
काठमाडौं । अखिल नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय सल्लाहकार तथा नेकपा (क्रान्तिकारी माओवादी) का पोलिट ब्युरो सदस्य क. केशर बहादुर गुरुङको श्रीमती कमरेड यानी गुरुङको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ ।
महासंघका अध्यक्ष प्रा.डा. ओम गुरुङले जारी गरेको श्रद्धाञ्जली वक्तव्यमा भनिएको छ, “यानी गुरुङ लामो समयदेखि नेपालको कम्युनिष्ट आन्दोलनसँग नजिक रहेर काम गर्नुभयो । उहाँ प्रवासमा रहँदा देखिनै नेकपा (मसाल) मा आवद्ध हुनहुन्थ्यो । प्रवासबाट नेपाल फर्केपछि उहाँ नेकपा (एकता केन्द्र मसाल) र नेकपा (एकीकृत) मा आवद्ध भई काम गर्नुभयो । अहिले उहाँ नेकपा (क्रान्तिकारी माओवादी) को स्थानीय समितिमा कार्यरत हुनुहुन्थ्यो । उहाँ जुझारु, साहसी र उद्यमी महिला हुनुहुन्थ्यो । उहाँको असामयिक निधनले नेपालको उत्पीडित जाति, वर्ग र महिला आन्दोलनमा गम्भीर क्षति पुगेको छ । हामी उहाँप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै उहाँको शोकाकुल परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौ ।”




कमरेड यानी गुरुङको उपचारको क्रममा बुधबार बिहान ५ बजे काठमाण्डौँ मेडिकल कलेजमा भएको असामयिक निधन भएको थियो । यानी गुरुङ गत ६ महिनादेखि मुटु, मृगौला र फोक्सोको रोगबाट ग्रसित हुनुहुन्थ्यो र उपचारको लागि उहाँलाई काठमाण्डौँस्थित सहिद गंगालाल मुटु अस्पताल र त्रि.वि. शिक्षण अस्पताल तथा भैरहवास्थित मेडिकल कलेजको सघन कक्षमा भर्ना गरिएको थियो । अन्तिम समयमा उहाँलाई त्रि.वि. शिक्षण अस्पतालको आकस्मिक कक्षबाट सघन उपचारको लागि काठमाण्डौँ मेडिकल कलेजमा स्थानान्तर गरियो र त्यही मेडिकल कलेजमा उहाँको दुःखद निधन भएको थियो ।