सामन्तवादका विरुद्ध लड्दा टाउकाको मूल्य तोकियो, अब साम्राज्यवाद (एमसीसी)का विरुद्ध शीरमा कफन बाँधेर लड्न तयार छौं : सीपी गजुरेल

सामन्तवादका विरुद्ध लड्दा टाउकाको मूल्य तोकियो, अब साम्राज्यवाद (एमसीसी)का विरुद्ध शीरमा कफन बाँधेर लड्न तयार छौं : सीपी गजुरेल

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले एमसीसीका विरुद्धको आन्दोलन थप सशक्त बन्दै गएको चर्चा गर्दै आगामी दिनमा अझ हस्तक्षेपकारी रुपमा अगाडि बढ्ने दाबी गर्नुभयो । सामन्तवादका विरुद्ध दशवर्षसम्म लड्दा टाउकाको मूल्य तोकेका नेताहरुले नेतृत्व गरेको एमसीसी विरुद्धको आन्दोलन अब हस्तक्षेपकारी रुपमा अगाडि बढ्ने दाबी गर्नुभएको हो ।


उहाँले भन्नुभयो, “हिजो सामन्तवादका विरुद्ध लड्दा हाम्रो टाउकाको मूल्य तोकियो । आज हामी साम्राज्यवाद (एमसीसी)का विरुद्ध शीरमा कफन बाँधेर लड्न तयार छौं ।”

नेकपा (क्रान्तिकारी माओवादी) लगायत ६ पार्टी र देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालसहित २ मोर्चाको संयुक्त आयोजनामा आज (मंगलबार) गरिएको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै अध्यक्ष गजुरेलले अमेरिकाले एमसीसीमार्फत् नेपालको भूमि, कच्चा पदार्थ र नेपाली सस्तो श्रमलाई छिमेकी मुलुक चीनका विरुद्ध प्रयोग गर्न खोजेको र त्यसो गरे नेपालको अस्तित्व नै नामेट हुनसक्ने जोखिम औल्याउनु भयो ।
एमसीसी सम्झौतामा उल्लेखित प्रावधानहरुले नेपाललाई अमेरिकाको गुलाम (उपनिवेश) बनाउने र अमेरिका–चीनबीचको युद्धको अखडा बन्दा यो देशको अस्तित्व नै नामेट हुनसक्ने स्थिति आउने पनि दाबी गर्नुभयो ।

देशको स्वाधीनता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षाका निम्ति अब हरेक देशभक्त नेपालीहरु घरघरबाट सडकमा उत्रने पनि दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, “अब पनि दलालहरुले देशभक्त क्रान्तिकारीहरुहरुको आन्दोलनलाई कम आँके भने उनीहरु अब चाँडै सत्ताच्युत हुनेछन् । एमसीसी विरुद्धको यो आन्दोलन सिंगो व्यवस्था विरुद्धको आन्दोलनमा परिणत हुनेछ ।”

विरोधसभालाई नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, नेकपा विप्लवका सचिवालय सदस्य धमेन्द्र बास्तोला कञ्चन, नेकपाका अध्यक्ष ऋषि कट्टेल, राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट, नेकपा (क्रान्तिकरी)की नेतृ शारदा महत र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुतिले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन नेकपा विप्लवका नेता चिरन पुनले गर्नुभएको थियो ।

एमसीसीको विरोधमा काठमाडौँमा आठ राजनीतिक दलहरूले जुलुस प्रदर्शनसहित विरोधसभा सम्पन्न गरेका हुन् ।

राजधानीको माइतीघर मण्डलादेखि सुरु भएको जुलुस नयाँ बानेश्वरमा पुगेर विरोधसभामा परिणत भएको थियो । आज काठमाडौं बाहिर पनि देशैभर आठ दलले प्रदर्शन गरेका छन् ।