
कुनै पनि क्रान्तिकारी कम्युनिस्ट पार्टीले कार्यनीतिका रुपमा निर्वाचनको उपयोग वा बहिष्कार दुवै गर्न सक्छ । यी दुई मध्ये कुन कार्यनीति उपयुक्त हुन्छ भन्ने कुरा तत्कालको वस्तुगत परिस्थितिमा निर्भर गर्दछ । यो ठोस परिस्थितिको ठोस विश्लेषणका आधारमा निर्धारण गरिने विषय हो । तर कम्युनिस्ट आन्दोलनमा कुन परिस्थितिमा उपयोग गर्ने र कुन परिस्थितिमा बहिष्कार गर्ने भन्ने विषयमा फरक–फरक धारणा, चिन्तन र तर्कहरु आउने गर्दछन् । यसमा हामी प्रस्ट हुनु जरुरी छ । तत्कालको परिस्थितिमा उपयोग वा बहिष्कार जे गर्दा पार्टी र क्रान्तिलाई फाइदा हुन्छ त्यही सही कार्यनीति हो । यसबारे निम्नानुसार मुख्यत: दुईथरि गलत चिन्तनबाट बच्नु पर्दछ ।
कम्युनिस्ट आन्दोलनमा चुनाव बहिष्कारको कार्यनीतिलाई क्रान्तिकारी र उपयोगलाई सुधारवादी देख्ने एउटा चिन्तन पाइन्छ । यो चिन्तन गलत हो । कुनै परिस्थितिमा उपयोग क्रान्तिको हितमा र बहिष्कार अहितमा हुन सक्छ । फेरि, अर्को परिस्थितिमा बहिष्कार क्रान्तिको हितमा र उपयोग अहितमा हुन सक्छ । यो तत्कालको परिस्थितिमा भर पर्ने कुरा हो । निरपेक्ष रुपमा यो गलत र त्यो सही भन्ने हुँदैन । परिस्थिति छिन–छिनमा बदलिन सक्ने हुनाले पार्टीको कार्यनीति पनि तदनुसार बदलिरहनु पर्ने हुन्छ । यसै कारण लेनिनले कार्यनीति २४ घण्टामा बदलिन सक्छ भन्नु भएको हो । कार्यनीति निर्धारण गर्दा पार्टीले यो विषयमा जोड दिनु आवश्यक छ ।
कसैले के तर्क गरेको पाइन्छ भने पार्टी र आन्दोलन कमजोर हुँदा निर्वाचनको उपयोग गर्नु पर्छ र निर्वाचन विथोल्न सक्ने शक्ति आर्जन भए पछि बहिष्कारको कार्यनीति उपयुक्त हुन्छ । यो कुनै सैद्धान्तिक तर्क होइन । यो यान्त्रिक, व्यवहारवादी र रुढिवादी तर्क हो । यो तर्कले निर्वाचन उपयोग वा बहिष्कारको प्रश्न रणनीतिक हो कार्यनीतिक होइन भन्ने मान्यता तिर लैजान्छ । उपयोग वा बहिष्कार के उपयुक्त हुन्छ भन्ने कुरा पार्टीको आत्मगत शक्तिका आधारमा निर्धारण गरिने विषय होइन । यो तत्कालीन वस्तुगत परिस्थितिमा भर पर्ने कुरा हो । कम्युनिस्ट पार्टी रणनीतिमा दृढ रहेर कार्यनीतिमा परिस्थिति अनुसार लचक हुन सिपालु हुनु पर्दछ ।
गत चैत्रमा बसेको हाम्रो पार्टीको केन्द्रीय समितिको बैठकले आगामी वैशाख ३० गते हुने भनिएको स्थानीय निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ । कार्यनीति रणनीतिको एउटा अंश हो र त्यसले रणनीतिको सेवा गर्नु पर्दछ । कुनै खास सन्दर्भमा उपयोग वा बहिष्कार जे गर्दा रणनीतिक उद्देश्य प्रप्तिका निमित्त बढी सहयोगी हुन्छ त्यो बेला त्यही कार्यनीत सही हुन्छ । हामीले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा निर्वाचनलाई उपयोग र बहिष्कार दुवै गरेको पाउँछौं । रुसमा लेनिनले निर्वाचन बहिष्कार र उपयोग दुवै गर्नु भएको छ । हामीले पनि विगतमा निर्वाचनको उपयोग र बहिष्कार दुवै गर्दै आएका छौं । यो कुनै सैद्धान्तिक विषय होइन । यस पटकको निर्वाचनलाई बहिष्कार गर्न उपयुक्त हुने पार्टीको निष्कर्ष पछाडिका आधार निम्नानुसार रहेका छन् ।
