काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य समेत रहनु भएका देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले जबर्जस्त एमसीसी लादियो भने देशमा राष्ट्रिय युद्ध हुने चेतावनी दिनुभएको छ । ६ कम्युनिस्ट पार्टी र २ मोर्चाको संयुक्त आयोजनामा भएको विशाल विरोध प्रदर्शनपछि आयोजित विरोधसभालाई सम्बोधन गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो ।

आफूहरुले त्यो स्थिति आउन नदिन अहिले सडकमा आन्दोलन गरिरहेको बताउनुहुँदै जबर्जस्त एमसीसी लादिए राष्ट्रिय युद्ध हुने र त्यसले अहिलेको व्यवस्थालाई पनि उलटपुलट, उथलपुथल पारिदिने समेत दावी गर्नुभयो ।

देशको स्वाधीनताको रक्षाका लागि सबै देशभक्त क्रान्तिकारीहरु एकजुट हुनुपर्ने बताउनु हुँदै एमसीसी खारेज नहुन्जेलसम्म सबै पार्टीभित्र रहेका देशभक्त क्रान्तिकारीहरुले अझ ठूल्ठूला विरोध प्रदर्शन र आवश्यक परे जस्तोसुकै कदम चाल्न पनि तयार हुनुपर्ने समेत बताउनु भयो ।
त्यसैगरी नेकपा (विप्लव)का केन्द्रीय सदस्य मिलनले दलालहरुले एमसीसी पास गरे भने बल्ल लडाइँ सुरु हुने भन्दै एमसीसी पास गरे भने प्रधानमन्त्री देउवाको टाउकाको जनताले फुटबल खेल्ने दिन आउने चेतावनी दिनुभयो ।

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष समेत रहेकी प्रतिनिधिसभाकी सांसद दुर्गा पौडेलले एमसीसी सम्झौता नेपालको संविधान र कानुनभन्दा माथि पारेर नेपाललाई उपनिवेश बनाउनका लागि संसदबाट पास गर्न लागेको भन्दै एमसीसी सम्झौता संशोधन होइन खारेजै हुनुपर्नेमा जोड दिनुभयो ।

नेकपा (क्रान्तिकारी माओवादी)मा पीवीएम दिनेश शर्मा सागरले एमसीसी पास गरे शासकहरुलाई सडकमा ल्याएर पछार्ने स्तरको आन्दोलन विकसित हुने चेतावनी दिनुभयो । उहाँले देशको स्वाधीनताका विरुद्ध जाने शासकहरुलाई जनताले ठाउँ ठाउँबाट लखेट्ने समेत बताउनु भयो । उहाँले सडक आन्दोलनमा उत्रिएका सत्तारुढ पार्टीका कार्यकर्ताहरुलाई साँच्चै देशको स्वाधीनता चाहेको हो भने आफ्ना माउ पार्टीलाई पनि एमसीसीका विरुद्ध सडकमा ल्याउन दबाब दिन अनुरोध गर्नुभयो ।

नेकपा (मसाल)का प्रवक्ता रामप्रकाश पुरीले एमसीसी कुनै पनि हालतमा खारेज हुनुपर्नेमा जोड दिनुभयो ।

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका युवा नेता जागृत रायमाझीले अमेरिका जहाँ जान्छ, त्यो देश बर्बाद पारिदिन्छ भन्दै नेपालमा एमसीसी पास भए मुलुक अनन्त युद्धमा फस्ने चेतावनी दिनुभयो ।

कार्यक्रममा नेकपा (ऋषि कट्टेल) र नेकपा (माओवादी केन्द्र समाजवादी)का नेताहरुले पनि एमसीसी सम्झौताको राष्ट्रघाती चरित्रको चर्चा गर्दै खारेज नभएसम्म संघर्षलाई थप सशक्त बनाउँदै लैजानुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रमको सञ्चालन रामलाल विकले गर्नुभएको थियो ।

माइतीघरबाट सुरु भएको विशाल विरोध जुलुस नयाँ बानेश्वरमा पुगेर विरोधसभामा परिणत भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर