काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)सहित ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले राष्ट्रघाती एमसीसी सम्झौताको विरुद्धमा काठमाडौं उपत्यकासहित देशैभर मशाल जुलुस प्रदर्शन गरेको छ । प्रहरी अवरोध छिचोल्दै काठमाडौं उपत्यकाको चावहिल, भक्तपुरको कमलविनायक, ललितपुरको लगनखेल, बागबजार र कलंकीमा मशाल जुलुस प्रदर्शन गरिएको छ ।

प्राप्त समाचार अनुसार नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम दिनेश शर्मा सागरको नेतृत्वमा चुच्चेपाटीदेखि चावहिल चोकसम्म र मित्रपार्कदेखि स्तुपासम्म, पीवीएम सुरेश श्रेष्ठको नेतृत्वमा भक्तपुरको ख्वप्प कलेज चोकमा, पीवीएम पवनमान श्रेष्ठको नतेृत्वमा मंगलबजारदेखि लगनखेल बसपार्कसम्म, पार्टी सल्लाहकार समितिका अध्यक्ष डा. ओम गुरुङ र केस शारदा महतको नेतृत्वमा तिनथाना पुलदेखि कलंकी चोकसम्म, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ अध्यक्ष इश्वर तिमिल्सिना र अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलको नेतृत्वमा बागबजारको खसीबजारदेखि शुक्रराज स्कुलचोकसम्म मशाल जुलुस प्रदर्शन गरिएको छ ।

भक्तपुरमा भने प्रदर्शनकारीको हातबाट प्रहरीले खासेको मशाल पुनः प्रदर्शनकारीहरुले खासेर प्रदर्शन गरिएको पार्टी केस गोविन्द पौडेलले जानकारी दिनुभयो ।

 

त्यसैगरी चितवन, पोखरा, नवलपुर, रुपेन्देही, दाङ, नवलपरासी, कैलाली, कञ्चनपुर लगायत देशका अधिकांश जिल्लाहरुमा समेत मशाल जुलुस प्रदर्शन गरिएको सम्बद्ध स्रोतले जनाएको छ ।


स्मरण रहोस् एमसीसीको खारेजीको लागि संघर्षरत ६ पार्टी र २ मोर्चाले भोलि बिहिबार १२ बजे माइतीघरबाट नारा जुलुससहित नयाँ बानेश्वरस्थित संसद भवन घेराउ गर्ने कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर