विषयको प्रस्तुति ः
गत २०२२ फेबुु्रअरी २४ का दिन रुसी सेनाले एउटा स्वाधीन र सार्वभौम मुलुक युक्रेनमाथि सैन्य आक्रमण गरेदेखि त्यहाँ आजसम्म भीषण युद्ध जारी छ । किएभ, खार्किभ, मारियुपोल लगायतका शहरहरु तहस–नहस भएका छन् । दुवैतर्फ ठुलो संख्यामा सैनिक, गैरसैनिक तथा भौतिक संरचनामा क्षति भएको खबर छ । सैन्य संरचनाहरु मात्र होइन, स्कुल, अस्पताल तथा थिएटर हल जस्ता सार्वजनिक संरचनाहरु पनि मिसाइल आक्रमणको निशानामा परेका छन् । करिब एक करोडको आसपासमा युक्रेनी नागरिकहरु शरणार्थीका रुपमा छिमेकी देशहरुमा पलायन भएको खबर छ । कतिपय मानिसहरुले युक्रेनबाट तेस्रो विश्वयुद्धको सुरुआत भइसकेको चर्चा गर्न थालेका छन् ।
तत्कालका दृष्टिले युक्रेनमाथिको रुसी सैन्य आक्रमण अन्यायपूर्ण छ । यसमा कुनै विवाद छैन । तर, युक्रेनमाथि रुसी आक्रमणका पछाडिको मूल कारण नबुझी एकपक्षीय रुपमा रुसको मात्र विरोध गर्ने कुराले उक्त समस्याको गहिराइ फेला पार्न सक्दैन र त्यो अवस्तुवादी निष्कर्ष हुन पुग्दछ । सतहबाट हेर्दा वर्तमान युद्ध रुस र युक्रेनका बीचमा भएको छ, तर अन्तर्य यसको भिन्न छ । अमेरिकी साम्राज्यवादको भूमिकालाई नबुझी यस युद्धबारे सही निष्कर्षमा पुग्न सकिँदैन । सारतः यो रुसी र अमेरिकी साम्राज्यवादका बीचको अन्तर्विरोधको परिणाम हो । यो लेख यही विषयको सेरोफेरोमा केन्द्रित रहने छ ।
सोभियत संघको स्थापना
रुस, युक्रेन र अमेरिकाका बीचको अन्तर–सम्बन्ध बुझ्न २० औं शताव्दीको दोस्रो दशकतिर फर्किनु पर्दछ । १९१७ को रुसी अक्टोबर समाजवादी क्रान्तिको सफलता पछि वरिपरिका केही देशहरुमा सर्वहारा क्रान्ति अगाडि बढ्यो । ती मध्ये एउटा देश युक्रेन पनि थियो । युक्रेनी कम्युनिस्ट पार्टीको नेतृत्वमा त्यहाँका सर्वहारा वर्गले प्रतिक्रियावादी शासक वर्गलाई परास्त गरेर आफ्नो राज्यसत्ता निर्माण ग¥यो । पछि १९२२ डिसेम्बर ३०का दिन रुस, युक्रेन, बेलारुस र ट्रान्सककेसियन गणराज्य मिलेर सोभियत सङ्घको गठन गरे । यसैको सेरोफेरोमा रुसी साम्राज्य अन्तर्गत रहेका अन्य राष्ट्रहरु पनि सोभियत सङ्घमा समावेश हुँदै गए । यो वस्तुतः चाहेको बेला सङ्घबाट अलग हुन पाउने आत्मनिर्णयको अधिकार प्राप्त स्वैच्छिक एकीकरण थियो । सोभियत सङ्घमा समावेश भएका राष्ट्रहरु रुस, अजरबैजान, अर्मेनिया, बेलारुस, इस्टोनिया, काजकस्तान, कीर्जिस्तान, लाट्भिया, लिथुआनिया, तुर्कमेनिस्तान, मोल्दोभा, उज्वेकिस्तान, युक्रेन, ताजकिस्तान र जर्जिया थिए । अर्थात्, यी १५ ओटा देशका बीचमा निर्मित संघ नै तत्कालीन सोभियत सङ्घ थियो ।
दोस्रो विश्वयुद्ध
सोभियत सङ्घमा समाजवादको विकास र १९३०को दशकमा पुँजीवादी देशहरुमा पैदाभएको चरम आर्थिक सङ्कटका कारण एकातिर समाजवादी तथा पुँजीवादी देशहरुका बीचमा र अर्कोतिर विभिन्न साम्राज्यवादी मुलुकहरुका बीचमा अन्तर्विरोधहरु चर्किएर गए । त्यो स्थितिमा समाजवादी रुसलाई ध्वस्त पार्ने र विश्वभरि फासीवादी हैकम कायम गर्ने उद्देश्य लिएर मुसोलिनी तथा हिटलर जस्ता फासीवादी शासकहरु युरोप एवम् अफ्रिकाका देशहरुमाथि सैन्य अभियानमा उत्रिए । उता जापानले चीन लगायत पूर्वी एशियाका देशहरुमा आफ्नो साम्राज्य विस्तार गर्न सैन्य अभियान चलाइरहेको थियो । सुरुमा कतैतिर संलग्न नभएको अमेरिका पनि जापानले पर्लहार्वरमा आकस्मिक हमला गरेपछि युद्धमा तानियो । त्यो स्थितिमा रुस, बेलायत तथा अमेरिकाका बीचमा फासीवाद विरोधी संयुक्त मोर्चा निर्माण भयो र पछि सो युद्धले दोस्रो विश्वयुद्धको रुप लियो । १९३९ देखि १९४५ सम्म चलेको दोस्रो विश्वयुद्धमा इटालियन, जर्मन तथा जापानी फासीवादीहरु पराजित भए । दोस्रो विश्वयुद्धका सन्दर्भमा स्तालिनको भूमिका निर्णायक महत्वको रहेको छ ।
दोस्रो विश्वयुद्धमा फासीवादीहरुको पराजय पछि सोभियत सङ्घको रक्षा त भयो नै त्यसमाथि त्यसले विश्वव्यापी प्रभाव विस्तार ग¥यो । पूर्वी युरोपका करिब एक दर्जन देशहरुमा समाजवादको स्थापना भयो । दोस्रो विश्वयुद्धमा जापानको पराजयले चिनीया नयाँ जनवादी क्रान्तिको विजयलाई नजिक ल्याइदियो । विश्वभरि राष्ट्रिय मुक्ति आन्दोलनको लहर नै आयो, उपनिवेशहरु स्वाधीन बने र प्रत्यक्ष औपनिवेशिक युगको अन्त्य भयो । वास्तवमा यो क्रान्तिकारी कम्युनिस्ट र देशभक्तहरुका लागि एउटा युगान्तकारी महत्वको उपलव्धि थियो । परिणामतः कम्युनिस्टहरु आक्रामक र पुँजीवादीहरु रक्षात्मक बन्दै गए ।
शीतयुद्धको काल
दोस्रो विश्वयुद्धमा रुसको विजय र विश्वभरि समाजवादप्रतिको आकर्षणबाट आतङ्कित भएका साम्राज्यवादीहरुले वाशिङ्टनमा एउटा अन्तर्राष्ट्रिय सैन्य गठबन्धन निर्माण गर्ने सहमति गरे । तदनुसार, अप्रिल ४, १९४९का दिन नर्थ एटलान्टिक ट्रिटी अर्गनाइजेशन अर्थात् नेटो नामको सैन्य गठबन्धन निर्माण गरियो । सुरुमा १२ ओटा देशहरु त्यसका संस्थापक सदस्य रहेका थिए । ती देश हुन् ः अमेरिका, वेलायत, क्यानडा, बेल्जियम, फ्रान्स, इटली, नेदरल्याण्ड्स, नर्वे, डेनमार्क, लक्जेमबर्ग, आइसल्याण्ड र पोर्चुगल । पछि टर्की एवम् ग्रीस १९५२मा, पश्चिम जर्मनी १९५५मा र स्पेन १९८२मा यस गठबन्धनमा जोडिए । नेटोमा थपिने यो प्रक्रिया आजसम्म पनि जारी छ ।
१९५३मा स्तालिनको मृत्यु पछि कम्युनिस्ट पार्टीको नेतृत्वमा ख्रुश्चेभ आए । उनी व्यक्तिपुुजाको विरोधको नाममा स्तालिनका विरुद्ध गाली गलौजमा उत्रिए । यो उनको एकजना सर्वहारावादी नेतृत्वलाई श्रमजीवी वर्गका बीचमा बदनाम गराएर आफ्नो संशोधनवादी लाइनको रक्षा गर्ने उद्देश्यमा आधारित थियो । यो प्रक्रियामा समाजवाद अन्ततः सामाजिक साम्राज्यवादमा बदलियो । ख्रुश्चेभले सोभियत सङ्घ र पूर्वी युरोपका अन्य सातओटा देशहरु मिलाएर मई १४, १९५५मा उनले अर्को एउटा सैन्य गठबन्धनको निर्माण गरे । पोल्याण्डको राजधानी वार्सामा रुस, अल्वानिया, चेकोस्लोभाकिया, पूर्वी जर्मनी, बुल्गेरिया, हङ्गेरी, पोल्याण्ड र रोमानियाका बीचमा निर्माण गरिएको यस सैन्य गठबन्धनको नाम वार्सा ट्रिटी अर्गनाइजेशन अथवा वार्सा प्याक्ट राखियो । यसरी १९५५ पछि विश्वमा दुईओटा सैन्य गठबन्धन अस्तित्वमा आए । आ–आफ्नो हैकम विस्तारका लागि यी दुई सैन्य गठबन्धनका बीचमा प्रत्यक्ष युद्ध त भएन तर तिनीहरुका समर्थन र उक्साहटमा थुप्रै क्षेत्रीय युद्धहरु भए । विश्वका अधिकांश देशहरुले यी दुई सैन्य गठबन्धनमा कतै पनि नजोडिएर असंलग्न आन्दोलनको पक्षपोषण गरे । यी दुुई गठबन्धनका बीचको सैन्य प्रतिस्पर्धालाई शीतयुद्ध भनेर चिनिन्छ ।
