बजारको अतिक्रमण र नियन्त्रण : साहित्यको कमोडिफिकेसन

बजारको अतिक्रमण र नियन्त्रण : साहित्यको कमोडिफिकेसन

यतिबेला नेपाली साहित्यमा विकसित भइरहेको एउटा नकारात्मक स्थिति हो साहित्यलाई बजारले निर्देशित गर्नु । यसलाई साहित्यमाथि बजारको नियन्त्रण पनि भन्न सकिन्छ । खास गरी सङ्क्रमण कालसँगै बलियो हुँदै गएको र फस्टाउँदै गएको नवउदारवादी उपभोक्तावाद (बजारवाद)ले साहित्यलाई पनि कमोडिफाइ गरिरहेको छ । हिजो होडिङ बोर्डहरुमा कोकाकोला र मदिराका विज्ञापन हुन्थे अहिले उपन्यास वा कथित सेलिब्रेटी भनिएका व्यक्तिहरुका बायोग्राफीहरुका ठुला ठुला विज्ञापन देखिन्छन् । विस्तारै साहित्य सार्थक र कलात्मक लेखनबाट बिकाउ मालमा परिणत हुँदैछ । प्रकाशनका क्षेत्रमा नवउदारवादी अर्थतन्त्र वा बजारले प्रवेश गरेको छ र नाफा कमाउनका लागि प्रायोजित ढङ्गले पुस्तकहरुको प्रकाशन भइ रहेको छ । कलाकार र उद्योगपति अनि त्यस्तै विभिन्न क्षेत्रका कथित सेलिब्रेटीहरुले पैसा खर्च गरेर अरुलाई लेख्न लगाई ‘बेस्ट सेलर’ कृतिका लेखक भइरहेका छन् । बेस्ट सेलिङको निर्धारण घोषणा पनि बजारले आफू खुसी गर्छ । त्यस्ता कृतिहरुमा यौनको घटिया चित्रणदेखि जनयुद्धका सन्दर्भको अविश्वसनीय र प्रयोनपरक ढङ्गले दुरुपयोग गरिएको पाइन्छ । यौन सन्दर्भलाई त बजारले नाफा कमाउन प्रयोग गर्छ नै, जनयुद्धका सन्दर्भ समेतलाई बिक्री र नाफाको वस्तु बनाएको छ । एक प्रकारले सार्थक लेखन र लेखक किनारामा र प्रायोजित लेखन केन्द्रमा आइपुगेको छ । आज कवितालाई ओझेलमा पार्दै उपन्यास र आख्ष्यानेतर गद्यको जो बाढी देखा पर्दैछ, त्यसमा बजारकै केन्द्रीय भूमिका छ । यसबारे आहुति भन्छन् ः

बजारलाई नै मुख्य मानदण्ड बनाइ सकेपछि र नाफा कमाउने कुरालाई केन्द्रमा राखेपछि जुन चिज छिटो-छरितो रूपमा धेरै बिक्छ, त्यसैको व्यापारमा ध्यान दिनु स्वाभाविक हो । कविता स्वभाविक रूपमा गहिरो चिन्तनस“ग सम्बन्धित विधा भएको हुनाले त्यसका पाठकहरू सापेक्षातामा कम हुनुलाई अस्वाभाविक मान्न सकिंदैन । तर, कवितालाई पूरै निषेध गर्ने वा त्यसको उत्पादनलाई नै प्रभावित गर्ने र उपन्यासजस्ता चिजहरू मात्रै बजारमा लाने प्रवृत्ति नाफा कमाऊ अभियानस“ग सम्बन्धित छ । नवउदारवादले गर्ने यही हो । जे बढी बिक्छ वा जेले बढी नाफा दिन्छ, त्यसको उत्पादनलाई यसले प्रोत्साहित गर्छ । बौद्धिक सामग्रीहरू कमजोर हु“दै जानु र उपभोग्य सामग्रीहरू हावी हु“दै जानु नवउदारवादी प्रवृत्तिको साहित्यिक क्षेत्रमा परेको प्रभाव हो । म त के देख्छु भने नेपाली बजार अब बिस्तारै उपन्यासबाट घटिया उपन्यासतिर जान्छ, एकदम कमसल चेतनाको वरपर मात्र घुम्ने प्रकारका सामग्रीतिर यसको ध्यान जान्छ किनकी त्यसैको सबैभन्दा बढी बजार हुन्छ । (२०७० असोज २५)

कविता मानव संवेदनाको सघन अभिव्यक्ति गरिने छरितो विधा हो । यो सामूहिक आवेगलाई अभिव्यक्त गर्ने माध्यम पनि हो । तर बढ्दो नाफा कमाउ प्रवृत्तिको बजारले यसमाथि नियन्त्रण गरिरहेको छ । उपन्यासलाई साहित्यको एक मात्र पर्यायका रुपमा प्रस्तुत गर्दै कवितामाथि धावा बोलि रहेको छ । यसको कारण कविता र उपन्यासमा प्रस्तुत गरिने विषयको प्रकृति पनि हो । कविता जीवनप्रति गम्भीर छ । यसले जीवनका नग्नतालाई सजिलै बिक्रीको माल बनाउँदैन । त्यति स्पेस कवितासँग छैन । उपन्यासमा त्यो स्पेस सजिलै बनाउन सकिन्छ र जीवनका नग्नता र कामुकताको बजारीकरण अर्थात् कमोडिफिकेसन गर्न सजिलो गरी सकिन्छ ।
युवा कवि सङ्गीत श्रोताले नेपाली साहित्यको बजारशास्त्र बारे गरेेको अनुसन्धान यस सन्दर्भमा महत्त्वपूणर् छ । उक्त अध्ययनमा उनले लेखका छन् ः
पछिल्ला दिनमा प्रकाशकहरूले प्रकाशनमा पनि उपन्यास (आख्यान) लाई नै प्राथमिकतामा पारेका छन् । विषय छनोट बजारवादको अर्को प्रवृत्ति हो । कुन विषय बिक्छ वा कुन विषयले धेरै नाफा दिन्छ भनेर विषय छनौट गर्नु बजारवादी (उपभोक्तावादी) तरिका हो । पुँजीवादले जुन विषय धेरै मात्रामा बिक्री हुन्छ वा ठूलो मात्रामा नाफा आर्जन हुन्छ, त्यसैलाई तामझामपूणर् विज्ञापन गरेर बेच्छ । उसले नाफाको शर्तमा युद्ध पनि बेच्छ, यौन पनि बेच्छ । संवेदना पनि बेच्छ, उत्तेजना पनि बेच्छ । पछिल्ला दिनमा यौन र प्रेमका कथालाई प्रायोजित रूपमा लेखाएर प्रायोजित रूपमै बेचिन थालेको छ । फाइन प्रिन्टले ‘फस्ट लभ’ नामक पुस्तक यस्तै परियोजना सहित लेख्न लगाएर प्रकाशन गरेको हो । सामाजिक मूल्य भएका पुस्तकहरूको प्रकाशन रोकेर योजनाबद्ध रूपमा प्रेम वा यौनको विषयलाई बजारमा ल्याइएका उदाहरण नेपाली प्रकाशन क्षेत्रमा धेरै नै चर्चाको विषय बनेको छ । अर्कातिर माओवादी जनयुद्धको निरन्तर विरोध गरिरहने र त्यसका विरुद्ध राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा मोर्चाबन्दी गर्ने एनजिओ, आइएनजिओ तथा प्रकाशन संस्थाहरू पछिल्ला समयमा त्यही युद्धका सामग्रीलाई पुस्तकका रूपमा बेच्न उद्यत भइरहेको देखिन्छ । नेपालय नामक संस्थाले निकालेका जनयुद्धसँग सम्बद्ध संस्मरण सम्बन्धी पुस्तकहरू यसैका उदाहरण हुन् । यसले बजारवाद नाफा प्राप्त हुन्छ भने जुन कुरा पनि बेच्न तयार हुन्छ भन्ने पुष्टि गर्छ (पृ. ४-५) ।

सङ्गीत श्रोताको यस व्याख्याले अहिलेको बजार र साहित्यको सम्बन्धलाई राम्रैसँग स्पष्ट पारेको छ । वास्तवमा अहिले जसरी प्रायोजित ढङ्गले उपन्यासका नाउँमा कृतिहरु लेखाउने र प्रकाशन गर्ने काम भइ रहेको छ, त्यसबाट समकालीन यथार्थका गतिशील पक्षको अभिव्यक्तिलाई निषेध गर्ने वा भुत्ते बनाउने काम भइ रहेको छ र उत्तेजक विषयवस्तुलाई विक्रयको माल बनाउने काम भएको छ । क्रमिक रुपले जनयुद्धको मूल्य विघटन र सङ्क्रमणशीलताको विस्तारणले बजारवाद/उपभोक्तावादलाई राम्रो मलजल दिइ रहेको छ र साहित्य बहुराष्ट्रिय कम्पनीका पकडमा जाँदै छ । त्यसैेले जनतका पक्षमा, परिवर्तनका पक्षमा र क्रान्तिका पक्षमा लेखने अथवा सार्थक साहित्य लेख्ने स्रष्टाहरुका लागि यो चुनौतीको कालखण्ड हो । कविता त अतिक्रमित छ नै आख्यानका क्षेत्रमा पनि यथास्थितिवादी धाराले अथवा बजारवादी धाराले राम्रै चुनौती खडा गरि दिएको छ ।