ईन्दिरा खनाल
कपिलबस्तु- कपिलवस्तुमा नेकपा (क्रान्तिकारी माओवादी) सहित ६ राजनीतिक दल र दुई मोर्चाहरुको संयुक्त आयोजनामा बिहीबार कपिलवस्तुको जिल्ला प्रशासन कार्यालय तौलिहवा घेराउ गरिएको छ । अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौता राष्ट्रिय हित विपरित रहेको भन्दै उक्त सम्झौतालाई खारेजीको माग गर्दै कार्यालय घेराउ गरिएको हो । 

कोणसभालाई सम्बोधन गर्दै नेकपा क्रान्तिकारी माओवादी पोलिटब्युरो सदस्य नेता धनेश्वर पोख्रलले संसदवादी दलालहरुले बदनियतपूर्ण तरिकाले आफ्नो देशको राष्ट्रियता अमेरिकालाई बेच्ने कुचेष्टा गरिरहेको बताउँदै आफ्नो पार्टीले यो सम्झौता खारेज नगर्दासम्म निरन्तर संघर्ष गर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘आजसम्मका जति पनि राष्ट्रघाती सम्झौता गरिएका छन् त्यसमा कांग्रेसको नै अग्रसरता रहेको छ ।’
क्रान्तिकारी माओवादीका जिल्ला ईञ्चार्ज समेत रहनुभएको उहाँले कुनै पनि हालतमासम्झौतालाई लागू हुन नदिने बताउनुभयो । ‘ अमेरिकाले विकासको नाममा नेपाल प्राकृतिक स्रोत साधनको दोहन गर्ने लक्ष्यसहित नेपाल भित्रिने योजना बनाएको छ, यो देशका न्यायप्रेमी आम युवा विद्यार्थीहरुले उक्त सम्झौता खारेज गर्नु पर्नेछ ।’
राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले सम्झौता जसरी पनि खारेज हुनुपर्ने माग गर्दै आन्दोलन निरन्तर जाने बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य भेषराज भुसालले विकास परियोजनाको रूपमा नेपाल भित्रिरहेको एमसीसी परियोजना राष्ट्र र राष्ट्रियताको हिततमा नभई अमेरिकनहरूले बनाएको दीर्घकालीन सैन्य रणनीतिको अंग रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रम तौलिहवाको बुद्धचोक हुँदै जिल्ला प्रशासन कार्यालय कपिलवस्तु गेटमा गई कोणसभामा परिणत भएको थियो ।
विरोध प्रदर्शनमा राष्ट्रिय जनमोर्चाका नेता शिव पौडेल, मानव अधिकारकर्मी राम दयाल ठाकुर लगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको संचालन नेकपा कपिलवस्तु जिल्ला सेक्रेटरी कमल केसीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर