‘जनयुद्धका असली उत्तराधिकारी हामी हौं’

‘जनयुद्धका असली उत्तराधिकारी हामी हौं’

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले जनयुद्धका असली उत्तराधिकारी आफ्नो पार्टी र आफूहरु भएको विचार व्यक्त गर्नुभएको छ । उहाँले जनयुद्धमाथि धोका र गद्दारी गरेर संसदवादको संरक्षक बन्न पुगेका प्रचण्डहरुलाई जनयुद्ध भन्ने अधिकार नभएको समेत बताउनु भयो । पार्टीको केन्द्रीय समितिले आज पार्टी कार्यालय कुपण्डोलामा २७ औं जनयुद्धको सन्दर्भमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव किरणले यस्तो बताउनु भएको हो ।

लामो तयारी गरेर मात्र जनयुद्ध थालिएको स्मरण गर्दै महासचिव किरणले सैद्धान्तिक÷राजनीतिक, राजनीतिक, सांगठानिक र प्राविधिक गरी चार तयारी गरेर जनयुद्धका सुरु गरेकोले नै छोटो समयमा नै आधारइलाका, जनसत्ताको निर्माण, सात डिभिजनको जनमुक्ति सेनाको विकास गर्न सम्भव भएको बताउनु भयो । उहाँले प्रचण्ड–बाबुरामको दक्षिणपन्थी अवसरवादी तथा संशोधनवादी विचलनका कारण जनयुद्धले धक्का खाए पनि दशवर्षे जनयुद्धको जगमा टेकेर जनयुद्धका लक्ष्य हासिल गर्न अब फेरि नयाँ तरिकाले चार तयारी गरेर क्रान्तिको प्रक्रिया अगाडि बढाउनु पर्ने आवश्यकतामाथि जोड दिनुभयो ।

जनयुद्धको बेला जुन व्यक्ति र व्यवस्थाको विरोध गरिएको थियो अहिले प्रचण्ड–बाबुरामहरुले तिनै व्यक्ति र व्यवस्थालाई अँगालो हाल्न पुगेको विषयमा चर्चा गर्दै महासचिव करिणले भन्नुभयो, “केपी ओली र प्रचण्डहरु कम्युनिस्ट होइनन् । उनीहरु त कम्युनिस्ट सिद्धान्त र आदर्शलाई छाडेर कांग्रेसको भाग खोस्न गएका नव प्रतिक्रियावादीहरु हुन् । जनयुद्धको असली उत्तराधिकारीहरु हामी हौं । प्रचण्डहरुलाई जनयुद्ध भन्ने अधिकार छैन ।”

उहाँले जनयुद्धका अनुभवका बारेमा चर्चा गर्दै भन्नुभयो, “त्यसबेला पार्टी सानो थियो । सेना र हतियार पनि थिएन । संयुक्त मोर्चा पनि बनेको थिएन । हामीले जनयुद्धको विस्तार गर्दै जाँदा पार्टी पनि ठूलो भयो, सात डिभिजनसम्मको सेना विस्तार गरियो, हतियार पनि जम्मा गरियो । हामीलाई त्यसबेला समर्थन गर्नेमा शम्भुराम श्रेष्ठ, रामराजा प्रसाद सिंह मात्रै थिए । जनयुद्ध विस्तारित हुँदै जाँदा जनतालाई नै संयुक्त मोर्चाको रुपमा संगठित गरियो । आदिवासी जनजाति, मधेसी, महिला, मुस्लिम, थारु, दलित, मजदुर, किसान लगायत उत्पीडित वर्ग र जातिकै संयुक्त मोर्चा बनाएर लडियो । व्यापक रुपमा जनता संगठित भए । जनयुद्धले ठूलो उथलपुथल ल्याइदियो । जनयुद्ध नभएको भए १९दिने आन्दोलन पनि हुने थिएन । र, जगणतन्त्र पनि स्थापित हुने थिएन । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता सबै जनयुद्धकै मात्रात्मक उपलब्धि हुन् ।”

उहाँले अहिले मुलुकमा संसदीय व्यवस्थाका तीनवटै अंग असफल भएको, राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु अझ भयावह र विकराल बनेको र जनतामा तीव्र रुपमा असन्तुष्टी र आक्रोश बढेर गएको अहिलेको अवस्थामा नयाँँ जनवादी क्रान्तिको टड्कारो आवश्यकता रहेको बारेमा चर्चा गर्दै क्रान्तिका लागि छरिएर रहेका सबै क्रान्तिकारीहरु एकताबद्ध हुनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।

उहाँले दशवर्षे जनयुद्धमा जनताले गरेको अपूर्व सहयोग, विकसित भएको राजनीतिक चेतना, प्राविधिक अनुभव र त्याग, वीरता र बलिदानको उदात्त आदर्शमा टेकेर जनयुद्धको अपूरा लक्ष्य पूरा गर्न सम्भव रहेको विश्वास व्यक्त गर्दै क्रान्तिकारी र अवसरवादीहरुको एउटै पार्टी हुन नसक्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘क्रान्तिका लागि क्रान्तिकारी र अवसरवादीहरुको कित्ता छुट्टिन जरुरी छ ।”

त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले जनयुद्धको महत्व, वर्तमान स्थिति र क्रान्तिको आवश्यकतामाथि प्रकाश पार्नुभयो ।

उहाँले वर्तमान संसदीय व्यवस्थाका तीन ओटै अंग असफल हुनु, आर्थिक सूचकांकहरु सबै ऋणात्मक हुनु, र, सबैतिर अस्तव्यस्थ हुुनुले मुलुक नै असफल हुने दिशातिर उन्मुख रहेको चर्चा गर्दै साम्राज्यवादी हस्तक्षेपबाट मुक्त पारी स्वाधीन र आत्मनिर्भर राष्ट्र बनाउने अभिभारा क्रान्तिकारीहरुको काँधमा आएको बताउनु भयो ।

कुनै बेला दुई तिहाईको दम्भ देखाउने कम्युनिस्ट आवरणका संसदवादीहरुको अहिले हरिबिजोग स्थितिका बारेमा चर्चा गर्दै प्रतिक्रियावादी, अवसरवादी, संशोधनवादी तथा संशोधनवादीहरुको पतन अवश्यम्भावी रहेको कुरा बताउनु भयो ।

उहाँले भन्नुभयो, “जतिसुकै खराब भए पनि प्रतिक्रियावादी व्यवस्था आफै ढल्दैन । ढाल्नै पर्छ । अर्काे एउटा धक्का लगाउनै पर्छ ।” उहाँले अब क्रान्तिकारी आन्दोलन माथि उठ्ने विश्वास दिलाउँदै देशैभरी क्रान्तिकारीहरुको ध्रुवीकरण सुरु भएको समेत बताउनु भयो । दलाल संशोधनवादी तथा प्रतिक्रियावादीहरुले अहिले बाँकी रहेको स्वाधीनता पनि सिध्याउन चाहेको बताउनुहुँदै देशको स्वाधीनता जोगाउने जिम्मा क्रान्तिकारीहरुको रहेको स्पष्ट पार्नुभयो ।

कार्यक्रमको अध्यक्षता समेत गर्नुभएका पार्टीका स्थायी समिति सदस्य रामसिंह श्रीसले क्रान्तिकारी लक्ष्य हासिल गर्न पार्टीको क्रान्तिकारीकरणको आवश्यकता रहेकोमा जोड दिनुभयो । क्रान्तिकारी पार्टीमा अवसरवादी प्रवृत्तिहरु पनि रहने र त्यस्ता प्रवृत्तिलाई निरुत्साहित पार्दै लैजानुपर्ने कुरामा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “एउटा क्रान्तिकारी पार्टीभित्र पनि स्वभाविक रुपमा निम्नपुँजीवादी प्रवृत्तिहरु हुने गर्छन् । त्यस्ता प्रवृत्तिहरुलाई बेलैमा लगाम लगाउन नसक्ने हो भने त्यस्ता प्रवृत्तिले पार्टीलाई गलत दिशातिर डो¥याउन सक्छन् । पार्टीभित्र हुने त्यस्ता गैरसर्वहारा प्रवृत्तिलाई निरुत्साहित गर्न जरुरी छ ।”

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका सल्लाहकार समितिका संयोजक डा. ओम गुरुङले जनयुद्धका सकार र नकार पक्षबाट पाठ सिक्दै नयाँ जनवादी क्रान्तिलाई पूरा गर्न उत्पीडित वर्ग र समुदायलाई व्यापक रुपमा संगठित गर्दै अगाडि बढ्नुपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रमको सञ्चालन पीवीएम दिनेश शर्मा सागरले गर्नुभएको थियो भने पीवीएम इन्द्रमोहन सिग्देले जनयुद्ध दिवसको सन्दर्भमा पार्टीले जारी गरेको वक्तव्य वाचन गरेर सुनाउनु भएको थियो । महासचिव किरणले २७ वटा मैनबत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।कार्यक्रमको अन्तमा पार्टी महासचिव किरणले सहभागी सबैलाई अवीर लगाएर जनयुद्ध दिवसमा शुभकामना आदान प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा पार्टी स्थायी समिति सदस्य तथा प्रवक्ता हरिभक्त कँडेल लगायत पीवीएमहरु, सिसिएमहरुको समेत उपस्थिति रहेको थियो ।