एक, कथित दोस्रो संविधान सभाबाट बनेको संविधान पछि पनि पुरानो दलाल तथा नोकरशाही पुँजीपति र सामन्त वर्गीय सत्तामा कुनै परिवर्तन भएको छैन । यो सङ्घीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गत हुने कुनै निर्वाचित निकायबाट पनि देश र जनताका समस्याहरु समाधान हुन नसक्ने कुरा छर्लङ्ग भइसकेको छ । सङ्घीय सरकारले गरेको राष्ट्रघात तथा जनघात र स्थानीय निकायहरुले गरेको करबृद्धि तथा डोजर आतङ्क जस्ता क्रियाकलापले जनता विक्षिप्त भएका छन् । सत्ता र व्यवस्था प्रतिको जनताको वितृष्णा बढेर गएको छ । यो स्थितिमा निर्वाचनको उपयोग भन्दा बहिष्कार गरेर नै वैकल्पिक सत्ता स्थापनाको तयारीमा जनतालाई गोलबन्द गर्न सकिने संभावना बढी हुन्छ ।
दुई, वर्तमान संसदीय व्यवस्थामा सामान्य लोकतान्त्रिक अधिकारहरु पनि खोसिँदै गएका छन् । प्रतिक्रियावादी सत्ता झन झन जनविरोधी र फासीवादी हुँदै गइरहेको छ । अर्कोतिर, संसदीय राजनीति गर्नुको उद्देश्य देश र जनताको हितमा काम गर्नका निम्ति नभएर गुटीय स्वार्थ पुरा गर्नका लागि जसरी पनि सरकारमा पुग्ने हुन गएको छ । यो स्थितिमा निर्वाचनलाई उपयोग गर्ने कार्यनीतिले संसदवादी पार्टीहरु र क्रान्तिकारी पार्टीका बीचको गुणात्मक अन्तर ओझेलमा पर्न गई जनताले सबैलाई उस्तै उस्तै देख्ने स्थिति पैदा हुन जान्छ । तसर्थ पार्टीको क्रान्तिकारी चिनारीलाई जनताका बीचमा स्थापित गर्नका लागि निर्वाचनको बहिष्कार मार्फत् सत्ता र व्यवस्थाको भण्डाफोर गर्ने कार्यनीति नै उपयुक्त कार्यनीति हुन्छ ।
तीन, नेपालमा संसदवादी पार्टीका बीचका भिन्नताहरु केबल नाममा सीमित हुन पुगेका छन् । उपभोक्तावादले सबैमा गहिरो जरा गाडेको छ । जसरी पनि सरकारी निकायमा पुग्ने र सत्ताको उपभोग गर्ने उपभोक्तवादी चिन्तनका कारण संसदवादी पार्टीहरुका बीचमा रहेका वैचारिक तथा राजनीतिका अन्तरहरु क्रमश: मेटिँदै गएका छन् । विचार, आदर्श र कार्यक्रमका आधारमा हुने राजनीतिक प्रतिस्पर्धाको ठाउँँ सत्तास्वार्थका लागि गरिने विजातीय गठबन्धनले लिन थालेको छ । केन्द्रीय स्तरमा बनेका नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी तथा जनमोर्चा जस्ता विपरीतधर्मी पार्टीहरुका बीचको पाँच दलीय गठबन्धन र त्यसको प्रतिरोध गर्न एमाले, राप्रपा र नेकपा विप्लव जस्ता पार्टीहरुबाट बन्ने स्थानीय गठबन्धनले यही कुरा दर्शाउँछ । यो स्थितिमा विचार र आदर्शको राजनीतिलाई स्थापित गर्नका लागि स्वतन्त्र चिनारी सहित सत्ता र व्यवस्थाको भण्डाफोर गर्न बहिष्कारको कार्यनीति नै सही हुन्छ ।
चार, नेपालमा सत्ताको दुरुपयोग र आर्थिक चलखेल निर्वाचन जित्ने प्रमुख आधार बन्न गएको छ । तसर्थ दलाल, भ्रष्ट नोकरशाह, सामन्त, ठेकेदार र गुण्डाहरुले मात्र निर्वाचन लड्न सक्ने र जित्ने भएका छन् । राजनीति देश र जनताको सेवाका लागि नभएर सत्ताको दुरुपयोग गरी छिटो पैसा कमाउने व्यवसाय बन्न गएको छ । आर्थिक अवस्था कमजोर भएका इमान्दार राजनीतिक कर्मीका लागि जुनसुकै तहको निर्वाचन पनि आकासको फल जस्तो भएको छ । निर्वाचन स्वच्छ र धाँधलीरहित हुने र जनपक्षीय उमेदवारले जित्ने संभावना छैन । अर्कोतिर चुनाव जित्ने उद्देश्य राखेर तालमेल गर्ने हो भने सत्ता र व्यवस्थाको भण्डाफोर कमजोर हुन गई पार्टीको क्रान्तिकारी चिनारी नै गुम्ने खतरा रहन्छ । यस्तो स्थितिमा निर्वाचनको बहिष्कार नै उपयुक्त कार्यनीति हुन्छ ।
पाँच, प्रतिक्रियावादी सत्ताका तीनओटै अङ्गहरु : कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सबै असफल सावित हुँदै गएका छन् र नोकरशाही राज्य संयन्त्रको बलमा मात्र सत्ता र व्यवस्था टिकेको छ । जनता विकल्पको खोजीमा छन् । जनताले विकल्प खोजेको बेलामा पार्टीले यही सत्ताभित्र हुने र्विाचनको उपयोगलाई कार्यनीतिका रुपमा पेस गर्नु सही कदम हुँदैन । सत्ता र व्यवस्थाको विकल्पका रुपमा सङ्घीय जनगणतन्त्र नेपाललाई प्रस्तुत गर्ने र त्यसका लागि वर्ग सङ्घर्षको उठान गनुपर्ने स्थितिमा चुनाव उपयोग गर्ने कार्यनीतिले जनतामा झन भ्रम पर्न जाने संभावना रहन्छ । तसर्थ यस प्रकारको परिस्थितिमा बहिष्कार नै सही कार्यनीति हुने देखिन्छ ।
छ, नेपालमा कम्युनिस्ट जनताको बाहुल्य छ, देशैभरि कम्युनिस्ट छन् । तर कम्युनिस्ट आन्दोलन अत्यन्त कमजोर छ । यो एउटा विडम्बना हो । साम्राज्यवाद र विस्तारवादका दलाल नक्कली कम्युनिस्ट पार्टीहरुले निर्वाचनको माध्यमबाट समाजवादमा जानका लागि नेपालको सम्विधानले बाटो खोलेको छ भन्ने भ्रम दिइरहेका छन् । क्रान्तिकारी पार्टीले यो भ्रमबाट जनतालाई जति छिटो मुक्त गर्न सक्छ नेपाली क्रान्ति त्यति नै नजिक आउँछ । यो स्थितिमा गरिने उपयोगले नक्कली कम्युनिस्टले छरेको भ्रम सफा गर्नतिर होइन उल्टो अरु भ्रम थप्ने काम गर्छ । यसकारण वर्तमान सन्दर्भमा निर्वाचन बहिष्कार नै उपयुक्त कार्यनीति हो ।
सात, स्थानीय निकायहरु पनि साम्राज्यवादका नवउदारवादी नीतिलाई जनताको घरदैलो सम्म पुर्याउने प्रतिक्रियावादी सत्ताका इकाइहरु हुन् । इमान्दारी पूर्वक काम गरे पनि त्यहाँ कार्यान्वयन हुने योजना देश र जनताका हितमा हुदैनन् । इमान्दार भएर साम्राज्यवादी नीति लागुगर्नु सारत: यथास्थितिलाई मलजल गर्नु जस्तो हुन्छ । त्यसकारण पनि बहिष्कार उपयुक्त कार्यनीति हो ।
आठ, प्रतिक्रियावादी शासक वर्गले सङ्घीयता मार्फत् सिंहदरवारको अधिकार तलसम्म पुगेको भनी जनतालाई भ्रम दिइरहेका छन् । यो पुरै गलत हो । अझै पनि सबै अधिकार केन्द्र मै रहेको छ र सङ्घीयता केवल नाम मात्रको छ । बनजङगल, जडीबुटी, नदीनाला, जमिन, खनिज, विकास–निर्माण प्राकृतिक स्रोत–साधन आदिमा स्थानीय जनताको कुनै अधिकार छैन । सिंहदरवारबाट स्थानीय निकायसम्म पुगेको भनेको जनताको अधिकार होइन, भ्रष्टाचार हो । यसको भण्डाफोर गर्न र स्थानीय स्रोत–साधनमा जनताको अधिकार स्थापित गराउने सङ्घर्ष उठाउनका लागि पनि उपयोग भन्दा बहिष्कार नै उपयुक्त कार्यनीति हुन्छ ।
नौ, राष्ट्रिय स्वाधीनताको रक्षाको प्रश्न गम्भीर बन्दै गएको छ । राष्ट्रघाती एमसीसी संसदबाट पारित गरिएको छ र लिम्पियाधुरा, कालापानी तथा लिपुलेक सहित देशका विभिन्न भागमा भारतीय विस्तारवादद्वारा गरिएको अतिक्रमणका विरुद्ध संसदवादी शासकहरु चुँसम्म बोलेका छैनन् । यस्ता राष्ट्रघाती दलालहरुको विरोध तथा भण्डाफोर गर्न र तिनलाई जनताबाट अलग्याउन उपयोगबाट भन्दा बहिष्कारबाट नै बढी संभव हुन्छ ।
दश, एउटा सन्दर्भमा माओले भन्नु भएको थियो — ज्वारका विरुद्ध जानु माक्र्सवादी–लेनिनवादी सिद्धान्त हो । जनताका सबै समस्याहरु निर्वाचनले हल गर्छ भनेर यतिबेला प्रतिक्रियावादीहरुले भन्ने भ्रम दिइरहेका छन् र जनता अलमलमा परेका छन् । प्रतिक्रियावादी सत्ताले राज्यका सबै साधन स्रोतहरु प्रयोग गरेर चुनावको पक्षमा एउटा ठुलो माहोल अर्थात् माओको शव्दमा ठुलो ज्वार उठाउन कोशिस गर्दैछ । यही भ्रमका कारण उठने निर्वाचनको ज्वारका विरुद्ध जानु यतिबेला क्रान्तिकारी कदम हुन्छ । यो भनेको निर्वाचनको बहिष्कार नै हो ।
प्रतिक्रियावादी निर्वाचनको उपयोग वा बहिष्कार के गर्ने भन्ने कार्यनीतिको कुरा गर्दा पार्टीमा प्रायश: हिजो लेनिनले प्रयोग गर्नु भएका तर्कहरु नै अगाडि आउने गर्छन् । लेनिनले उपयोग वा बहिष्कारका सन्दर्भमा जवर्जस्त तर्कहरु दिनु भएको छ, र ती दुवैथरि तर्कहरु आफ्ना ठाउँमा सही छन् । यहाँ ती तर्कमा प्रश्न उठाउन खोजिएको होइन । तर, हेक्का राख्नुपर्ने कुरा के हो भने ती तर्कहरु आज भन्दा एकसय वर्ष अगाडिको परिस्थिति सापेक्ष छन् र यो बीचमा विश्वको अर्थ–राजनीतिक परिस्थितिमा थुपै्र परिवर्तन भएको छ । निर्वाचनको उपयोग वा बहिष्कारको कार्यनीतिबारे निर्णय लिँदा नयाँ परिस्थितिमा विकास भएका सन्दर्भलाई जोडेर बहिष्कार वा उपयोगको कार्यनीतिको विकासमा आवश्यक ध्यान पुर्याउनु पर्दछ । लेनिनका तर्कहरुबाट उपयोग वा बहिष्कारको औचित्य पुष्टि गर्न खोज्ने र विकसित नयाँ सन्दर्भमा आवश्यक ध्यान नदिने कुराले क्रान्तिकारीलाई यान्त्रिक र रुढीवादी बनाउने खतरा रहन्छ । यहाँ पनि लेनिनले भनेकै कुरालाई राम्रो गरी आत्मसात गर्न जरुरी छ । त्यो हो : ठोस परिस्थितिको ठोस विश्लेषण । यहाँ भन्न खोजिएको के हो भने विद्यमान परिस्थितिको वस्तुवादी विश्लेषणका आधारमा निर्वाचनको बहिष्कार वा उपयोगका विधिहरुलाई पनि विकास गर्नु जरुरी छ ।
ठीक यसै सन्दर्भमा हालै अनलाइन पत्रिका मूलबाटोमा प्रकाशित स्थानीय निर्वाचनको बहिष्कार : अर्थ र औचित्य शीर्षक दिइएको रचनामा हाम्रो पार्टीका महासचिव कमरेड किरणले एउटा गम्भीर प्रश्न उठाउनु भएको छ । उहाँ भन्नुुहुन्छ, “पुरानो राज्यसत्ता र व्यवस्था अन्तर्गत नियमित रुपमा हुने निर्वाचनहरुमा प्रायश: जनताले कहिले नेपाली कांग्रेस, कहिले संशोधनवादी कम्युनिस्ट, कहिले कुनै अवसरवादी वा भ्रष्ट तत्वहरुलाई भोट हाल्ने र जिताउने काम गर्दै आएका छन् । यो चक्र पुरानै र नयाँ ढङ्गले पनि निरन्तर दोहोरिने गरेको छ । जसले जिते पनि मूलत: उस्तै, जनताका लागि उपलब्धि भने हात लाग्यो शून्य । न भोट दिन्न भन्ने अर्थात् “नो भोट” को व्यवस्था छ, न त जिताइएको उमेदवारले गलत काम गरे उसलाई प्रत्याह्वान गर्न पाउने अधिकार छ । अनि नत मन परेका मान्छेहरुलाई जिताउन सक्ने अवस्था र परिस्थिति नै छ । चुनाव जित्न फर्जी मत हाल्ने र त्यसले पनि नपुुगे मतपत्र च्यातेर भए पनि चुनाव जित्ने गरेको हामीले देखेका छौं । यसरी बारम्बार दोहोरिइ रहने यो चुनावी चक्र र चक्रब्यूहमा क्रमभङ्ग कहिले र कसरी हुने हो ? यो वर्तमान नेपाली राजनीतिको एक सर्वाधिक महत्वको गम्भीर प्रश्न हो ।” यहाँ कमरेड महासचिवले निर्वाचनको चक्रब्यूहबाट उम्किने एकमात्र बाटो नयाँ जनवादी क्रान्तिको सफलताका लागि समग्र कार्यदिशा सहित निर्वाचन सम्बन्धी कार्यनीतिको पनि विकास गर्नु आवश्यक भएको छ भन्ने तर्फ सङ्केत गर्नु भएको छ । यो कुरा सही हो ।
हाम्रो पार्टीले विगतमा निर्वाचनको उपयोग र भण्डाफोर दुवै गर्दै आएको छ । अहिले हामीले निर्वाचनको बहिष्कार गर्ने नीति लिएका छौं । यो सही छ । तर, परिस्थितिले माग गरे अनुसार अपनाइने चुनावी कार्यनीति निरन्तरको चुनावी चक्र र चक्रव्यूहलाई तोडने र चुनावी निरन्तरतामा क्रमभङ्ग गर्ने उद्देश्य र योजनामा आधारित हुनु पर्दछ । स्थानीय निर्वाचन बहिष्कार गर्ने पार्टीको वर्तमान नीति यही दिशातर्फ उन्मुख छ ।
वैशाख १४, २०७८
