प्रहरी हस्तक्षेपको प्रतिरोध गर्दै क्रान्तिकारी माओवादीसहित आठ दलले एमसीए कार्यालय घेरे, मंगलबार संसद भवन घेर्ने (फोटोफिचर)

प्रहरी हस्तक्षेपको प्रतिरोध गर्दै क्रान्तिकारी माओवादीसहित आठ दलले एमसीए कार्यालय घेरे, मंगलबार संसद भवन घेर्ने (फोटोफिचर)


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सहित आठ राजनीतिक दलको आयोजनामा सोमबार एमसीएको कार्यालय घेराउ गरिएको छ । ६ राजनीतिक पार्टी र दुई मोर्चाको संयुक्त आयोजनामा गरिएको घेराउ कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्न खोजेको थियो ।

कार्यक्रमको सुरुमा एमसीसीका विरुद्ध नाराबाजी गर्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी युवा लिगका अध्यक्ष अमीर महर्जन नेतृत्वको टिमलाई प्रहरीले हस्तक्षेप गरी लछारपछार पारेको थियो । प्रहरीसँग केहीबेर घम्साघम्सी परेपछि प्रहरी पछि हटेका थिए । त्यसपछि याक एण्ड यति होटलको गेटैमा विरोधसभाको कार्यक्रम गरिएको थियो ।


विरोध तथा एमसीए घेराउ कार्यक्रमलाई नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल, नेकपा (विप्लव)का सचिवालय सदस्य धमेन्द्र बास्तोला, नेकपा (मसाल)का प्रवक्ता रामप्रकाश पुरी लगायतका नेताहरुले सम्बोधन गर्दै एमसीसी खारेज गरिनै पर्ने विषयमा जोड दिनुभएको थियो ।


घेराउ कार्यक्रमलाई नेकपा (माले), नेकपा (ऋषि कट्टेल), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका नेताहरुले पनि सम्बोधन गर्नु भएको थियो ।
घेराउ कार्यक्रममा ‘एमसीसी सम्झौता खारेज गर, गो ब्याक एमसीसी, देशभक्त शक्तिहरु एक हौँ, अमेरिकी साम्राज्यवाद मुर्दावाद लगायतका नाराहरु लगाइएको थियो ।


मोहन बैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, सीपी मैनालीको नेकपा माले, ऋषि कट्टेलको नेकपा, आहुतीको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, सीपी गजुरेल गौरव नेतृत्वका देशभक्त जनगणतान्त्रिक मोर्चा, चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चा नेपालले संयुक्त रुपमा घेराउ कार्यक्रमको आयोजना गरेका थिए ।

घेराउ कार्यक्रमका वक्ताहरुले अमेरिकाको साम्राज्यवादी मिसनमा आधारित परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) जसरी पनि खारेज हुनुपर्ने बताउनु भएको थियो ।

नेता सीपी गजुरेलले एमसीसी इण्डोप्यासिफिक रणनीति (आइपीए)को अभिन्न अङ्ग भएकाले यसको मुख्य रणनीति चीनलाई घेर्ने रहेको बताउनु भएको थियो ।


‘हामीलाई चीन र अमेरिकाको लडाईँ पर्दा खासै केही फरक पर्दैन । त्यो हाम्रो चासोको विषय पनि होइन ।’ उहाँले भन्नुभयो, ‘हाम्रो चासो भनेको अमेरिकाले नेपाललाई सैन्य ब्यारेक बनाउन खोजिरहेको छ । त्यसका लागि हामीले संघर्ष गर्न परेको छ । अमेरिकाले नेपाललाई सैन्य अखडा बनाउन एमसीसीलाई माध्यम बनाएको छ ।’

उहाँले अगाडि भन्नुभयो, ‘अमेरिकाले नेपालमार्फत चीनमाथि क्षेप्यास्त्र हान्यो भने चीनले पनि त्यसको काउण्टरमा जहाँबाट क्षेप्यास्त्र हमला भएको थियो त्यही हमला गर्ने हो ।’ उहाँले भन्नुभयो, ‘दुबै देशका क्षेप्यास्त्र नेपालमा खस्ने छन् र नेपाल र नेपाली जना ध्वस्त हुनेछन् । त्यसबाट बच्नका लागि एमसीसी खारेज गर्नैपर्छ ।’

त्यस्तै, विरोध सभालाई सम्बोधन गर्दै नेता बास्तोलाले राष्ट्रिय स्वाधिनताको रक्षा गर्नका लागि भए पनि एमसीसी नेपालबाट फिर्ता पठाउन पर्ने बताउनु भयो ।
‘एमसीसी सम्झौतामा भएका प्रावधानले नेपालको राष्ट्रिय स्वाधिनता, राष्ट्रिय सुरक्षा र नेपालको कानुनको धज्जी उडाएको छ । यो जसरी इस्ट इण्डिया कम्पनी भारतमा आएर कब्जा गरेको थियो, ठिक त्यसकै अर्को रुप हो एमसीसी ।’ उहाँले भन्नुभयो , ‘भारतका पुँजीपतीलाई केही डल्ला सुन दिएर जसरी बेलायत भारत पसेको थियो, त्यसैगरी अमेरिका डलर देखाएर नेपाल आउन खोज्दैछ । यसलाई जसरी पनि रोक्नुपर्छ ।’
यसैबीच, संयुक्त राजनीतिक पार्टीको पूर्वघोषित सङ्घर्षका कार्यक्रमअनुसार भोलि मंगलबार बानेश्वरस्थित संसद भवन घेराउ गर्ने कार्यक्रम रहेको छ । सांसदहरुलाई संसद भवन प्रवेश गर्नै रोक लगाउने तयारी रहेको भन्दै नेताहरुले हरहालतमा राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट पास हुन नदिने चेतावनी दिएका छन् ।
देउवा नेतृत्वको सरकारले भने भोलि मंगलबार आव्हान गरिएको संसदको अधिवेशनमा राष्ट्रघाती एमसीसी टेबल गर्ने तयारी गरेको छ । संसदमा टेबल गरिए एमसीसी सम्झौता पास हुने षड्यन्त्र गरिएको भन्दै देशभक्त, वामपन्थी तथा कम्युनिस्ट क्रान्तिकारी शक्तिहरु देशव्यापी रुपमा संघर्षमा उत्रिएका छन् ।