वर्गदृष्टि मिडिया प्रा.लि.द्वारा प्रकाशित हुँदै आएको ‘वर्गदृष्टि साप्ताहिक’ र ‘मूलबाटो डटकम’ यो अंकसँगै ६ बर्ष पूरा गरी सातौ बर्षमा प्रवेश गरेको छ । प्रकाशनको सुरुवातदेखि नै वर्गदृष्टि साप्ताहिक र मूलबाटो डटकमले श्रमजीवी, शोषित–उत्पीडित वर्ग र समुदायको हक, हित र अधिकारको पैरवी गर्दै राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालहरुमा एउटा सच्चा पहरेदारको रुपमा आफूलाई प्रस्तुत गर्दै आएको छ । अनेकौं प्रतिकूलता, अभाव र कठिनाइहरु झेल्दै लक्षित उद्देश्यप्रति अविचल रुपमा वर्गदृष्टि साप्ताहिक र मूलबाटो डटकमले ६ वर्ष पूरा गरी सातौं बर्षमा प्रवेश गरेको अवसरमा हामी हाम्रो प्रकाशन परिवार, हाम्रा पाठक, विज्ञापनदाता, लेखक, शुभचिन्तक तथा प्रत्यक्ष परोक्ष रुपमा सहयोग पुर्‍याउनुहुने सबैप्रति खुशी साट्दै हार्दिक आभार व्यक्त गर्दछौं र आगामी दिनमा अझ मात्रात्मक र गुणात्मक रुपमा स्तरीय भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दछौं ।
वर्ग विभाजित समाजमा हरेक चिज वर्गीय भएजस्तै मिडिया (पत्रपत्रिका)को पनि वर्गीय पक्षधरता हुन्छ । हामीले प्रकाशनको आरम्भदेखि नै सर्वहारावर्गीय विचार र राजनीतिको पक्षपोषण गर्दै आएका छौं । विश्व साम्राज्यवाद र सर्वहारा क्रान्तिको आजको युगमा हाम्रो प्रकाशनले सर्वहारावर्ग र सर्वहारावर्गीय क्रान्तिको पैरवी गरेको छ । नेपालमा पनि हामीले नेपाली सर्वहारावर्गको मुक्तिका लागि आमूल परिवर्तनको पक्षमा उभिएका र सञ्चालन हुने विचार, राजनीति, संगठन र संघर्षको पक्षमा कलम चलाउँदै आएको छ । बर्षौदेखि वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिकलगायत तमाम प्रकारका विभेद र उत्पीडनबाट नेपाली समाजलाई मुक्त पार्ने र नेपाली समाजको क्रान्तिकारी रुपान्तरण गर्ने मुख्य अभिभारालाई मुख्य कार्यसूचि (कार्यदिशा) बनाएर संघर्षरत पक्षलाई हामीले हाम्रो प्रकाशनको माध्यमबाट अब्बल र प्रबल बनाउने प्रयत्न गर्दै आएका छौं । आगामी दिनमा हाम्रो यो कार्यभार र कार्यसम्पादनलाई अझ स्तरीय र प्रभावकारी बनाउने दायित्व बहन गर्ने प्रतिबद्धता यस अवसरमा पुन: दोहोर्‍याउन चाहन्छौं ।
नेपालको भूराजनीतिक अवस्थिति, अमेरिका, चीन र भारतको त्रिपक्षीय स्वार्थको टकराव, सत्ता र व्यवस्थाको दलाल चरित्र र बढ्दो बैदेशिक हस्तक्षेपले नेपालको स्वाधीनतामाथि गम्भिर संकट उत्पन्न भइरहेको यो बेला हाम्रो जस्तो जनपक्षीय मिडियाको भूमिकालाई अझ सशक्त बनाएर लैजानुपर्ने आवश्यकता बढेर गएको छ । यो अवस्थामा हाम्रो प्रकाशनका मात्रात्मक र गुणात्मक स्तरीयतालाई अझ प्रभावकारी बनाउन आमूल परिवर्तनका पक्षधर जनसमुदाय र राष्ट्रिय स्वाधीनताका पक्षधर आम स्वाभिमानी नेपालीजनको साथ, सहयोग र समर्थनको खाँचो अझ थोक रुपमा बढेर गएको छ ।
मिडियालाई अकूत नाफा कमाउने र पैसाका लागि जस्तोसुकै लुट खसोटको धन्दा पनि चलाउने बुर्जुवा मिडियाहरुको दबदबा रहेको नेपालमा जनताको वास्तविक मुक्तिको आवाजको प्रतिनिधित्व गर्ने जनपक्षीय मिडियाहरुको आजको दिनमा निकै ठूलो अभाव रहेको छ । जनपक्षीय मिडिया जनताका मार्गदर्शक हुन् । कान र आँखा हुन् । वर्गदृष्टि साप्ताहिक र मूलबाटो डटकमजस्ता जनपक्षीय मिडियाहरुको सम्बद्र्धन र प्रबद्र्धन गर्नु शोषित उत्पीडित वर्ग र समुदायको पनि अहं दायित्व हो । जनताको मिडिया जनताकै सहयोगमा बाँच्ने गर्दछ । यस्तो मिडियालाई दलाल पुँजीपतिवर्गको दबदबा रहेको नेपालमा विज्ञापनमा निषेधको व्यवहार गरिन्छ । र, घोषितै रुपम ‘असहयोग’को नीति लिइन्छ । जसको प्रत्यक्ष अनुभूति हामीले गर्दै पनि आएका छौं ।
तसर्थ, यहाँका श्रमिक जनता, मजदुर, किसानदेखि राष्ट्रिय पुँजीपतिवर्गसम्मको साथ सहयोगकै बीचबाट हाम्रो मिडियाले आश्यकता अनुसारको क्षमता प्रदर्शन गर्दै अगाडि बढ्ने छ । यही विश्वास दिलाउँदै फेरि पनि हाम्रो प्रकाशनलाई यहाँसम्म ल्याइपुर्‍याउन प्रत्यक्ष परोक्ष रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सबै महानुभावहरुमा हार्दिक आभार, हार्दिक धन्यवाद ज्ञापन गर्दछौं र आगामी दिनमा अझ अब्बल र प्रबल कार्यसम्पादनका लागि रचनात्मक आलोचनासहित महत्वपूर्ण सुझाबको अपेक्षा निरन्तर रुपमा अपेक्षा गर्दछौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार