काठमाडौँ : दलाल पुँजीवादी सत्ताले आफ्नो रक्षाका लागि गराएको निर्वाचनमा जान पार्टी नै फुटाएका नेत्रविक्रम चन्द विप्लव र खड्गबहादुर विकले आफ्नै वडामा समेत नराम्रो पराजय बेहोरेका छन् भने दुवैजनाले मतदानसमेत गर्न पाएनन् । पार्टीको निर्णयविपरीत केन्द्रीय सदस्यलाई नै पुतली चिह्न लिएर चुनावमा उठाएका विप्लव र प्रकाण्ड दुवैको जिल्लादेखि वडासम्म नराम्रो पराजय भएको छ ।
प्रकाण्डको घर रहेको वडामै उनी निकट कट विक ‘अखडा’ ले २०० मत मात्र प्राप्त गरेका छन् । अरू वडामा पनि कहीँ सात, कतै १० मत मात्र प्राप्त भएको र सर्वसाधारणले उक्त समूहलाई तिरस्कार गरेको देखिएको छ । प्रकाण्डको घर रहेको तत्कालीन गाविस माल्कोटमा उनको समूहका विशाल विकले १२ मत प्राप्त गर्नुले पनि उक्त समूहको शर्मनाक पराजयलाई देखाएको छ ।
पार्टी फुटाएरै चुनावमा गएका नेत्रविक्रम चन्दले पनि आफ्नै घर रहेको कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा समेत शर्मनाक पराजय भोगेका छन् । उक्त वडामा माओवादी केन्द्रका रामगोपाल चौधरी (थारू) ले ७ सय ८२ मत ल्याएर अध्यक्षमा जित हासिल गर्दा पुतली चिह्न पाएका उक्त समूहका मालबहादुर घर्तीमगरले मात्र ५ सय १७ मत प्राप्त गरेका थिए ।
शिवराज नगरपालिकामा विप्लव नेतृत्वको नेकपाबाट भेषराज भुसाल नगर प्रमुख पदमा उम्मेदवार छन् । उनको अवस्था पनि नाजुक छ । विप्लवले त्यस क्षेत्रमा सक्दो शक्ति र स्रोतको प्रयोग गरेको बताइएको छ ।
त्यस्तै कालीकोटको सेरापाटा मतदान केन्द्रमा मतदान गर्न परिवारसहित पुगेका प्रकाण्डले मतदाता नामावलीमा नाउँ नै नभएपछि मत हाल्न पाएनन् । विप्लव पनि त्यसैगरी मत दिन नपाएर फर्किएका थिए ।