
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी निकट वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, नेकपा (विप्लव) निकट अखिल (क्रान्तिकारी) र अनेरास्ववियु (पाँचौं)को संयुक्त आयोजनामा पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिका विरुद्धमा विरोधसभाको आयोजना गरिएको छ ।
नेपाल आयल निगमको कार्यालय टेकु परिसरमा गरिएको विरोधसभालाई अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, वैज्ञानिक समाजवादी विद्यार्थी संगठनकी संयोजक राजेश्वरी सुवेदी, अखिल क्रान्तिकारीका सचिवालय सदस्य नवराज भट्टले विरोध मन्तव्य राख्नुभएको थियो । विरोधसभाको सञ्चालन अनेरास्ववियु (पाँचौं)का कोषाध्यक्ष नवीन गिरीले गर्नुभएको थियो ।

आज ५८ औं विद्यार्थी एकता दिवस पनि भएकोले सो कार्यक्रममा विद्यार्थी नेताहरुले शुभकामना आदान प्रदान समेत गरेका थिए ।
पेट्रोलियम पदार्थको मूल्यमा पटक पटक वृद्धि गरेर दैनिक उपभोग्य वस्तुको अत्यधिक मूल्यवृद्धि हुन थालेपछि अखिल (क्रान्तिकारी)का अध्यक्ष गजुरेलले हिजो बेलुका वक्तव्य जारी गरेर संघर्षमा उत्रन आव्हान समेत गर्नुभएको थियो । गजुरेलले कथित स्थानीय तहको निर्वाचन भए लगत्तै (नतिजा नआउँदै) निर्वाचनमा भएको खर्चको असुल उपर गर्न यसरी मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको बताउनु भयो ।
कार्यक्रममा सयौंको संख्यामा चार संगठनका विद्यार्थी नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।