सोभियत सङ्घको विघटन
सोभियत सङ्घ कम्युनिस्टको खोल ओडेको ख्रुश्चेभी संशोधनवादको प्रभावमा पुुगे पछि पूर्वी युरोपका समाजवादी देशहरु र सोभियत सङ्घमा आवद्ध गणराज्यहरु सबैमा संशोधनवाद हावी भयो । प्रतिक्रियावादी सार बोकेका ती देशमा साम्यवादी रुप धेरै समय टिक्न सक्ने कुरा थिएन । फलतः १९ नोभेम्बर १९८९मा बर्लिन पर्खाल ढल्यो । रुसी राष्ट्रपति येल्त्सिनको कार्यकालमा २५ डिसेम्बर १९९१ का दिन सोभियत सङ्घ विघटित भयो । पछि वार्सा प्याक्ट पनि स्वतः निष्कृय भयो । यसरी शीतयुद्धको अन्त्य भयो र पूर्व सोभियत सङ्घमा आवद्ध युक्रेन लगायतका सबै पूर्व गणराज्यहरु स्वतन्त्र भए । यो समग्र प्रक्रियालाई साम्राज्यवादीहरुले साम्यवादी इतिहासको अन्त्य र माक्र्सवादको असफलता भनेर आजसम्म पनि हर्षबढाइँ गर्दै आएका छन् ।
नेटोको विस्तार
सोभियत सङ्घ र नेटोका बीचमा सहमति गरी पश्चिम जर्मनीकै निरन्तरताका रुपमा एकीकृत जर्मनी नेटोमा सामेल भयो । त्यतिबेला जर्मनी नेटोको सदस्य बनेपछि पूर्वसोभियत गणराज्यहरु लगायत तत्कालीन समाजवादी देशहरुमा नेटोको विस्तार नगर्ने भन्ने सहमति भएको थियो भन्ने कुरा गोर्वाचोभ सहित रुसी नेताहरुले बताउने गरेका छन् । तर नेटो सम्बद्ध राष्ट्रहरुले भने यसलाई स्वीकार गरेका छैनन् । जे होस्, सोभियत सङ्घको विघटन पछि विश्वमा अमेरिकी साम्राज्यवादको एकल हैकम सुरु भयो । प्रतिस्पर्धी रुसलाई घेरा हाल्न १९९६मा अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले वार्सा प्याक्टमा सम्मिलित राष्ट्रहरु र पहिलेका सोभियत गणराज्यहरु नेटोमा समावेश गर्ने कामलाई आफ्नो परराष्ट्र नीतिको एउटा महत्वपूर्ण हिस्सा बनाए ।
यस नीति अनुसार अमेरिकाले मुख्यतः उक्त देशहरुमा आफ्ना दलालहरुको खेती गर्ने अभियान नै चलायो । तीन वर्षसम्मको गृहकार्य पछि १९९९मा पोल्याण्ड, हङ्गेरी र चेक गणराज्य नेटोमा जोडिए । यी तीनओटै देशहरु पहिले वार्सा प्याक्टमा थिए । यसै क्रममा मध्य तथा पूर्वी युरोपका देशहरु बुल्गेरिया, इस्टोनिया, लाट्भिया, लिथुआनिया, रोमानिया स्लोभाकिया र स्लोभेनिया २००४मा नेटोमा सम्मिलित भए । त्यसैगरी अल्बानिया र क्रोएसिया १ अप्रिल २००९मा नेटोका सदस्य बने । नेटोमा संलग्न हुने पछिल्ला देशहरुमा मोन्टेनेग्रो र उत्तर–मेकेडोनिया पर्दछन् । यी देशहरु क्रमशः २०१७ र २०२०मा नेटोमा जोडिएका हुन् । २०२२ सम्म आइपुुग्दा अमेरिकी साम्राज्यवादले नेटोमा समावेश गराउनका लागि थप तीन ओटा देशहरु बोस्निया हर्जगोभिना, जर्जिया र युक्रेनलाई सिंगारेको छ । यी देशहरु यतिबेला नेटोमा भर्ति हुन लाइन लागेर बसेका छन् । यसरी अमेरिकी साम्राज्यवादले आफ्नो प्रतिस्पर्धी रुसलाई नेटो मार्फत् घेरा हाल्न मुख्यतः पूर्वी युरोपमा आफ्ना दलालहरु तयार पार्ने कामलाई तीव्र पार्दै आएको छ । ती मध्ये युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीे आफ्नो साम्राज्यवादी योजनालाई युक्रेनमा लागुगर्न अमेरिकाले तयार पारेका एकजना मतियार हुन् ।
रुस–युक्रेन युद्धको अन्तर्य
उपरोक्त ऐतिहासिक तथ्यहरुका आधारमा के कुरा स्पष्टसँग भन्न सकिन्छ भने रुस र युक्रेनका बीचको चालुु युद्ध युक्रेनमा रुसी साम्राज्यवाद र अमेरिकी साम्राज्यवाद मध्ये कसले नियन्त्रण कायम गर्ने भन्ने अन्तर–साम्राज्यवादी अन्तर्विरोधको परिणाम हो । यो अन्तर्विरोधमा युक्रेनका राष्ट्रपति जेलेन्स्कीले आफ्नो देश युक्रेनको स्वाधीनता र सार्वभौमिकता अमेरिकी साम्राज्यवादको पोल्टामा सुम्पिन अमेरिकी दलालको भूमिका खेलिरहेका छन् । युक्रेन युद्ध रुपमा आक्रमणकारी रुसका विरुद्ध युक्रेनले लडेको देशभक्तिपूर्ण युद्ध जस्तो देखिएता पनि सारमा यो रुसी र अमेरिकी साम्राज्यवादका बीचको लडाइँ हो । जेलेन्स्की युक्रेनको स्वाधीनताका निम्ति युद्धको नेतृत्व गर्ने देशभक्त नेता होइनन् । उनी युक्रेनी सेनाको कमान्ड गर्ने अमेरिकी साम्राज्यवादका एकजना पोलिटिकल कमिसार हुन् । रुसी सेना युक्रेनबाट हटे पनि विद्यमान स्थितिमा युक्रेन सारतः स्वाधीन हुन सक्दैन ।
निष्कर्ष
सतहबाट हेर्दा युक्रेनमाथि रुसले सैन्य आक्रमण गरेको स्थितिमा अमेरिका लगायत नेटो राष्ट्रहरुले गरेको युक्रेनको समर्थन कसैलाई न्यायपूर्ण जस्तो लाग्न सक्छ । तर, त्यो सही होइन । रुसी हस्तक्षेप निन्दनीय छ भन्ने नाममा युक्रेन माथिको अमेरिकी हस्तक्षेप क्षम्य हुन सक्दैन । अमेरिकी नियन्त्रणमा हुँदा युक्रेन स्वाधीन राष्ट्र हुने तर रुसको नियन्त्रणमा हुँदा पराधीन हुने भन्ने हुँदैन । अमेरिका वा रुस जुनसुकै साम्राज्यवादी देशको प्रभाव र नियन्त्रणमा रहे पनि युक्रेन र युक्रेनी जनता पराधीन नै हुन्छन् । त्यसकारण यो साम्राज्यवाद राम्रो र त्यो साम्राज्यवाद नराम्रो भन्नेबाट निकालिने निष्कर्ष नितान्त गलत हुन्छ ।
पहिले अमेरिका लगायतका नेटो राष्ट्रहरुले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई सत्तामा पु¥याए र विभिन्न प्रलोभन सहित नेटोको पक्षमा उभ्याए । अहिले महङ्गा हातहतियार र सैन्य सामग्रीहरु खरिद गर्न बाध्य पारेर युक्रेनलाई युद्धमा धकेलिरहेका छन् । यतिबेला उनलाई युद्धमा प्रत्यक्ष सहयोग गर्न उनको साथमा कुनै शक्ति छैन । वास्तवमा अहिले अमेरिकी साम्राज्यवाद र नेटोले जेलेन्स्कीलाई बलिको बोको बनाएका छन् । एउटा साम्राज्यवादी शक्तिको विरोध गर्न अर्को साम्राज्यवादका सामु घुँडा टेक्ने दलालहरुको हालत युक्रेनका राष्ट्रपति जेलेन्स्कीको भन्दा भिन्न हुँदैन भन्ने कुरा उत्पीडित देशका शासकहरुले राम्रोगरी बुझ्न जरुरी छ । आजको साम्राज्यवादी युुगमा सबैखाले साम्राज्यवादी हस्तक्षेपका विरुद्ध नलडी देशको राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सकिन्न । यो सत्यलाई युक्रेन लगायत विश्वका सबै उत्पीडित राष्ट्रका देशभक्तहरुले दृढतापूर्वक आत्मसात गर्नुु पर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार