पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै चार विद्यार्थी संगठनले निगमकै गेटमा गरे विरोध प्रदर्शन (फोटोफिचर)

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै चार विद्यार्थी संगठनले निगमकै गेटमा गरे विरोध प्रदर्शन (फोटोफिचर)

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी निकट वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, नेकपा (विप्लव) निकट अखिल (क्रान्तिकारी) र अनेरास्ववियु (पाँचौं)को संयुक्त आयोजनामा पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिका विरुद्धमा विरोधसभाको आयोजना गरिएको छ ।


नेपाल आयल निगमको कार्यालय टेकु परिसरमा गरिएको विरोधसभालाई अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, वैज्ञानिक समाजवादी विद्यार्थी संगठनकी संयोजक राजेश्वरी सुवेदी, अखिल क्रान्तिकारीका सचिवालय सदस्य नवराज भट्टले विरोध मन्तव्य राख्नुभएको थियो । विरोधसभाको सञ्चालन अनेरास्ववियु (पाँचौं)का कोषाध्यक्ष नवीन गिरीले गर्नुभएको थियो ।


आज ५८ औं विद्यार्थी एकता दिवस पनि भएकोले सो कार्यक्रममा विद्यार्थी नेताहरुले शुभकामना आदान प्रदान समेत गरेका थिए ।


पेट्रोलियम पदार्थको मूल्यमा पटक पटक वृद्धि गरेर दैनिक उपभोग्य वस्तुको अत्यधिक मूल्यवृद्धि हुन थालेपछि अखिल (क्रान्तिकारी)का अध्यक्ष गजुरेलले हिजो बेलुका वक्तव्य जारी गरेर संघर्षमा उत्रन आव्हान समेत गर्नुभएको थियो । गजुरेलले कथित स्थानीय तहको निर्वाचन भए लगत्तै (नतिजा नआउँदै) निर्वाचनमा भएको खर्चको असुल उपर गर्न यसरी मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको बताउनु भयो ।
कार्यक्रममा सयौंको संख्यामा चार संगठनका विद्यार्थी नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।