“कम्युनिस्टको ह्रदय विशाल हुनुपर्छ , ऊ ईमानदार र सक्रिय हुनुपर्छ , क्रान्तिका हितहरूलाई उसले आफ्नो ज्यानभन्दा प्यारो सम्झनुपर्छ र आफ्नो व्यक्तिगत हितलाई क्रान्तिको हितको अधिनमा राख्नुपर्छ ।पार्टीको सामुहिक जीवनलाई मजबुत तुल्याउन र पार्टी र जनताका सम्बन्धहरूलाई अझ बलियो पार्न उसले संधै र जहाँ पनि सही सिध्दान्तमा अडिरहनुपर्छ र सबै गलत विचार र कामहरूको विरोधमा अथक संघर्ष चलाउनुपर्छ ; कुनै व्यक्तिकोभन्दा बर्ता उसले पार्टी र जनताको चिन्ता लिनुपर्छ र आफ्नोभन्दा बर्ता अरूहरूको वास्ता गर्नुपर्छ । यसो भए मात्र उसलाई कम्युनिस्ट मान्न सकिन्छ ।” – माओ त्सेतुङ , “उदारवादको विरोध गर” (सेप्टेम्वर ७, १९३७)
यस लेखमा कम्युनिस्ट कस्तो हुनुपर्छ ? कस्तो व्यक्तिलाई कम्युनिस्ट भन्ने ? कम्युनिस्ट बन्नलाई उसले के के गर्नुपर्छ ? र के के गर्नुहुँदैन ? साँच्चिकै कम्युनिस्टका असली विशेषताहरू के के हुन् ? भन्ने विषयमा चर्चा गर्ने प्रयास गरिनेछ ।
एउटा सच्चा क्रान्तिकारी कम्युनिस्टका बारेमा माथि कमरेड माओले भन्नुभएका कुराहरू साँच्चिकै मननयोग्य छन् । वास्तविक रूपमा कम्युनिस्टको ह्रदय विशाल र फराकिलो हुनुपर्छ । उ संकुचित र संकिर्ण विचार र व्यवहारबाट मुक्त भएको हुनुपर्छ । संसारलाई हेर्ने, बुझ्ने भएकोले कुनै पनि कुरालई माक्र्सवादी द्वन्द्वादी ढंगले हेर्ने र बुझ्ने गर्नुपर्दछ । उसले धेरै टाढा टाढासम्म हेर्न सक्ने र भविष्यमा भइआउने कुराको बारेमा पहिले आँकलन गर्न सक्ने अर्थात् दूरदर्शी हुनु आवश्यक हुन्छ । कम्युनिस्ट छोटो विचारको, साँगुरो विचार र दृष्टिकोण भएको हुनुहुँदैन ।
एउटा कम्युनिस्ट ईमानदार हुनुपर्छ । र ऊ संधै सक्रिय हुनुपर्छ । ऊ जनताप्रति, देशप्रति, क्रान्तिप्रति, पार्टीप्रति संधै ईमानदार हुनुपर्छ । उसले क्रान्तिका हितहरूलाई आफ्नो ज्यानभन्दा प्यारो सम्झनुपर्छ । उसले आफ्नो व्यक्तिगत हितलाई क्रान्तिको हितको अधिनमा राख्नुपर्छ । कुनै पनि समय र कुनै पनि अवस्थामा कम्युनिस्टले आफ्नो व्यक्तिगत हितलाई पहिलो स्थान दिनुहुँदैन । उसले आफ्ना हितहरूलाई राष्ट्र र जनताका हितहरूको अधिनमा राख्नुपर्दछ ।
एउटा कम्युनिस्टले लेनिनवादी संगठनात्मक सिद्धान्त अर्थात् जनवादी केन्द्रीयताको सिद्धान्तलाई कडाइकासाथ पालना गर्ने हुनुपर्दछ ।
कम्युनिस्टको कुनै पनि कुरा र काम जाँच्ने सर्वोत्तम कसी उनीहरूसित जनताको अति बहुसंख्याको सबभन्दा बढी हितहरू गाँसिएका छन् छैनन् र समर्थन प्राप्त गर्छन् गर्दैनन् भन्ने हो भन्ने कुरो प्रत्येक कम्युनिस्टहरूले बुझेको हुनुपर्छ , जानेको हुनुपर्छ र उसले व्यवहारमा लागु गरेको हुनुपर्छ, तबमात्र ऊ सच्चा कम्युनिस्ट कहलिन सक्छ ।
स्वार्थिपन, शिथिलता, भ्रष्टाचार, आफू प्रकाशमा आउन खोज्ने जस्ता विषयहरू कम्युनिस्टका निम्ति घृणित विषय हुन् । कम्युनिस्ट यी घृणित विषयहरूबाट मुक्त हुनुपर्छ । निस्वार्थता, काममा तत्परता, जनताप्रतिको कर्तव्यपालना, ह्रदयदेखि नै जनताको सेवा गर्ने र साह्रै कठिन परिश्रम गर्ने भावनाले ओतप्रेत भएको व्यक्तिले मात्र कम्युनिस्टको सम्मान पाउँछ ।
कम्युनिस्ट सधैँ सत्यको पक्षमा डट्न तयार हुनुपर्छ , किनभने सत्य जनताको हितअनुकूल हुन्छ । असत्य बोल्ने , ढाँट्ने , छलकपट गर्ने , जाली , झेली , सिल्ली र षड्यन्त्रकारी चरित्र र व्यवहार भएको मानिस कम्युनिस्ट हुन लायक हुँदैन ।
कम्युनिस्टहरू संधै आफ्ना गल्तीहरू सच्याउन तयार हुनैपर्छ , किनभने गल्तीहरू जन – हितको विरुद्धमा हुन्छन् । कम्युनिस्टले आफूलाई गल्तीहरूबाट जोगाउनु पर्छ । कदापि गल्ती गर्नु हुँदैन । गल्तीहरूबाट जोगिन र गल्तीहरूलाई सच्याउने एक मात्र माक्र्सवादी पध्दति छ , त्यो हो आत्मालोचना – स्वआलोचना गर्न सक्ने र आफूले गरेका गल्तीहरूलाई आफै चिन्ने र ती गल्तीहरूलाई सच्याउन तयार हुने व्यक्ति मात्र कम्युनिस्ट हुनसक्छ । विश्व सर्वहारा वर्गका महान् नेता लेनिनले भन्नुभएको छ , “ गल्ती नगर्ने मानिस नै हुँदैन र गल्ती नसच्याउने पनि मानिस हुँदैन । महान् लेनिनको यो भनाई ज्यादै मननयोग्य छ । कम्युनिस्ट पहिलो कुरा गल्ती गर्नभएन , यद्यपि गल्ती नै भइहाल्यो भने समयमै सच्याउन जो तयार हुन्छ ऊ मात्रै कम्युनिस्ट हुनसक्छ ।
कुनै पनि काम गर्दाखेरी कम्युनिस्टले पहिले नै विचार पुर्याउनु पर्दछ । कम्युनिस्टहरूले संधै कुनै कुरामा पनि किन, केको निम्ति भनी खोतल्नु पर्छ , आफ्नो बुध्दि खियाउनुपर्छ र त्यो कुरा वास्तविकतासित मेल खान्छ खाँदैन साँच्चि नै तर्कयुक्त हो होइन भनी होशियारपूर्वक विचार गर्नुपर्छ । कुनै पनि किसिमबाट कम्युनिस्टहरूले आँखा चिम्लेर पछि लाग्नु हुँदैन र कुनै पनि प्रकारको दास्वत्वलाई हौसला दिनुहुँदैन । किनभने यी विषयहरू जनहितका विरुद्ध , देशहितका विरुद्ध रहेका हुन्छन् ।
कम्युनिस्ट अब्बल दर्जाको सचेत प्राणी हो । कम्युनिस्टहरूले व्यवहारिक तथा दूरदर्शी हुनुमा दृष्टान्त प्रस्तुत गर्नैपर्छ । किनभने व्यवहारिक भए मात्र उनीहरू दिइएको कामलाई पुरा गर्न सक्छन् र दूरदर्शिताले मात्र अघि लम्कने दिशाभुल्नुबाट आफूलाई जोगाउन सक्छन् । कम्युनिस्टहरू संधै सचेत अवस्थामा रहनुपर्छ ।
अर्को कुरा कम्युनिस्टहरू सबभन्दा बर्ता दूरदर्शी , सबभन्दा बर्ता त्यागी , सबभन्दा बर्ता दृढ हुनैपर्छ र परिस्थिति बुझ्नमा सबैभन्दा सिपालु र विनम्र हुनसक्नुपर्छ र जनसमुदायको बहुसंख्यामा भर गर्नुपर्छ र जनसमुदायकै समर्थन प्राप्त गर्नुपर्ने हुन्छ । किनभने जनसर्मथनविनाको कम्युनिस्ट पानीविनाको माछासरह हुन्छ । जनसमर्थन प्राप्त गर्न ऊ जनताका बीचमा जानुपर्छ , जनतासंग घुलमिल गर्नुपर्छ र जनताका समस्याहरूलाई समाधान गर्न दृढ हुनुपर्छ । उसले जनदिशालाई प्रमुख काम बनाउनुपर्छ ।
कम्युनिस्टहरूले अध्ययनमा दृष्टान्त प्रस्तुत गर्नैपर्छ । उसले मालेमावादका आधारभूत सिध्दान्तकाबारेमा ज्ञान हासिल गरेकै हुनुपर्छ । उस आफूलाई विश्वदृष्टिकोणबाट रूपान्तरण गराउन संधै तल्लीन हुनुपर्छ ।
संधैभरि कम्युनिस्टहरूले जनताका शिष्य तथा शिक्षक बन्न सक्नुपर्छ । ऊ किताबी अध्ययन मात्र व्यवहारिक अध्ययनमा पनि निपुण हुनुपर्छ । जनताका सुखदु:खलाई पहिल्याउन र खुट्याउन चनाखो बन्ने र अग्रपंक्तिमा उभिएर जनताका ती समस्याहरू समाधान गर्न दृढ हुनुपर्छ । वैज्ञानिक अध्ययनविना , मालेमावादको व्यवहारिक अध्ययनविना न संसारलाई चिन्न सकिन्छ न त संसारलाई बदल्न नै सकिन्छ ।
जनआन्दोलन , जनसंघर्षमा सरिक भएको बेला होस् वा भीषण वर्गसंघर्षमा होमिएको बेला होस प्रत्येक कम्युनिस्ट जनताको साथी बनेको हुनुपर्छ , जनताको मालिक बन्ने होइन अथक गुरु बन्नुपर्ने हुन्छ र नोकरशाही राजनीतिज्ञ कहिल्यै बन्नु हुँदैन । र कम्युनिस्टहरू जनसमुदायको बहुसंख्याबाट कहिल्यै पअलगिनु हुँदैन । जनताकै बीचमा हुनु अनिवार्य हुन्छ ।
कम्युनिस्टहरू बीउ झै र जनता माटो झै हुनुपर्छ । कम्युनिस्टहरू जहाँ पुग्छन् , त्यहाँ जनताशीत एकाकार हुनुपर्छ , जनता मै जरा हाल्नु पर्छ र जनता मै फुल्नु पर्छ , जनता कै बीचमा फल्न सक्नु पर्छ । तबमात्र ऊ कम्युनिस्ट हुनसक्छ । उसले जनतालाई हेप्ने, गाली गर्ने गर्नु हुँदैन । जनतालाई माया र सम्मान दुवै गर्नुपर्दछ ।
कम्युनिस्टहरू नैतिकवान हुनुपर्छ । कम्युनिस्टहरू चरित्रवान हुनुपर्छ । आर्थिक रूपमा भ्रष्ट , यौन – प्रेम मामिलामा पतनशील व्यक्ति कम्युनिस्ट हुन सक्तैन । आर्थिक मामिलामा लामो हात गर्ने , परस्त्रीसित आँखा लगाउने व्यक्ति कम्युनिस्ट हुन सक्तैन । कम्युनिस्ट सदस्य बनेर पनि आर्थिक – साँस्कृतिक मामिलाबाट पार्टीले कार्वाही गरि सदस्यबाट हटाएको , अनैतिक यौन – प्रेससम्बन्ध अर्थात् यौन साँस्कृतिक मामिला र परस्त्री पतित भएर साँस्कृतिक विचलन मुद्दामा कम्युनिस्ट पार्टीले अनुशासनात्मक कार्वाही गरेको वा परेको व्यक्ति पनि कम्युनिस्ट हुन सक्तैन । किनभने ऊ जनसमुदायका बीचबाट विस्थापित भइसकेको हुन्छ । त्यसैले कम्युनिस्टहरूले कम्युनिस्ट नैतिकता , कम्युनिस्ट आदर्श , , सर्वहारा वर्गीय व्यवहार र कम्युनिस्ट चिन्तन अर्थात् माक्र्सवादी चिन्तन र व्यवहारलाई बचाई राख्नुपर्छ ।
एउटा सच्चा कम्युनिस्टले जनतालाई, कुनै पनि व्यक्तिलाई ठग्नु हुँदैन र अर्काको सम्पत्तिलाई हानि नोक्सानी पुर्‍याउनु हुँदैन । त्यसैले कमरेड माओले “जनताको एक टुक्रा धागो र सियो समेत नलेऊ, सापटी लिएको चिजको पैँचो फिर्ता गर” भन्नुभएको छ ।
सम्पत्तिप्रति मोह भएको , निजी स्वार्थमा लिप्त भएको व्यक्ति कम्युनिस्ट बन्न सक्तैन । यो कुरा माथि पनि भनिएको छ । नेपालका कम्युनिस्ट भनाउदाहरूको कुरा गरौं । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) , नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी ) लगायतका नामधारी कम्युनिस्टहरू कम्युनिस्ट नै होइनन् । उनीहरूको व्यवहारले नै पुष्टि गरिसकेको छ कि उनीहरू संसदीय कम्युनिस्ट हुन् । कम्युनिस्ट पार्टीको नाम राख्दैमा , कम्युनिस्ट पार्टीको झण्डा हल्लाउँदैमा कोही पनि कम्युनिस्ट हुँदैन । माथि पनि प्रस्स्तै भनिएको छ , कम्युनिस्ट हुनलाई त कम्युनिस्ट दर्शन , कम्युनिस्ट विचार – सिध्दान्त र व्यवहार सर्वहारा वर्गीय हुनुपर्छ । आज उनीहरूले यी सबै कुरा परित्याग गरिसकेका छन् । माक्र्सवाद – लेनिनवमद – माओवादीप्रति गध्दारी गरिसकेका छन् । महान् नेपाली क्रान्तिप्रति गध्दारी गरपिसकेका छन् । महान् नेपाली जनताप्रति गध्दारी गरेर धोका दिँदै आएका छन् । र , आज उनीहरू दक्षिणपन्थी संशोधनवादी हुँदै , नवसंशोधनवादी हुँदै प्रतिक्रियावादमा पतन भएर नेपालको प्रतिक्रियावादी सत्ताको नेतृत्व समेत गर्दै आएका छन् । आज उनीहरू दलाल तथा नोकरशाही पुँजीपति वर्गमा परिणत भइसकेका छन् । तर पनि उनीहरूले आफूलाई कम्युनिस्ट भएको प्रचार गरेर नेपाली जनता र विश्व जनताका बीचमा भ्रमको खेती गर्दै आएका छन् ।
यो नेपालको मात्र मामिला होइन, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन भित्रकै समस्या हो । संशोधनवादीहरूले जहाँ कही पनि आफूलाई कम्युनिस्ट भएको बताएर जनतालाई खुलेआम ठगिरहेका छन् । यसबाट सबै सचेत हुन जरुरी छ ।
को को कम्युनिस्ट हुन्, को को कम्युनिस्ट होइनन् भन्ने विषयमा माथि नै व्यापक रूपमा चर्चा गरिएको छ । यो सानो लेखमा सबै कुरा अटाउन सम्भव पनि छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर