स्थानीय चुनाव एक समीक्षा

स्थानीय चुनाव एक समीक्षा

टिप्पणी

भरखरै मात्र स्थानीय निकायको चुनाव सम्पन्न भएको छ । छिटफूट भएका सत्तासम्वद्ध दलहरूको आपसी द्वन्द्वका कारण स्थगित भएका बुँथहरूमा पनि तुरुन्तै चुनाव हुँदैछ । मत गणणा कार्य जारी छ र त्यसको नतिजा पनि आइरहेकै छन् । अब करिब मतगणा कार्य पनि अन्तिम चरणमा जाँदै छ । चुनावी परिणामबाट विजित पार्टी र तिनका नेता कार्यकर्ता हौसिने र पराजित पार्टी र तिनका नेता कार्यकर्ता निरास हुने त मानवीय स्वभावकै कुरो भयो । त्यसका अतिरिक्त पराजित समुहले विजित समुहलाई धोखाधडी, धाँदली, घात प्रतिघात, खरिद बिक्री गरेको, सत्ता शक्तिको दुरूपयोग गरेको आदि इत्यादि आरोप लगाउनु पनि यो कथित लोकतन्त्रको ‘सौन्दर्य’ भित्रै पर्ने कुरा हो । यो चुनावी समीक्षाको अनिवार्य गणितीय शूत्र पनि हो । यसमा चुनावमा सहभागी दलहरूले आश्चर्य मान्नु र प्रतिवाद गर्नु जरुरी पनि छैन । वषौँदेखि यस्तो हुँदै आएको पनि छ । त्यसतर्फ यो स्तम्भकारको चासोको विषय नभएकाले चर्चा गर्नु पनि सान्दर्भिक लागेको छैन । यहाँ अहिलेको चुनावले दिएको नतिजाबाट अब हुने के हो त भन्ने विषयमा सङ्क्षिप्त चर्चा गर्ने जमर्को गरिएको छ ।

यतिखेर मुलतः सत्तासिन पाँच दलको एउटा गठबन्धन र अर्कातर्फ घोषित अघोषित रूपमा एमाले वरिपरिको अर्को गठबन्धन वा मोर्चाका बिचमा चुनावी स्पर्धा भयो । यो गठबन्धन गराइको तौरतरिका, यिनका चुनावी एजेण्डा, जसरी हुन्छ चुनाव जित्ने रणनीतिक चाल र प्राप्त चुनावी परिणामले देशमा दुई दलीयताको अभ्यासतिर जाने सङ्केत नै देखाउँछ । यद्यपि कतिपय सानातिना भनिएका र क्षत्रीय दलहरूले पनि छिटफुट रूपमा चुनाव जितेका छन् । तथापि चुनावको मुख्य परिवेस भने काङ्ग्रेस, एमाले र माओवादी केन्द्र (माके) कै वरिपरि केन्द्रित रहेको छ । यी संसदमा प्रतिनिधित्व गर्ने प्रमुख तीन दलहरूकै वरिपरि गोलचक्कर काट्नेमा नेकपा एस, जसपा, तमलोपा, राजमो, नेमकिपा, राप्रपा, लगायतका संसदमा प्रतिनिधित्व गर्ने दलहरू र अन्तिममा आएको विप्लव नेतृत्वको नेकपा समेत रहेका छन् । तर यी साना दलहरू क्रमशः अस्तिव सङ्कटबाट गुज्रँदै छन् र यही व्यवस्था रही रहे पनि यी साना दलहरू अवका केही चुनावहरू पछि मैदानबाटै अस्तित्व लोप भएर जाने दिशातिरै देखिन्छन् ।

नेपालको संसदीय व्यवस्थाका दुईवटा प्रवृत्ति बढो अचम्मका छन् । एउटा दल खोल्ने प्रवृति र अर्को पार्टीका नाम विभिन्न किसिमका राखेता पनि तिनले चुनाव जित्न अपनाउने हतकण्डा सबैको एउटै हुनु । यहाँ संसदमा प्रतिनिधित्व गर्ने दलहरूमा काङ्ग्रेस, कम्युनिस्ट, राप्रपा, वा अन्य क्षेत्रीयतावादी दलहरू वा बर्खामा उम्रिने झरीच्याउ भन्दा बग्रेल्ती उम्रिएका टोले पार्टी, कोठे पार्टी, झोले पार्टी यी कसैको पनि मुलभुत चरित्र, लक्ष्य, उद्देश्य, नीति, विचार, दर्शन, मूल्य–मान्यता र काम गर्ने तौरतरिकामा रौँ बराबर पनि अन्तर देखिँदैन । परन्तु जनतामा भने काङ्ग्रेस, कम्युनिस्ट (त्यसमा पनि एमाले, माके, वा अरू कुनै), राप्रपा र क्षत्रीयतावादी दलहरूमा ठूलो भिन्नता छ जस्तो भ्रम पैदा भइरहेको छ । यी संसदवादी दलहरूले स्वीकार गरेको र यिनीहरूले सञ्चालन गर्ने यही संविधानले तोकेको व्यवस्था भएकाले चुनावमा यी कुनै दलले जिते पनि जनतामा खास फरक अनुभूति हुने होइन र सत्ता सञ्चालनमा फरक पर्ने पनि होइन । तसर्थ अहिलेको चुनावले कुनै आकास पाताल हल्लाउने परिवर्तन हुने केही छैन । यो त आगामी पाँच वर्षका लागि राज्य दोहन गर्ने अधिकार कुन दल, कुन गुट र व्यक्तिले पायो भन्ने कुरा मात्रै हो ।

यसपाली २०७४ को तुलनामा मत कम खसेको देखिन्छ । अर्कातर्फ दलहरूप्रति जनताको मोह भङ्ग हुँदा पनि कुनैलाई त भोट दिनै प¥यो भनेर भोट हालेको देखिन्छ । तर भोट हाल्दा पनि खासै उत्साह भने देखिँदैन । अझ काठमाडौंको कुरा गर्ने हो भने त एकजना स्वतन्त्र युवाप्रति गएको जनमत र मत गणणा स्थलमा उनका फ्यानहरूको दिनहुँको जयजयकारले सत्तासिन राजनीतिक दलहरूप्रति जनताको तीव्र घृणा र वितृष्णा पैदा भएको देखिन्छ । यसले दुईवटा कुराको सङ्केत गर्छ । पहिलो सत्तासीन कथित ठूला पार्टीहरूप्रति जनताको मोहभङ्ग हुँदै जानु र दोस्रो समयानुकुलको आधुनिक ज्ञान चेतना भएको युवाको आवश्यकता छ भन्ने सन्देश दिनु । यो दुई कुराको सङ्केत बाहेक अदृश्य शक्तिबाट परिचालित खेल हो भने त केही समयपछि त्यसको पटाक्षप हुने नै छ । परन्तु जसरी युवाहरू र केही प्रौढहरूलाई स्वतन्त्र पात्रले आकर्षण गरेका छन् त्यसमा आकर्षित जनतालाई दोष देखाउने ठाउँ भने देखिँदैन । जे होस् पञ्चायतको अन्त्यपछि आएको बहुदलीय व्यवस्थादेखि जनयुद्धको बलले राजतन्त्र समाप्त पारेर प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्रले पनि जनताको मन तान्न सकेन । बरू यी दल र तिनका नेताहरूप्रति नै जनतामा तीव्र घृणा, आक्रोस पैदा हुनु स्वयम् लोकतन्त्र र गणतन्त्रका हिमायतीहरूका निम्ति सुखद कुरा होइन ।

यहाँ चर्चा गर्नु पर्ने अर्को कुरा के हो भने दलहरूले चुनावमा देखाएको रबैया । २०६३को शान्ति वार्तापछि माओवादी नेतृत्वले खेलेको द्वेध चरित्रका कारण खस्कँदै गएको संसदवादी माओवादी धारालाई टेकोपुरो लाउन जसरी गठबन्धनको आवश्यकता प¥यो त्यसले आफैँले अङ्गिकार गरेको मूल्य, नीति र नैतिकता पनि स्खलन भएर नाङ्गो रूपमा उभ्याइदियो । अलि अलि बचेखुचेको कम्युनिस्ट आवरण पनि भग्नावशेष घरको भित्तामा लागेको सियाली जस्तो रङ्गहीन र कान्तीहीन तुल्याइदियो । सत्ता प्राप्तिका लागि । मात्र सत्ता प्राप्तिका लागि र सीट सङ्ख्या बढाउनका लागि जस्तोसुकै मूल्य विघटनको राजनीति गर्ने बनायो । अब जनतालाई काङ्ग्रेस, कम्युनिस्ट, राप्रपा वा क्षेत्रीयतावादी दलहरूका बिचमा फरक पहिचान खोज्न नपर्ने अवस्था अहिलेको गठबन्धनीय रणनीतिले सिर्जना गरिदियो । काङ्ग्रेस वर्ग दुश्मनको पहिलो शक्ति भनेर त्यसका विरुद्ध जनयुद्ध गरेका माओवादी केन्द्र र अहिले पनि राजीनितक कार्यदिशा नयाँ जनवादी क्रान्ति र फौजी कार्यदीशा दीर्घकालिन जनयुद्ध भनेर दस्तावेजमा किटान गरेको मसाल समेत काङ्ग्रेसलाई परम वर्गमित्र ठान्दै त्यसको पुच्छर समाएर वैतरणी तर्नुपर्ने अवस्थामा पुगे । सिद्धान्तमा लोकतान्त्रिक गण्तन्त्र स्वीकार गर्ने तर व्यवहारमा भने त्यसको रौं बराबर पनि चरित्र देखाउन नसक्ने संसदवादी दलहरूले चुनावलाई नित्तान्त लुटको स्वर्गमा पुग्ने भ¥याङ मात्र बनाए । लिगलिगे दौडमा गरिएको घातलाई चुनाव जित्ने अचूक शूत्रको रूपमा प्रयोग गरे । गजवको कुरा त के छ भने सत्तासिन दलहरूले प्रतिगामी शक्ति उदाउने भयो भनेर गठबन्धनमा जानु परेको भनिरहेका छन् र त्यो प्रतिगामी शक्ति भनेको एमाले पार्टीलाई किटान गरेका छन् । उता एमालेले पनि केही स्थानहरूमा निरङ्कुशतावादी शक्तिलाई पराजित गर्न भन्दै राप्रपा र पृथकतावादी दलहरूसँग गठबन्धन गर्न पुगेको छ । यी दुवैले एकअर्कालाई प्रतिगामी भनिरहँदा अग्रगामी चरित्र कसैले पनि देखाउन सकेका छैनन् । अझ अर्को प्रहसन त के भएको छ भने केन्द्रीय पार्टीहरूले गरेका गठबन्धनका दलहरूकै बिचमा द्वन्द्व भएर कतिपय गाउँमा त फरक फरक गठबन्धन पनि गरेका छन् । काङ्ग्रेस–एमाले–माके–राप्रपा–एस–जसपा–राजमो–विप्लव, यी दलहरूको चक्र बनेको छ । कुन स्थानमा कसलाई पछार्न को को शक्ति मिल्ने भन्ने कुराको कुनै अन्तर देखिएन । यो चक्र घडिको सुइले चक्कर लगाएर घुमेझैँ कुन अङ्कमा गएर कतै दुईवटा कतै तीनवटा सुई खप्टिए जस्तै गरी गठबन्धन गरेको देखियो ।

यसरी हरेक स्थानीय इकाइहरूमा कहाँ को शक्तिमा छ त्यसलाई पछार्न बाँकी दलहरू मिलेर लडेको देखियो । मिलेका ठाउँहरूमा पनि घात गर्दा बलियोले कमजोरलाई घात गर्नमा कोही पछि परेनन् । छिमेकी देश भारतमा पनि गठबन्धन गर्दा विचार, नीति कार्यक्रममा समता भएकाहरूका बिचमा गरेको देखिन्छ तर नेपालमा त्यो पनि भएन । सबैले सबैसँग गर्ने र सबैले एउटालाई पछार्न बाँकीले गर्ने यस्तो चरित्र देखियो । यो गठबन्धनीय तरिकाले के जनाउँछ भने यी दलहरू कोही पनि जनता र राष्ट्रको हितमा छैनन् केवल आफ्नो स्वार्थमा लिसो टाँसिएझैँ टाँसिएका छन् भन्ने कुरा नै पुष्टि हुन्छ । र, यो गठबन्धन माके र काङ्ग्रेसले भनेझैँ १५÷२० वर्ष जान्छ भन्ने पनि कुनै ग्यारेन्टी छैन । तुरुन्तै समिकरण बदलिएर आगामी संसदको चुनावसम्म जाँदा एकअर्काले आज लगाएका प्रतिगामी शक्तिका आरोप चर्खे पिङको पिर्का तलमाथि परेझैँ बदलिएर अर्को गठबन्धन बन्न पनि सक्छ । २०७४ कै चुनाव पनि त्यसको ज्वलन्त साछी छ ।