झण्डा देखाएर हँसिया हथौडाको
मजदूर किसानहरूलाई
युगौं डोर्याए तिनीहरूले
हरियो प्लास्टिक देखाएर
जसरी डोर्याइन्छ खसीलाई
र पुर्याइन्छ मार हान्ने ठाउँसम्म ।
लाल सलाम भन्दै मुठ्ठी कसेर
वर्षौं भुल्याए तिनीहरूले
हाम्रा सपना
हाम्रा जवानी
हाम्रो सर्वस्व लुटे
जसरी
साधुको भेषमा हिड्ने चोरले
दिनभर घरको निगरानी गर्छ
र रात परेपछि चोरी गर्छ
तिनीहरूले
त्योभन्दा खराव तरिकाले लुटे ।
कमरेड भनी भनी कन्याए हामीलाई
हामी सञ्चो मानी मानी बस्यौं
हामी आराम गरेर सुत्यौं
निद्राबाट ब्युँझदा
हामी दुखको अझ गहिरो खाडलमा थियौं
उनीहरू सुखको स्वर्गमा थिए ।
कमरेड अर्थात साथी
सबैभन्दा नजिकको साथी
सबैभन्दा घनिस्ट साथी
एक मुटु एक प्राण
नङ्ग र मासु
माछी र पानी
यस्तै यस्तै भनेर सिकाए हामीलाई
हामीले हो भनेर विश्वास गर्यौं
हाम्रो सोझो पनको फाइदा उठाएर
तिनीहरूले बेइमानी गरे
तिनीहरूले जालझेल गरे
तिनीहरूले ठगी गरे ।
धेरै पछि थाहा भयो
दुश्मन बनेर जित्न नसकिएको लडाइँ
मित्र बनेर जित्न सकिने रहेछ
चोर जस्तै बनेर गर्न नसकिएको चोरी
साधुको भेषमा गर्न सकिने रहेछ
हामीलाई ठग्न
रातो झण्डा
लालसलाम
र कमरेड नै काफी भए ।
हिजो आज समाजमा
सबैभन्दा बढी ठगी
पसल थापेर बस्ने
व्यापारीहरूले गरिरहेका छैनन्
झण्डा बोकेर हिड्नेहरूले गरिरहेका छन् ।
हिजो आज राजनीति
सबैभन्दा ठूलो सामाजिक ठगी
र राजनीतिकर्मीहरू
सबैभन्दा ठूला सामाजिक ठग बनेका छन ।
२०७९ वैसाख १९
माइतीघर

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर