्क कन्सलट्यान्सी’का निर्देशक प्रत्युष राओका अनुसार यो विषय कोठामा रहेको हात्तीजस्तो हुनेछ ।
“युक्रेनबारे रूस र चीनको भूमिकाकै कारण धेरै मानिसहरूले यो सम्मेलनलाई ध्यान दिएर हेरेका छन ”, उनी भन्छन् । चीनले रूसको खुलेर समर्थन गरे पनि भारत, दक्षिण अफ्रिका र ब्राजिलले जारी युद्धबारे कुटनीतिक तौरतरिका अपनाएका छन् । उनीहरूले रूसको खुलेर आलोचना त गरेका छैनन् तर युद्ध अनत्य हुनुपर्ने धारणा राख्दै आएका छन् ।
विश्व मानचित्रमा ब्रिक्स
चीन,दक्षिण अफ्रिका,ब्राजिल,भारत, रूस सम्मिलित ब्रिक्स समूहले जनसंख्याको आधारमा विश्वको ४२ प्रतिशत हिस्सा ओगट्छ । त्यस्तै स्थल क्षेत्रफलको ३० प्रतिशत हिस्सा ओगट्छ ।
विश्व बैंकको तथ्यांक अनुसार सन् २०२१ को विश्वको कूल गार्हस्थ्य उत्पादनमध्ये २६ प्रतिशत हिस्सा ब्रिक्सले ओगट्छ । विश्वमा हुने कुल आयात निर्यातको २० प्रतिशत समेट्छ ।

(ग्लोबल टाइम्स, अलजजिरा, बीबीसी र इन्डियन एक्सप्रेशमा प्रकाशित विभिन्न समाचार सामग्रीको सहयोगमा तयार पारिएको रिपोर्ट । )

प्रतिक्रिया

सम्बन्धित खवर