११ असार काठमाडौँ ।
नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत) सहित ६ पार्टी/सङ्गठनले वर्तमान गठबन्धन सरकार बनेदेखि पेट्रोलियम पदार्थ र जनताले दैनिक रूपमा उपभोग र उपयोग गर्ने खाद्यान्न, यातायातका साधन, ढुवानी, किसानलाई अत्यावश्यक पर्ने रासायनिक मल, बिउ–बिजनको मूल्य अचाक्ली बढिरहेको भन्दै किसानका लागि आवश्यक पर्ने मल र बिउको अभाव छ, त्यसको मुख्य कारण नेपालमा रासायनिक मलको उद्योग नहुनु र कमिसनको खेल भएको बताएका छन् । साथै असार ११ गते वक्तव्य सार्वजनिक गर्ने, असार १२ पर्चा तयार गर्ने, असार १३ गते पर्चा बाँड्ने र कोणसभा गर्ने र असार १५ गते माइतीघर मण्डलामा प्रदर्शन गर्ने लगायतका सङ्घर्षका कार्यक्रमहरू घोषणा गरेका छन् ।
मूल्य वृद्धिका बारेमा संयुक्त प्रेस विज्ञप्ति जारी गर्ने पार्टी/सङ्गठनहरू नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सीपी गुजरेल, नेकपा (बहुमत) का प्रवक्ता सुदर्शन, , नेकपा (मसाल) केन्द्रीय समन्वय समितिका कृष्णराज पौडेल, नेपाल कम्युनिस्ट पार्टीका लोकनारायण सुवेदी, माओवादी कम्युनिस्ट पार्टी, नेपालका नारायणप्रसाद धिमाल र संयुक्त क्रान्तिकारी मोर्चा, नेपालका चिन्तामणि पौडेल रहेका छन् ।
संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा वर्तमान गठबन्धन सरकार बनेदेखि पेट्रोलियम पदार्थ र जनताले दैनिक रूपमा उपभोग र उपयोग गर्ने खाद्यान्न, यातायातका साधन, ढुवानी, किसानलाई अत्यावश्यक पर्ने रासायनिक मल, बिउ–बिजनको मूल्य अचाक्ली बढिरहेको छ । यसैका कारण नेपालका राजनीतिक पार्टी, सरोकारवाला सबैले निरन्तर विरोध गर्दै आएका छन् । सडक आन्दोलनलाई सशक्त बनाउँदै आएका छन् । यी विरोध, आन्दोलनलाई बेवास्ता गर्दै सरकारले झन् दिनदिनै मूल्य बढाइरहेको छ । मल र बिउबिजनको आपूर्ति गरेको छैन । गत असारदेखि अहिलेसम्म डिजेलमा ७१ प्रतिशत, पेट्रोलमा ५४ प्रतिशत, एलपी ग्याँसमा २६ प्रतिशत, चामल पिठोमा १२७ प्रतिशत, कालो भटमासमा ७५ प्रतिशत, ताइचिन चामलमा ६७ प्रतिशत, काँचो तोरीको तेलमा ५८ प्रतिशत, डाल्डा घिउमा ५७ प्रतिशत र दैनिक उपभोग्य वस्तुमा योभन्दा बढी मूल्य वृद्धि भएको छ ।
संयुक्त विज्ञप्तिमा जोड दिदै भनिएको छ, ‘सरकारले यसरी मूल्य वृद्धि हुनुमा अन्तर्राष्ट्रिय तेल बजारमा नै मूल्य बढेको कुतर्क गरेको छ र रुस—युक्रेन युद्धको बहाना बनाएको छ । त्यस्तो हुने हो भने दक्षिणएसियाका अन्य देशमा किन यही स्तरमा मूल्य वृद्धि भएको छैन त ? पेट्रोलियम पदार्थमा मूल्य वृद्धि हुनुको मुख्य कारण सरकारले कर, राजस्व शीर्षकमा अत्यधिक रकम लगाउनु, आयल निगमका कर्मचारीलाई १ वर्षभन्दा बढी समयको बोनस दिनु, बिमा र सञ्चयकोषका लागि ठूलो रकम छुट्ट्याउनु, चुहावट, ढुवानी, संसदीय पार्टीका नेता, माथिल्लो स्तरका कर्मचारीहरूलाई नि:शुल्क पेट्रोलियम पदार्थ उपलब्ध गराउनु हो भन्ने कुरा सर्वविदितै छ ।’
विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘जहाँसम्म किसानका लागि आवश्यक पर्ने मल र बिउको अभाव छ, त्यसको मुख्य कारण नेपालमा रासायनिक मलको उद्योग नहुनु र कमिसनको खेल हो । त्यसैले हामी तपसिलका पार्टीहरू संयुक्त रूपमा यी मागहरुलाई लिएर आन्दोलन गर्न बाध्य भएका छौँ ।’ संयुक्त प्रेस विज्ञप्तिको पूरा पाठ यसप्रकार छ :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार