चितवन । नेकपा (क्रान्तिकारी माओवादी ), नेपाल कम्युनिस्ट पार्टी (विप्लव ), नेकपा (ऋषि कट्टेल), त्रिमुल नेपाल पार्टी , नेकपा मसाल लगायत १३ वटा राजनैतिक पार्टीको आयोजनामा एमसीसी खारेजीको माग गर्दै भोलि मंसिर २८ गते मंगलबार चितवन बन्दको घोषणा गरिएको छ । बन्दको पूर्वसन्ध्यामा (आज साँझ) मसाल जुलुस प्रदर्शन गरिएको छ ।
लायन्स चोकबाट शुरु भएको मसाल जुलुसलाई शुरुआतमै नेकपा क्रान्तिकारी माओवादीका जिल्ला ईन्चार्ज घननाथ सापकोटा विकाशले सम्बोधन गर्दै राष्ट्रघाती एमसीसी सम्झौता पास भए देशमा राष्ट्रिय मुक्ति आन्दोलन हुने दाबी गर्दै आफुहरु राष्ट्रिय स्वाधीनताका लागि तालिवान बन्न तयार रहेको चेतावनी दिनुभएको थियो ।

कार्यक्रममा नेकपा विप्लवका जिल्ला ईन्चार्ज सन्देश पौडेल, एमसिसि खारेजी संयुक्त संघर्ष समितिका संयोजक फणीन्द्र आचार्य, त्रिमुल नेपाल पार्टीका जिल्ला अध्यक्ष नवीन गैरे, जनयुद्धका सहिदका बुवा खड्ग बहादुर कुँवर लगायत जनसमुदायको उपस्थिति थियो।

लायन्स चोकबाट नाराबाजीसहित शुरु भएको जुलुस बजार परिक्रमा गर्दै पुनः लायन्स चोक आएर कोणसभामा परिणत भएको उक्त सभालाई नेकपा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी अशोक शर्माले सम्बोधन गर्दै जनताको छोराछोरीमाथि प्रहरीले दमन गरे जनयुद्धको जनताको हतियारको तागत सम्झाउदै प्रहरीलाई संयमित हुन अनुरोध गर्नुभयो । उहाँले भोलिको चितवन बन्द सफल पार्न सबै उद्योगी, व्यवसायी , शैक्षिक संस्था , यातायात , आम चितवनका आम राष्ट्रवादी नागरिक समाज सबै सबैमा आग्रह गर्दै कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिदै कार्यक्रमको समापन गर्नुभयो ।




























