काठमाडौं । देउवा नेतृत्वको सरकारले देशभक्त क्रान्तिकारीहरुमाथि क्रूर दमन गरेको छ । राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको माग गर्दै विरोध प्रदर्शनमा उत्रिएका ६ कम्युनिस्ट पार्टी र २ मोर्चा लगायत एमसीसी विरोधी देशभक्त क्रान्तिकारीहरुमाथि देउवा सरकारले क्रूर दमन गर्दै संसदमा एमसीसी टेबल गरेको छ ।
संसद भवनभित्र एमसीसी टेबल हुँदै गर्दा संसद भवन बाहिर सडक युद्ध स्थलजस्तै भएको थियो । सडकमा देशभक्त क्रान्तिकारीहरुमाथि प्रहरीले अश्रुग्यास, पानीका फोहरा, ढुंगा, लाठी, बुट प्रहार गरी निर्मम दमन गरेको हो । सो क्रममा नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य बसन्त बोगटी, सुनिता बुढाथोकी, मुकेश र विप्लवलगायत अन्य विभिन्न पार्टी सम्बद्ध नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको छ । त्यस्तै क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल उपाध्यक्ष शिलु न्यौपाने, अखिल(क्रान्तिकारी) सिटिईभिटि उपत्यका संयोजक नरबहादुर कुमाल, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह लगायत दर्जनौं घाइते भएका छन् । सबैको विवरण भने आउन बाँकी छ ।
गिरफ्तार गरिएका नेता बोगटी लगायत गिरफ्तार नेता कार्यकर्ताहरुलाई अनामनगरस्थित सिंहदबार प्रहरी परिसरमा राखिएको अखिल (क्रान्तिकारी)का अध्यक्ष गजुरेलले जानकारी दिनुभयो ।
माइतीघरबाट नारा जुलससहित ६ पार्टी र २ मोर्चाको विरोध प्रदर्शन संसद भवन घेराउ कार्यक्रममा परिणत भएको थियो । घेराउको क्रममा प्रहरी घेरा तोड्दै अगाडि बढ्ने क्रममा प्रहरी निर्मम दमनमा उत्रिएको थियो । विरोध प्रदर्शन अहिले पनि जारी रहेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर